PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मन्त्रीकै कम्पनीको चेक बाउन्स भएपछि प्रहरीकहाँ उजुरी : मदिरा फिर्ता लैजान पाउँ



सविन ढकाल

मन्त्रीकै कम्पनीको चेक बाउन्स भएपछि प्रहरीकहाँ उजुरी : मदिरा फिर्ता लैजान पाउँ

काठमाडौं : पुस २४ गते सम इन्टरप्राइजेज र गणेशम् इन्टरप्राइजेज कम्पनीका कर्मचारी बैंकमा चेक डिपोजिट गर्न पुगे। मदिरा बिक्री गर्ने रिटेल सप ग्रिनलाइनले मदिरा खरिदको भुक्तानी जम्मा गर्नु थियो उनीहरुलाई। इन्भेष्टमेन्ट बैंकको करिब १० लाख रुपैयाँ बराबरका दुई चेक बाउन्स भयो।

चेक नसाटिएपछि उनीहरुले कम्पनीमा त्यसको जानकारी गराए। त्यसपछि कम्पनीले बुझ्दा ग्रिनलाइनका सञ्चालक नै सम्पर्क बिहिन भएको बुझियो। यी दुई कम्पनीले ग्रिनलाइनलाई मदिरा बेचेका थिए। दुवै कम्पनीका संचालक थिए - मेखलाल श्रेष्ठ। मेखलाल गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री पनि हुन्।

'ती दुईवटा र अन्य थोरै अमाउन्टका चेक पनि थिए। त्यो बाउन्स भइसकेको छ। जब चेक नसाटिएपछि बुझ्दा ग्रिनलाइनका संचालक नै सम्पर्कमा नरहेको जानकारी पाए,' मन्त्री श्रेष्ठले पहिलोपोस्टसँग भने।

पुस २२ गते नै ओमप्रकाश अग्रवाल, दुई छोरा अमित र अभिषेक तथा भारती, उषा, रुचिकासहित सम्पर्कविहीन भइसकेका थिए। सँगै हराए ओमप्रकाशकी १७ वर्षीया नातिनी नन्दनी, ९ वर्षीया पार्था र २ वर्षीय नाति अनव।

अग्रवाल परिवार अहिले सम्पर्कविहीन भएपछि धेरैको रकम जोखिममा परेको छ। ग्रिनलाइनको नाममा कम धितो राखेर ऋण दिएका बैंकहरु पनि त्यसलाई कसरी उठाउने भन्ने चिन्तामा छन्। केही बैंकले ग्रिनलाइनमा रहेको सामान र सम्पत्ति लिलामीको कानुनी प्रकृयासमेत सुरु गरिसकेका छन्। तिनै पीडितहरु मध्येका एक हुन् मन्त्री श्रेष्ठ।

उनको दुई कम्पनीले पुसमा ग्रिनलाइनलाई रुस्लान्, गोल्डेन अक, भोड्का लगायतको रक्सी बेचेको थियो। त्यसैको १० लाख रुपैयाँ उठाउन नपाउँदै अग्रवाल परिवार सम्पर्कविहीन भयो।

'उनको व्यवहार पहिलेदेखि नै बिग्रिदै आएको बुझेको थिएँ। त्यही भएर थौरै मात्र सामान दिने र त्यसको चाँडो भुक्तानी लिने गरेको थिएँ,' मन्त्री श्रेष्ठले भने।

आफ्नो रकम नआएपछि मन्त्री श्रेष्ठले प्रहरीमा उजुरी दिएका छन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उनले उजुरी दिएका हुन्। उनको उजुरीमा आफ्नो कम्पनीबाट गएका रक्सी र भ्याट बिल आफ्नो भएको दाबी गरेका छन्। उनको सोझो माग छ पैसा नपाएकाले पसलमा भएको रक्सी फिर्ता पाउँ।

'मेरो अरु केहीमा उजुरी होइन। सपमा मेरो कम्पनीबाट आएको रक्सी मैले फिर्ता लैजान पाउनुपर्छ भन्ने नै हो,' मन्त्री श्रेष्ठले भने।

आफ्नो ऋणी नै सम्पर्कविहीन भएपछि बैंकहरुले पनि ऋण उठान प्रकृया सुरु गरेका छन्। मन्त्री श्रेष्ठले सामान फिर्ताका लागि गरेको उजुरीको वोधार्थ बैंकहरुलाई समेत समेत पठाएका छन्।

'बैंकले त अन्य घर जग्गा धितो राखेर ऋण दिने हो। मैले त मेरो रक्सीमात्र फिर्ता लैजान पाउँ भनेको हो,' मन्त्री श्रेष्ठले भने।

अग्रवाल परिवार वेपत्ता भएपछि उनकी छोरीले खोजीको लागि पुस २३ गते प्रहरीकहाँ उजुरी गर्न पुगेकी थिइन्। त्यसयता प्रहरीले अग्रवाल परिवारको खोजी गरिरहेको छ। अग्रवाल परिवार वीरगंज हुँदै भारततिर छिरेको प्रहरीको अनुसन्धानले देखाएको छ। साथै अग्रवाल परिवारसँग धेरैले मिटर ब्याजमा रकम दिएको खुलेको छ। अग्रवालको ज्ञानेश्वरस्थित घरमा भेटिएको 'नोट'मा पनि मिटर ब्याज र अन्य ऋणमा डुवेकाले सम्पर्कविहीन हुनुपरेको उल्लेख गरिएको छ।

प्रहरीमा आफू ठगिएको भन्दै उजुरी गर्नेमा चाहिँ मन्त्री श्रेष्ठ नै पहिलो हुन्। बाउन्स भएको चेक लिएर आफू डुबेको भन्दै प्रहरीमा पुग्ने पीडितको संख्या भने थपिँदो छ। तर, लिखित उजुरी चाहिँ उनको मात्र परेको हो।

'उहाँले आफ्नो सामान पाउनुपर्‍यो भन्दै उजुरी दिनुभएको छ। उजुरी हेर्दैछौं,' महानगरीय प्रहरी वृत्त दरवारमार्गका डीएसपी विश्वराज खड्काले भने।

सम्बन्धित समाचार

अग्रवालको घरमा भेटिएको 'त्यो नोट' : छोरी ज्वाइँसँग ८/१० लाख मागेपछि मोबाइल नै अफ गरेर कता हराए ग्रिनलाइनका सञ्चालक

फरार हुनुअघि अग्रवाल परिवारले उठाएको थियो करोडौं रुपैयाँ, लामो योजनाअनुसार भएका हुन् फरार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell