
काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले गठबन्धनको सहमति बिना अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन पारित भए स्वत: गठबन्धन तोडिने बताएका छन्।
सरकारले आज संसदमा एमसीसी पेश गर्ने तयारी गरेको छ। एमसीसीका बारेमा निर्णय लिन बसेको संसदीय दलको बैठक पछि प्रतिक्रिया दिँदै गुरुङले भने, ‘सरकारले जर्बजस्ती गर्न खोज्यो भनेदेखि त अब सहमति बिना गर्ने कुरा त सरकारले गठबन्धन तोडेर गर्ने कुरा हो। गठबन्धन तोडेर गइसकेपछि सरकारमा रहने कुरा सायद आउँदैन’ उनले भने।
उनले गठबन्धनमा सहमति बनाएरमात्रै एमसीसी बारे निर्णय लिनुपर्ने बताएका छन्।
‘गठबन्धनको निर्णय बिना सरकारको निर्णय हुन सक्दैन। त्यसकारणले गर्दाखेरी गठबन्धनको निर्णय बिना सरकारले अथवा कुनै घटकले आफ्नो ढंगले चल्न खोज्यो भने गठबन्धन तोडियो भन्ने कुरा हुन्छ। गठबन्धन तोडियो भने सरकार पनि स्वत्ः तोडिने कुरा आउँछ’ उनले भने।
आज बसेको संसदीय दलको बैठकले संसदमा एमसीसी पेश गर्न तीनवटा शर्त राखेको छ। जसमा पहिला संसद खुलाउनुपर्ने, दोस्रो गठबन्धनमा सहमति वा राष्ट्रिय सहमति र एमसीसीमा रहेको राष्ट्रिय हित विपरितका प्रावधान संशोधन गर्नुपर्ने छ।
सम्बन्धित समाचार : एमसीसीको विपक्षमा माओवादी केन्द्र : संसदमा पेश भए सरकारबाट बाहिरिने चेतावनी
एमसीसी संसदमा पेश गर्न माओवादीले अघि सार्यो तीन शर्त, आजको बैठकमा पेश होला त प्रस्ताव ?