अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणमा जाने तय भएको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन्। ताइवानका संचारमाध्यमहरुले पनि पेलोसीको ताइपेइ भ्रमणबारे समाचार प्रकाशन गरेका छन्। तर, अमेरिकी सरकारले भने पेलोसीको ताइवान भ्रमणको तालिका पुष्टि गरेको छैन।
हाल पेलोसी एसियाको भ्रमणको क्रममा सिंगापुरमा छिन्। सिंगापुरसँगै उनी मलेसिया, दक्षिण कोरिया र जापान जाने कार्यक्रम सार्वजनिक भएको थियो। सम्भावित ताइवान भ्रमणबारे भने यसअघि पनि चर्चा भएको थियो। तर, अमेरिकाले सभामुखको ताइवान भ्रमणको विषयमा स्पष्ट रुपमा केही भनेको थिएन। सभामुख पेलोसीले पनि आफ्नो सुरक्षाको कारण यसबारे भन्न नसक्ने प्रतिक्रिया दिएकी थिइन्।
पेलोसीको सम्भावित ताइवान भ्रमणलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दै गएको थियो। दुई देशका राष्ट्रपतिबिच भएको दुई घण्टा लामो फोन कुराकानीमा पना यस विषयले प्रवेश पाएको थियो। दुई राष्ट्रप्रमुख बिच वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई एक चीन नीतिको सम्मान गर्न र ताइवानविरुद्ध बाह्य शक्तिहरुललाई चलखेलको मौका नदिने बताएको सिन्ह्वाले उल्लेख गरेको थियो।
‘जनमतको कदर हुनुपर्छ। आगोसँग खेल्नेहरू त्यसबाट नष्ट हुनेछन्,’ सीले बाइडेनलाई भनेका थिए।
चीनले पेलोसीले ताइवान भ्रमण गरे आवश्यक प्रतिकार गर्ने भन्दै पीएलए पूर्णरुपमा तयार रहेको चेतावनी दिँदै आएको छ। पेलोसीको सम्भावित भ्रमणको समाचार सार्वजनिक भएसँगे संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूत जाड्ड जुनले पेलोसी ताइवान गए ‘गम्भीर परिस्थिति’ सिर्जना हुन सक्ने चेतावनी दिएका छन्।
यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि पेलोसीको ताइवान भ्रमण अहिले उचित नहुने बताएका छन्। अमेरिका सेनाले पेलोसीको ताइवान भ्रमणलाई राम्रो विचार नभएको बताएको बाइडेनले बताएका हुन्।
सम्बन्धित समाचार : चिनियाँ रक्षा मन्त्रालयको चेतावनी : पेलोसी ताइवान आए पीएलए मौन बस्दैन