PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

मुख्यमन्त्री पाण्डेलाई राष्ट्रियसभा अध्यक्षको काउन्टर : दलको ह्वीप नलाग्ने गरि सांसदलाई स्वतन्त्र छाड्नसक्नु हुन्छ?



पहिलोपोस्ट

मुख्यमन्त्री पाण्डेलाई राष्ट्रियसभा अध्यक्षको काउन्टर : दलको ह्वीप नलाग्ने गरि सांसदलाई स्वतन्त्र छाड्नसक्नु हुन्छ?

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पार्टीको ह्वीप लागे पनि गलत कुरालाई गलत भन्नसक्ने आँट गर्न वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई चुनौती दिएका छन्।

सोमवार वागमती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा उनले पाण्डेलाई चुनौती दिएका हुन्। सो कार्यक्रममा पाण्डेले राष्ट्रियसभाबाट पारित भएको विधेयकलाई लिएर प्रश्न उठाएका थिए।

राष्ट्रियसभा आफैले संविधान र संघियताविरुद्ध गएर विधेयकहरु पारित गरेको भन्ने मुख्यमन्त्री पाण्डेको आरोपको जवाफ दिँदै अध्यक्ष तिमिल्सिनाले दलको ह्वीप नलाग्ने गरेर सांसदहरुलाई स्वतन्त्रता प्रदान गर्न आवश्यक रहेको बताए। उनले दलको आदेश र ह्वीपका कारण सांसदहरुले पद खोसिने डरले पनि संघीयताको अधिकार खोस्ने विधेयकमा सहमति जनाइरहेको दाबी गरे।

पढ्नुस : 'काठमाडौं, ललितपुर र भक्तपुरलाई छुट्टै प्रदेश बनाउन खोजेको हो?'

प्रदेश सरकारलाई कमजोर ठानेको भन्दै वाग्मतीका मुख्यमन्त्री आक्रोशित, संघीय सरकारविरुद्ध मुद्दा हाल्ने पाण्डेको घोषणा

राष्ट्रियसभा अध्यक्षले गरेको सम्बोधनको सम्पादित अशं :

मुख्यमन्त्रीजीले ऐन नै देखाएर भन्नुभयो, ऐन निर्माणको हिसाबले संघीय सरकार, संघीय संसदले सब संघीयताको पक्षधर लिने सबै काम शतप्रतिशत ठिक गरेको छ भन्ने होइन। हामीले गरेका प्रत्येक कामको आलोचना गर्दा त्यहाँ कुनै अफ्ठ्यारो मान्नुपर्ने विषय नै छैन। दुःख मनाउ गर्नुपर्ने विषय छैन। तर यहाँ विधि निर्माण गर्न त जानुहुन्छ। हिजोको संसदमा हुनुहुन्थ्यो प्रतिनिधिसभामा। संविधानसभामा हुनुहुन्थ्यो, यहाँ पनि अहिले मुख्यमन्त्री हुनुहुन्छ। तपाईंहरुका प्रदेशसभाका माननीयहरुले कतिपय कुरा चित्त नबुझेर सदनमा पहिला बोल्नुहुन्छ, हात उठाउँदा कता बोल्नुभएको छ। त्यहीँ छ नि। राष्ट्रिसभामा यस्तै अरु ऐनको बारेमा प्रदेशमा जानुपर्छ यी अधिकारहरु, स्थानीय तहमा जानुपर्छ, संघमा कम जानुपर्छ भनेर बोल्नुभएको छ, रेकर्ड हेर्ने हो भने थाहा पाइन्छ। अन्तिममा तपाईंहरु जस्तै दलका नेताहरुको ह्वीप लाग्छ।

मुख्यमन्त्रीज्यू तपाईंले ह्वीप जारी गर्नुहुन्छ। तपाईंलाई अलिकति अफ्ठ्यारो परोस्, गठबन्धन खत्तम हुने हो भने तपाई गर्नुहुन्छ कि गर्नुहुन्न? मलाई यो भन्नुहोस्। त्यही कारणले हो, हामी एक जनाको कमजोरीले होइन। दलको आदेश आउँछ, बिल फेल भयो भने सरकार गिर्छ, हाम्रो परम्परा यस्तो छ। सरकारले ल्याएको बिल फेल हुनुभन्दा सरकार बँचोस् संघीयता जेसुकै होस् भनेर हात ठड्याउने हो। यो जहाँको पनि व्यवहार त त्यही हो नि। यसलाई किन लुकाउने?

हालै नागरिकता ऐन आयो, नागरिकता ऐनको बारेमा प्रतिनिधिसभा, राष्ट्रियसभामा विभिन्न ढंगले बोल्नुभयो। बोल्ने बेलामा दरो ढंगले बोल्नुभयो, अहिलेका कुराहरु ठिक छैनन् भनेर तर भोटिङ गर्ने बेलामा टाप ठोक्नुभयो किन? बोलेअनुसार हात उठाउन सक्नुभएन, हात उठाए बिरोधमा जाने भयो, कारबाही हुन्छ, लुसुक्क बाहिर जानुभयो। कोही त्यहीँ बसेर पनि हात उठाउनु भयो, समर्थनमा। बोल्दा विरोधमा, हात उठाउँदा समर्थनमा। यो खालको नियति छ नि हाम्रा सांसदहरुको। संघीयताको बारेमा वकालत गर्नेहरु पनि संघीयतालाई बलियो बनाउने कुरा छोडेर हात उठाउनु हुन्छ। यस कारणले आएको हो, माननीय मुख्यमन्त्रीज्यू, यसमा भ्रम नपरोस्।

यो राष्ट्रियसभाका माननीय सदस्यहरुको कारणले होइन, सरकारको कारणले आएको हो। त्यही हिसावले सरकारमा रहनेहरु नै त्यसबाट आफूलाई करेक्शन गर्नेतिर जानुपर्छ। वा ह्वीप नलाग्ने गरेर यस्ता कुरामा सांसदहरुलाई स्वतन्त्र ढंगले छोड्नुपर्छ। त्यो आँट गर्नुपर्छ, त्यो हिम्मत ल्याउनुपर्छ। नेताले भोलि टिकट नदेला, मन्त्री नदेला, बनेको पद खुस्काइदेला, यस्तो प्रलोभनमा हामी सबै लोभीपापी भएका छौँ। एकातिर बोल्छौँ, स्वार्थको लागि अर्को गर्छौं। जे बोल्छौँ, त्यो गर्ने बोलौ। निःस्वार्थी बनौँ, स्वार्थी नबनौँ, गणतन्त्र, संघीयता सबै सफल हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell