काठमाडौं : चोलेन्द्र शमशेर जबरा आज पनि आफूमाथि लागेको महाभियोगको जवाफ दिन सिंहदरबार पुगे। महाभियोग छानविन समितिका सदस्यले आज जबरालाई दुईवटा प्रश्न गरे। बुधवार उनलाई चार वटा प्रश्न सोधिएको थियो।
बुधवार उनले आफूमाथि लागेको आरोपको प्रश्नको खण्डन गर्नुको सट्टा भावनात्मक उत्तर दिए। धेरैजसो समय नेता र न्यायाधीशको आलोचनामा खर्चिए।
बुधवार महाभियोग प्रक्रिय स्वत: निष्कृय भइसकेको बताएका जबराले आज छानबिन समितिको औचित्यमाथि नै प्रश्न उठाए। समितिले उनलाई सोध्न ४३ वटा प्रश्न तयार गरेको छ। दुईदिनमा मात्र ६ वटा प्रश्नको सामना गरेका उनले समितिले कहिले सम्म आफूलाई बोलाइरहने हो भन्दै आक्रोशित सुनिए।
प्रक्रिय लम्बिने देखेर समिति सदस्यहरु कार्यतालिका परिवर्तन गर्ने मनस्थितिमा पुगेका छन्। बिहीवार बिहान सवा ११ बजेबाट सुरु भएको बयान महाअभियोग सिफारिस समितिका सदस्यहरुको कार्य व्यस्तताका कारण २ घण्टा बसेर सकिएको हो।
सम्बन्धित समाचार : बारको एजेन्डा सांसदले बोकेको चोलेन्द्रको आरोप, छानविन समितिको औचित्य माथि नै उठाए प्रश्न
आज प्रधानन्यायधीशले न्याय सम्पादन गर्न नसकेको र भ्रष्टाचारको अभियोग लागेको बारेमा बयान लिएको समितिका सदस्यहरुको भनाइ छ।
महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले बयान लिने क्रम भदौ १९ गते ११ बजे बस्नेगरी सकिएको बताए। उनले प्रधानन्यायाधीशले अहिले आफ्नो हिसावबाट जवाफ दिइरहेको र त्यसको सत्यताका बारेमा समितिले पुनः अध्ययन गरेर निस्कर्ष निकाल्ने बताए।
उनले आगामी निर्वाचनको दिनसम्म समितिलाई समय रहेको उल्लेख गर्दै सकेसम्म चाँडै टुंग्याउने रणनीतिमा समिति रहेको बताए।
उनले भने, ‘छिटो सक्नुपर्ने कुरा भयो। १९ गते ११ बजे बस्छ, उहाँसँग फेरि बयान लिने काम हुन्छ। उहाँले अहिले आफ्नो किसिमले जवाफ दिनुभएको छ। हामी सबै छिटो टुंगिनुपर्छ भन्ने सोचमा छौँ। मंसिर ४ गते निर्वाचन छ, त्यो बेलासम्म हामीलाई समय छ भन्ने सोचेका छौँ।’
त्यस्तै, नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले आजका प्रश्नहरु लामो भएकोले दुई वटा मात्र प्रश्नको बयान सकिएको बताए। उनले प्रधानन्यायाधीशले व्यक्त गरेका शब्दहरुमा आपत्ति जनाउन नहुने बताए।
उनले न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको, न्याय सम्पादनका प्रक्रियामा भ्रष्टाचार केन्द्रित भएर गरियो भन्ने अभियोगको बारेमा प्रधानन्यायाधीशसँग बयान लिएको बताए। उनले प्रधानन्यायाधीश जबराले बयानका क्रममा समिति र संसद्लाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा गएको बताए।
उनले बुधवार बार, न्यायाधीशहरुमाथि आरोप लगाएको र आज संसद् र सांसदहरुमाथि आरोप लगाएको बताए।
उनले भने, ‘आज उहाँले न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको, न्याय सम्पादनका प्रक्रियामा भ्रष्टाचार केन्द्रित भएर गरियो भन्ने अभियोगको प्रश्न थियो? उहाँले समिति र संसदलाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा जानुभयो। हिजो बाँकी अरुलाई आरोप लगाउनुभयो आज हामीलाई नै लगाउनु भयो।’
नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले महाअभियोगलाई निस्पष्क्षताका साथ कसरी छिटो छरितो बनाउने भन्नेकुरामा समितिमा छलफल हुने बताइन्। उनले अहिलेको समितिले बनाएको कार्यतालिका परिवर्तन गर्न आवश्यक रहेकोले १९ गते अगावै पनि समितिको बैठक बोलाएर छलफल गर्ने बताइन्।
उनले भनिन्, ‘चुनावमा दौडिने पनि हो, अरु कुराहरु पनि छ। चुनावमा दौडिनुपर्छ भन्दैमा महाअभियोग जस्तो कुरालाई एकदिनमा हचुवामा दोषी सावित गर्ने कुरापनि र निर्दोष सावित गर्ने कुरापनि हुन सक्दैन। यसलाई गम्भीरतापूर्वक लिनुपर्छ। कसरी यसलाई छिटो छरितो बनाउने भन्नेकुरामा समितिमा हामी छलफल गर्छौँ। कार्यतालिका सच्याउनुपर्नेछ। आजपनि र हिजोपनि नियमावलीको कुरा उठाउनुभएको छ र अर्को संविधानको कुरा उठाउनुभएको छ।’
सांसद शर्माले आजको बयानमा प्रधानन्यायाधीश जबराले नियमावली र संविधानको कुरा उठाएको बताइन्। उनले प्रधानन्यायाधीश राणाले बैठकमा प्राकृतिक न्यायको सिद्धान्त अनुसार आफैँ उजुरी गरेर आफैँले छानबिन गर्न पाउनुहुन्न भन्ने धारणा राखेको र समिति सदस्यहरुले संसद्को नियमावलीमा महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसद समितिमा बस्न नपाउने भन्ने प्रावधान नभएको र नियम, कानुन र नियमावली अनुसार नै छानबिन गरेको कुरा सांसदहरुले राखेको बताइन्।
गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो।