PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

कारमा करोडौं रुपैयाँ बोकेर किन काठमाडौं आएका थिए चिनियाँ नागरिक ?



पहिलोपोस्ट

कारमा करोडौं रुपैयाँ बोकेर किन काठमाडौं आएका थिए चिनियाँ नागरिक ?

काठमाडौं : मंगलबार बिहान करिब साढे ९ बजेतिर नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगामा रोकेर चेक गर्‍यो। लागूऔषध नियन्त्रण ब्युरोबाट चेकिङको लागि खटिएको प्रहरी टोली यसमा एक्टिभ देखियो। गाडीमा चार जना चिनियाँ नागरिक थिए। उमेरले ५०, २६, ३१ र ४९ वर्षका। गाडी भने नुवाकोट विदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङले चलाएका थिए।

प्रहरीले कारको डिक्की खोलेर हेर्दा त्यसभित्र प्लाष्टिकको दुई वटा सेतो बोरा भेटियो। र, त्यसमा नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रुपैयाँ भेटिएको प्रहरीको दाबी रहेको छ। तत्कालै प्रहरीले चार जना चिनियाँ नागरिक र चालक गुरुङलाई नियन्त्रणमा लियो। लागूऔषध नभेटिएपछि अनुसन्धानको जिम्मेवारी महानगरीय प्रहरी वृत्त थानकोटलाई सर्‍यो।

'यो कुनै सूचना भन्दा बढी नियमित चेक गर्दा भेटिएको रकम हो। हामीले त लागूऔषध होला भनेर चेक गरेका थियौँ,' लागु औषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख एसपी जीवनकुमार श्रेष्ठले भने।

तीन घण्टा बढी लगाएर प्रहरीले बरामद भएको नोट गन्यो। एक हजार दरका ३६ हजार ४ सय १३ थान नोट थिए। बाँकी पाँच सय, एक सय, २० को नोट पनि भेटिएको थियो। जम्मा ३ करोड ८९ लाख १३ हजार ७ सय २० रुपैयाँ भेटियो। चिनियाँ नागरिकको थप विवरण प्रहरीले खुलाएको छैन।

उनीहरू कसरी नुवाकोट आइपुगे ? त्यहाँबाट धादिङ हुँदै काठमाडौं भित्र यतिका धेरै पैसा बोकेर किन आए ? यसको जवाफ अझै अनुत्तरित नै छ। प्रहरीको नियमित चेकिङ हुने नागढुंगामा प्रहरी सुरक्षालाई नै चुनौती दिँदै डिक्कीमा नै करौडौं रुपैयाँ राखेर भित्र्याउने हिम्मत कसरी गरे उनीहरुले ? थप शंका गर्ने बाटो खुल्लै छ।  रकम बरामद भएको कार


यसअघि पनि नागढुंगबाट स्रोत नखुल्ने लाखौं रुपैयाँ लिएर आउने गरेको घटना पनि छन्। तर यो घटना केही वर्षदेखि यसरी नागढंगाबाट बरामद ठुलो रकमभित्र पर्छ। २०७७ साल पुसमा २० वर्षीय भारतीय नागरिक अमित कुमार गुप्ता र कार चालक पक्राउ परेका थिए। प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको सिल्भर कलरको कारको डिकीमा स्पेयर टायरमुनि लुकाइएर १ करोड ४७ लाख रुपैयाँ ल्याएका थिए। कारभित्र रहेका तीन वटा कालो रङ्गका झोलामा १ करोड ४७ लाख रुपैयाँ भेटिएको थियो। सबै नोट १ हजारका। उनीहरू भारतबाट कपिलवस्तु हुँदै काठमाडौं छिर्न लागेका थिए।

अहिलेको घटनामा भने भारतीय नागरिक नभएर चिनियाँ नागरिकको संलग्नता देखिएको छ। गाडी चालक गुरुङले आफ्नो रकम नभएको प्रारम्भिक प्रहरीको बयानमा बताएका छन्। तर चिनियाँ नागरिकले भने मुख खोलेका छैनन्। नेपाल प्रहरीमा चिनियाँ भाषा बुझ्ने/बोल्ने प्रहरी छैनन्। पक्राउ परेका चिनियाँहरूले अङ्ग्रेजी भाषा बोल्दैनन्। जसले गर्दा पनि प्रहरीलाई पक्राउ गर्ने बित्तिकै अभियुक्तबाट घटनाको जानकारी लिन समस्या पर्ने गरेको छ। मंगलबार पनि दोभासे नहुँदा समस्या परेको प्रहरीको दाबी छ।

पढ्नुस : चिनियाँ नागरिकको अपराध, दोहोरियो अनुसन्धानमा भाषाकै समस्या

'चिनियाँ नागरिक बोलेका छैनन्। फेरि हामीसँग तत्कालै कुनै दोभासे पनि छैनन्। त्यसले गर्दा अहिले नै किन रकम ल्याए? कसको रकम हो भन्ने खुलेको छैन। अनुसन्धानमा नै छ,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले भने।

मंगलबार बरामद भएको रकम पनि आपराधिक गतिविधिमा नै प्रयोग हुने प्रहरीको आशंका रहेको छ। चिनियाँ नागरिकले नेपालमा सुन तस्करीदेखि हुन्डी कारोबारमा यस्तो रकमको प्रयोग गर्ने गरेको देखिन्छ। यसअघि पनि नेपाललाई आधार बनाएर हुने सुन तस्करीको घटनामा पनि चिनियाँ नागरिकको संलग्नता देखिएको छ। रसुवा केरुङ नाका हुँदै काठमाडौं भित्र्याएको ८८ किलो  सुन प्रकरणमा पनि चिनियाँ नागरिकको संलग्नता देखिएको थियो। २०७४ भदौमा प्रहरीले क्षेत्रपार्टीबाट ८८ किलो सुन सहित एक जनालाई नियन्त्रणमा लिएको थियो।

एटिएम ह्याकिङ देखि जुवा खाल र वन्यजन्तुको तस्करीसम्म चिनियाँ नागरिक संलग्नता खुलेको छ। यसरी भेटिने स्रोत नखुलेका रकमहरू हुन्डी र सुन तस्करीसँग जोडिने गरेको अगाडीको घटनाले देखाएको छ।

भारतीय नागरिक अमित अग्रवालको रकम अवैधानिक ठहर भएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अध्ययनमा देखिएको थियो।  विभागले गरेको अध्ययनमा सो रकम भारतीय नागरिक अमित कुमार गुप्ता भन्ने अंकित कुमार अग्रवालले अवैध सुन खरिद गर्नका लागि ल्याएको खुल्न आएको थियो। अग्रवालले सचिन टेवडेवाल भन्ने सचिन कुमार अग्रवालवाट प्राप्त गरी नुर महोमद भन्ने नुरुद्धीन अन्सारीलाई दिई सुन लिनका लागि  रकम ल्याएका थिए।

भारतीय नागरिक जोडिएका स्रोत नखुलेका रकममा हुन्डीको कारोबार देखिन्छ। तर चिनियाँ नागरिक जोडिएका घटनाले सुन तस्करी तिरै इंकित गर्छ। तर अबैध रकमलाई वैधता दिन अपनाएको विधि पनि हुनसक्ने प्रहरी अधिकृतको आशंका रहेको छ।  मङ्गलवारको ३ करोड ८९ लाख घटनाको अनुसन्धान गर्ने अदालतबाट दुई साताको म्याद लिएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell