PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

सत्तारुढ दलभित्रको रस्साकस्सी : फेरिँदै कांग्रेसभित्रको समीकरण, कसको कस्तो रणनीतिक 'मुभ'?



नेत्र तामाङ

सत्तारुढ दलभित्रको रस्साकस्सी : फेरिँदै कांग्रेसभित्रको समीकरण, कसको कस्तो रणनीतिक 'मुभ'?

काठमाडौं : केन्द्रीय सदस्यमात्र रहे पनि अघिल्लो कार्यकालमा पार्टी सभापति शेरबहादुर देउवासँगै भेटिन्थे विश्वप्रकाश शर्मा। शर्मा देउवा नेतृत्वको अहिलेको कार्यसमितिमा महामन्त्री छन्। तर, अहिले सभापति देउवासँग उनी त्यति देखिँदैनन्, जति पहिले देखिन्थे।

सभापति देउवाको कार्यशैलीको सबैभन्दा आलोचक कांग्रेसभित्र कोही देखिन्थ्यो भने त्यो गगन थापा नै हुन्थ्यो। महाधिवेशनमा शेखर कोइरालाको प्यानलबाट जित निकाले पनि यतिखेर हरेक गतिविधिमा देउवासँगै देखिन्छन् गगन।

देउवालाई सभापतिलाई साथ दिँदै उनकै प्यानलबाट उपसभापति जितेका पूर्णबहादुर खड्का आगामी अधिवेशनका लागि अहिलेदेखि नै गुट बनाउन थालिसकेका छन्। महाधिवेशनपूर्व नै देउवाविरुद्ध कडा रुपमा उत्रिएका विमलेन्द्र निधि फेरि देउवा निकट देखिएका छन्।

सत्तारुढ दल नेपाली कांग्रेसभित्रका यी दृश्यले पार्टीभित्रको समीकरण फेरबदलको संकेत मात्र गर्दैन, आसन्न स्थानीय तहको निर्वाचनको तरङ्गको पनि व्याख्या गर्छ।

१४ औं महाधिवेशनबाट फेरि सभापतिमा भएका देउवा पार्टीमा बलियो छन्। १३ पदाधिकारीमध्ये ८ र केन्द्रीय सदस्यमा देउवा टिमकै बाहुल्यता छ।

यद्यपि, 'टिम देउवा'ले महामन्त्रीका दुई पद गुमायो। पार्टी प्रवक्ताको जिम्मेवारी पाएपछि देउवा निकट भएका विश्वप्रकाश शर्मा टिममा नअट्दा प्रकाशमान सिंह टिमबाट महामन्त्रीमा निर्वाचित भए। यता सह महामन्त्रीमा दुई पद गुमाउँदा पनि पदाधिकारीमा पनि देउवा बलिया देखिए।

पराजितहरुले पाउँदै जिम्मेवारी
१४ औं महाधिवेशनमा 'टसल'मा उत्रिएका नेताहरु अहिले देउवासँग नजिकिन थालेका छन्। कार्यकर्ताले महाधिवेशनबाट अस्विकृतहरुलाई जिम्मेवारी दिएको आरोप लगाए पनि ती नेताहरु कोही देउवा आफैले चाहेर नजिकिएका छन् भने कोही नेताहरुको स्वार्थ पनि गाँसिएको देखिन्छ।

पछिल्लोपटक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री डा शशांक कोइराला प्रत्यक्ष र अप्रत्यक्ष रुपमा देउवासँग नजिकिन थालेका छन्। यसैगरी महामन्त्रीमा पराजित दुई डाक्टर पनि देउवासँग नजिक हुन थालेका छन्।

टिम देउवाबाटै महामन्त्रीमा भिडेका डा प्रकाशशरण महत पराजित भए पनि केन्द्रीय सदस्यको जिम्मेवारी पाउँदै प्रवक्ता बनिसकेका छन्। यता टिम शेखरबाट देउवालाई निवर्तमान सभापति बनाउने भन्दै महाधिवेशनमा होमिएका डा मीनेन्द्र रिजाल पनि बालुवाटारसँग सम्बन्ध बढाउन थालेका छन्। एमसीसी अनुमोदनपूर्व प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि देउवाको दूत बन्ने मौका पाए रिजालले। जबकि महाधिवेशनमा पराजित अधिकांशले केन्द्रीय सदस्यमा मनोनयन पाउँदा रिजाललाई अझै त्यो मौका भने मिलेको छैन।

यसो त कांग्रेसमा महाधिवेशनमा भागै नलिएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरे। यतिमात्र होइन, सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति समेत उनले हाँकिरहेका छन्।

पराजित विजयकुमार गच्छदार, जीवनबहादुर शाही, प्रदीप पौडेल, कल्याण गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, सुजाता कोइरालालाई पनि देउवाले केन्द्रीय सदस्यमा मनोनित गरे।

के विमलेन्द्रसँग नजिकिँदै छन् देउवा?
देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेर सम्बन्ध बिगारिसकेका निधि पछिल्लोपटक देउवासँग नजिकिन थालेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन अघि देउवा निधिको गोप्य गठजोड देखिएको थियो। प्रधानन्यायाधीशलाई महाभियोग लगाउने तयारीबारे देउवा टिममै कमैलाई जानकारी हुँदा निधि भने यही कार्ययोजना बनाउन लागिपरेका थिए।

फागुन १ गते केन्द्रीय कार्यसम्पादन बैठक चलिरहँदा निधि बाहिरिएको केहीबेरमै देउवा निस्किएका थिए। त्यसपछि करिब २० मिनेट सभापतिको कार्यकक्षमा देउवा र निधिको छलफल चलेको थियो। अति गोप्य भनिएको यो भेटपछि देउवा समूहकै पदाधिकारी र केन्द्रीय सदस्यहरु दुईको भेटलाई लिएर मुखामुख गरेका थिए।

'उक्त दिन प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाईसमेत इन्ट्री दिइएको थिएन,' कांग्रेसका एक केन्द्रीय सदस्यले भने। त्यसका अघिल्ला दिनहरुमा पनि निधिको बालुवाटारमा आउजाउ बाक्लिएको थियो।

देउवाले रोजे कि आफैँ नजिकिए निधि?
१४ औं महाधिवेशनमा देउवासँग जोरी खोजेका निधि १३ औं महाधिवेशनयता भने देउवाकै सारथी थिए। देउवाले पार्टीको नीति तथा रणनीति निधिमार्फत बनाउँथे। कारण निधि पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख थिए। पार्टीको नीति तथा रणनीतिबारे धेरैजसो तयारी निधिमार्फत नै हुने गर्थ्यो।

पार्टीका सानातिना विवादमा समेत देउवाले निधिलाई फोन लगाइहाल्थे। तर, १४ औं महाधिवेशनमा सभापतिमा टक्कर दिने भएपछि टिम देउवाबाट आउट भए निधि। यसरी आउट भएका उनी किन पुन: नजिकिए देउवासँग?

महाधिवेशनमा संस्थापन पक्षकै जित भए पनि विश्वाशिलो पात्र नहुँदा देउवाले उनको साथ खोजेको ती केन्द्रीय सदस्यले दाबी गरे। 'निधिलाई देउवा चाहिएको छ। त्यसभन्दा देउवालाई निधि बढी चाहिएको छ,' ती केन्द्रीय सदस्यको दाबी रह्यो।

उसो त पार्टीमा खासै राजनीतिक सल्लाहकार नराख्‍ने देउवा महाधिवशेन अघि निधि र अहिलेका उपसभापति पूर्णबहादुर खड्का पार्टीभित्र उनका बलिया दुई खम्बाका रुपमा हेरिएका पात्र हुन्।

सभापतिमा पहिलो राउन्डबाटै आउट भएपछि निधिले देउवालाई समर्थन गरेका थिए। यही गुण तिर्न पनि देउवाले निधिलाई साथ दिएको हुन सक्ने बताइन्छ। पछिल्लो पटक मधेश प्रदेशको कांग्रेस अधिवेशन निधिकै सुझावका देउवाले कारण पटकपटक सारेको बताइन्छ।

प्रवक्तामा प्रकाशशरण रोज्नुको कारण
केन्द्रीय समितिमा आफ्नो वर्चश्व भए पनि देउवा पछिल्लो टिमसँग विश्वस्त छैनन्। महामन्त्रीमा अवसर नदिएका कारण गृहमन्त्री बालकृष्ण खाँण, एनपी साउद, रमेश लेखक पनि देउवासँग रुष्ट छन्। यही नेताहरुलाई प्रयोग गर्दै उपसभापति पूर्णबहादुर खड्काले अर्को समूह बनाउन खोजेकाले देउवा सशंकित भएको बताइएको छ।

हाल पदाधिकारीमा सह महामन्त्री महालक्ष्मी उपाध्याय 'डीना' र भीष्मराज आङ्देम्बेमात्र देउवाका विश्वासपात्र मानिन्छन्। त्यसैले पनि देउवाले आफ्ना विश्वासिला पात्रलाई काममा फर्काएको बताइन्छ। देउवा टिमबाट महामन्त्रीका उम्मेदवार बनेका डा प्रकाशशरण महत आफ्नै समूहको अन्तर्घातका कारण पराजित भएको आरोप लागेको छ।

देउवाको विश्वाशिलो पात्र भएकै कारण महतलाई हराउन सुदूर पश्चिमका नेताहरु लागिपरेको आरोपसमेत लागेको थियो। आफूलाई मतदान गरेकालाई धन्यवाद दिन अनुपम फुडल्यान्डमा आयोजित पत्रकार सम्मेलन चुनावी घातबारे प्रश्न गर्दा प्रकाशशरणले पुस ९ गते भनेका थिए, 'परिणाम सबैलाई थाहै छ। यसबारे थप टीका टिप्पणी गर्न म चाहन्नँ। अनपेक्षित मलाई मात्रै लागेको होइन। साथीहरूले पनि सोधेका छन्।'

पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म भरपर्दो मान्छे नभएकै कारण प्रकाशशरणलाई प्रवक्ता रोजेको देउवा निकट नेताहरु बताउँछन्।

गगनसँग साँठगाँठ कस्तो?
कांग्रेसमा शेखर टिमबाट महामन्त्रीमा निर्वाचित गगन थापा पछिल्लो समय देउवासँग नजिक देखिन्छन्। पदाधिकारी बैठक होस् या कार्य सम्पादन समितिको बैठक, गठबन्धनको बैठक होस् या प्रमुख प्रतिपक्षी दलका नेताहरुसँगको बैठक; गगन देउवाको साथमै देखिन थालेका छन्। पार्टीमा दुई महामन्त्री भए पनि देउवाले पछिल्लो समय हरेक बैठकमा गगनलाई छुटाउँदैनन्।

एमसीसी पारित गर्ने समयमा त झन् गगन देउवाको साथसाथै देखिएका थिए। कतिपयले त देउवाको बोली गगनले बोल्न थालेको समेत बताउन थालेका छन्। यद्यपि, एमसीसीमा पार्टी एकमत रहेकाले यसमा गगन देउवासँग नजिकियो भनेर विवाद गरिरहनुपर्ने विषय नै नभएको शेखर पक्षका नेताहरु बताउँछन्।

देउवा टिमबाट आउट भए पनि महामन्त्रीमा निर्वाचित विश्वप्रकाशलाई केन्द्रीय कार्यसम्पादन समितिको दोस्रो बैठकमा ९ एजेन्डा प्रस्तुत गर्न दिएका थिए देउवाले। यद्यपि, उक्त एजेन्डामा एमसीसीलाई समावेश गरिएको थिएन। तर, बैठक भने एमसीसीमै केन्द्रित थियो। विश्वप्रकाश देउवाको साथमा नदेखिनुको एउटा यो पनि कारण हो।

उपसभापति खड्कामाथि समानान्तरको आरोप
गठबन्धन सरकारमा अहिले दुई वटा सरकारको चर्चा छ- पहिलो बालुवाटार सरकार र अर्को सिंहदरबार सरकार। बालुवाटार सरकारको सत्ताको बागडोर कांग्रेस सभापति देउवाको हातमा छ भने सिंहदरबार सरकारको सत्ताको बागडोर गृहमन्त्री बालकृष्ण खाँणको। सरकारी सत्ता खाणको भए पनि सिंहदरबार सरकारको पार्टी सत्ताको बागडोर कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको हातमा पुगेको देउवा निकट एक नेताले बताए।

'अहिले गृह मन्त्रालयले सिंहदरबारमा समानान्तर सत्ता सञ्चालन गरिरहेको छ। सरकारी सत्ता गृहमन्त्री बालकृष्ण खाणले हाँकेको देखिन्छ। तर पार्टी सत्ताको सेनापति उपसभापि खड्का हुन्,' देउवा निकट एक कांग्रेस नेताले भने। समानान्तर सत्ता सञ्चालनका लागि खड्का र खाँणले महेन्द्र यादव, रामहरि खतिवडा, सुरेन्द्र पाण्डेलगायतका नेताहरु परिचालन गरेको ती नेताको दाबी रह्यो। खड्काले आफू देउवा टिमबाट अर्कोपटक सभापतिको उम्मेदवार भएको दाबी गर्दै पावर सेयरिङमा लागिसकेको बताइएको छ।

'देउवाको उत्तराधिकारीका रुपमा आफूलाई प्रस्तुत गरेका मान्छे हुन्। अबको सभापतिको उम्मेदवार आफू नै हो भन्दै पावर सेयरिङमा उनी (पूर्णबहादुर खड्का) लागिसकेका छन्,' ती नेताले दाबी गरे।

कम बोल्ने र देउवाकै शैली अपनाउने खड्कालाई चतुर राजनीतिक खेलाडीका रुपमा चिन्छन् कांग्रेस नेताहरु। तर, उनी देउवालाई नै असफल बनाउन लागिपरेको देउवा पक्षीय कांग्रेस नेताहरुको आरोप छ।

गृहमन्त्री खाँणले काठमाडौंबाट प्रहरी प्रमुख अशोक सिंहलाई धपाउन खोज्दा प्रधानमन्त्री देउवाले रोकेको कुराबाट पनि यो विषय प्रस्ट भएको नेताहरुको दाबी छ। गत मंसिरअघि गृहमन्त्री खाँणले पटकपटक सिंहलाई काठमाडौंबाट सरुवा गर्न खोजेका थिए।

प्रहरी नियमावलीअनुसार सामान्यता कुनै पनि कारबाहीमा नपरेको खण्डमा एक वर्षसम्म सरुवा गर्ने गरिँदैन। तर, एक वर्ष पनि नपुग्दै र एक जनामात्र एसएसपीको काज सरुवाले प्रहरी प्रधान कार्यालयमाथि गृहमन्त्री खाण हाबी भएको प्रहरीभित्र चर्चा चलेको थियो।

खाँणको नियत थाहा पाएपछि प्रधानमन्त्री देउवाले तुरुन्तै सरुवा बदर गरेका थिए। पछिल्लो पटक खड्का माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निकट सम्बन्ध राख्‍ने नेताका रुपमा समेत चिनिन्छन्। प्रचण्डसँग देउवाबारे खड्काले गलत रुपमा ब्रिफिङ गर्ने गरेको आरोपसमेत उनीमाथि लाग्न थालेका छन्। यस्तो थाहा पाएपछि देउवा खड्कासँग रुष्ट बनेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले पुष्टि गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell