PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

आफैले विघटन गरेको प्रतिनिधिसभामा ओलीले गरे ‘प्रतिगमन’को व्याख्या : प्रचण्ड र देउवामाथि लगाए आरोपै आरोप 



पहिलोपोस्ट

आफैले विघटन गरेको प्रतिनिधिसभामा ओलीले गरे ‘प्रतिगमन’को व्याख्या : प्रचण्ड र देउवामाथि लगाए आरोपै आरोप 

काठमाडौं : दुईपटक प्रतिनिधिसभा विघटन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कदमको बचाउ गरेका छन्।

प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले सम्बोधन गर्दै ओलीले चुनाव घोषणा गर्नु प्रतिगमन नभएको बताएका हुन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव गराउनु प्रतिगमन नभएको भन्दै व्यङ्ग्यसमेत गरे। 

‘प्रधानमन्त्रीज्यूले संसद पुनर्स्थापना भएकोले हामीले भेट्न पाएका छौं भन्नुभयो। फेरि चुनाव त घोषणा गर्नु भएको छ फेरि आजबाट अन्त्य हुँदैछ यसको अर्थ तपाईं प्रतिगमन गर्दै हुनुहुन्छ। नभए त गत वर्ष चुनाव हुने थियो नयाँ संसद आउने थियो,’ ओलीले भने।

प्रतिनिधिसभामा देउवाले ओलीलाई परमादेशकै कारण प्रतिनिधिसभा पुनर्स्थापना भएको र ओलीसँग संसदमा भेट भएको भन्दै ओलीको आलोचना गरेका थिए। 

'हुनत हाम्रो प्रतिपक्षी दलका नेताले परमादेशको सरकार भनेर भन्नुहुन्छ जहिल्यै मलाई थाहा छ। यो संसद नै परमादेशबाट आएको हो। त्यसकारण उहाँ र हामीसँगै काम गर्न पाइरहेका छौँ। परमादेश नभएको भए उहाँ र हामी सँगसँगै बसेर काम गर्न पाउँदैनथ्यौ। धेरै ठुला ठुला विधेयकहरु पास गर्न सकिदैनथ्यो। परमादेशले हामीलाई भेट गर्ने मौका दिएको छ। यसको लागि न्यायालयले पनि न्याय गरेको मैले महसुस गरेको छु,' देउवाले भनेका थिए।

पढ्नुस : ओलीलाई देउवाको जवाफ : परमादेशले नै हामीलाई संसदमा भेट गरायो

सर्वोच्च अदालतले दुई पटक प्रतिनिधिसभा विघटनलाई बदर गरेकोमा ओलीले आक्रोश व्यक्त गरेका छन्। आफूले गरेको विघटनको बचाउमा उत्रिएका ओलीले 'सेटिङ' गरेर देउवाको सरकार बनेको आरोप लगाएका छन्। 

‘नभएको व्यवस्थाको प्रयोग गरेर, अहिले त छताछुल्ल भयो नि। कसका को नातेदारलाई मन्त्री बनाइयो? कस्ता सेटिङहरु भयो यो त छताछुल्ल भयो,’ ओलीको भनाइ थियो।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलो उत्कर्षमा पुगेपछि ओलीले आफ्नो सरकार जोगाउन प्रतिनिधिसभा विघटन गरेका थिए। आफ्ना सहकर्मी नेताले आफूमाथि दबाब बढाउन थालेपछि ओलीले राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएर तत्कालीन नेकपालाई किचलोमा पुर्‍याएका थिए। पछि अदालतले माओवादी र एमाले मिलेर बनेको नेकपाको एकतालाई नै बदर गरेको थियो। जसबाट ओलीले राहत महसुस गरेका थिए। आफूले गरेका एकपछि अर्को असंवैधानिक कदमलाई ओलीले पाँच वर्षे कार्यकालको अन्तिम दिन पनि बचाउमै लगाए। आफैले विघटन गरेको संसदकै साहारा लिएर ओलीले आफ्नै बचाउ गर्नुपर्‍यो। 

ओलीले सम्बोधनका क्रममा निर्वाचनमा जानुलाई प्रतिगमन नभनिने तर्क गरे। 

‘निर्वाचनतर्फ जानेलाई प्रतिगमन भनिदैन। हामी अब निर्वाचन तर्फ जाँदै छौं। प्रतिगमन परमादेशबाट नक्कली सरकार गठन गर्नु प्रतिगमन होइन। वास्तवमा जनप्रतिनिधि र लोकतान्त्रिक जनप्रतिनिधि संस्थाबाट भ्रम फिजाइने कुराको अपेक्षा हुदैँन,’ओलीले भने।

ओलीपछि बोलेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले प्रतिगमनको व्याख्या गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

'प्रतिपक्षको नेताले प्रतिगमनको, लोकतन्त्रको व्याख्या गर्नुभयो। जसले जे भने पनि हुँदो रहेछ। संसद विघटन गर्न मिल्दैन भनेर हामीले संविधानमा व्यवस्था गरेको होइन? त्यसबारे चर्चा पनि नगरिकन हठात् विघटन गर्ने काम प्रतिगमन नभएर के हो त?,' प्रचण्डले ओलीलाई सोधेका छन्।  

पढ्नुस : ओलीलाई प्रचण्डको काउन्टर अट्याक, सोधे प्रश्न : संसद विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरेको होइनौं?

ओलीले प्रतिनिधिसभा बैठकको सुरुवातमा आफूले कानुनको निर्माण गरेर प्रशंसनीय काम गरेको बताए। संघीयताका संरचना बनाएको बताउँदै उनले संविधानका अनुसूचीहरु र स्रोतको बाँडफाँटको काम पनि आफ्नो नेतृत्वमा भएको दाबी गरे।

‘भौतिक संरचनाको तयारी गर्ने राजधानी तोक्ने काम। आम रुपमा प्रदेशका नामाकरण गर्ने। एक प्रदेश बाहेकमा टुंग्याएका छौं,’ओलीले भने। 

आफू नेतृत्वको सरकारको बचाउ गरेका ओलीले देउवा सरकारको भने आलोचना गरे। अहिलेको सरकार भ्रष्टचारमा डुबेको ओलीको आरोप थियो।

‘भ्रष्टचारको त कुरै नगरौं। गर्नेलाई भन्दा देख्नेलाई लाज,’ओलीले भनेका छन्।

नागरिकता विधेयकका बारेमा पनि ओलीले सरकारको आलोचना गरेका छन्। अध्यादेशबाट नागरिकता दिएपछि मुद्दा हालेर रोक्ने काम गरेको ओलीले आरोप लगाए। राजनीतिक फाइदाका लागि सरकारले विधेयक ल्याएको ओलीको भनाइ छ।

‘संसद नभएका बेलामा नागरिकताका समस्याबाट मुक्ति दिनुपर्छ भन्यौं। मुद्दा हाल्ने कामहरु भए। त्यसलाई रोक्ने कामहरु भए। अध्यादेश संवैधानिक व्यवस्था थियो। त्यसलाई उल्टाइयो। अहिले नागरिकताका विषयमा नागरिकताबारेमा राजनीति गर्न खोजियो,’ ओलीले भने।

ओलीले प्रदेश तथा प्रतिनिधिसभाको मंसिर ४ गतेको चुनावमा सत्ता गठबन्धनलाई जनताले जवाफ दिने ओलीले चेतावनी दिए। 

‘जनताले  मंसिर ४ गते गठबन्धनलाई जवाफ दिनेछन्। अहिले म केही भन्दिन। संसदको भूमिका नेकपा एमालेका विरुद्ध, नियम कानुनको वास्तै नगरिकन चल्ने कामहरु भए। वास्तवमा लोकतन्त्रलाई कमजोर पार्ने खालका। यस प्रणालिलाई कमजोर पार्ने खालका कुरा भए,’ओलीको भनाइ थियो। ‌

ओलीको मंसिर ४ गते आफूले देखाइदिने भन्दै गठबन्धनलाई दिएको चेतावनीलाई प्रचण्डले भने काउण्टर जवाफ दिएका छन्। प्रचण्डले ओलीलाई नै देखाइदिने भन्दै जवाफ दिए। 

‘प्रतिपक्षी दलको नेताले मंसिर ४ गते हरौँला भन्नुभएको छ। हुन्छ हेरौँला,’प्रचण्डको जवाफ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell