काठमाडौं : नेकपा एमालेका सांसद खगराज अधिकारीले गुठी विधेयकबारे सरकारको धारणा माग गरेका छन्। आज प्रतिनिधिसभा बैठकमा अधिकारीले गुठीको समस्या समाधान सरकारले के गरिरहेको छ भन्नै प्रश्न गरेका हुन्।
२०७६ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले गुठी विधेयक ल्याएपछि काठमाडौं उपत्यकामा नेवार समुदायले आन्दोलन गरेको थियो। चर्को जनदबाबपछि ओली सरकारले विधेयक फिर्ता लिएको थियो। शेरबहादुर देउवा सरकारले गुठी विधेयकलाई फेरि अघि बढाउने प्रक्रिया सुरु गरेको छ। यसै सन्दर्भमा अधिकारीले सो प्रश्न गरेका हुन्।
ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको सो सम्बन्धि विधेयकको विरोध गर्नेहरु अहिले सरकारमा रहेको उल्लेख गर्दै सांसद अधिकारीले ती समस्या समाधान गर्न सरकारलाई चेतावनी दिए। उनले अहिले सत्तामा रहेकाहरुले गुठी विधेयकविरुद्धको आन्दोलन भड्काएको आरोपसमेत लगाएका छन्।
‘अघिल्लो केपी ओली नेतृत्वको सरकार हुँदाखेरी गुठी सम्बन्धि विधेयक हामीले छलफलमा ल्यायौं। गम्भीर छलफल र बहस भयो। आज यत्रा समस्याहरु छन्। अहिलेसम्म सम्माननीय सभामुख महोदय, श्री ५ को वायु गुठी धादिङमा छ। अनि, पलाञ्चोक, म्याग्दी लगायत देशका विभिन्न भागमा अहिले पनि गुठी समस्या छन। र, ती गुठीको समस्या समस्या समाधान गर्न सरकारले कुनै ध्यान दिएको छैन। उदासिन छ। र, यो सरकारले हिजो गुठीको समस्या समाधान गर्न ल्याएको विधेयकलाई भड्काउन माईतीघर मण्डलामा जुलुसमा सामेल हुनेहरु अहिले सत्तामा हुनुहुन्छ। उहाँहरु के गर्दै हुनुहुन्छ?,' उनले भने।
उनले गुठी विधेयकबारे सरकारको आधिकारिक धारणासमेत माग गरेका छन्।
'गुठी समस्या समाधान गर्न सरकारले जवाफ दिन्छ कि दिँदैन ? सरकार गुठीयारहरुप्रति जवाफदेही छ कि छैन? यसको जवाफ चाहियो,' उनले भने।
गुठी विधेयक सम्बन्धित समाचार :
गुठी विधेयक प्रकरण: 'निजी गुठीलाई सार्वजनिक गर्दा दाहसंस्कारदेखि भोज गर्न सरकारको अनुमति लिनुपर्ने'
गुठीको विषयले बबण्डर: यसरी परेको छ संस्कृतिमाथि सरकारको कुदृष्टि