PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एमालेले बनाएको 'इपिसेन्टर' मा छाएको 'सन्नाटा', सम्झाइदियो भव्य महाधिवेशन जहाँ 'जनता' होइन, गैंडा थियो केन्द्रमा (ब्लग)



नेत्र तामाङ

एमालेले बनाएको 'इपिसेन्टर' मा छाएको 'सन्नाटा', सम्झाइदियो भव्य महाधिवेशन जहाँ 'जनता' होइन, गैंडा थियो केन्द्रमा (ब्लग)

गत मंसिर १० गते, देशभरबाट एमाले नेता कार्यकर्ता ओरालिएका थिए चितवनको भरतपुरमा।

कार्यक्रम थियो - एमालेको १० औं महाधिवेशन।

उद्देश्य?

खाइपाइ आएको सत्ताबाट जबरजस्ती निकालिएका एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध आफ्नो रिसइबी फेर्न चाहन्थे। त्यो पनि प्रचण्डको क्षेत्रमा। जहाँको स्थानीय सत्ता माओवादीकै थियो, मेयर रेनु दाहाल।

देशकै ठुलो पार्टीले नारायणगढमा महाधिवेशन गर्ने भएपछि हाम्रो टोली पनि त्यसतर्फ लाग्यो। हामी ९ गते त्यहाँ पुग्दा देशका धेरैजसो केन्द्रीय सञ्चारमाध्यमका प्रतिनिधि त्यहाँ पुग्दै थिए। ठाउँठाउँबाट नारायणगढमा एमाले नेता कार्यकर्ता बस रिजर्भ गरेर आइपुग्दै थिए। त्यतिबेला नारायणगढ एमालेमय बन्दै थियो।

भारतको उत्तर प्रदेशमा पटकपटक मुख्यमन्त्री बनेकी नेतृ मायावती प्रभुदासले हात्ती राखेकै झल्को दिने गरी गैंडाको मस्कटदेखि ठूला ठूला डिस्प्ले राखेर तामझामसहित नारायणगढ झन्डै ठप्प पारेका थिए एमाले कार्यकर्ताले। ओली पुग्नु अघिल्लो दिन नै नारायणीतिरको महाधिवेशनस्थल छेवैमा रातो कपडाले छोपेको वस्तु चर्चामा थियो। एउटा ठूलो सालिक काठका मुढामाथि लडाइएको थियो। उक्त सालिक रातो कपडाले बेरेर छोपिएको थियो। शालिक कसको हो? भन्ने विषयमा पहिलोपोस्टमा समाचार लेखेपछि एमाले नेता कार्यकर्ताले ‘जिउँदो मानिसको नि कहीँ सालिक हुन्छ?’ भन्दै प्रतिवाद गरेका थिए।

उद्घाटनका दिन उक्त शालिक महाधिवेशनस्थलमा प्रदर्शन गर्ने त्यहाँ आइपुगेका बिक्रेता कुमार चौलागाईँले जवाफ दिएका थिए। तर, अघिल्लो दिन नै विवादमा परेपछि शालिक त्यहाँ खोलिएन। एकाएक हरायो। भोलिपल्ट मानिसहरुले शालिकको खोजी गरेका थिए महाधिवेशनस्थलमा। तर, बिक्रेताले त्यहाँ खोल्न अनुमति नै नपाएको जवाफ फर्काए।

+++

उद्घाटनका दिन ढिला गरी पुगे अध्यक्ष ओली। कारण उनी नारायणगढको मेनरोडमा रहेको एक घरमा अल्मलिन पुगेका थिए। उद्घाटनका लागि मञ्चमा १२ बजे उक्लने कार्यतालिका भए पनि ओली साढे १२ मा नारायणगढ पुगे। भरतपुरका पुराना व्यवसायी केएल भुषण प्रधानसँग पौने घण्टा बिताए पछिमात्र उनी उद्घाटन कार्यक्रम हिँडेका थिए। उनले प्रधानसँग भेट्नुको मुख्य कारण त अझै खुलेको छैन। मेनरोडको भिडमा ओलीले बालकोटकै शैलीमा बार्दलीबाट हाइहेल्लो गरेपछि भिड छिचोल्दै महाधिवेशनस्थल निस्किए। म भने ओलीको भेटको रहस्य खोतल्न ४२१ नम्बरको घर पसे। प्रधानपुत्र सहनले ओलीको भेटबारे सामान्य जानकारी दिए। त्यसपछि बिदा लिएर महाधिवेशनस्थलतिर छिर्न खोजे। तर, त्यहाँ भिड छिचोल्न मुस्किल।

त्यसपछि हान्निएँ पुल्चोक। त्यहीँको एक इलोक्ट्रोनिक स्टोरमा साइज साइजका टेलिभिजनमा महाधिवेशनस्थको प्रत्यक्ष प्रसारण बजिरहेको थियो। त्यहीबाट नेताहरुको भाषण सुनेँ।

शुरुमै ओली त्यहाँ प्रचण्डमाथि खनिए : ओलीले माओवादी अध्यक्ष दाहाललाई हँसिया हतौडा चुनाव चिन्ह छोड्नसमेत सुझाव दिए। प्रचण्डमाथि वामपन्थी सरकार ढालेको आरोप लगाउँदै ओलीले हँसिया हतौडा बोक्न उचित नहुने दाबी गरे। ‘तीनले छोडे हुन्थ्यो, दुनियाँमा धेरैले छोडे यिनले किन छोड्न हुन्न हँसिया हतौडा?,’ ओलीले सोधे।

यतिमात्रै हैन प्रचण्डमाथि ओलीले आफ्नो लडाकु व्यवस्थापन गर्न नसकेको भन्दै माओवादीको मत क्यास गर्ने प्रयाससमेत गरे। ‘अहिलेसम्म पनि शान्ति प्रक्रिया टुंगिएको छैन। प्रचण्डजीहरू अहिलेसम्म पनि शान्ति प्रक्रिया किन टुंगो लगाउनुहुन्न? किन घाइतेहरूको उपचार हुँदैन?,’ ओलीले प्रचण्डको मर्ममै हाने, ‘किन झुटा मुद्दा खारेज हुँदैन? किन बहिर्गमित लडाकूको व्यवस्थापन हुँदैन? मन परेका मान्छेलाई १०/१० हजार बाँडेर यो समस्या समाधान हुन्छ?’

नारायणीतिरमा महाधिवेशन उद्घाटनमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगे पनि उनको प्रश्नको जवाफ दिन प्रचण्ड भने नारायणी तिरमा आइपुगेनन्।

महाधिवेशनपछि आफ्नो पार्टीले माओवादीका पूर्व लडाकुहरूको व्यवस्थापन गर्ने ओलीको दाबी थियो। ‘हिजो केका लागि बलिदान दिनुभयो? कसलाई मेयर बनाउन रहेछ देखिहाल्नुभयो, ’ ओलीले भने, ‘कसलाई मन्त्री बनाउन रहेछ देख्नुभयो। एउटा गीत छ नि ‘कुल्ली दाइले बाटो बनायो, तर गाडी अर्कैंले कुदायो’ भनेजस्तो।’

कसलाई मेयर बनाउन रहेछ भनेर ओलीले रेनु र प्रचण्डमाथि कटाक्ष गर्ने प्रयास गरेका थिए।

माओवादीविरुद्ध खनिएका ओलीले पार्टी तीन तहको चुनावको तयारीमा लागेको बताए। उनले चुनावमा एमालेले एकल बहुमत ल्याउने दाबीसमेत गरेका थिए।

प्रधानमन्त्री देउवाले राजनीतिक परिवर्तनको आन्दोलनमा ओली र आफूले समेत दुःख पाएको स्मरण गर्दा एमाले नेता कार्यकर्ताले भने होहल्ला गरे। त्यो होहल्ला शान्त पार्न ओलीले मञ्चबाट आग्रह नै गर्नुपरेको थियो। त्यसपछि आफूहरूले जेल जीवनमा भोगेको जस्तो दुःख कसैले पनि भोग्न नपरोस् भन्दै देउवाले कामना गरे।

+++

महाधिवेशनस्थलमा जताततै ‘गैंडा’को ब्रान्डिङ देखिएपछि सम्पादक ऋषिकेश दाहालले यसबारे थप समाचार बनाउन सुझाएका थिए मायावती प्रभुदाससँग तुलना गर्दै।

त्यतिबेला काठमाडौंमा जबरजस्ती ‘आइ लभ यु केपी बा’ को क्रेज थियो। ओलीको डमी फोटो बनेका थिए। यहाँ त अझ शालिक नै तयार थियो ओलीको।

त्यसपछि लागेँ मायावतीबारे बुझ्न। साँझ विभिन्न सञ्जाल चहारेपछि थाह लाग्यो - भारतको उत्तर प्रदेशमा पटक पटक मुख्यमन्त्री बनेकी नेतृ रहेछिन् मायावती प्रभुदास। बहुजन समाज पार्टीकी उनको पार्टीको चुनाव चिन्ह रहेछ - हात्ती।

दलित आन्दोलनमा चर्चामा आएसँगै पटकपटक मुख्यमन्त्री बनेकी मायावती यति चर्चामा छाएकी रहेछिन् कि उनलाई कार्यकर्ताले 'बेहेनजी'को नामले पुकार्न थालेका रहेछन्। उनको जन्मदिनलाई उत्सवका रुपमै मनाउन थालिएको रहेछ उत्तर प्रदेशमा।

कार्यकर्ता उनको देवत्वरकणमा लागेका रहेछन्।

त्यसपछि मायावतीको सालिक ठडिएछ।

मायावती आफै चाहिँ आफ्नो पार्टीको चुनाव चिन्ह हात्तीको ब्रान्डिङमा लागिछिन्।

लखनउ, नोएडा र दिल्ली गरी झन्डै १७० वटा हात्तीको विशाल मूर्ति र पार्क बनाउन मायावतीले सन् २००८ देखि २०१० सम्म २० अर्ब भारु निकासा गरेको थाह लाग्यो। चुनावलाई प्रभावित पार्ने गरी मायावतीको पार्टीले हात्तीको मूर्ति बनाएपछि त्यहाँको निर्वाचन आयोगले चुनावको मुखमा मूर्ति नै छोप्न निर्देशन दिएको रहेछ।

सरकारी ढुकुटीबाट खर्च गरिएको रकमपछि भारतको सर्वोच्च अदालतले सरकारी ढुकुटीमै फिर्ता गर्न आदेश दियो।

आफ्नो डमी फोटो प्रदर्शन गर्दा चर्को आलोचना खेप्न परेपछि मायावतीको झल्को दिने गरी ओलीले गैंडाको ब्रान्डिङ गरेका थिए नारायणगढमा।

चितवनस्थित नारायणगढमा उद्घाटन सत्रका लागि तयार गरिएको स्टेज नजिकै मायावतीको हात्ती झैं ठडियो गैंडाको मूर्ति। मूर्ति ठडिनसाथ कार्यकर्ता सेल्फी र फोटोका लागि ओइरिए। महाधिवेशनस्थलमा यही गैंडा नजिक पुग्न कार्यकर्ताको लश्कर देखियो।

यसो त एमालेले १० औं महाधिवेशनको मस्कट नै गैंडाको हातमा कम्युनिस्ट झन्डा राखेर बनाएको थियो। महाधिवेशन उद्घाटन गरिने स्टेजको दायाँबायाँ एमाले झन्डा उचालेर उभिएको गैंडा देख्न सकिन्थ्यो।

मायावतीलाई झैं ओलीलाई पनि पुकार्छन् कार्यकर्ता।

मायावतीलाई बेहेनजी भनेर पुकार्दा ओलीलाई 'ओली बा'बाट पुकारिन्छ।

+++

ओलीको बास महाधिवेशनभर सौराहाको पार्क सफारी रिसोर्टमा रह्यो। उनी त्यहाँ बस्दा आकांक्षी नेता कार्यकर्ताको चहलपहल भयो। काठमाडौंबाट हवाइ मार्ग हुँदै सौराहा पुगेका ओली सफारीको २२२ नम्बर कोठा बसेर आफ्नो रणनीति बनाउँथे।

महाधिवेशनमा ओलीमाथि भीम रावल एक्लै पल्लाभारी हुँदा महाधिवेशन सक्काउन गाह्रो परेको थियो। अझ घनश्याम भुसाल, टंक कार्कीको उम्मेदवारीले ओलीलाई सकसपूर्ण बनायो सौराहा बसाईं। भरतपुरमा माओवादीदेखि कांग्रेस गठबन्धनलाई च्यालेन्ज गर्न पुगेका ओलीमाथि भीम रावल, घनश्याम, टंकहरु तगारो बन्दा अफ्ठेरोमा परेका ओली रातिरातिमात्र मतदानस्थल सेभेन स्टार पुग्थे।

नारायणीतिरमा रातो सलले बेरिएको सालिक ११ गतेबाट एमालेको बन्दसत्रस्थल सेभेन स्टार होटेलमा राखियो। शालिक ओलीकै भएको प्रमाणित भएपछि प्रतिवादमा उत्रिएका एमाले नेताहरुको मुख टालियो।

ठीक यसरी नै अहिले एमाले अध्यक्ष ओलीको मुख बन्द छ।

वैशाख ३० गते राष्ट्रिय लुतो फाल्ने दिन भनी उत्तेजक अभिव्यक्ति दिएका थिए ओलीले। त्यतिमात्र हैन वैशाख ३० गतेको निर्वाचनपछि जनताले ‘हु इज एमाले, हु इज केपी ओली?’ भन्ने प्रश्नको जवाफ दिने दाबी गरेका थिए।

ओलीको सत्ता ढालेर देउवालाई प्रधानमन्त्रीमा सघाउने अभियान चलाउँदै गर्दा प्रचण्डले शाही शासनसँग तुलना गर्दै भनेका थिए - शाही शासन हुँदा पनि शाही आयोग खारेज गरिदिएको होइन! हु इज केपी ओली?

‘एउटा नेताले हु इज केपी ओली भनेका छन्। हु इज केपी ओली भन्नेलाई नेपाली जनताले ३० वैशाख गते हुने स्थानीय तह निर्वाचनमा देखाइदिन्छ,’ वैशाख १८ गते हेटौंडा पुगेर ओलीले त्यसको जवाफ फर्काए, ‘यो मलाई भनेको होइन, समग्र एमालेलाई भनेको हो। त्यो त हामी ३० गते देखाइदिन्छौं। त्यसपछि थाहा हुनेछ, को हो केपी ओली भनेको।’

यतिमात्र हैन ओलीले प्रचण्डले आफ्नो छोरीलाई मेयर, बुहारीलाई मन्त्री, भाइलाई राष्ट्रिय सभाको सदस्य लगायतलाई पद बाँड्दै हिँडेको उनको आरोप समेत लगाएका थिए।

‘प्रचण्डको पार्टी अब ठेकीको बिर्कोजस्तै लाग्यो। ठेकी छ, ठेकी भित्र केही छैन, ठेकीको बिर्कोमात्र। उनी हरेक पार्टीमा जाँदा भरतपुरमा मेरी छोरीलाई मेयर दिन्छौं कि दिँदैन भन्ने शर्तमा जान्छन्। अघिल्लो पटक कहाँ आएर मेरी छोरीलाई मेयर दिने कि नदिने भनेर आएका थिए। मैले हुँदैन भनेँ, कांग्रेससँग गए कांग्रेसले मेयर दिए अहिले पनि फेरि छोरीलाई मेयर दिएको छ,’ ओलीले प्रचण्डमाथि आरोप लगाउँदै भनेका थिए।

प्रचण्ड र रेनुमाथि निरन्तर खनिएका ओलीले गठबन्धनबाट भरतपुरमा रेनु नै मेयरको उम्मेदवार बनाउने भएपछि राप्रपासँग तालमेल गरे। विजय सुवेदीलाई जिताउन लागि परे।

त्यहाँ ओली झनै आक्रमक सुनिए माओवादीमाथि। ‘जिन्दगीभर कांग्रेस भनेर हिँडेका साथीहरू हेर्नुस् त! पोहोर पनि ढाट्यौं, यसपालि पनि ढाट्यौं... गीतजस्तै। पहिले पनि उनैलाई जिताए, अहिले पनि उनै,’ ओलीले भनेका थिए, ‘उनलाई जिताए प्रचण्ड उत्साहित हुनुहुन्छ रे! २० वर्ष गठबन्धन रहन्छ रे! कांग्रेस कार्यकर्ताको हालत २० वर्ष छोरी बोक, त्यसपछि ज्वाइँ, भाइभतिजा बोक।’

ओलीको बलबुताले भ्याएसम्म प्रहार गरे पनि एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछि पार्दै मेयरमा रेनुको जित भयो। जहाँ एमालेले लाख कार्यकर्ता उतारेर इपिसेन्टर मार्फत् धक्का दिएका थिए, त्यो इपिसेन्टरले उल्टै एमालेको दम्भ ढलिदिएको छ। अनि जसरी शालिकको प्रतिवादमा उत्रेका एमालेका नेता कार्यकर्ताको मुखमा रातो सल उत्रेपछि ओलीको अनुहार देख्दा बुझो लाग्यो – ठीक त्यसैगरी स्थानीय निर्वाचनमा हार्दा ओलीको मुख टालिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell