काठमाडौं : नेपाल पर्यटन बोर्डको कीर्ते पत्र सहित नर्वेको भिसा आवेदन प्रकरण अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले हेरिरहेको छ। पर्यटन बोर्डले आफ्नो कागजपत्र दुरुपयोग तथा कीर्ते भएको निवेदन व्यूरोमा दिएपछि प्रहरीले यसको अनुसन्धान अगाडि बढाएको हो।
‘तिम्रो नजर’ नामको फिल्म सुटिङ गर्नुपर्ने भन्दै भारतस्थित नर्वेजियन दूतावासमा फिल्मको टिमले निवेदन दिएको हो। निवेदन दिएको केही दिनपछि दूतावासले पर्यटन बोर्डबाट जानकारी लिएको थियो फिल्म सुटिङबारे। तर, बोर्डले कुनै पनि फिल्म सुटिङका लागि अनुमति नमागेको जानकारी दिएपछि कागजपत्र नक्कली भएको खुलेको थियो।
पर्यटन बोर्डको चलानी नम्बर ३०९ - २०७८/७९ मा जुलाई २० मा दूतावासमा भिसाको लागि आवेदन पेस गरिएको थियो। फिल्म युनिटका १४ जना कलाकारका लागि भिसा आवेदन गरिएको थियो जसमा नायिका केकी अधिकारी, हरिश सिग्देल (आर्यन) लगायत १४ जनाको नाम थियो।
फिल्मका निर्देशकमा दीपकप्रसाद आचार्यको नाम छ। त्यस्तै, निर्मातामा भने रोशन पराजुली रहेका छन्। पर्यटन बोर्डले अनुमति नलिएको र नक्कली कागजपत्र भनेपछि दूतावासले भिसा क्यान्सिल गरेको छ। यसरी आफ्नो कार्यालयको लेटरप्याड र नक्कली हस्ताक्षर प्रयोग भएकाले पर्यटन बोर्डले केस नेपाल प्रहरीलाई दिएको छ। कलाकार आर्यन सिग्देल र केकी अधिकारीले आफ्नो नामको दुरुपयोग गरेको भन्दै आएका छन्। आर्यन र केकीले पनि घटनाको छानबिन गर्न सीआईबीमा निवेदन दिएका छन्। शुक्रवार उनीहरु व्यूरोमा पुगेर निवेदन दर्ता गराएका हुन्।
कलाकार केकी अधिकारीले आफ्नो नाम र कागजपत्र प्रयोग गरेर विदेशमा फिल्म सुटिङको लागि भिसा आवेदन दिएको विषयमा कानुनी अपचार खोज्ने बताएकी छिन्।
फिल्मका निर्देशकमा दीपक प्रसाद आचार्यले पनि आफ्नो नामको दुरुपयोग भएको बताएका छन्। यस प्रकरणका प्रमुख व्यक्ति तथा निर्माता रोशन पराजुली हुन् जो यतिखेर प्रहरी सम्पर्कमा छैनन्।
सरकारी पत्र दुरुपयोग मात्र होइन, फिल्मका लागि भन्दै मानव तस्करी समेत हुनसक्ने आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ। भिसाको लागि आवेदन दिएको फिल्म कम्पनीको नाम निर्माता संघमा दर्ता समेत भएको छैन। कलाकार आर्यन सिग्देलले ४/ ५ जनामात्र सुटिङका लागि जाने भनेर पासपोर्ट लिएको बताएका छन्।
‘जब मैले १४ जना जाने भन्ने थाहा पाएँ, मलाई शंका लागेको हो,’ अभिनेता सिग्देलले भने। चलेका कलाकारको नाम र केहीसँग सम्झौता नै नगरी भिसा आवेदन दिनुले मानव तस्करीको संकेत गरेको छ। त्यसो त सांस्कृतिक कार्यक्रम र चलचित्र सुटिङको नाममा हुने मानव तस्करीका घटना नेपालमा नयाँ होइन।
‘आफ्नो नामको दुरुपयोग भन्दै उजुरी दिनु भएको छ। मानव तस्करी पनि हुन सक्ने आशंकामा अनुसन्धान अगाडि बढाएका छौं,’ व्यूरोका एसपी कमल थापाले भने।
सम्बन्धित समाचार