PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तान्जेनियाबाट विश्वभाषा क्याम्पस पढ्न आएकी किमारोदेखि अफ्रिकाकी मौरीनसम्म जोडिएको हेरोइनको 'कनेक्सन'



सविन ढकाल

तान्जेनियाबाट विश्वभाषा क्याम्पस पढ्न आएकी किमारोदेखि अफ्रिकाकी मौरीनसम्म जोडिएको हेरोइनको 'कनेक्सन'

काठमाडौं : लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बिहीवार हालसम्मकै सबैभन्दा ठूलो परिमाणमा लागुऔषध हेरोइन बरामद गरेर सार्वजनिक गर्‍यो। ब्युरोले सेतो ४९ केजी र खैरो २ केजी हेरोइनसहित सात जना विदेशी महिला पक्राउ गरेको हो। पक्राउ परेकामा सबै दक्षिण अफ्रिकन महिलाहरू रहेका छन्।

प्रहरीले जेठ २६ गते दुबई ट्रान्जिट बनाएर काठमाडौं आएकी २९ वर्षीया म्हलाको मौरीन माथिबालाई पक्राउ गरेको थियो। त्यसपछिका अन्य कनेक्सन हेर्दै जाँदा थप ६ जना विदेशी महिला ठूलो परिणाममा हेरोइनसहित समातिएका हुन्। उनीहरू दक्षिण अफ्रिकाबाट दुबई र कतारको दोहा हुँदै नेपाल आएका थिए। नेपाल ‌ओर्लिएपछि सबै महिला ठमेलका विभिन्न पाँच वटा होटलमा बस्‍न पुगेको प्रहरीको अनुसन्धानमा देखिएको छ। यसरी विदेशबाट हेरोइन पठाउन विभिन्न ६ वटा समूह सक्रिय भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनीहरूले दक्षिण अफ्रिकाबाट नै कारोबार समूह सञ्चालन गरेको देखिएको छ। प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) सँग सहकार्य गरेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

लागूऔषध हेरोइन नेपाल भित्रिएको जानकारी पाएपछि प्रहरीले लगभग एक साता लगाएर उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

यस अघिका तस्करीका घटनालाई आधारमा मानेर हेरोइन नेपालमा प्रयोग नहुने तथ्यसँग प्रहरी जानकार थियो। त्यसैले अन्य देश लैजाने सूचनाको आधारमा यहाँबाट हेरोइन लिन आउने अन्य मानिसलाई समेत पक्राउ गर्ने दाउमा थियो प्रहरी। तर, लागुऔषध रिसिभ गर्ने कोही मानिस आएनन्।

गत भदौमा प्रहरीले २ किलो ९ सय ग्राम हेरोइनसहित तीन जनालाई पक्राउ गर्न सफल भएको थियो। पक्राउ पर्नेहरूमा २६ वर्षीय तान्जेनिया नागरिक किमारो, दक्षिण अफ्रिकी ३० वर्षीय नागरिक शेर्ला गामा र भारतका ३३ वर्षीय विजय सिंह थिए। २०७८ भदौ ३ गते गामा केप टाउनबाट दोहा हुँदै नेपाल आएकी थिइन्। त्यसअघि काठमाडौंको विमानस्थलबाट उत्रिएपछि सिधै कमल पोखरीस्थित होटेलमा पुगिन् उनी।

जुन कारोबारको निगरानी किमारोले पनि गरिरहेका थिइन्। सिंह भने भारतबाट गामाले ल्याएको २ किलो ९ सय ६६ ग्राम हेरोइन लिन नेपाल आएका थिए। प्रहरीले तीनै जनालाई पक्राउ गर्न सफल भएको थियो। किमारोलाई पनि लागुऔषध घटनामा आफ्ना मानिस समातिएको जानकारी भयो। त्यसपछि उनी काठमाडौं छोडेर भाग्ने तयारी थालिन्। तर, उनी उम्कन पाइनन्। प्रहरीले उनलाई सिन्धुलीबाट भदौ ८ गते समात्न सफल भयो।

त्यसपछि प्रहरीले अनुसन्धान सुरु गर्दा तान्जेनियाकी किमारो दुई वर्षदेखि नेपालमा बस्दै आएको खुलेको थियो। यस बिचमा पटकपटक उनी आफ्नो देशसमेत फर्किएकी थिइन्।

सन् २०१९ मा उनी पर्यटक भिसामा नेपाल आएकी थिइन्। त्यसपछि अप्रिलबाट भने स्टुडेन्ट भिसामा नेपालमा रहेको देखिन्छ। उनी विश्वभाषा क्याम्पसमा नेपाली भाषा पढ्दै आएकी थिइन्। किमारो क्षेत्रपाटीमा २० हजार रुपैयाँ मासिक तिरेर फ्ल्याटमा बस्दै आएको पनि खुल्यो। यस घटनापछि प्रहरीले नेपालमा खैरो हिरोइनलाई ट्रान्जिट बनाएर कारोबार भएको जानकारी लिएको थियो।

गत वैशाखमा हेरोइनसहित दुई महिलालाई प्रहरीले पक्राउ गर्न सफल भयो। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले जाम्बियाकी ३५ वर्षीया र भारत घर भएकी ३५ वर्षीया महिलालाई नियन्त्रणमा लिएको थियो।

जाम्बियाकी महिला वैशाख ३ गते साउथ अफ्रिकाबाट कतारको दोहा हुँदै काठमाडौं ‌आएकी थिइन्। उनले ल्याएको सुटकेसभित्र फल्स बटम बनाई सात केजी हेरोइन ल्याएको भेटिएको थियो। वैशाख ४ गते लाजिम्पाटको एक होटेलबाट भारतीय महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी जाम्बियाकी महिलाले ल्याएको हेरोइन लिन भन्दै काठमाडौं आएकी थिइन्। विदेशबाट ल्याएको लागूऔषध नेपाल हुँदै भारतसम्म पुर्‍याउने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो। माथिका दुई घटना प्रहरीलाई ५१ किलो हेरोइन बरामद गर्न सफलता पुर्‍याउने 'कडी' बनेको थियो।

'हामीले अघिल्ला दुई घटनालाई केलाएर हेरेका थियौँ। अफ्रिकाबाट लगातार नेपाल आएका मानिसलाई पनि शङ्काले हेरिरहेका थियौँ,' लागुऔषध नियन्त्रण ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले भने।

तीन वटा केसमा एउटै प्रकृतिमा लागुऔषध ल्याएको देखिएको छ। उनीहरूले लगेजमा फल्स बटम बनाएर लागुऔषध ल्याएका थिए। यसरी ल्याइएको लागुऔषधको लगेज होटलमा पुर्‍याएर कुनै खोलखाल गरिएको थिएन। प्रहरीको अनुसन्धानले यसरी खोलखाल नगर्नुले काठमाडौंबाट कतै पठाउन खोजिएको देखिन्छ।

'यदि यहीँ बिक्री गर्ने भए यसरी बोकेर ल्याएका भरियाले सुटकेस खोलेर फोटो खिचेर तस्करी गर्ने समूहलाई पठाउने गर्छन्। यदि ट्रान्जिटमात्र हो भने त्यसको केही पनि गर्दैनन्,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

किन हुन्छ महिलाको प्रयोग?

५१ किलो हेरोइनसहित बिहीवार प्रहरीले सार्वजनिक गरेका सात महिलामात्र हुन्। उनीहरू सबै जना दक्षिण अफ्रिकाबाट लागूऔषध बोकेर नेपाल आएका थिए। उनीहरू दक्षिण अफ्रिकामा 'डेलिभरी गर्ल' र एक जना कुक भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनीहरु भिजिट भिसामा नेपाल आएका हुन्। समातिएका मध्ये मुरियल भन्ने एक महिलाबाहेक अरू पहिलोपटक नेपाल आएको देखिन्छ।

१८ केजी हेरोइनसहित ठमेलबाट समाएकी मुरियल यसअघि पनि दुई पटक नेपाल आएको देखिएको छ। मार्च र फेब्रुअरी महिनामा उनी नेपाल आएकी थिइन्। छ महिनाको अन्तरालमा तीन चोटि नेपाल आएको देखिएपछि प्रहरीले मुरियलमाथि शङ्काले अनुसन्धान अगाडि बढाएको थियो। दक्षिण अफ्रिकाबाट हेरोइन आउने र महिलालाई नै पठाउने गरेको ट्रेन्ड देखिएपछि प्रहरीले थप चासोका साथ हेरेको थियो।

तीन वटा लागूऔषध हेरोइनका घटनमा ११ जना विदेशी महिला समातिएका छन्। जसमा एक जना भारतीय पुरुष रहेका छन्। महिलालाई शङ्का कम गर्ने र सुरक्षा जोखिम कम भएकाले तस्करहरूले महिलालाई नै प्रयोग गर्ने गरेको ब्युरोका एसपी श्रेष्ठ बताउँछन्।

'महिलालाई सुरक्षित ठान्ने गरेका छन्। शङ्का कम भएकाले पनि तस्करहरूको लागि महिला भरियाको रुपमा प्रयोग गर्ने गरेको देखिन्छ,' एसपी श्रेष्ठले भने।

किमारोदेखि मौरिनसम्म आइपुग्दा महिलाकै प्रयोग देखिएको छ। तीन वटै घटनामा तस्करले एउटै ट्रेन्ड फलो गर्दा प्रहरी अनुसन्धानको नजिक पुग्न थप सहयोग पुगेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell