PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चुनावअघि ओलीलाई ट्युसन पढाउन तम्सिएका गगनः दुबैको हालत करिब उस्तै, उनकै क्षेत्रको परिणामले के दिन्छ सन्देश?



नेत्र तामाङ

चुनावअघि ओलीलाई ट्युसन पढाउन तम्सिएका गगनः दुबैको हालत करिब उस्तै, उनकै क्षेत्रको परिणामले के दिन्छ सन्देश?

काठमाडौं: स्थानीय तहको निर्वाचनको केन्द्रीय घोषणापत्र बनाउने जिम्मा कांग्रेसमा यसपटक महामन्त्री गगन थापाले पाए। ४५ भन्दा धेरै सदस्य सम्मिलित घोषणापत्र तयारी समितिले वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्‍यो -पार्टी मुख्यालय सानेपामा।

संकल्पपत्र नाम दिए पनि मूलत: घोषणापत्र नै थियो त्यो दस्तावेज।

संकल्प पत्रमा एमालेमाथि एकोहोरो प्रहार गरिएको थियो। कांग्रेसले संकल्प पत्रको पृष्ठ ३ देखि १९ पृष्ठसम्म नेकपाको सरकारको भण्डाफोरमा खर्चिएको छ। जहाँ ओलीलाई ‘जन उत्तेजनाको व्यापारी’को आरोप लगाइएको छ।

'नेपाल कम्युनिस्ट पार्टीले सत्ता र शक्तिको केन्द्रीकरण गर्ने केपी शर्मा ओली जस्तो एउटा जन उत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षाका खातिर आफ्नो दलको सारा शासकीय कौशल लोकतन्त्र र समग्र प्रणालीलाई नै तहसनहस बनाउनेतिर लगायो। फलस्वरुप, कम्युनिस्ट सरकारले मुलुकलाई बल्लबल्ल प्राप्त स्थिरताको लाभ लिनबाट फेरि एकचोटी बञ्चित मात्र गरेन, झन् भयङ्कर अस्थिरताको चक्रव्यूहमा फस्ने जोखिमसमेत बढाएर गयो,' संकल्पपत्रमा लेखिएको छ।

त्यसैले यो आरोपपत्र हो या संकल्पपत्र बुझ्न कठिन रह्यो।

ओली र गगनको ट्युसन दोहोरी

कांग्रेसको यस्तो आरोप सुन्नु परेपछि ओलीको कान्परो तात्न के चाहियो? उनले कांग्रेसको संकल्प पत्रलाई भनिदिए -पागलहरुको प्रलाप।

वैशाख १३ मा २३औं मनमोहन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ‌ओलीले कांग्रेसको संकल्प-पत्र कुनै घोषणापत्र नभई पागलहरुको प्रलापमात्र भएको ठोकुवा गरे।

'कांग्रेसको घोषणापत्र राजनीतिक दस्तावेज हैन। केवल पागलहरुको प्रलाप हो। जम्माजम्मी धारे हात लगाएको छ,' कार्यक्रममा ओलीले भने।

ओलीले यति भनेपछि घोषणापत्रको संयोजक रहेका महामन्त्री गगन मौन रहन सकेनन्। भोलिपल्टै पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको मञ्चबाट गगनले ओलीलाई ट्युसन पढाउने उद्घोष गरे।

‘अलिकति भ्याएको बेला बालकोटै गएर ट्युसन पढाउने हो। एउटा विषयमा त पढाउनै पर्ने भएको छ,' वैशाख १४ गते गगनले भने।

भोलिपल्ट १५ गते ओलीले त्यसको जवाफ व्यंग्यात्मक शैलीमा फर्काए।

‘ट्युसन पढाउन आउँछु भन्यो हिजो एउटाले। पहिले बागबजारमा ट्युसन सेन्टर राखेर के-के गर्‍या थिए भन्ने कुराको त्यो झझल्को आइराख्या हुनाले ट्युसन सेन्टर भनेको एउटा लाभदायकै हुन्छ भन्ने। त्यो उनीहरुको अनुभव हो। बालकोटमा पनि खोल्न आउँछु भनेछ। मैले कहाँ रोक्या छु?,' गगन लक्षित ओलीको बोली थियो, 'थुप्रो केटाकेटी छन् त्यहाँ ट्युसन पढ्ने। आवश्यक छ जब चाहियो भने बरु सुवास नेम्वाङजीले भन्नुहुन्छ म अनुहार सम्झिन्छु। नाम सम्झिन्न बिर्सने बानी छ। त्यस्तै कल्ले भन्या हो, म नाम त सम्झिन्न। तर, ट्युसन खोज्न आउने हो भने म बालकोटमा मिलाइदिन्छु।'

तालमेल नगर्दा आफ्नै क्षेत्रमा हारेको आरोप

ओलीले त आफ्नो अहङ्कारका कारण चुनावी परिणाम भोगिसकेका छन् : तर ट्युसन पढाउन तम्सेका गगनको हालत पनि काठमाडौंमा उस्तैउस्तै देखिएको छ। टिकट वितरणदेखि गठबन्धनका विषयमा गगन प्रस्ट नहुँदा कतिपय स्थानमा कांग्रेसले हार ब्योहोर्नुपरेको दाबी पार्टीभित्रकै नेताहरुले गर्न थालेका छन्। काठमाडौंकै विभिन्न नगरमा उनीमाथि रोष प्रकट गर्नेको संख्या बढ्दो छ।

यसो त उनी पार्टीमा शुरुबाट तालमेलको विरोधमा उभिएका थिए।

कांग्रेस एक्लै चुनावमा जानुपर्ने लाइनमा उभिएका थिए गगन। चैत ३ मा बनेपा पुगेर गगनले भनेका थिए -मतदाताले पार्टी बदल्न पाउँछ, तर एउटा पार्टीको भनेर अर्को पार्टीमा मत हाल्नु कदापि हुँदैन, पाप लाग्छ।

निर्वाचनअघि उनले जस्तो अभिव्यक्ति दिएका थिए त्यसले देशभरका कांग्रेसमा तरङ्ग ल्यायो।

यसो त गगनले आफूले पार्टीलाई मनाउन कोसिस गर्ने र नसके पार्टीकै निर्णय मान्ने बताएर आलोचनाबाट बच्ने बाटो पनि जोगाएका थिए। ‘पार्टीलाई निर्वाचनमा तालमेल नगर्ने मेरो सिद्धान्तमा ल्याउन प्रयास गर्छु। नसके पार्टीको निर्णय मान्छु,’ बनेपामा उनले दोहोरो भाषा प्रस्तुत गरेका थिए।

वैशाख ५ मा उनले काठमाडौंमा आयोजित एक सभालाई सम्बोधन गर्दै मतदाताले फरक व्यवहार गर्न सक्ने समेत बताएका थिए।

‘नेपाली कांग्रेस देशैभरिका साथीहरु कोही पनि तालमेलको पक्षमा हुनुहुन्न। पार्टीका साथीहरु पनि हुनुहुन्न। समर्थक पनि हुनुहुन्न। शुभेच्छुक पनि हुनुहुन्न। मतदाता पनि हुनुहुन्न। मैले धेरै पहिलेदेखि बोल्दै आएको विषय हो यो,’ थापाले भनेका थिए, ‘साथीहरुले यतिको कुरा भन्दै गर्दा जबर्जस्ती गर्न थाले निर्णय लाद्न थाले मतदाताले हामीले सोचेको भन्दा फरक व्यवहार गर्न सक्छ,' थापाले भनेका थिए।

पढ्नुस्ः कांग्रेसका देशैभरका साथीहरु तालमेलको पक्षमा छैनन् : गगन थापा, 'केन्द्रले जबरजस्ती गरे मतदाताले फरक निर्णय गर्न सक्छन्'

उनको संदेशको सबैभन्दा ठूलो असर काठमाडौं महानगरपालिकामा भयो नै। त्यसमा गगनको बोलीले कति प्रभावित पार्‍यो यसै भन्न सकिन्न।

छिटफुट बागीको जित भए पनि देशभर गठबन्धनकै कारण कांग्रेसले सुविधाजनक जित निकालेर पहिलो पार्टी बन्यो। थापाले दुई - दुई पटक जितेको काठमाडौं क्षेत्र नम्बर ४ मा पर्ने बुढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयर एमालेको कब्जामा गयो। उसो त यो नगरपालिकामा अघिल्लो स्थानीय निर्वाचन पनि एमालेकै उम्मेदवार निर्वाचित भएका थिए। गगनको क्षेत्रमा पर्ने यस नगरपालिकाको वडा अध्यक्षसमेत एमालेले जित निकाल्यो।

गगनको निर्वाचन क्षेत्रसँग जोडिएको गोकर्णेश्वर नगरपालिकामा पनि कांग्रेस खस्कियो। अघिल्लो निर्वाचनमा मेयर उपमेयर दुवैमा जित निकालेको कांग्रेसले यसपाला उपप्रमुख गुमायो।

गोरखा कांग्रेस हाँक्ने जिम्म पाएका नन्दप्रसाद न्यौपाने गगन निकट मानिन्छन्। यसपटक गोरखामा कांग्रेसको बेहाल भएको छ। यहाँ पनि टिकट वितरणमा मनलाग्दी भएको कांग्रेसकै केन्द्रीय नेताको दाबी छ।

तालमेलको विरोध गरेका गगनले स्थानीय तहको अन्तिम चुनावी सभाहरुमा बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गर्न आग्रह भने गरेका थिए। कांग्रेसले तालमेल गर्ने निर्णय गरेपछि ठाउँ-ठाउँमा कांग्रेसको बागी उम्मेदवारी परेको थियो। त्यसपछि पार्टीले उम्मेदवारी फिर्ता नलिनेलाई कारबाही गर्ने चेतावनी दियो। गगनले पनि पछि पार्टीमा फर्कन गाह्रो हुने उल्लेख गर्दै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। भरतपुर, पोखरादेखि जनकुपरधामसम्म बागी परेपछि गगनले स्थानीय नेताहरुसँग यस्तो आग्रह गरेका थिए।

‘पार्टीभित्र मैले पनि भोगेर आएको छु। जिम्मेवारी पाउँ भन्दै नपाएर भोगेर आएको छु। मैले त धेरै पाएको हो। कति साथीले उम्मेदवार पाउँ भन्दा पाइरहेका छैनन्। पार्टी एउटा निर्णय गरेर गएपछि पार्टीको निर्णयलाई मान्नुपर्छ। सम्मान गर्नुपर्छ। सम्पूर्ण कांग्रेसका साथीहरुलाई अनुरोध गर्दछु। हामीसँग दुई दिन समय बाँकी छ,’ वैशाख १४ गते काठमाडौंमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले भने, ‘एउटा अन्यायको हिसाब किताब हुन्छ विभेदको क्षतिपूर्ति हुने गरी न्यायको निर्णय हुनेगरि हामी काम गर्छौ। पार्टीको कर्मठ साथी आवेगमा पार्टी छाडेर जाँदा पछाडि फर्केर आउने अवस्था रहँदैन। एक पटक पार्टीको निर्णय उल्लङ्घन गरेर फर्केर आएको साथीको अवस्था मैले देखेको छु। सहजतापूर्वक पार्टीको यात्रा अघि बढाउन अप्ठेरो हुन्छ। पार्टीभित्र भएका असन्तुष्टि जायज पनि छन्। मेरो विचार कहिले पार्टीको विचार भएको छ। मेरो विचार पार्टीको निर्णय नहुँदा मैले मानेर हिँडेको छु।‘

बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गर्न भने पनि गगन गठबन्धनले आयोजना गरेको चुनावी सभामा पुगेनन्। चितवनवको भरतपुरमा आयोजित चुनावी सभाका लागि त्यहाँ माओवादीले प्रचार गरेको पोस्टरमा गगनको तस्विर टाँसेका थिए। तर उनी त्यहाँ पुगेनन्। तर, पार्टीले जारी गरेको तालिकामा वक्ताको रुपमा उनको नाम भने थिएन।

पढ्नुस्ः पोस्टरको दायाँ र बायाँ शेखर र गगन भए पनि जाँदैछैनन् भरतपुरको चुनावी सभामा भाग लिन

वैशाख २३ गते काठमाडौंको शान्ति बाटिकामा पनि देखिएनन् गगन। यता बुटवलमा वैशाख २४ गते आयोजित गठबन्धनको चुनावी सभामा पनि उनी पुगेनन्। बुटवलको सभामा केन्द्रीय वक्ताको नाममा गगनको पनि नाम राखिएको थियो। गठबन्धनका चुनावी सभाहरुमा प्रभावशाली महामन्त्री किन देखिएनन् त? कतै सामाजिक सञ्जालहरुमा आउने प्रतिक्रियाबाट जोगिन गगन सुझबुझपूर्ण रुपले पन्छेका त थिएनन्? अहिले प्रश्न गर्न थालेका छन्।

सिर्जनालाई सकेनन् जिताउन

यसपटक कांग्रेसले देशभरको चुनावको ‘प्रेस्टिज’ मानिने काठमाडौंमा सिर्जना सिंहलाई मेयरमा उठायो। १४औं महाधिवेशनमा देउवा खेमाविरुद्ध प्रकाशमान र गगन एक भएका थिए। जसले काठमाडौंमा राम्रो नतिजा पनि निस्केको थियो। यसैले पनि होला सिर्जनाको 'इलेक्सन क्याम्पेन'मा गगन झन्डै चुनावी कमान्डरझैं देखिएका थिए। उनको भनाईका कारण गगनले एमालेका प्रत्यासी केशव स्थापितको खप्कीसमेत खानुपरेको थियो।

वैशाख १८ गते एक कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले कांग्रेसबाट मेयरको उम्मेदवार रहेकी सिर्जना सिंहलाई तागतै नभएको महिला भन्दै सिधै बहिस्कार गर्नुपर्ने बताएका थिए।

‘गणेशमानको बुहारी भनेर आएको छ। तर, तागतै छैन। तागतै नभएको महिला आएर शहर हाँक्छु भन्न आउने, उ हुँदैन। सिधै बहिस्कार गर्नुपर्छ। एक भोट पनि हाल्नुहुँदैन,’ स्थापितले भनेका थिए, ‘मैले सय वटा इन्टरभ्यू दिइसकेँ। एउटा इन्टरभ्यु पनि दिँदैन।’

सिर्जनामाथि पोखिँदै गर्दा स्थापितले कांग्रेस महामन्त्री थापामाथि पनि आरोप लगाएका थिए। ‘अनि कल्ले बोल्छ भने गगन थापा बोल्न आउँछ। ऊ आउनुपर्‍यो नि मेयर हुन। मैले खसी खोइ भन्यो। हिसाबकिताब बुझाउनु परेन? नाटकमा झैं बोल्ने? कराउने मान्छेको कुरा सुनेर मुलुक कसरी बनाउने भनेको?,’ स्थापितले भनेका थिए।

जवाफमा गगनले महिला विरोधी उम्मेदवारलाई मतदानका दिन जवाफ दिनुपर्ने बताएका थिए। काठमाडौं महानगरमा कांग्रेसबाट उम्मेदवार रहेकी सिर्जनाको तर्फबाट काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा २२ गते आयोजित क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले भनेका थिए, ‘बेइज्जत गर्न खोजिएको छ। एकचोटी हैन पटकपटक पार्टीको सभापतिदेखि उम्मेदवारसम्मले एक मञ्चपछि अर्को मञ्चमा भनिएको छ। काम नलाग्ने महिला भनेर,’ महामन्त्री थापाले भने, ‘महिलाद्वेषी 'हेट स्पिच'। यो काठमाडौंका सम्पूर्ण महिलाको अपमान हो।’

त्यसो त कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रकाशमान साक्षी राखेर जेठ २३ गते शान्तिबाटिकाको मञ्चबाट भनेका थिए ‘दुई जना महिलाले राम्रो ठाउँमा टिकट पाएका छन्। उनीहरूले हारे राष्ट्रिय, अन्तर्राष्ट्रिय जगत्‌ले के भन्ला?’

मतदानबाट स्थापितलाई जनताले जवाफ त दिइसकेका छन् तर कांग्रेसको भने जित निस्कन सकेन। अब अन्तर्राष्ट्रिय जगतले के भन्ने हो त्यो हेर्न बाँकी नै छ तर चुनाव सकिँदै गर्दा गगनमाथि पनि प्रश्नहरु छरिएका छन्।

गगनको क्षेत्रमा यस्तो आयो रुखमा मत

गगनको क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा पनि एमालेका भरतलाल श्रेष्ठ निर्वाचित भए। वडा ७, ८ र ३० मा भने कांग्रेसले जित निकाल्यो। ३० गगनले मतदान गरेको वडा हो।

नक्साल क्षेत्र पर्ने वडा १ मा स्वतन्त्र उम्मेदवार बालेनलाई ७८३ मत झर्दा रुखमा ४५१ मतमात्र पर्‍यो। स्थापितले ३६५ मत पाए। यता मित्रपार्कमा पर्ने वडा ७ मा त रुखमा भन्दा झन्डै तेब्बर मत लौरोमा खसेको देखियो। यहाँ बालेनले तीन हजार ८४६ मत पाउँदा यहाँ स्थापितले एक हजार ४७२ मत पाए भने रुखमा एक हजार ५८० मतमात्र खस्यो।

पशुपति क्षेत्रमा पर्ने वडा ८ बालेनको लौरोमा एक हजार ३१३ मत खस्दा सिर्जनाले ८२४ मतमात्र पाइन्। यहाँ स्थापितले ६६२ मत पाए। गगनले मत खसालेको वडा ३० मा बालेनले एक हजार ७०१ पाउँदा सिर्जनाले एक हजार १९ मतमात्र पाइन्। स्थापितले ७४० मत पाए।

महाधिवेशनमा सभापति फस्ट राउन्टमा टुंगो नलागेपछि प्रकाशमानले देउवालाई साथ दिएका थिए। जसका कारण पछिल्लो दिन प्रकाशमान देउवा निकट देखिन्छन्। शेखर गुटबाट महामन्त्रीमा निर्वाचित भए पनि गगन देउवाकै लाइनमा गएको कतिपयको आरोप छ। त्यसैले पनि गगनको बोली सुन्दा सिर्जनाको जितका लागि उनी खटेको देखिन्थ्यो। तर, मत परिणाम बाहिरिएपछि भने गगन बाहिर खटे पनि भित्री रुपमा नखटेको बताउन थालिएको छ।

ओलीको आलोचना नगर्न गगनको सुझाव

गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमाले यसपटक दोस्रो बनेको छ। गत निर्वाचनमा एमाले मेयर/अध्यक्षमा २९४ स्थान जित्दै पहिलो दल बनेको एमालेले यसपटक ३ स्थानको मत परिणाम आउन बाँकी छँदा २०५ स्थानमामात्र जित निकालेको छ। २०७४ मा २६६ ल्याएको कांग्रेसले ३२७ स्थानीय तहको प्रमुख जित्दै पहिलो पार्टी बनेपछि सरकारले ‘बुथ कब्जा गरेर’ निर्वाचन जितेको आरोप लगाएका छन्।

‘निर्वाचन स्वच्छ हुन सकेन। धाँधलीरहित भएन। सत्तापक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर हेरेको छ। उम्मेद्वारको घरमा बम पड्काइएको छ। परिवार घाइते भए। घर भत्किए। के निर्वाचन शन्तिपूर्ण भयो? कति ठाउँमा बम पड्किए, सबै ठाउँमा प्रतिपक्षको विरुद्धमा आक्रमण भएको छ,’ ओलीले बिहीवार प्रतिनिधि सभामा भने।

यता ओलीलाई ट्युसन पढाउन तम्सेका गगनले यो निर्वाचन आम निर्वाचनको झल्को दिने खालको भन्दै अब ओलीमाथि प्रश्न नगर्न भनिसकेका छन्।

‘हाम्रो जिम्मेवारी प्रश्न गर्ने हैन। आलोचना गर्ने हैन। सकियो अब एमालेको बारेमा कुरा गर्ने हैन। ओलीका बारेमा चर्चा गर्नुपर्दैन। अब हाम्रो बारेमा कुरा गर्ने हो,' भक्तपुरमा आयोजित कांग्रेसको सभालाई सम्बोधन गर्दै थापाले बुधबार भने।

अब आमनिर्वाचनको तयारीमा लाग्नसमेत उनले आग्रह गरे।

'नयाँ अध्याय सुरु भयो। अब जिम्मा लिनुपर्छ। हामीले संघ र प्रदेशको सरकारले सही ढंगले चलाउनुपर्छ। चुनाव गर्नुपर्छ,' उनले भने, 'प्रदेशको चुनाव आउँदैछ। मंसिर वा फागुनमा। सरकारले निर्णय गर्ला।'

गगनले आफूमाथि हारको आरोप ओइरेला भनेर पो हो कि, कार्यकर्ताको ध्यान डाइभर्ट गर्न सिधै अर्को चुनावको तयारीमा लाग्न निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell