PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मदन भण्डारी र केपी ओलीलाई ‘सेल्टर’ दिएका जीवनराजका छोरा सुमन, 'तिकिझ्या:' लिएर मेयरको मैदानमा : भित्री शहरमा के हुन्छ प्रभाव?



सहयोग रञ्जित

मदन भण्डारी र केपी ओलीलाई ‘सेल्टर’ दिएका जीवनराजका छोरा सुमन, 'तिकिझ्या:' लिएर मेयरको मैदानमा : भित्री शहरमा के हुन्छ प्रभाव?

काठमाडौं : असीको दशकमा कालिमाटीस्थित ‘जीवन दाइया पस’ निकै चर्चित थियो। अहिले ब्रेकफास्ट भने झैँ त्यो बेला बिहानै चिया-मरी खाने जङ्सन थियो ‘जीवन दाइको पसल’। जीवनराज मानन्धरले संचालनमा ल्याएको उक्त पसल स्थानीयका लागि गजबको 'पब्लिक स्पेयर' थियो जहाँ विकाससँगै राजनीतिका चर्का बहस हुन्थे। त्यहीँका छलफलले जीवनराजलाई राजनीतिमा लाग्न प्रेरणा दियो।

वाम विचारधाराबाट प्रभावित जीवनराज पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय थिए। तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका नेताहरुका लागि ‘सेल्टर म्यान’ थिए उनी। कम्युनिष्ट नेताहरु भूमिगत हुँदा उनकै घरमा ‘सेल्टर’ लिएर बसेका हुन्थे। जनताको बहुदलीय जनवाद मान्ने जीवनराजकै घरमा मदन भण्डारी र विद्यादेवी भण्डारी पनि बसेका थिए। पञ्चायती व्यवस्था सकिएपछि पहिलोपटक मदन भण्डारी उनकै घरबाट बाहिरिएर सार्वजनिक भएका थिए। अहिले नेकपा एमालेका अध्यक्ष रहेका केपी शर्मा ओलीले त्यतिखेर कालिमाटीस्थित जीवनराजकै घरलाई भूमिगत आश्रयस्थल बनाएका थिए।

जतिखेर जीवनराज राजनीतिमा सक्रिय भए, छोरा सुमन सायमि भने बुवाले खोलेको पसलको व्यवसायिक बिँडो सम्हाल्थे। मदन भण्डारीदेखि केपी ओलीसम्म उनकै घरमा बस्दा सुमनलाई चाहिँ राजनीतिमा खासै चासो थिएन। तर तिनै सुमन अहिले भने एकाएक राजनीतिक यात्रामा अगाडि उभिएका छन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका दाबेदार हुन् उनी। सुमन अर्थात् स्वतन्त्र उम्मेदवार - तिकिझ्या: (आँखी झ्याल) उनको निर्वाचन चिह्न।

भित्री शहरमा भुसको आगो झै - 'तिकिझ्या: मा झ्याप झ्याप'

राजधानी नै भएकाले पनि काठमाडौं महानगरपालिकाको निर्वाचन स्थानीय तहको चर्चा सीमित छैन। पूर्व मेयर केशव स्थापितदेखि, राजनीतिक विरासत बोकेकी सिर्जना सिंहजस्ता हेभिवेट उम्मेदवारसँगै र्‍यापर बालेन साहको चर्चाले कान्तिपुरी नगरी मात्र तरङ्गित छैन - देशभर नै कौतुहलता कायम छ। तर, यही निर्वाचनमा विचार र व्यक्तिका हिसाबले हेभिवेट नेतालाई छतमुनि आश्रय दिने परिवारका सुमन भने ‘मुलधारे मिडिया’मा गुमनाम छन्।

मिडियामा नछाए पनि काठमाडौंको भित्री शहरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमनको चर्चा भने भुसको आगो झै सल्किँदो छ। उनको चुनाव चिह्नले पनि मतदातालई आकर्षित गरेको छ। ‘तिकिझ्या:’ चुनाव चिह्न लिएर काठमाडौं महानगरको प्रमुखका लागि टिम नै लिएर प्रतिस्पर्धामा उत्रिएका छन् उनी। उपप्रमुखमा विद्या श्रेष्ठसहित केही वडामा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरु तिकिझ्या: लिएर चुनावी दौडमा छन्।

स्वतन्त्र रुपमा उठेर काठमाडौंमा जित्न सहज छैन। तर, ‘ग्राउन्ड लेभल’ देखि नै उपत्यकाको संरक्षणमा लागेकाले शहरमा तिकिझ्या:को ‘लहर’ आइरहेको दाबी गर्छन् उनी। मिडियाले प्रचारप्रसार नगरे पनि उनीबारे ‘माउथ पब्लिसिटी’ जसरी चलिरहेको छ त्यसले हौस्याएको छ उनलाई।

‘सबैतिर पुग्न सकेका छैनौं। १० वर्षदेखि काम गर्दै आइरहेको सबैलाई थाहै छ। गुठी आन्दोलन, खोकना आन्दोलनमा पनि सरिक भएँ। तर पनि मेनस्ट्रिम मिडियाले धेरै स्पेस दिएन। बायस्ड भयो। सोसल मिडियाबाट नै सक्दो प्रचार गरिरहेका छौं। 'माउथ टु माउथ' पब्लिसिटी भएकाले राम्रो लागिरहेको छ,’ सुमनले भने।

अहिले भित्री शहरमा जति ठूला दलका उम्मेदवारको चर्चा छ त्यति नै चर्चा छ सुमन सायमिको। त्यसैले ‘तिकिझ्या: मा झ्याप झ्याप मत’ नारा नै चर्चित बनेको छ अहिले। दिनहुँ घरदैलो र गुठीका मानिससँग सुमनको भेटघाट बाक्लिएको छ।

‘यहाँका मानिसको भावना जोडिएको छ तिकिझ्या:सँग। १० वर्षदेखि हाम्रो अस्तित्वका लागि काम गरिरहेको छ, यसपटक तिकिझ्या:मा नै भोट दिनुपर्छ भन्ने छ,’ उनले भने।

सडक बिस्तार र मोडिएको बाटो

१० वर्षअघि काठमाडौंमा सडक बिस्तारका योजनाहरु संचालनमा ल्याइएका थिए। साँघुरा सडकलाई फराकिलो बनाउन प्रधानमन्त्री बाबुराम भट्टराईको समय सुरु भएको सडक बिस्तारले कालिमाटीको त्यो घर पनि पर्‍यो जुन उनकै थियो जहाँ लिएका थिए कम्युनिष्ट नेताहरुले 'सेल्टर'।

सडक बिस्तारका क्रममा उनको घर एक मिटर भत्काउन पर्थ्यो। जसलाई उनले सामान्य रुपमा नै लिएका थिए। तर, जब एउटा शनिवारको दिन एकाएक ‘डोजर आतंक’ चल्न थाल्यो उनले सडक बिस्तारको पीडा अनुभूति गरे।

‘कानुन संविधान बुझेको थिइनँ। मापदण्ड हो दिनुपर्छ जस्तो लागेको थियो। तर, एक दिन शनिवार डोजर ल्याएर घर भत्काउन थाले कालिमाटीमा। घरभित्रै मान्छे हुलेर डोजर चलाउन थालियो। बिना कुनै आधार माथिको आदेश भन्दै घर भत्काउन थाले। त्यसपछि मैले आवाज उठाउन थालेँ,’ सुमनले भने।

१० वर्षयता सडक बिस्तारलाई गैरन्यायिक भन्दै सुमनको नेतृत्वमा कयौं आन्दोलन भए। कति ठाउँमा घर भत्किन रोकियो। कतिपय ठाउँमा सरकारले जबरजस्ती घर भत्कायो पनि।

गत वर्ष बालाजुमा भएको एक घटनाले पनि उनलाई राजनीतिमा आएरै अधिकार लिनुपर्छ भन्ने बुझायो।

गत वर्षको फागुन पहिलो साता बालाजु बाइपासमा सडक बिस्तारका क्रममा अधिग्रहण गरिएको जग्गामा काठमाडौं महानगरपालिकाले सूचना केन्द्र बनाउन लागेपछि विस्थापित भएका पीडितहरु विरोधमा उत्रे। सूचना केन्द्र बनाउन लागेको स्थानमा लगाइएको बार स्‍थानीयले भत्काए। प्रहरीले जस्तापाता हटाउने ६ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरुलाई छुटाउन जाँदा बालाजु प्रहरी वृत्तमा मातृभाषा बोलेको विषयमा प्रहरीसँग विवाद हुँदा उपत्यका सडक बिस्तार पीडित संघर्ष समितिका अध्यक्ष समेत रहेका सुमन सायमिलाई पक्राउ गरियो।

पीडितसँग नेपालभाषामा कुरा गर्न खोज्दा ‘नबुझ्ने भाषा नबोल्’ भनेपछि प्रहरीले उल्टै उनलाई थुन्यो।

‘एक किसिमको अनागरिक भएको जस्तो महसुस भयो। मेरो मातृभाषा बोल्न पाउनु मेरो अधिकार हो भन्दा पनि दुर्व्यवहार गरियो,’ उनले भने, ‘प्रहरीले ‘प्रोभोक’ गर्ने प्रयास गरेको थियो। उनीहरुले ५/६ समाएर छाड्न चाहे। मैले मलाई किन समातेको कारण मागेँ। सकेनन्। अनि दुर्व्यवहारको मुद्दा चलाइयो।’

उनीमाथि त्यतिखेर चर्को दमन भयो जतिखेर प्रधानमन्त्री थिए केपी शर्मा ओली। आफ्नै घरमा आड लिएर राजनीतिको शिखर चुमेका व्यक्ति प्रधानमन्त्री हुँदा भाषिक अधिकार समेत खुम्चिएको महसुस गर्नुपर्दा उनीमा पीडा हुनु अनौठो थिएन। राजनीतितिर धकेलिनुमा एउटा कारण त्यो पनि थपिन पुग्यो।

सुमनसहित पीडितलाई थुनेपछि काठमाडौंमा दिनहुँजसो आन्दोलन भएका थिए। फागुन १८ गते सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै सुमनसहित सबैलाई रिहा गर्न आदेश दिएको थियो। सुमनले हिरासतमा रहँदा त्यहाँ मानव अधिकार उल्लंघन हुने पाएको बताए।

‘कस्टडीमा बस्दा त्यहाँ मानव अधिकार हनन् भएको पाएँ। दिनहुँ समातिने त। निर्दोषहरु हुने रहेछन्। आफ्नो, ग्रेड बढाउन हो कि समाउनै पर्ने रहेछ प्रहरीले,’ उनले भने, ‘अपराधी जन्माउने थलो जस्तो लाग्यो, प्रहरी चौकी। सरकारी कार्यालयमा पनि बयान नलिइ म्याद थप गरियो। मलाई बयान लिएको छैन किन हस्ताक्षर गर्ने भनेर गरिनँ। आफ्नै थलोमा कसरी विभेद भएको छ भन्ने बुझेँ।’

यस्तै, घटनाहरुबाट सिक्दै राज्यसँग लड्न उत्रिएको बताउँछन् उनी। राज्य सत्तासँग लड्न जग बलियो चाहिने भएकाले उनले उम्मेदवारी दिएको बताए।

बुवा जीवनराजको राजनीतिक विरासतभन्दा निकै पर छ सुमनको राजनीतिक यात्रा। आफू राजनीतिक परिवारबाट भए पनि कुनै दलमा लागे आफ्ना एजेन्डा ओझेलमा पर्ने उनले बुझेका छन्। त्यसैले सडक बिस्तार पीडित र अभियन्ताको साथमा स्वतन्त्र उम्मेदवारी दिएको सुनाए।

‘पार्टीमा लाग्यो भने कान चिरेको जोगीजस्तै हुने भएकाले पीडितहरुको आवाज र अभियन्ताको आवाजले अनुमोदित भएर उम्मेदवारी दिएको हुँ,’ उनी प्रष्ट सुनिए।

ओलीसँगको भेट र नैराश्यता

तीन वर्षअघि बालाजुकै मुद्दालाई लिएर सुमन आफ्नै घरमा सेल्टरमा बसेका ओलीलाई भेट्न पुगेका थिए। त्यसबेला ओली प्रधानमन्त्री थिए। करिब साढे १ घण्टाको कुराकानीमा ओलीसँग पुरान दिनको स्मरण पनि भयो। तर, जब सडक बिस्तारको कुरा निस्कियो, ओली तर्किएको सम्झिन्छन् सुमन।

‘विस्थापनको कुरा निकालेपछि ओलीले ध्यान नै दिएनन्,’ सुमनले सुनाए।

उनका मुद्दालाई नजरअन्दाज गरेपछि सुमनले ओलीलाई सोधे - राष्ट्रवादका कुरा गर्नुहुन्छ, तर गाँसबास खोसेर राष्ट्रवाद जन्मन्छ कि आतंकवाद जन्मन्छ?

उनले ओलीलाई विस्थापनको विकल्प खोज्न र सडक बिस्तार गर्नै परे कानुन अनुसार सहमति कायम गर्न पर्नेमा जोड दिएको सुनाए।

जवाफमा ओलीले उनलाई के भने त?

'यहाँ नेवार समुदायमात्र छैन। मापदण्ड गाह्रो छ,' ओलीलाई उदृत गर्दै सुमनले भने।

त्यसपछि ओलीलाई कहिल्यै भेट्न नगएको बताउँछन् उनी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेतालाई पनि भेट्न गए। तर, त्यहाँ पनि आश्वासनमात्र पाएको सुनाए।

‘गर्न नहुने हो भन्छन्। तर पछि केही गरिदिएनन्,’ उनले सुनाए।

त्यसैले, अब आफैँ नीति बनाउने ठाउँमा पुग्न चुनावी मैदानमा होमिएको उनी बताउँछन्। महानगर प्रमुखमा निर्वाचित भए संविधानले दिएको अधिकार प्रयोग गर्ने र नसक्ने ठाउँमा पहल र समन्वय गर्ने उनको रणनीति छ।

‘मैले मत मागेको होइन,अभिमत मागेको हो। सामुहिक समस्याको मुद्दा लिएर हिँडेको हो। जनताको मुद्दा लिएर हिँडेकाले मत होइन, अभिमत लगाएको हो। मुद्दा स्ट्याब्लिस गर्ने हो। वेभ आयो भने जित्छ,’ उनले भने।

१० वर्ष अघि सडक बिस्तारविरुद्ध आन्दोलन सुरु गर्दा मानिसहरुले राज्यसँग लड्न नसक्ने बताएको उनी सम्झन्छन्। तर, अहिले आफूहरु धेरै घर भत्काउन बचाउन सफल भएको भन्दै उनले चुनावमा जित हार हुने तर हार्ने डरले लड्न छाड्न नहुने बताउँछन्।

‘च्यालेन्जिङ छ। तर, फाइट नै नगर्ने भन्ने कुरा हुन्न। हार र जित त हुन्छ। नराम्रो कुरासँग फाइट त गर्नैपर्छ। सुरुमा सडक आन्दोलनमा राज्यसँग जुड्न सकिन्न भनेर भन्थे, अहिले सक्यौं। हामीले धेरैको घर भत्काउन बाट बचायौं। अहिले पनि पदविना नै काम गरिरहेका छौं,’ उनले भने।

४ आधार, १२ एजेन्डा

काठमाडौं महानगरपालिको प्रमुख पदका लागि उम्मेदवारी दिएका उनले पहिचानको विषयलाई मात्रै महत्व दिएका छैनन्। ७७ जिल्लाबाट काठमाडौंमा मानिस आउने गरेको भन्दै उनले महानगरलाई व्यवस्थापना चाहिएको सुनाए।

त्यसैले ‘तिकिझ्या:’ लिँदै महानगरभित्र घरदैलोमा पुगेका उनी आफ्नो जितका लागि चार आधार रहेको सुनाए।

‘मौलिकता, सह अस्तित्वको सम्मान, आत्मनिर्भरता र सुशासन। यी चार कुरा प्रमुख आधार हुन्। काठमाडौंको मौलिकता बचाउने, ७७ जिल्लाकै मानिसको अस्तित्व स्वीकार्ने महानगर बनाउने, युवाहरुलाई आत्मनिर्भर बनाउने र महानगरलाई भ्रष्टाचार मुक्त गरेर सुशासन कायम गर्ने,’ उनले आफ्ना आयामबारे बताए।

महानगरलाई अहिले स-साना कुराहरुको व्यवस्थापनको आवश्यकता भएको उनले बताए। त्यसैले १२ वटा एजेन्डा उनले प्रस्तुत गरेका छन्। फोहोर व्यवस्थापन, खानेपानी, अनुसन्धानमा आधारित योजना, सर्वसुलभ शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादनशील भूमि संरक्षण, खेलकुद, ट्राफिक व्यवस्थापन, संस्कृतिको संरक्षण, फुटपाथ व्यवस्थापन, हरियाली प्रवर्द्धनलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन्।

यस्तै, उपत्यकामा बसाइसराइ बढेको र त्यही अनुसार भौतिक पूर्वाधारको विकास नभएको उनको बुझाइ छ। त्यसैले बसाइ सराइ व्यवस्थापन र उपत्यका विकास प्राधिकरणको खारेजीलाई पनि उनले मुद्दा बनाएका छन्।

सबै तस्विर : सुमन सायमि फेसबुक पेज



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell