PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

क्रिप्टोकरेन्सी : किन टाउको दुखाईको विषय बन्दैछ संसारभरका सरकारका लागि?



हेम रोकाहा

क्रिप्टोकरेन्सी : किन टाउको दुखाईको विषय बन्दैछ संसारभरका सरकारका लागि?
फोटो : economictimes.com

‘कसैले पनि ट्रेस गर्न नसक्ने, गोप्य रुपमा सजिलै प्रयोग गर्न मिल्ने र नि:शुल्क’। सबैभन्दा पहिलो क्रिप्टोकरेन्सी ‘बिटकोइन’ले गरेको वाचा थियो यो। ठूला कर्पोरेसन, सरकार, बैंकजस्ता केन्द्रिकृत निकायको नजरभन्दा पर रहेर कारोबार गर्न सकिने क्रिप्टोकरेन्सीको विशेषता मानिन्छ।

एक प्रकारको गोप्य मुद्रा। तर, यो मुद्रा कुनै सरकारले छापेको भने होइन। बरु यो त कम्प्युरमा कोडिङमार्फत बनाइएको हो, इन्टरनेटका प्रयोगकर्ताहरुको विश्वासको आधारमा उनीहरुबाटै सञ्चालित।

अहिलेको समयमा जोकोहीले पनि क्रिप्टोकरेन्सी खरिद र बिक्री गर्न सक्छ। वेबसाइटमा साइन अप गरेर आफ्नो क्रेडिट कार्ड वा कुनै भुक्तानी माध्यमको विवरण राखेको भरमै जोकोही पनि ‘डिजिटल मुद्रा’को संसारमा छिर्न सक्छ।

नेपालमा पनि गुप्त रुपमा क्रिप्टोको कारोबार फस्टाएको छ। यसको कारोबारलाई बन्देज लगाउँदै सरकारले यसलाई गैरकानुनी भनिएको छ। केही दिनअघि मात्रै नेपालमा क्रिप्टो कारोबार गर्ने केही व्यक्तिहरु पक्राउ परे। त्यसपछि मानिसहरुमा क्रिप्टोकरेन्सी वा बिटकोइनको बारेमा झन् जिज्ञासा बढेको छ।

क्रिप्टो कारोबार गर्ने 'इलेक्ट्रिक वालेट' छुटाउन पुगेकी थिइन् महिला, मगाउने चाहिँ थियो को?

बिटकोइन यतिसम्म प्रख्यात भयो कि यसको विरोधमा उत्रिएका ठूला बैंकहरु जत्तिकै यसले मूल्य कमाएको छ। बिटकोइन गैरकानुनी काममा बढी प्रयोग भइरहेको छ। जुन संसारभरका सुरक्षा निकायहरुको लागि टाउको दुखाइको विषय बनेको छ।

'डिजिटल वालेट' लेखेर यसरी भित्रिँदै थियो विमानस्थलबाट क्रिप्टोमा प्रयोग हुने डिभाइस

अहिले चलनचल्तीमा हजारौँ क्रिप्टोकरेन्सी छन्। इथेरियम, लाइटकोइन, रिपल, डजकोइन आदि। यी सबैको भ्यालू जोड्ने हो भने अहिले मानिसहरुले १.३ ट्रिलियन अमेरिकी डलर (१० खर्ब ३० अर्ब अमेरिकी डलर) दाउमा लगाएका छन्। मानिसहरुले यत्रो पैसा दाउमा लगाएको यो के हो त?

क्रिप्टोकरेन्सीको परिकल्पना

क्रिप्टोकरेन्सीबारे बुझ्न डिजिटल करेन्सीको पहिलो रूपमा फर्किनु पर्छ। ‘डाइनर्स क्लब’ पहिलो क्रेडिट कार्ड हो जसलाई १९६० को दशकमा ‘आधुनिक जीवनशैलीको टिकट’को रुपमा विज्ञापन गरिएको थियो।

‘डाइनर्स क्लब’का कार्यकारीहरूले नगद पैसालाई आधुनिक छैन भन्ने तर्क गर्थे। यसले हाम्रो तीव्र गतिमा चलिरहेको दैनिकीसँग आत्मसाथ गर्न नसकेको कुरा अघि सारेका थिए, उनीहरुले।

डेबिट/क्रेडिट कार्डले हामीलाई सबैतिर नगद पैसा लिएर हिँड्नु पर्ने झन्झटबाट छुटकारा दिएको साँचो हो। अनि आए एमेजोन र अलिबाबाजस्ता कम्पनी। जसमा ‘क्यासलेस’ कारोबार सम्भव भयो।

तर, जब ठूलो संख्यामा कम्प्यूटरको प्रयोग बढ्न थाल्यो अनि डिजिटल मुद्राको सपना उब्जियो। यस्तो मुद्रा जुन चलनचल्तीको मुद्रा (फियाट मनी)ले जस्तै काम गर्न सकोस् तर कसैले ट्रेस गर्न नसक्ने, गोप्य र तत्काल प्रयोग गर्न सकिने होस् अनि कम्प्युटर नेटवर्कहरूसँग पनि सजिलै ‘इन्टर्‍याक्ट’ गर्न सक्षम होस्।

त्यस्तै, तानाशाह वा कारोबारमा अन्य नकारात्मक प्रभावहरू भएका देशहरूका नागरिकहरूले आफूले चाहेअनुसार कारोबार गर्न सक्दैनन्। त्यस्ता देशहरुमा मानिसहरूले आफ्नो पैसा स्वतन्त्र रूपमा खर्च गर्न सक्दैनन्। त्यस्ता देशहरुमा पनि सरकारी निकायको नजर बाहिर रहेर कारोबार गर्न यस्तो मुद्राको आवश्यकता मानिसहरुले महसुस गरे।

तर, यस्तो मुद्राको विकास गर्न भनेजस्तो सजिलो थिएन। यसले कम्प्युटर साइन्टिस्टहरुलाई दशकौँसम्म रन्थन्याएको थियो। यसलाई एउटा नाम पनि दिइएको थियो, ‘बेजन्टिन जेनेरल्स प्रब्लम’।

यो विकेन्द्रिकृत प्रणालीहरूमा देखिएको समस्या थियो। विश्वसनीय केन्द्रीय प्रणालीबिना सहमतिमा पुग्न कठिनाइ हुने कुरालाई यस सिद्धान्तले वर्णन गरेको छ। एउटा प्रणालीमा सबै सदस्यले अन्य सदस्यलाई विश्वास गर्न नसक्ने अवस्थामा उनीहरु सामूहिक रूपमा सहमत हुन सक्दैनन् भन्ने कुरा हो यो।

यस्तै समस्या इन्टरनेटमा पनि देखियो। इन्टरनेट प्रयोगकर्ताबीच विश्वासको खडेरी देखियो। हुन त इन्टरनेट सबैजना विश्वसनीय प्रयोगकर्ता हुन् भन्ने आदर्शमा बनाइएको थियो।

यस्तोमा एक अदृश्य व्यक्ति आए र यो समस्याको समाधान गरिदिए, सतोशी नाकामोटो। सतोशी को हुन् भन्ने अहिलेसम्म कसैलाई थाहा छैन। उनी पुरुष हुन् वा महिला वा कुनै समूह हो भन्ने पनि थाहा छैन।

सतोशीले आविश्कार गरेको ‘ब्लकचेन’ टेक्नोलोजीले पुरानो विकेन्द्रिकृत प्रणालीको समस्या समाधान गरिदियो। ‘ब्लकचेन’ले नै बिटकोइन र हजारौँ अन्य क्रिप्टोकरेन्सीलाई जीवन दिइरहेको छ।

‘ब्लकचेन’ एउटा लेनदेनहरुको हिसाब राख्ने लेजर हो। बैंकले राख्ने ग्राहकहरुको कारोबारको लेजरजस्तै। तर, बैंकको लेजरभन्दा ब्लकचेन यो हिसाबले फरक छ कि यो लेजर संसारका हजारौँ कम्प्युटरसम्म पुगेको हुन्छ र हरेक पटक कारोबार हुँदा अपडेट भइरहेको हुन्छ। यसमा छेडखानी गर्न संसारभरका कम्प्युटरहरु एकै पटक ह्याक गर्नुपर्ने भएकाले पनि अलि बढी सुरक्षित ठानियो।

यो विकेन्द्रिकृत लेजर राख्न धेरै मिहिनेत लाग्छ, तर यो कुनै व्यक्तिको काम भने होइन। यसको काम नेटवर्कमा भएका संसारभरका लाखौँ कम्प्युटरहरुले स्वतः गरिरहेका हुन्छन्। र, प्रणालीमार्फत नै सो काम गरेवापत उनीहरुले क्रिप्टोकरेन्सी नै पारिश्रमिकको रुपमा पाउँछन्। जसलाई ‘माइनिङ’ भन्ने गरिन्छ।

सतोशीले इन्टरनेटमा डिजिटल मुद्राको समस्यामात्र समाधान गरेनन्, उनीसँग इन्टरनेटमा प्रयोगकर्ताबीच विश्वासको समस्याको समाधान पनि थियो। बिटकोइन ‘ब्लकचेन’को पहिलो परीक्षण थियो। एउटा यस्तो मुद्रा प्रणाली जसमा न कसैको नियन्त्रण छ, न कुनै कानून या नियमहरू नै छन्। र, यो त्यतिबेला नै आयो जतिबेला मानिसहरुले यसको आवश्यकतालाई अत्यधिक महसुस गरे।

क्रिप्टोकरेन्सीको जन्म

सन् २००८ मा अमेरिकालगायत संसारभरका धेरै देशहरुमा ठूलो आर्थिक मन्दी छाएको थियो। संसारभरका मानिसहरु उनीहरुका सरकारसँग चिढिएका थिए र ठूला बैंकहरुसँग क्रोधित भएका थिए।

मुद्राको पुरानो केन्द्रीकृत प्रणालीमा समस्या छ भन्ने कुरामा त्यस समय धेरै मानिसहरूलाई भान भएको थियो। त्यतिनै बेला बिटकोइनले उचाइ लिएको हो। नयाँ किसिमको मुद्रा भन्ने वित्तिकै यसले मिडियामा पनि राम्रो स्थान पायो। अनि जब बिटकोइन लागूऔषध बजारमा प्रख्यात भयो तब त यसले मिडियामा ‘प्राइम टाइम’मै स्थान पायो।

विभिन्न व्यवसायहरुले आ-आफ्नै क्रिप्टोकरेन्सी बनाएर सेयर मार्केट जसरी नै पैसा संकलन गर्न थाले। अनि मानिसहरुले सेयर मार्केटमा जस्तै क्रिप्टोकरेन्सीमा पनि पैसा लगानी गर्दै घटेको बेलामा किन्ने र बढेको बेलामा बेच्न थालेका थिए। पछिल्ला वर्षहरुमा यसको कारोबार अझ सहज भयो।

कसरी हुन्छ क्रिप्टो करेन्सीको मुल्य निर्धारण?

जसरी मानिसहरूको विश्वासको आधारमा सुनको मूल्य निर्धारण हुन्छ, त्यसरी नै बिटकोइनले पनि यसको प्रयोग गर्नेहरुको विश्वासको आधारमा मूल्य पाउँछ। सन् २०१० मा एक बिटकोइनको मूल्य ६ सेन्ट (०.०६ डलर) थियो, २० अक्टोबर २०२१ सम्म आइपुग्दा एक बिटकोइनको मूल्य अहिलेसम्मकै उच्च ६६ हजार डलरभन्दा बढी पनि पुग्यो।

विकेन्द्रिकृत लेजरको व्यवस्थापन गर्न संसारभरका कम्प्युटरहरु हरसमय काम गरिरहेका हुन्छन्। भनिन्छ त्यसको लागि निकै धेरै विद्यत पनि खर्च हुन्छ, त्यतिसम्म कि क्रिप्टोकरेन्सी माइनिङ गर्दा केही देशहरुले खपत गर्नेभन्दा धेरै विद्यत खपत हुन्छ।

त्यसैले ‘ब्लकचेन’ टेक्नोलोजी अहिले निकै महँगो छ र निकै सुस्त पनि। भिजा पेमेन्ट नेटवर्कले एक सेकेन्डमा २४ हजार कारोबार गर्न सक्छ भन्ने सो समयमा बिटकोइनको ७ वटा कारोबारमात्रै सम्भव छ। कहिलेकाही विशाल केन्द्रीकृत संस्थाहरूले हाम्रो विश्वासको दुरुपयोग गर्ने भएपनि तिनीहरू साँच्चै सुविधाजनक पनि छन्।

तर पनि मानिसहरुले यसमा आफ्नो सबै दाउ लगाएका छन्। ‘ब्लकचेन’ टेक्नोलोजीले मुद्रा प्रणालीमा ठूलो क्रान्ति ल्याउँछ भन्ने मान्छेहरुले विश्वास गरिरहेका छन्।

क्रिप्टोकरेन्सी ‘ब्लकचेन’को एउटा परीक्षणमात्रै थियो। र, यो मानिसहरुले आशा गरेअनुसारको क्रान्ति नहुन सक्छ। यसलाई रेगुलेट गर्न नियमहरू पनि आएका छन् र आउने क्रममा पनि छन्। मानिसहरूले सरकारले भनेको कुरा मान्नै पर्ने हुन्छ। ‘ब्लकचेन’ले विश्वासको समस्या समाधान गर्न वातावरण बनेको हुन सक्छ तर यसको प्रयोग गर्ने मानिसहरुले भएकाले प्रविधिले साँच्चै विश्वासको समस्यालाई समाधान गर्न सक्छ त भन्ने पनि द्विविधा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell