PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शव पहिचानपछि भावुक हुँदै निस्किएको शिक्षण अस्पतालको त्यो क्षण…

शव पहिचानपछि भावुक हुँदै निस्किएको शिक्षण अस्पतालको त्यो क्षण…

मुकुन्द घिमिरे/पहिलोपोस्ट


काठमाडौं : मंगलवार बिहान साढे ११ बजे। त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागको प्राँगणमा भिड बढ्दै थियो।

यतिकैमा दर्के पानी पर्‍यो। वरपर टोलाइरहेकाहरु सँगै रहेको भवनको बेसमेन्टमा पुगे। यही बेला एम्बुलेन्सको चर्को आवाज आयो। त्यहाँ भेला भएका सबैले सडकतिरै आँखा पुर्‍याए।

'स्याङ्जाबाट अस्तिकै दिन आइपुगेको। कागजपत्र पुगेन भने के हुन्छ?' भिडमा एक जना सोध्दै थिइन्।

‘चिन्ता नगर्नुस्, प्रशासनले मिलाउँछ,’ अर्को व्यक्ति सम्झाउँदै थिए।

उनी तारा एयर दुर्घटनामा मृत भएका दाजुको शव बुझ्न स्याङ्जाबाट आइपुगेकी रहेछिन्।

अस्पताल परिसरमा एम्बुलेन्सको आवाज बज्ने, बन्द हुने भइरह्यो।

तारा एयर दुर्घटनमा निधन भएका बाँकी १२ जनाको शव त्रिभुवन विमानस्थलबाट शिक्षण अस्पताल ल्याउने खबरले जम्मा भएका आफन्त थपिँदै थिए। अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टम गरेर प्रक्रियाअनुसार परिवारजनलाई शव बुझाउने भएकाले उनीहरु यहाँ आइपुगेका रहेछन्।

त्यही भिडमा धनुषाबाट आइपुगेका एक जना वृद्ध चुकचुकाउँदै थिए - सानासाना बच्चाहरु छन्। उनी दुर्घटनामा निधन भएका दिनेश गोलेका काका रहेछन्। सोमवारै काठमाडौं आइपुगेका बताउँदै थिए उनी।

दिनेशका छोराछोरीलाई आफूले निकै सम्झाएको कुरा पनि सुनाए उनले। 'भगवान कृष्ण पनि मरेकै हो। जन्मेको मान्छे मर्छ नै भनेर सम्झाएँ,' उनी भन्दै थिए।

विमान दुर्घटनामा परी निधन भएका २२ जनामध्ये सात जना उनको आफन्त परेका छन्। राजन गोले, इन्द्रबहादुर गोले, राममाया तामाङ, पुरुषोत्तम गोले, तुलसादेवी तामाङ, मकरबहादुर तामाङ र सुकुमाया तामाङ एकै परिवारका।

दुर्घटनामा निधन भएका बुवाआमाको शव बुझ्न उत्तम तामाङ पनि थिए भिडमा। बुवा मकरबहादुर र आमा सुकुमायाको शव बुझ्न आइपुगेका उनी घरी यता त घरी उता पुग्थे। र, बेलाबेला आँखा पुछ्थे। 

करिब दुई घण्टाको प्रतिक्षापछि शववाहन र एम्बुलेन्स लस्करै आइपुग्यो। अलि अघि नै प्रहरीले बाटो खाली गरिसकेको थियो। शववाहन र एम्बुलेन्सबाट एकपछि अर्को शव निकालियो। अनि, विभागभित्र पुर्‍यायो।

एकैछिनपछि आफन्तहरु पालैपालो शव हेर्न विभागभित्र पसे।

शव हेरेर फर्केकाहरुको भक्कानिँदै निस्कन्थे। र सम्हाल्थे एकले अर्कोलाई।

विष्णुदेवीको आशाको दियो अब कहिल्यै आउँदिनन् फर्केर

मुक्तिनाथ दर्शनमा निस्केका थिए लोटा गाउँका तामाङ परिवार, साता दिनमै फिर्ता पठाउँछु भनेका थिए राजनले



ट्रेन्डिङ पोस्ट

Ncell