PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

देउवाले निर्देशन दिँदा पनि गठबन्धनमा अटेरी गर्दै प्रचण्डलाई 'अननेसेसरी' चिढ्याउन खोज्‍ने को - को?



नेत्र तामाङ

देउवाले निर्देशन दिँदा पनि गठबन्धनमा अटेरी गर्दै प्रचण्डलाई 'अननेसेसरी' चिढ्याउन खोज्‍ने को - को?

काठमाडौं : स्थानीय निर्वाचन नजिकिएसँगै जनमत आफ्नो पक्षमा पार्न प्रमुख राजनीतिक दल कम्मर कसेर लागेका छन्। चुनावी माहौल आफ्नो पक्षमा पार्न एक्लाएक्लै लड्ने कि तालमेल गरेर जाने भन्ने विषय पनि यसकै केन्द्रमा छ जसमाथि बहस गरमागरम हुन थालेको छ।

गत निर्वाचनमा नराम्रो हार ब्यहोरेको कांग्रेस यसपटक जसरी पनि पहिलो दल बन्ने दाउमा देखिन्छ। झन्डै दुई तिहाइ नजिक मत पाएर सत्ता सम्हालेको नेकपा सरकारको असफलतालाई कांग्रेसले पहिलो दल बन्ने आधार देखेको छ। उसलाई लाग्छ - कम्युनिस्ट विभाजनको यस्तो अवस्थामा जित ननिकाले कहिले निकाल्ने?

प्रतिनिधिसभामा दोस्रो ठूलो दल भए पनि कांग्रेस सत्ताको बागडोर सम्हाल्दै देशभर चुनावी प्रचारमा होमिसकेको छ। वक्तव्य होडबाजीमा कांग्रेसका नेताहरुको दाबी छ - एक्लै गए नि पहिलो दल बनिन्छ।

निर्वाचनमा एमालेसँग एकता गरेर बलियो बनेको माओवादी र एमालेबाट चोइटिएर बनेको एकीकृत समाजवादी भने कांग्रेसको आड भरोसामा चुनावी परिणाम ल्याउने दाउमा देखिन्छन्। आफू ‘नम्बर वान’ बन्ने दाबी गर्दै दलका नेताहरुको घुर्की अहिले सार्वजनिक मञ्चहरुमा पोखिन थालेको छ। चर्को घामले बढेको तापक्रमसँगै राजनीतिक सरगर्मी पनि उखरमाउलो बन्दैछ। 

राजनीतिक चिड्चिडाहटको पछिल्लो सन्दर्भमा छन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड। चुनाव नजिकिएसँगै सत्तारुढ दलका प्रमुख सारथी प्रचण्डको दौडधुप कम छैन। चुनावी गठबन्धनकै विषयलाई लिएर प्रचण्डले बिहीवार कांग्रेस नेताहरुसँग घुर्की लगाउन भ्याए।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले कांग्रेसका केही नेताले दिएको अभिव्यक्ति गठबन्धन विरुद्ध आरो पनि लगाए। राजनीतिमा असम्भव केही नरहेको उल्लेख गर्दै प्रचण्डले भने, 'नेपाली कांग्रेसका केही नेताहरुले असध्यै अतिवादी ढंगले बोलिरहनुभएको छ। कांग्रेसले लखेट्न नै थाले भने त परिस्थिति के हुन्छ भन्न सकिँदैन,' प्रचण्डले कांग्रेसलाई चेतावनीको भाषामा सुनाए।

यद्यपि, स्थानीय तह‍को चुनावमा एमालेसँग गठबन्धन हुने सम्भावना कम रहेको उनको स्वीकारोक्ति थियो। 'राजनीति भनेको सम्भावनाको खेल हो,' प्रचण्डको भनाई थियो।

त्यसो त प्रचण्ड प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनावी तालमेल गर्ने पक्षमा ढुक्क सुनिएका थिए।

'हुन त प्रधानमन्त्रीले उहाँहरुलाई बोल्न बन्द गर भनिसक्नुभएको छ,' प्रचण्डले सान्त्वनाको भावमा सुनाए।

के भनेका थिए देउवाले?

प्रधानमन्त्री देउवाले पटकपटक स्थानीय निर्वाचनमा गठबन्धन दलसँग तालमेल गर्ने संकेत गरिसकेका छन्। फागुन २४ गते सानेपामा बसेको केन्द्रीय समितिमा देउवाले यसबारे संकेत गर्दै गठबन्धन दलका नेताहरुलाई अनावश्यक रुपमा नचिढ्याउन निर्देशन नै दिएका थिए।

फागुन २६ गते पर्सा कांग्रेसको निर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्न वीरगंज पुग्दा पनि देउवाले सोही भनाई दोहोर्‍याए। गठबन्धनकै कारण प्रधानमन्त्री बनेको भनाई पटकपटक दोहोर्‍याउँदै देउवाले भनेका थिए, 'म प्रधानमन्त्री हुने नै थिइनँ यसपाली। गठबन्धनका साथीहरुले, माधव नेपालजी भयो, मधेशका साथीहरुले सहयोग गरेर प्रधानमन्त्री भएको हुँ।'

आउँदो निर्वाचनका लागि कसरी जाने भन्नेबारेमा सबै पार्टीमा छलफल हुने उल्लेख गर्दै सबैको सहयोग लिन जरुरी हुने भनाई देउवाको थियो। 'गठबन्धनका साथीहरुको सहयोगमा म प्रधानमन्त्री भएको हुँ। गठबन्धनसित आउँदो चुनाव हुँदा हाम्रोभित्र छलफल हुन्छ। सबै पार्टीभित्र छलफल हुन्छ,' देउवाले भनेका थिए, 'हामीले सबैको सहयोग लिएर जानुपर्छ।'

अघिल्लो निर्वाचनमा कांग्रेस नराम्ररी पराजित बनेको सुनाउँदै देउवाले अब पहिलो पार्टी बनाउन नेताहरु लाग्नुपर्ने निर्देशनसमेत दिए।

'तपाईँहरुलाई थाह छ, एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो? हारेका थियौं। अहिले गठबन्धनको सरकार भएका कारण स्थानीय, प्रदेश र केन्द्रमा पनि हामी पहिलो पार्टी बनाउन लाग्नुपर्छ,' देउवाले भनेका थिए।

सभापति देउवाले गठबन्धन दलका नेताहरुलाई नचिढ्याउनसमेत् आफ्ना नेताहरुलाई आग्रह गरेका थिए।

'गठबन्धनका साथीहरुको सहयोगले प्रधानमन्त्री बेनकोले उहाँहरुको सहयोगले पनि प्रजातन्त्रका लागि पनि गठबन्धनका साथीहरुलाई 'अननेसेसरी' चिढ्याउने काम गर्नुहुन्न। अर्कोतिर विपक्षी पार्टी एमाले ओलीको पार्टी छ। सशक्तै छ। उनीहरुलाई थाहै छ हाम्रो पार्टी पनि सशक्त छ,' देउवाले भनेका थिए।

प्रचण्ड चिढ्याउन लाग्‍ने को - को?

पार्टी सभापति देउवाले गठबन्धनका पक्षमा लगातार व्याख्या गरे पनि कांग्रेसिभत्रै चाहिँ एक्लै चुनाव लड्नुपर्छ भन्ने मत बलियो देखिन थालेको छ। 'रुखमा  मतदान गर्नेहरुलाई अरु चिह्नमा मत हाल्न लगाउनु हुन्न' भन्ने पक्षमा कांग्रेस कार्यकर्ता समेत देखिन थालेका छन्। चितवनको भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई कांग्रेसले जिताएको प्रसंग बेलाबेला छलफलसमेत हुनेगर्छ कांग्रेस कार्यकर्ता वृत्तमा। यही विषयलाई लिएर कांग्रेसलाई गठबन्धनबारे धारणा राख्‍न असहज हुने गरेको देखिन्छ। कांग्रेसका कतिपय नेता त खुलेआाम माओवादीको चर्को विरोध गर्न पछि पर्दैनन्।

गठबन्धनमा देउवा दाहिने हुँदा हुँदै पनि कांग्रेसमा उनका सहयोगीका रुपमा हेरिने पार्टी उपसभापति पूर्णबहादुर खड्काले समेत गठबन्धनबारे अहिले नै भन्न नसकिने उल्लेख गरेका छन्। कार्यसमितिको बैठकमा व्यापक छलफल पछिमात्र यसबारे भन्न सकिने खड्काको भनाई छ। फागुन २५ गते एक महिने चुनावी अभियान घोषणा कार्यक्रममा गठबन्धनबारे खड्काले भने, 'पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्छ। कार्यसमितिको बैठक बस्छ। त्यसले निर्णय गरेपछिमात्र गठबन्धनको तालमेलबारे भन्न सकिन्छ। यसभन्दा अघि यसबारे हामी बहस गर्दैनौं।' कांग्रेसले फागुन २९ गतेबाट देशभर एक महिने चुनावी अभियान सुरु गरेको छ। उक्त अभियानमासमेत गठबन्धनबारे नबोल्ने उपसभापति खड्काले बताए।

यता कांग्रेसका अर्का उपसभापति धनराज गुरुङले भने कांग्रेसलाई हात्ती र माओवादी र माधवलाई चमेराको संज्ञा दिँदै प्रचण्ड र माधवले हात्तीका कानमा चमेराले गुँड लगाउन खोजेको दाबी गरेका छन्।

फागुन २१ गते कांग्रेस निकट निजामती कर्मचारी युनियनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उपसभापति गुरुङले २०७९ साल चुनावी वर्ष रहेको र कांग्रेसरूपी हात्ती चुनावी मैदानमा लम्किन थालेपछि बानेश्वरमा केही दिन कुकुरहरू भुके पनि एमसीसी पास गरेरै छाडेको बताएका थिए।

सभापति तथा प्रधानमन्त्री देउवासमेत सहभागी कार्यक्रममा गुरुङले भने, ‘दुईचार दिनमात्र अगाडि कांग्रेसरूपी हात्ती लम्किएर बानेश्वर पुग्दै गर्दा केही कुकरहरू भुक्ने काम पनि भए तर एमसीसी पास भयो। २०७९ साल निर्वाचन वर्ष हो। त्यसैले कांग्रेसरूपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ। कांग्रेस चुनावको मैदानमा लम्किँदै गर्दा हात्तीको ठुलो कान देखेर चमेराहरू हात्तीको कानमा ओत लाउन खोज्दै छन्। हात्तीको कानमा ओत लाग्ने चमेराको भरोसा हुँदैन। चमेराले हात्तीलाई केही सहयोग गर्दैन बरु हात्तीको कान दुर्गन्धित बनाउँछन्। त्यसैले जनताबिच कांग्रेस एक्लै जान्छ आफ्नो रोड म्यापमा।’

यता कांग्रेस महामन्त्री गगन थापाले पनि कांग्रेस एक्लै चुनावमा जाने तर्क अघि सारेका छन्। चैत २ गते कांग्रेस बनेपा नगरसमितिले आयोजना गरेको बृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनमा गठबन्धन गर्न नहुने मान्यता राख्‍ने भएकाले केन्द्रीय समितिमा समेत यस्तो धारणा राख्‍ने गगनले बताएका थिए।

‘मतदाताले पार्टी बदल्न पाउँछ, तर एउटा पार्टीको भनेर अर्को पार्टीमा मत हाल्नु कदापि हुँदैन, पाप लाग्छ,’ गगनले भनेका थिए। उनले आफ्नो सिद्धान्तलाई पार्टीको केन्द्रीय समितिमा लैजान प्रयास गर्ने समेत सुनाए।

‘निर्वाचनमा तालमेल नगर्ने मेरो सिद्धान्तमा पार्टीलाई ल्याउन प्रयास गर्छु। नसके पार्टीको निर्णय मान्छु’, पूर्व मन्त्रीसमेत रहेका थापाले भने।

एमसीसी एजेन्डाको ‘ग्लु’

कांग्रेसमा दोस्रो तहका नेताहरुले एक्लै चुनावमा जाने दावी गरे पनि शीर्ष नेताहरु गठबन्धनसँग तालमेलमै निर्वाचनमा जाने संकेत गरिरहेका छन्। त्यसको पछिल्लो कारण हो मिलेनियम च्यालेन्ज कर्पोरेसन, एमसीसीसँगको ‘कनेक्सन’।

माओवादी सडकमा उत्रेको अवस्था र प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तर अवरोधका बिच देउवा सरकारले फागुन १६ गते एमसीसी संसदबाट अनुमोदन गरायो। फुटको संघारमा पुगेको गठबन्धन सरकारलाई एमसीसीमा माओवादी र एकीकृत समाजवादीले समर्थन गरेसँगै अनुमोदन भयो। यही गुन तिर्न र गठबन्धनलाई जारी राख्‍न कांग्रेसले माओवादी र एकीकृत समाजवादीसँग चुनावी तालमेलको तयारी गरेको बुझिएको छ।

सायद, यही तालमेलको तयारीले होला, बिहीवार होली मान्ने क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भन्दै थिए, 'यसपाली कलमले कमाल गर्छ।'

एमालेप्रति लक्षित गर्दै नेपाल भन्दै थिए, ‘प्रतिगामी तथा अहंकारी व्यक्ति होलिका दहन भएजस्तै पराजय हुनेछन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell