काठमाडौं : प्रतिबन्धित लागुऔषध हेरोइनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले तीन जना विदेशी नागरिकसहित एक नेपालीलाई नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट ४ किलो ९ सय ग्राम हेरोइन समेत बरामद भएको ब्यूरोका एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए।
असार २ गते साउथ अफ्रिकाबाट दुबई हुँदै काठमाडौं आएका ३० वर्षीय तान्जानियन नागरिकलाई लागुऔषध हेरोइनसहित नियन्त्रणमा लिइएको हो। उनी बौद्धस्थित एक होटेलबाट ४ किलो ९ सय ग्राम हेरोइनसहित पक्राउ परेका हुन्।
त्यस्तै, सोही दिन बौद्धबाट नै विदेशबाट आएको सो हेरोइन लिन आएका दुई भारतीय नागरिक र एक नेपालीलाई पनि पक्राउ गर्न प्रहरी सफल भयो। पक्राउ पर्नेमा ४६ वर्षीय भारतीय नागरिक मुनिम सिंह, ४३ वर्षीय विक्रम जित सिंह र वीरगंजका ३० वर्षीय विक्की रौनियार रहेका छन्।
यसअघि ब्यूरोको टोलीले असार २ गते विदेशबाट हेरोइन बोकेर आएका ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको थियो। प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ७ जना विदेशी महिलालाई पक्राउ गरेको थियो।
दक्षिण अफ्रिकाबाट दुबई हुँदै नेपाल आएका ७ जना महिलालाई ब्यूरोले पक्राउ गरेको थियो। यी महिलाहरू ६ वटा समूहबाट सञ्चालित भएको प्रहरी अनुसन्धानका खुलेको थियो।
ती समूह सञ्चालन गर्ने पाँच जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो। उनीहरुको साथमा सेतो हिरोइन र खैरो हिरोइन भेटिएको छ। बरामद लागुऔषधमा सेतो हिरोइन ४९ किलो र खैरो हिरोइन २ किलो रहेको प्रहरीले जनाएको थियो।
अनुसन्धानका क्रममा उनीहरू अफ्रिकाबाट दुबई र दुबईबाट नेपाल हुँदै भारत जाने देखिएको प्रहरीले जनाएको छ। त्यस्तै, यसअघिका घटना पनि उही शैलीमा नेपाललाई लागुऔषधको ट्रान्जिट बनाएको देखिएको छ। विदेशबाट लागुऔषध ल्याएर भारततिर जाने गरेको देखिएको छ।
गत भदौमा प्रहरीले २ किलो ९ सय ग्राम हेरोइनसहित तीन जनालाई पक्राउ गर्न सफल भएको थियो। पक्राउ पर्नेहरूमा २६ वर्षीय तान्जेनियाका नागरिक किमारो, दक्षिण अफ्रिकी ३० वर्षीय नागरिक शेर्ला गामा र भारतका ३३ वर्षीय विजय सिंह थिए।
२०७८ भदौ ३ गते गामा केप टाउनबाट दोहा हुँदै नेपाल आएकी थिइन्। सिंह भने भारतबाट गामाले ल्याएको २ किलो ९ सय ६६ ग्राम हेरोइन लिन नेपाल आएका थिए। प्रहरीले तीनै जनालाई पक्राउ गर्न सफल भएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा तीन वटै घटनामा उनीहरूले दक्षिण अफ्रिकाबाट नै कारोबार समूह सञ्चालन गरेको देखिएको छ। प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) सँग सहकार्य गरेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
पछिल्लो हेरोइनको केस एउटै प्रकृतिमा लागुऔषध ल्याएको देखिएको छ। उनीहरूले लगेजमा फल्स बटम बनाएर लागुऔषध ल्याएका थिए। यसरी ल्याइएको लागुऔषधको लगेज होटलमा पुर्याएर कुनै खोलखाल गरिएको थिएन। प्रहरीको अनुसन्धानले यसरी खोलखाल नगर्नुले काठमाडौंबाट कतै पठाउन खोजिएको देखिन्छ।
सम्बन्धित समाचार