PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

फुटबलमा साम्बाको सानदार पुनरागमन : चोट अघि निडर भएर खेल्थें, अहिले अलि डर लाग्दो रहेछ



निशा गुरुङ

फुटबलमा साम्बाको सानदार पुनरागमन : चोट अघि निडर भएर खेल्थें, अहिले अलि डर लाग्दो रहेछ

हेटौंडा : साबित्रा भण्डारी अर्थात ‘साम्बा’। नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर र घरेलु प्रतियोगिताहरुमा विभागीय टोली एपीएफकी स्ट्राइकर। नेपाली फुटबलको सर्वकालीन सर्वाधिक गोलकर्ता। या भनौ घरेलु लिग, बाहिरको लिग र राष्ट्रको टिम जहाँबाट खेल्यो त्यही गोल। त्यसैले त उनलाई गोल मेसिन पनि भन्छन्।

२०७७ फागुन ३ गते भने कालो दिन भयो उनका लागि। त्यसदिन नेपाल पुलिस क्लबसँगको खेलमा चोट बोकेकी उनी मैदानबाटै सँधै झै उठेर दौडन सकिनन्।

घुँडामा गम्भीर चोट लागेपछि उनी उपचारका लागि कतार पुगिन्। घुँडामा लागेको चोटका कारण कतारस्थित एस्पेटार अस्पतालमा ६ महिना बिताएर उनी माघ २५ मा नेपाल फर्किइन्। कतारको फुटबल संघसँगको सहयोगमा उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपचारका लागि समन्वय गरेको थियो।

नेपाल फर्किएसँग उनी अहिले मैदान पनि फर्किइसकेकी छिन्। राष्ट्रिय महिला लिगबाट उनले पुनरागमन गरेसँगै एपीएफले तीन खेल खेल्दा सबैमा जित निकालेको छ।

महिला लिगको उद्घाटन खेलमा आर्मीविरुद्धको खेलमा ६० औं मिनेटमा रबिना गोलेको स्थानमा मैदान प्रवेश गरेकी थिइन्। दोस्रो खेलमा नेपाल पुलिस क्लबविरुद्ध इन्ज्युरी समयमा गोल गर्दै 'गोल' मा आफ्नो पुनरागमन गरिन्। तेस्रो खेलमा त उनले चार गोल नै गर्न भ्याइन्। खेलको ५२, ६६, ८० र ८१ औं मिनेटमा गोल गर्दै आफ्नो लयलाई समातिन्। 

मैदानमा फर्किसकेपछि पुनरागमनमा बिस्तारै पिकअप लिइरहेको उनी बताउँछिन्। एक वर्षको अवधिमा महिला राष्ट्रिय लिगको बाँकी खेल गुमाउनुका साथै मैदान बाहिर रहनुपर्दाको समय निकै सकसपूर्ण भएको उनले बताइन्।

‘साथीहरु सबै खेलेको देख्दा र आफूले नसक्दा निकै नरमाइलो महसुस भएको थियो। त्यतिखेर म आफूलाई सम्हालेर बसेको थिएँ,'  उनले भनिन्।

चोटको करिव ५ महिना सर्जरीको लागि बसेको उनी चाँडै निको हुने आशमा कतार गएकी थिइन्। कतार पुगेर २ हप्तामै सर्जरीपछि उनी ६ महिना फिजियोथेरापी गरेर नेपाल फर्केकी थिइन्। त्यो समयमा उनलाई डाक्टरले धेरै हौसला दिएकोसमेत बताइन्।

साम्बा गत वर्षको महिला लिगको च्याम्पियन यस वर्ष पनि त्यही लक्ष्य लिएको बताउँछिन्। उपचारपछि सबैभन्दा ठुलो लक्ष्य हो राष्ट्रिय टिममा फर्कनु। राष्ट्रिय टिममा फर्कन उनी दिनरात मिहिनेत गरिरहेको बताउँछिन्।

उपचार गराउनुभन्दा अघि खेल्दा र अहिले खेल्दा केही फरक महसुस भएको उनले बताइन्।

‘घाइते हुनुअघि निडर भएर खेल्थें। अहिले उपचारपश्चात खेल्दा अलि डर भने लाग्दो रहेछ। ओर्जिनल लिगामेन्ट नभएको कारणले पनि कुनै मोमेन्टहरुमा डर लागेर आउँछ उनले भनिन्,’ उनले भनिन्।

लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका— ९ थाम्चोककी सावित्रा यही महिनाअघि मात्रै एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा दशककै सर्वोत्कृष्ट महिला खेलाडी घोषित भइन्। साम्बा उपनामले परिचित नेपाली राष्ट्रिय टोलीकी सावित्राले ३४ खेलमा ३८ अन्तर्राष्ट्रिय गोल गरेकी छन्।

सन् २०१४ देखि २०१९ को बीचमा सावित्रा प्रेरित नेपाली महिला राष्ट्रिय टोलीले ६ पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलसम्मको यात्रा गरिसकेको छ। यस क्रममा नेपाली महिला टोली दुई पटक साफ च्याम्पियनसिप र दुई पटक दक्षिण एसियाली खेलकुद (साग)को फुटबल तथा हिरो वुमेन्स गोल्डकप र नाडेज्दा कपमा एक– एक पटक फाइनल पुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell