
शिवसेनाका बागी विधायक एकनाथ शिंदे भारतको महाराष्ट्रका नयाँ मुख्यमन्त्री बनेका छन्। राजभवनमा आयोजित एक कार्यक्रममा उनलाई राज्यपाल भगत कोश्वारीले सपथ दिलाएका हुन्।
शिंदे आफ्नै दल शिवसेनाका प्रमुख उद्धव ठाकरे नेतृत्वको सरकारलाई असफल बनाएर सत्तामा पुगेका हुन्। सर्वोच्चले विधानसभामा बहुमत परीक्षणका लागि स्वीकृति दिएपछि बुधवार उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
करिब १० दिन शिंदेसहितका बागी विधायक भारतीय जनता पार्टी शासित असाममा बसेका थिए। बिहीवार मुम्बई फर्किएका शिंदे भाजपाकै समर्थनमा मुख्यमन्त्री बनेका हुन्। शिंदेसँग शिवसेनाका बागी र स्वतन्त्र गरि करिब ५० विधायकमात्र छन्। २८८ सदस्य भएको महराष्ट्र विधानसभामा शिवसेनाबाट ५५ जना, एनसीपीबाट ५३ जना, कांग्रेसबाट ४४ जना र भारतीय जनता पार्टीबाट १०६ जना विधायक छन्। शिवसेनाका करिब ३५ विधायक शिंदेका साथमा छन्।
यस्तै, राज्यको सबैभन्दा ठूलो दल भाजपाका देवेन्द्र फड्णविस महाराष्ट्रका उपमुख्यमन्त्री बनेका छन्। फड्णविस यसअघि दुईपटक महाराष्ट्रका मुख्यमन्त्री बनिसकेका व्यक्ति हुन्। उद्धव नेतृत्वको महाविकास अघाडीलाई तोडेपछि भने उनी उपमुख्यमन्त्री बन्न राजी भएका हुन्। शिंदेलाई मुख्यमन्त्री बनाएर देवेन्द्रले उद्धवसँग बदला लिएको बताइन्छ।
सम्बन्धित समाचार : 'मातोश्री' मा फर्किँदै महाराष्ट्रको शक्ति : फोटोग्राफरदेखि मुख्यमन्त्रीसम्म उद्धवको यात्रा
गएको विधानसभा निर्वाचनमा गठबन्धन बनाएर निर्वाचन लडेका भारतीय जनता पार्टी (भाजपा) र शिव सेनाबिच मुख्यमन्त्री पदमा कुरा नमिलेपछि महाराष्ट्रमा केन्द्रले हस्तक्षेप गरेको थियो। राज्यपालले सरकार बनाउन भाजपालाई प्रस्ताव गरे पनि शिवसेनाले साथ नदिँदा बहुमत नपुग्ने भन्दै उसले सरकार नबनाउने घोषणा गरेको थियो। शिव सेनाले भाजपाले निर्वाचनमा भएको सहमति तोडेकोले आफूहरुले समर्थन गर्न नसक्ने बताएको थियो। शिव सेना प्रमुख उद्धव ठाकरेले भाजपाले यसपटक शिव सेनालाई मुख्यमन्त्री पद दिने बाचा गरे पनि निर्वाचनपछि मुख फेरेको आरोप लगाएका थिए। त्यसपछि राज्यमा राष्ट्रपति शासनसमेत लागू गरिएको थियो। पछि राज्यपालले फड्णविसलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। तर,उनले चारदिनमा नै सत्ता गुमाउन पर्यो। त्यसपछि उद्धवले भाजपाको साथ छाडेर भारतीय राष्ट्रिय कांग्रेस, राष्ट्रवादी कांग्रेस पार्टीसँग महा विकास अघाडी गठबन्धन गरेको थियो।
सम्बन्धित समाचार : भारतको महाराष्ट्रमा 'महा नाटक' : चार दिनमै गयो फड्णवीस सत्ता
उद्धवले गरेको सोही गठबन्धनबाट हट्नुपर्ने भन्दै ठाकरे सरकारमै मन्त्री रहेका शिंदेले विद्रोह गरेका थिए। त्यसपछि उद्धव आफ्नै दलमा अल्पमतमा परे। शिंदेले अघाडी गठबन्धन तोड्नु पर्ने र भाजपासँग गठबन्धन गर्नुपर्ने माग गर्दै आएका थिए। यसै सिलसिलामा शिंदे र देवेन्द्रबिच धेरैपटक भेट भएको थियो। र, देवेन्द्रकै योजनामा शिवसेनामा विद्रोह भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।
राज्यमा उद्धव सरकारलाई ढाल्ने योजनाकारका रुपमा फड्णविसलाई नै प्रस्तुत गरिएको छ। सुरुमा उनले आफू सरकार बाहिर बस्ने र शिंदे सरकारलाई सघाउने बताएका थिए। तर, सपग ग्रहण हुनुभन्दा एक घण्टा अघिमात्रै केन्द्रले हस्तक्षेप गरर देवेन्द्रलाई उपमुख्यमन्त्री बन्न निर्देशन दिएको थियो।
महाराष्ट्रमा पछिल्लो दुई साता भएको महाभारतको रचनाकारका रुपमा फड्णविसलाई प्रस्तुत गरिरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको तारिफ गरेका छन्। ट्वीट गर्दै मोदीले भाजपा कार्यकर्ताहरुका लागि फड्णविस प्रेरणा भएको बताएका छन्।
‘उहाँ हरेक भाजपा कार्यकर्ताका लागि प्रेरणा हुनुहुन्छ। उनको अनुभव र विज्ञता सरकारको लागि सम्पत्ति हुनेछ। म विश्वस्त छु कि उहाँले महाराष्ट्रको विकासको गतिलाई अझ बलियो बनाउनुहुनेछ,’ मोदीले भनेका छन्।
महाराष्ट्रमा शिव सेनाका संस्थापक बाल ठाकरेका छोरा उद्धव ठाकरेको सरकार ढलाएर एक शिव सैनिक नै नेतृत्वमा सरकार निर्माण भएपछि राजनीति कसरी अघि बढ्छ भन्ने विषय अहिले चासोको विषय बनेको छ।
Congratulations to Shri @Dev_Fadnavis Ji on taking oath as Maharashtra Deputy CM. He is an inspiration for every BJP Karyakarta. His experience and expertise will be an asset for the Government. I am certain he will further strengthen Maharashtra’s growth trajectory.
— Narendra Modi (@narendramodi) June 30, 2022