PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

मुख्यमन्त्री र मन्त्रीको आमाबुवाको नाममा रहेको ट्रस्टलाई छुट्याइयो लाखौंको बजेट, गण्डकी सरकारमाथि उठ्यो प्रश्न



रिना थापा

मुख्यमन्त्री र मन्त्रीको आमाबुवाको नाममा रहेको ट्रस्टलाई छुट्याइयो लाखौंको बजेट, गण्डकी सरकारमाथि उठ्यो प्रश्न

पोखरा : नीति तथा कार्यक्रम प्रस्तुत हुँदादेखि नै आगामी आर्थिक वर्षका लागि आउन लागेको गण्डकीको बजेटमाथि असन्तुष्टी पोखिएको थियो। सदनमा नीति तथा कार्यक्रम पास भए लगत्तै गण्डकीका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले ‘गण्डकीको बजेट झ्यालबाट आउन लागेको’ आरोप लगाएका थिए। उनले गण्डकीको बजेट मन्त्री र सांसदको टाउको गनेर आउन लागेको बताउँदै मुख्यमन्त्रीले आफना लागि पनि रकम छुट्टाएको आरोप लगाएका थिए ।

अहिले राज्यको ढुकुटीमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली र मन्त्रीले आफनो हकैम चलाएका प्रष्टै देखिएको छ। आफनो मातापिताको नाममा ट्रस्टदेखि स्मृति पार्क बनाउन मुख्यमन्त्री पोखरेल नेतृत्वमा बनेको गठबन्धन सरकारले बजेट छुट्टाएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९-८० को वार्षिक विकास कार्यक्रममा मुख्यमन्त्रीको पिताका नाममा बजेट छुट्टाइएको छ।  ‘गोबर्द्धन शर्मा स्मृति कोष–व्यास तनहुँ’को नाममा ५० लाख रुपैँया बजेट विनियोजन भएको हो। 

यतिमात्र होइन मुख्यमन्त्री पोखरेलले आफना पिताको नाम रहेको अस्पताल गोबर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न १० लाख रूपैयाँ छुट्टाएका छन्। उक्त अस्पताल पहिले दमौली आँखा उपचार केन्द्रको नाममा थियो। २०७८ सालमा मात्र सो अस्पतालमा मुख्यमन्त्रीका पिता गोबर्द्धनको नाम राखिएको थियो।

यता गण्डकीका शिक्षामन्त्री मेखलाल श्रेष्ठका मातापिताका नामको ट्रस्टलाई १ करोड रुपैँया विनियोजन गरिएको छ। त्यो पनि दुई फरक शीर्षकमा। आर्थिक वर्षको वार्षिक विकास कार्यक्रममा छुटेका योजना समेटिएको पुस्तिका (सेतो किताब)मा मन्त्री श्रेष्ठका मातापिताको नाममा १ करोड छुट्टाइएको हो।

‘श्री पुन नारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस भवन निर्माण भिरकोट १’ कार्यक्रमको नाममा ५० लाख र ‘पुन नारायण धन कुमारी श्रेष्ठ परोपकारी ट्रस्ट’ कार्यक्रमको नाममा ५० लाख गरी एक करोड रुपैयाँ बजेट विनियोजन भएको छ।

मुख्यमन्त्री र मन्त्रीको नाममा मात्र होइन कांग्रेस नेता स्वर्गीय डिल्लीराम लामिछानेको नाममा भवन निर्माण गर्न २० लाख रुपैँया छुट्टाइएको छ। सेतो किताबमा ‘डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण कुश्मा ९ पर्वत’ शीर्षकमा २० लाख रकम विनियोजन गरिएको छ।

यस्तै,‘अमृत जोशी स्मृति पार्क कुश्मा नगरपालिका ८ पर्वत’ शीर्षकमा पनि २० लाख रुपैँया बजेट विनियोजन भएको छ। अमृत जोशी नेपाली कांग्रेसका नेता अर्जुन जोशीका पिता हुन्।

विरोधमा प्रतिपक्ष, गठबन्धनका नेता पनि असन्तुष्ट

यसअघि गण्डकीको बजेटमाथि गठबन्धनकै नेता र मन्त्रीको असन्तुष्टी हुँदा सदन १९ दिनसम्म बन्धक हुन पुगेको थियो। असार १ गते प्रदेशसभामा बजेट पेस भइसकेपछि सदनलाई सरकारले नै बन्धक बनाएको थियो। पछि २० गतेका लागि सदन बोलाइयो। यद्यपि बजेटमाथि छलफल भने अझै हुन सकेको छैन।

शुक्रबार ११ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्‍यो। सदनमा पेश भएको वार्षिक कार्यक्रम पुस्तिका उपर मन्त्रालय गत छलफल गर्न बोलाइएको बैठकमा एमालेले अवरोध गरेको थियो। शुक्रबारको बैठक अवरोध भइसकेपछि पुन आज आइतबार ११ बजेका लागि बैठक डाँकियो।

आजको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सचेतक मायानाथ अधिकारीले गण्डकीको बजेट विकासको लागि नभएको भन्दै विरोध गरे।

‘प्रदेश सरकारले पक्ष र प्रतिपक्ष भनेर बजेट बाँडेको छ। प्रतिपक्षलाई दिनपर्दैन भनेर सत्ता पक्षले बाँडेर लिएको छ। बजेट कसरी बाँडेको छ? विकासको लागि होइन रहेछ। जनताको समस्याको लागि होइन रहेछ। खानेपानी, बाटो मोटरेवल, झोलुङ पुलको लागि होइन। बजेट त आफना बाउआमाको नाममा ट्रस्ट बनाउनका लागि हो,’सचेतक मायानाथ अधिकारीले आइतबारको बैठकमा भने।

यस्तै उनले सरकारको यस्तै कदमबाट संघीयता प्रति प्रश्न चिह्न खडा भएको बताए।

‘मोटरबाटो बनाउने हो की ट्रस्ट बनाएर पैसा एकठाउँमा जम्मा गर्ने हो? तपाईंहरुलाई लाज लाग्दैन? यस्तो काम गर्न मिल्छ? तपाईंहरु सत्ता पक्ष सबै सर्वसम्मत भएर आएको विषय होइन? यो फिर्ता लिनुपर्छ। जनताले के भनिराछन् बाहिर सामाजिक सञ्जालमा के भनिराछन्? यहीँ कारणले जनताले संघीयताको विरोध गरिराछन् ,’ अधिकारीले भने। एमालेले सदनमा विरोध गरिरहँदा गठबन्धनकै नेता पनि यस विषयमा विपक्षीमा देखिएका छन्।

माओवदी केन्द्रकी गण्डकी सांसद गायत्री गुरुङले ट्रस्टको विषयले प्रदेश सरकारलाई राम्रो सन्देश नदिएको बताईन्। ‘अहिले ट्रस्टको विषयहरु बन्यो। यो ट्रस्टको विषयले प्रदेश सरकारलाई राम्रो सन्देश दिएको छैन। त्यो मलाई पनि लागेको छ। प्रदेश सरकारलाई यो ट्रस्ट भावनाको कुरा गरेर हुँदैन,’ बैठकमा सांसद गुरुङले भनिन्,‘प्रदेशका माननीय ज्यूहरु तपाईँहरु कुनै पार्टीबाट आउनुभएको छ। गठबन्धनका मतदान गरेर यो ठाउँमा आउनु भएको छ। त्यसैले यो विषयलाई ख्याल गरेर अलि राम्रो सन्देश नगएको हुनाले यसलाई के गर्नुपर्छ हजुरहरुले त्यहीँ अनुसार अगाडि बढाउनुहुन्छ भन्ने आग्रह हो। ’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell