PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

स्थानीय तहमा 'अपग्रेड'देखि दोहोरिने दाउमा जनप्रतिनिधि : अबको कार्यकालमा अधुरा काम पुरा गर्ने दौडधुपमा लागेकाहरुको दाबी



पी बी खड्का

स्थानीय तहमा 'अपग्रेड'देखि दोहोरिने दाउमा जनप्रतिनिधि : अबको कार्यकालमा अधुरा काम पुरा गर्ने दौडधुपमा लागेकाहरुको दाबी

सुर्खेत : स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी चहलपहल बढेको छ। स्थानीय तहको नेतृत्वमा होमिन टिकटका लागि शीर्ष नेतृत्व र जिल्ला स्तरका नेताहरुसँग लबिइङ बढ्न थालेको छ भने, बहालवाला जनप्रतिनिधिले समेत दोहोरिने एवं अपग्रेड हुन दौडधुपमा छन्।

स्थानीय तहको नेतृत्वमा आउन नयाँ अनुहारहरु जति जोडतोडले लागेका छन् बहालवाला वडाअध्यक्षदेखि पालिका प्रमुख र अध्यक्षहरु पनि दोहोरिने दाउमा छन्। बहालवाला पालिका उपप्रमुख र उपाध्यक्ष पदमा रहेका अधिकांश महिला नेतृहरु प्रमुख एवं अध्यक्षमा अपग्रेड हुने गरी उम्मेदवार बन्ने आकांक्षासहित लविइङ गरिरहेका छन्।

सुर्खेतको लेकबेशी नगरपालिका–४ का वडाअध्यक्ष खगेन्द्र रुचाल फेरि यसपटक वडाअध्यक्षमा उम्मेदवार बन्ने गरी नेताहरुसँग लविइङ गरिरहेका छन्। दुई खेमा विभाजित नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष रुचाल फेरि उम्मेदवार बन्ने कसरतमा लागेका छन्। यद्यपि, कांग्रेसकै अर्को खेमाले एउटै व्यक्तिलाई पटक पटक दोहोर्‍याउन नहुने भन्दै विरोधमा छ।

पालिकाका प्रमुख र वडाअध्यक्षहरु उम्मेदवार बन्ने दौडमा आफू निकटका नेता र पार्टीका शीर्ष नेताहरु रिझाउन लागि परेका छन्। विभिन्न राजनीतिक दलहरु निर्वाचनको उम्मेदवार छान्ने गृहकार्यमा जुटेसँगै नेतृत्वमा नयाँ आउन चाहेका व्यक्ति र पुन: दोहोरिन इच्छुक जनप्रतिनिधिहरु उम्मेदावर बन्ने कसरतमा छन्।

यसरी पार्टीभित्र धेरै उम्मेदवारको आकांक्षी देखिएपछि पार्टीलाई उम्मेदवार छनौटमै सकस परेको छ भने, जिल्ला, प्रदेश र केन्द्रस्तरका नेताहरुले आफू निकटका व्यक्तिलाई उम्मेदवार छनौट गर्न दबाव सिर्जना गरिरहेका छन्। बहालवाला वडासदस्यले वडाअध्यक्ष, उपप्रमुख एवं उपाध्यक्ष, पालिका उपप्रमुख र उपाध्यक्षले पालिका प्रमुख एवं अध्यक्ष पद ताकेका छन्।

अघिल्लो स्थानीय तहको निर्वाचनमा उपप्रमुख एवं उपाध्यक्षमा सीमित बनेका महिला जनप्रतिनिधि आगामी निर्वाचन भने प्रमुख एवं अध्यक्ष पदको उम्मेदवार बन्ने दाउमा छन्।

संविधानले स्थानीय तहको प्रमुख एवं उपप्रमुखमा एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ। सोही अनुसार अघिल्लो निर्वाचनमा अधिकांश पार्टीहरुले महिलालाई सेकेण्ड म्यानका रुपमा सीमित गरेको भन्दै यसपटक प्रमुख एवं अध्यक्षमा अपग्रेड हुनुपर्ने बताएका छन्।

‘संविधानमा प्रमुख एवं उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य भनेको छ, यो भनेको उपप्रमुखमा महिला नै हुनुपर्छ भन्ने हाम्रो बुझाई भयो’ आठबीस नगरपालिकाकी उपप्रमुख दीपा बोहोरा भन्छिन्, ‘अब निर्वाचनमा महिला पनि प्रमुख पदमा पुग्नुपर्छ।’ यद्यपि फरक दलको भएमा महिला अनिवार्य हुनुपर्ने भन्ने बाध्यात्मक व्यवस्था संविधानमा छैन।

गठबन्धनको 'साइड इफेक्ट': प्रमुख वा उपप्रमुखमा एक महिला उम्मेद्वार होलान् कि दलहरुले दोहोर्‍याउलान चतुर्‍याइँ?

यता, भेरीगंगा नगरपालिकाकी उपप्रमुख रेणु आचार्यको पनि नगरप्रमुख बन्ने आकांक्षा राखेकी छन्। बितेको पाँच वर्षबाट अनुभव र सिकाईबाट आगामी पाँच वर्षको विकासले गति लिने बताइन्।

‘बितेको पाँच वर्षबाट केही सिकाई र अनुभव बटुलेका छौँ,’ उनले भनिन्, ‘नयाँ जनप्रतिनिधि आउँदा फेरि सिक्नका लागि समय लाग्छ, त्यसो भएर सिकेकै व्यक्ति आउँदा अधुरा रहेका काम पुरा हुने र जनअपेक्षा अनुसार काम गर्न सहज हुने देख्छु।’ यद्यपि, उम्मेदवार बनाउने, नबनाउने पार्टीले सही निर्णय गर्ने उनको भनाई छ।

संघीय अभ्यास पहिलोपटक भएकाले सोचेअनुरुप योजनाबद्ध तरिकाले काम गर्ने अवसर नमिलेको भन्दै बहालवाला जनप्रतिनिधि दोहोरिने मनसाय देखाएका छन्। पाँच वर्षे कार्यकाल सकिनै लाग्दा सोचेअनुसारको काम गर्न नसकिएको भन्दै भर्खर पालिकाको विकासको ट्र्याक बनेकाले बाँकी काम गर्न बाँकी रहेकाले दोहोरिनु आवश्यक हुने जनप्रतिनिधिको दावी छ।

बजेट, कानुन र जनशक्ति अभावजस्ता समस्याले पाँच वर्षको कार्यकाल सिकाइ र अनुभवमा बितेको भन्दै आगामी पाँच वर्ष काम गर्ने अवसर पाए उपलब्धिमूलक काम तथा विकासले गति लिने बताउन थालेका छन्।

केही पालिका प्रमुख र अध्यक्षले भने दोहोरिने कसरत गरेका हुन्। यद्यपि, पार्टीले निर्णय गर्ने जनप्रतिनिधिहरुको भनाई छ। ‘दुई वर्ष अलमलमा बित्यो, डेढ वर्ष कोरोना महामारीले भनेअनुसार कामै गर्न सकिएन,’ सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसी भन्छन्, ‘अहिलेसम्म गरेको कामको प्रभाव र रुपान्तरणका लागि दोहोरिन आवश्यक देख्छु, पुनः निर्वाचित भएको खण्डमा अधुरा रहेका केही सपना छन्, ति पुरा गर्न सकिएला भन्ने लाग्छ।’

यी जनप्रतिनिधि उदाहरण मात्रै हुन्। कर्णालीमा वडासदस्यदेखि प्रमुख/उपप्रमुखसम्म उम्मेदवार बन्ने इच्छुक देखिएका छन्। राजनीतिक दलहरुले पनि पाँच वर्षमा जनप्रतिनिधिको प्रभाव र लोकप्रियतालाई मध्यनजर गर्दे टिकट वितरण गर्ने नेकपा एमाले सुर्खेतका एक नेताले बताए। जसले गर्दा केही जनप्रतिनिधीहरु दोहोरिने निश्चित बनेको छ।

‘पाँच वर्षे कार्यकाल सिकाइ र अनुभवमा वित्यो, अव फेरि एक पटक अवसर दिनुपर्‍यो भनेर विभिन्न भेला तथा छलफलमा कुरा चलिरहेको छ,’ ति नेताले भने, ‘पाँच वर्षको अवधिमा जनताको नजरमा लोकप्रियता पाएको व्यक्तिलाई नै हामीले उम्मेदवार बनाउने हो, त्यसो नभए नयाँ ल्याउँदा पनि जित सुनिश्चित हुने व्यक्ति नै ल्याउने हो।’

एक पटकका लागि अवसर दिनुस् भन्दै हात जोडेर निर्वाचन लडेकाहरुले - किन दोहोरिने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell