PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

खेल कुटनीतिले घेरिँदै रसिया : बेलारुसमाथि पनि प्रतिबन्ध लगाउने आईओसीको निर्णय, फुटबलमा पनि 'निषेध'



पहिलोपोस्ट

खेल कुटनीतिले घेरिँदै रसिया : बेलारुसमाथि पनि प्रतिबन्ध लगाउने आईओसीको निर्णय, फुटबलमा पनि 'निषेध'
Reuters

इन्टरनेशनल ओलम्पिक कमिटी (आईओसी) को कार्यकारी बोर्डको बैठकले रसिया र बेलारुसका खेलाडी तथा अफिसियलमाथि प्रतिबन्ध लगाउने भएको छ। युक्रेनमाथि रसियाले आक्रमण गरेपछि खेल क्षेत्रमा रसियामाथि धेरैखाले प्रतिबन्ध सुरु भएको छ। रसियाको समर्थनमा रहेको बेलारुसमाथि पनि प्रतिबन्ध लगाउने आईओसीले निर्णय गरेको हो।

बोर्डको निर्णयमा 'विश्वव्यापी खेलकुद प्रतियोगिताहरूको अखण्डता र सबै सहभागीहरूको सुरक्षाको लागि' यो निर्णय 'गह्रुँगो मन' लिएर लिइएको जनाइएको छ।

रसियन ओलम्पिक कमिटीले आईओसीको यो निर्णयलाई ओलम्पिक चार्टर्ड र नियमहरु विपरीत भएको भन्दै असहमति जनाएको छ।

'पहिलो चरणमा हामी रुसी खेलाडीहरूको स्थिति र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिने उनीहरूको अधिकारको बारेमा आधिकारिक प्रतिक्रियाको लागि अन्तर्राष्ट्रिय महासंघहरूलाई अनुरोध पठाउन आवश्यक ठान्छौं,' आरओसीले विज्ञप्तिमा भनिएको छ, 'रूसी ओलम्पिक समितिले रूसी खेलाडीहरूको अधिकार र हितलाई निरन्तरता दिने र सम्बन्धित अन्तर्राष्ट्रिय संघहरूको भेदभावपूर्ण निर्णयहरूलाई चुनौती दिन हाम्रा राष्ट्रिय संघहरूलाई सबै आवश्यक सहयोग प्रदान गर्न चाहन्छ।'

फिफा र यूईएफएको पनि प्रतिबन्ध

रसियाको राष्ट्रिय फुटबल टोली र फुटबल क्लबहरुमाथि फुटबलको सर्बोच्च निकाय फिफा र युरोपेली फुटबलको निकाय यूईएफएले प्रतिबन्ध लगाउने निर्णय गरेको छ। अर्को सूचना जारी नभएसम्म यो प्रतिबन्ध कायम रहने जनाइएको छ।

यसको सिधा प्रभाव अर्को महिना हुने कतार विश्वकप २०२२ को छनोटमा पर्नेछ। त्यस्तै महिला टोलीको युरोकपलाई पनि प्रभावित पार्नेछ।

यो निर्णय मुताबिक रसियन क्लब स्पार्टक मस्कोले यूईएफए युरोपा लिगको क्वाटर फाइनलको खेल खेल्न पाउने छैन। अर्थात् जर्मन क्लब आरबी लाइपजित सिधै क्वाटरफाइनलमा पुग्नेछ।

यूईएफएले इनर्जी जायन्ट गाजप्रोमसँगको प्रायोजन सम्झौता पनि खारेज गरेको छ।

'फुटबल यहाँ पूर्णरूपमा एकजुट छ र युक्रेनमा प्रभावित सबै मानिसहरूसँग पूर्ण ऐक्यबद्धतामा छ,' फिफा र यूईएफएका अध्यक्षले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ' दुवै राष्ट्रपतिले युक्रेनको स्थितिमा उल्लेखनीय र द्रुत रूपमा सुधार हुने आशा राखेका छन् ता कि फुटबल फेरि जनता बिच एकता र शान्तिको लागि वातावरण हुन सक्छ।'

यसअघि रसियाले युक्रेनमाथि आक्रमण गर्दा यी दुवै निकायले घटनाक्रमलाई नियालिरहेको जनाएका थिए। त्यसपछि रसियन टोलीसँग प्लेअफमा खेल्नुपर्ने टोलीहरु पोल्याण्ड, चेक रिपब्लिक लगायतले रसियासँग खेल खेल्न अस्वीकार्य रहेको जनाएका थिए। त्यसक्रममा फिफाले रसियाको टोलीले राष्ट्रिय झन्डा र गान बिना फुटबल फेडेरेसनको नामबाट सहभागिता जनाउनु पर्ने उल्लेख गरेको थियो। तर फिफाको यो निर्णयमा पनि असन्तुष्ट जनाउँदै रसियासँग कुनै पनि अवस्थामा नखेल्ने अड्डी कसेर ती देशहरु बसेका थिए।

त्यसैबिच फिफा र यूईएफले रसियन टिममाथि प्रतिबन्ध लगाउने निर्णयमा पुगेका हुन।

फिफाको निर्णयलाई लिएर रसियाको फुटबल फेडेरेसनले यो अस्वीकार्य भएको भन्दै अन्तर्राष्ट्रिय खेलकुद कानुन मुताविक यसलाई चुनौति दिने स्पस्ट पारेको छ।

यसअघि यूईएफएले च्याम्पियन्स लिगको फाइनल रसियाबाट सार्ने निर्णय गरेको थियो। इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले रसियन एयरलाइन्स एयरफ्लटसँग प्रायोजन सम्झौता रद्ध गर्ने निर्णय गरेको छ।

सम्बन्धित समााचार

युक्रेनमाथि आक्रमण गरेको भन्दै पोल्याण्ड र स्वीडेनले रसियासँग विश्वकप छनोट खेल्न गरे अस्वीकार

रसिया-युक्रेन तनाबमा खेल कूटनीति: स्थिति नियाल्दै फिफा र यूईएफए, च्याम्पियन्स लिगको फाइनल सार्न दबाब

रसियाको फुटबल टोलीलाई झण्डा र राष्ट्रिय गान बिना खेल्न फिफाको निर्देशन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell