PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

एमसीसीबारे देउवा र ओलीको 'ठाडो भाका' : माओवादी थप समय माग्दै, सत्ताधारीको मतभेद देखाएर उम्किँदै एमाले



नेत्र तामाङ

एमसीसीबारे देउवा र ओलीको 'ठाडो भाका' : माओवादी थप समय माग्दै, सत्ताधारीको मतभेद देखाएर उम्किँदै एमाले

काठमाडौँ: मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको समयसीमा घर्किन लाग्दा प्रमुख राजनीतिक दलहरुबीच फेरि रस्साकस्सी सुरु भएको छ। सम्झौता संसदबाट पारित गराउन अहिलेको सत्ता गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेस टुप्पी कसेर लागिरहेको छ। तर गठबन्धनभित्रै मतभेद चल्दा पार लाग्ने छाँट देखिएको छैन। सत्ता साझेदार दलका लागि एमसीसी घाँटीमा अड्किएको काँडा बनेको छ।

माओवादीको ८औं महाधिवेशन उद्घाटनकै दिन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नरहेको बताएका थिए। त्यतिबेला देउवाले एमसीसी छलफल गरेरै पास गर्ने वाचा गरेका थिए।

‘एमसीसी राष्ट्रघाती रे! राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन। त्यो पनि थाहा छैन मलाई। पहिले पढ्नुपर्‍यो एमसीसीमा कहाँ छ राष्ट्रघाती? म पनि नेपालको प्रधानमन्त्री हुँ। नेपालको राष्ट्रको खिलाफमा जाउँला मैले, के राष्ट्रघात काम गरुलाँ मैले?,' देउवाले भनेका थिए, ‘पढ्नुस्, राम्रोसँग अध्ययन गर्नुस्। छलफल हुँदैछ हामीबीच पनि। यो नेपालको हितमा छ। सित्तैमा आएको पैसा चाहिँदैन भन्छ। वर्ल्ड बैंक र एडीबीबाट आएको ऋण हामी लिन्छौं। जसलाई अन्तर्राष्ट्रिय कानुन लाग्छ। राम्रोसँग बुझ्नुपर्‍यो। बुझ्नुपर्‍यो क्या। अब छलफल गरेर यो पास गराउने छु।’

प्रधानमन्त्री देउवालाई प्रमुख अतिथिका रुपमा निम्ता दिएका माओवादी केन्द्रको महाधिवेशनले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने प्रस्ताव पारित गरेको थियो। यसरी सत्ता साझेदर दलभित्रैबाट एमसीसीबारे साझा धारणा नबनेपछि फागुन १६ भित्र अनुमोदन हुनुपर्ने भनिएको एमसीसी अन्योलमा परेको छ।

देउवाले छलफलबाटै एमसीसी पारित गर्ने वाचा गरे पनि पारित गर्ने थलो संसद्‍ खुल्न सकेको छैन। प्रमुख प्रतिपक्षी दल एमालले संसद् अवरोध कायमै राख्ने चेतावनी दिइरहेकोले पनि संसद बोलाउन सकिरहेको छैन सत्ता पक्षले। यता एमालेको अर्को माग छ - सभामुख अग्निप्रसाद सापकोटालाई पद्च्युत गर्नुपर्ने।

सत्तापक्ष नै छैन एकमत

सत्तारुढ गठबन्धनमै रहेको दल जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रधानमन्त्री देउवासँगैको मञ्चमा एमसीसी राष्ट्रघाती भएको बताएकी थिइन्। उनको भनाई पछि देउवाले एमसीसी राष्ट्रघाती नरहेको प्रस्ट्याएका थिए।

यसैगरी माओवादीको महाधिवेशनले पनि संशोधनबिना एमसीसी पास हुन नसक्ने प्रस्ताव पारित गर्‍यो। यता प्रधानमन्त्री देउवा र प्रचण्डले संयुक्त रुपमा एमसीसीका लागि थप समय मागेको पत्र सार्वजनिकपछि बालुवाटारमा तीन शीर्ष नेताबीच बैठक बस्यो। सर्वोच्च अदालतको परमादेशपछि देउवा प्रधानमन्त्री हुन साथ बालकोट सरेका एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक बालुवाटार पुगे।

बालुवाटार बैठकमा प्रचण्डले एमसीसीका लागि पुनः थप समय मागेका छन्। प्रचण्डले स्थानीय निर्वाचनसम्म एमसीसीको विषय रोक्न माग गरेका हुन्। बैठकपछि प्रचण्डको सचिवालयले परिमार्जन बिना एमसीसी पारित नहुने ठोकुवा पुन: दोहोर्‍याएका छन्।

'सो परियोजना परिमार्जन बिना पारित गर्नु हुँदैन भन्नेमा हाम्रो पार्टी दृढ छ। यसबारे गरिएका नियोजित प्रचारबाजीको भ्रममा नपर्न सम्पूर्ण पार्टी पङ्क्ति र न्यायप्रेमी जनसमुदायमा हामी हार्दिक अपिल गर्दछौँ,' प्रचण्डको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

उक्त प्रेस नोटमा अहिले नै सत्ता गठबन्धनभित्र एकमत हुने अवस्था नरहेकोसमेत दाबी गरिएको छ। 'देशमा एकातिर एमसिसीबारे राजनैतिक वृत्त, बुद्धिजीवी, प्रेसदेखि जनस्तरसम्म विरोध र दबाबको अवस्था विद्यमान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसीबारे गठन गरेको कार्यदलले पनि यसलाई परिमार्जन बिना पारित गर्न नसकिने निचोड प्रस्तुत गरेकाले समेत गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था छैन,'  प्रचण्डको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

यता सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसी संसद्बाट सर्वसम्मतिले पारित गर्नु पर्ने बताउँदै आएका छन्। डा भट्टराईले सबै एकमुख भएर जनतालाई यसबारे बुझाउनुपर्ने धारणा राखेका छन्।

ओलीको ठाडो भाका देउवाको जस्तै

सत्तामा रहँदा एमाले अध्यक्ष ओलीको ठाडो भाका देउवाको जस्तै थियो। एमालेभित्र भीम रावलले चर्को विरोध गरिरहँदा ओलीले एमसीसी पढेको मान्छे आफूले नभेटेको दाबी गरेका थिए। २०७७ असार ४ गते राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले भनेका थिए, ‘मान्छेहरूले पढे हुन्थ्यो नि लहैलहैमा लागेर हल्ला गर्नुभन्दा। देशको विकास हुन्छ भन्ने चिन्ता लागेर हो कि हल्लाको पछाडि लागेका। हल्ला गर्नुभन्दा पढे हुने नि।’

पढ्दै नपढी हल्लाको पछाडि कुद्ने प्रवृत्ति ठिक नभएको समेत उनको भनाई थियो।

'मान्छेहरू खुट्टाले टेकेर हिँड्नभन्दा टाउकाले टेकेर हिँड्न थालेका छन्। खुट्टाले टेकेर हिँड्नुपर्छ। यो भनेको ठिक कुरा ठिक तरिकाले गर्ने र बोल्ने हो। लहैलहैमा लागेर हिँड्नु राम्रो होइन। यहाँ ठीक छ, यहाँ बेठीक छ भन्नु चाहिँ एक कुरा हो। तर, पढ्दै नपढी हल्ला गर्नु गतल हो,' प्रधानमन्त्री रहेका बेला ओलीले भनेका थिए, 'कागले कान लग्यो भनेर दगुर्नुभन्दा पहिला कान छाम्नुपर्छ। अझ दुखेको छैन भने कान लगेको रहेनछ भनेर बुझ्नुपर्छ नि। दुख्यो दुखेन वास्ता नगर्ने? कान नछामी कुद्ने प्रवृत्ति अचम्मको छ।'

यसरी सत्तामा रहँदा ठाडो भाका गर्ने ओली आइतबारको छलफलमा भने सत्ता गठबन्धनको मतभेदलाई देखाउँदै उम्किएका छन्। आजको छलफलमा ओलीले राखेको धारणाबारे पोखरेलले भने, ‘एमसीसी पारित गर्ने वा नगर्ने तथा कसरी अघि बढाउने सरकारको विषय हो। अहिले सत्तापक्षमा नै एकमत छैन। सरकारले आफ्नो पोजिसन क्लियर गरेपछि एमाले अनिर्णित रहँदैन।’

जसरी पनि पारित गराउने पक्षमा कांग्रेस

एमसीसी अनुदान भएको दाबी गर्दै जसरी पनि पास गराउनुपर्ने पक्षमा कांग्रेस रहेको छ। बैठकपछि एमसीसीको बारेमा नेताहरुबीच सौहर्दपूर्ण छलफल भएको कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दाबी गरे। 

'करिब २ घण्टा तीन नेताबीच सौहर्दापूर्ण छलफल भयो,' सञ्चार मन्त्रीसमेत रहेका कार्कीले भने, 'संसदलाई प्रभावकारी बनाउने विषयमा, एमसीसी अनुदानलाई संसदमा छलफल गरेर निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भयो। आगामी छलफलले यसलाई निष्कर्षमा पुर्‍याउँछ।'

एमसीसीबारे चलेका आशंका चाँडै दुर भएर जाने र कार्यान्यवनमा आउनेमा आफू विश्वस्त रहेको कार्कीको दाबी थियो। 'राष्ट्रिय राजनीतिमा सकारात्मक दिशामा अघि बढेको सन्देश आजको तीन नेताको भेटले दिएको छ। एमसीसीलाई चाँडै निष्कर्षमा लैजाने विषयमा गहन छलफल भयो,' उनले भने, 'एमसीसीमा चलेका आशंका चाँडै दुर भएर यो कार्यन्वयनमा जानेछ। संसद खुलाउने विषयमा पनि सकारात्मक छलफल भएको छ। अर्को बैठक प्रधानमन्त्रीले चाँडै बोलाउनुहुनेछ।'

एकीकृत समाजवादीको धारणा के?

आजको बैठकमा धेरैले खोजेका व्यक्ति हुन एकीकृत समाजादीका अध्यक्ष माधव नेपाल। एमसीसीबारे खासै अडान नबोकेको एकीकृत समाजवादीले यसबारे के धारणा राख्ला? धेरैको चासोको विषय पनि रह्यो। यद्यपि एमाले अध्यक्ष ओलीले नेपाल उपस्थित कार्यक्रममा सक्दो मञ्च सेयर नगर्ने अडान कायमै राखेका छन्। जसले गर्दा आजको बैठकमा नेपालको उपस्थिति नरहेको बताइएको छ।

एमसीसी सहमतिमै पारित गराउने प्रयास भइरहेको हालै नेपालले बताएका छन्। माघ १९ गते सिन्धुपाल्चोकका एमाले कार्यकर्तालाई एकीकृत समाजवादीमा प्रवेश गराउँदै नेपालले भनेका थिए, ‘एमसीसीमा कुन-कुन कुराहरु छन् संसोधन गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नुभयो। संशोधन गराउनुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ। गठबन्धनको सहमतिबाटै एमसीसी पास गराउने कार्यमा प्रयास भइरहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell