PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यसपाला ‘हात जोड्ने दु:ख’बाट मुक्त भए दीपक मनाङे, ‘डन’बाट पाँच वर्षमै ‘सर्वमान्य’ नेता!



सविन ढकाल

यसपाला ‘हात जोड्ने दु:ख’बाट मुक्त भए दीपक मनाङे, ‘डन’बाट पाँच वर्षमै ‘सर्वमान्य’ नेता!

काठमाडौं : पाँच वर्षअघि जे देखियो त्यो निक्कै रोचक थियो। खाइलाग्दा ज्यान भएका लक्का जवानहरु उनका अघिपछि हुन्थे। कोही नचिनेको देखिए, ती जवान सतर्क देखिन्थे। चनाखो चाल हुन्थ्यो उनीहरुको। अग्लो कदका उनी तिनै युवाहरुको बिचमा कालो चस्मामा हुन्थे। अरु २०-२५ जना सँगै हुन्थे। चुनावको माहोल चर्को थियो। उनी भोट मागिरहेका हुन्थे। उनले भोट माग्दै हात जोड्दा औंलामा दुईवटा सुनको औठी टल्किन्थ्यो। उनी थिए दीपक मनाङे।

जनसङ्ख्या र घरधुरीको हिसाबले पनि मनाङ सानो जिल्ला। त्यसमा पनि एक गाउँबाट अर्को गाउँको दुरी औधी लामो। सबै ठाउँमा सवारी नपुग्ने। त्यसैले हिँडेर घरघर चहार्नुको विकल्प थिएन।

काठमाडौंको ठमेललाई कर्मथलो बनाएका र पछिल्लो समय ‘विलासी’ जीवन बिताएका मनाङेले जस्तो भोगिरहेका थिए त्यो उनका लागि कष्टकर नै थियो। एक दुई दिन मनाङ बसेर राजधानी काठमाडौं फर्किने मनाङे एक महिनादेखि चिसो भूगोलमा डेरा जमाएर बसेका थिए। त्यही एक महिना बढीको समयमा उनले मनाङका जनताको मन जित्नु थियो। मत जितेपछि मत मिल्थ्यो। मतपछि मिल्थ्यो पद।

राजनीतिमा सक्रिय हुनुअघि गुन्डाको छवि थियो उनको। प्रहरीसँग लुकामारी र हिरासतको यात्रा सामान्य थियो। सबैलाई थर्काएर हिँड्ने बानी परेको व्यक्तिलाई नमस्कार गर्दै निहुरिनु र भोट माग्नु कति असहज थियो अन्दाज गर्न सकिन्छ। चुनावमा माहोल बलियो बनाउन उनले केही युवालाई मनाङ लगेका थिए। काठमाडौंको ठमेलदेखि देशका अन्य ठाउँबाट पनि चुनावमा साथ दिने हट्टाकट्टाको समूह पुगेको थियो मनाङमा, जसले दीपकको चुनावी माहोललाई बलियो बनाइरहेका थिए।

प्रदेश सभाका लागि मनाङबाट स्वतन्त्र उम्मेदवार बनेका दीपक मनाङेलाई नेकपा (एमाले)ले मैदान खाली गरिदिएको थियो। पाखुरी सुर्किनुपर्ने अवस्था अन्त्य भएको थियो एउटा बलियो पार्टीको साथले। घरघरमा पुगेर मतदातालाई रिझाउनुको विकल्प उनीसामु थिएन। त्यसैले चिसो मौसममा ‘कुल’ हुँदै उनी नमस्कार गर्दै भोट मागिरहेको दृश्य हाम्रा लागि पनि रोचक बनेको थियो।

मनाङेको चुनावी माहोल बुझ्न मनाङ पुग्दा देखिएको उनको नमस्कार गर्ने शैली गजबकै थियो। तर, त्यही नमस्कार गर्नुपर्दाको पीडा भने उनको मनभित्र गडिएको रहेछ। मत माग्दै हिँड्दाको अनुभव सोध्नासाथ उनले त्यही पीडा पोखेका थिए।

‘म मान्छेलाई राम्रो गर्न सक्छु तर नमस्कार गर्दै हिँड्न सक्दिनँ। यो नमस्कार गर्दागर्दा हात नै दुखिसक्यो। दिनमा ५० जनालाई नमस्कार गर्नुपर्छ’, चुनावी अभियानकै बिचमा केही समय हामीसँग फुर्सद निकालेर उनले सुनाएका थिए, ‘म त्यसका लागि जन्मिएको होइन। हामी जमिनदार हौँ यहाँको। मुखियाको हिसाबले चलाएको हो। नमस्कार न मेरो बाजेले गर्‍यो, न बाबुले। मलाई नि गाह्रो भएको छ।’

प्रहरीले उनलाई हेर्ने दृष्टिकोण र उनको सामाजिक पहिचान भन्दा ठीक फरक देखिएका थिए उनी त्यतिखेर। जमिन्दारको शैलीमा जवाफ फर्काउनु उनको स्वभाव देखिन्थ्यो। उनी जसरी बोल्थे त्यसले भोटरमा कस्तो प्रभाव पर्छ मतलव थिएन उनमा। तर, ‘डन’वाला पहिचानले भने ‘इरिटेड’ पारिरहेको थियो त्यतिखेर।

त्यसको कारण प्रष्ट थियो, अपराधका गतिविधिसँग जोडिएकाले जिल्ला कमिटीले सर्वसम्मत सिफारिस गरे पनि टिकट दिन एमाले हच्किएको थियो। त्यसैको झोकमा उनले स्वतन्त्र उम्मेदवारी दिए। उनको उम्मेदवारी परेसँगै एमाले हच्कियो र आफ्नो दलको उम्मेदवारलाई नाम फिर्ता गरायो। अघोषित रुपमा एमालेले स्वतन्त्र उम्मेदवार दीपक मनाङेलाई साथ दियो।

उनको बुझाइमा त्यतिखेरको चुनावी मैदान महाभारतको कुरुक्षेत्र झै थियो। कुरुक्षेत्रमा पाण्डव र कौरवको लडाई भएजस्तै व्याख्या गरेका थिए उनले। कांग्रेसीलाई कौरव र आफूलाई पाण्डवका रुपमा परिचित गराउँथे उनले। उनीसित भीम, युधिष्ठिर सबै भएको जस्तै लाग्थ्यो। उनी आफै अर्जुन भए। तर, कृष्ण भेटिनँ भन्थे। चुनाव जितेपछि उनका लागि कृष्ण कहिले कांग्रेस त कहिले एमालेका नेता बनिरहे। अर्थात् सारथी पाइरहे।

सहज जित निकाले। पाँच वर्ष कार्यकालमा सबैभन्दा धेरै पटक मन्त्री हुने अवसर पनि पाए। जति नै छवि बिग्रिए पनि एमाले र कांग्रेसको सरकार निर्माणमा मनाङे ‘किङ मेकर’ बनिरहे। मन्त्री हुँदा उनका हर्कत चर्चामा आइरहे तर उनी फेरिएनन्। हो, उनी नफेरिँदा फेरिने पालो थियो एमाले र कांग्रेसको।

एमालेदेखि कांग्रेसले नेतृत्व गरेको सरकारमा उनी मन्त्री बनिरहे। गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पद नै धरापमा पर्ने भएपछि दीपक मनाङेलाई मन्त्री बनाए। मनाङेले खेलकुद मन्त्रीका रुपमा शपथ लिएका थिए। त्यसपछि पृथ्वी सुब्बाले मुख्यमन्त्रीबाट राजीनामा दिए। फेरि अर्को बाटोबाट उनी नै दोहरिएर मुख्यमन्त्री भए। त्यहीखेर पनि उनले दीपक मनाङेलाई मन्त्री बनाए।

एमाले विभाजनपछि मनाङे विपक्षी गठबन्धनलाई सहयोग गर्न पुगे। त्यस्तै, उनी फेरि गठबन्धनको तर्फबाट मन्त्री बने। उनी अहिले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री रहेका छन्। कांग्रेसको नेतृत्वमा बनेको सरकारमा पनि उनी अनवरत मन्त्री बनिरहे। उनको मन्त्रीको अविरल यात्रा थामिने संकेत भने अझै छैन। किनकि चुनाव हुन महिना दिन भन्दा बढी समय बाँकी छ, घरदैलो सुरु हुन बाँकी नै छ। दीपकले जित निकालिसकेका छन्।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा प्रदेश सांसदको लागि गत आइतवार दीपकले उम्मेदवारी दर्ता गराए। मनाङमा जहाँ दीपक उभिए लाइन त्यहीबाट सुरु भयो। एमालेले उनीविरुद्ध उम्मेदवारी दिन चाहेन। कांग्रेस पनि एमालेकै शैलीमा उभियो। मुलुकका सबैभन्दा ठूला दुई राजनीतिक दल जसको विचारधारामा आकाश जमिनको अन्तर छ, दुवै दीपकसामु नतमस्तक भए।

सबैभन्दा बढी प्रतिस्पर्धामा रहेका दलको एउटै विन्दु बने दीपक। स्वतन्त्रमा दोर्जे लामाले उम्मेदवारी दर्ता नगराएका होइनन्। तर, बुधवार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय थियो। त्यही समयमा दोर्जेले उम्मेदवारी फिर्ता लिए। अर्थात् मैदान रित्तो भयो। मंसिर ४ गतेको चुनाव अगाडि नै मनाङे निर्विरोध भएका छन्। त्यसैले अब मंसिर ४ गतेसम्मको लागि उनी भागदौड गर्नुपर्ने छैन। हात जोड्दा लाग्ने झर्कोबाट उनी मुक्त भएका छन्।

त्यसभन्दा पनि महत्त्वपूर्ण त - उनी मुलुकका सबै राजनीतिक दलको मिलन विन्दु बने। कांग्रेसदेखि कम्युनिस्टसम्म उनीप्रति नतमस्तक। पछिल्लो पाँच वर्षमा उनी सांसद र मन्त्रीको छवीमा यसरी स्थापित भए कि उनको वदनाम विगत डिटर्जेन्टले धोएको मैलो कपडाजस्तो बनेको छ। कुनै बेला ‘डन’को पहिचान बनाएका दीपक यसपालादेखि ‘सर्वमान्य’ नेताका रुपमा स्थापित भएका छन्। र, हामीले मिस गर्दैछौँ उनको त्यो चुनावी अभियानको शैली जो पाँच वर्ष अघि सबैभन्दा अलग देखिएको थियो। सायद उनका ‘कार्यकर्ता’ले पनि त्यसलाई ‘मिस’ गर्नेछन्।

सम्बन्धित समाचार

नमस्कार गर्दागर्दा हात नै दुखिसक्यो : दीपक मनाङे

दीपक मनाङेको शीर्ष नेतासँगको भेटको रहस्य के? 'अब चुनाव नलड्ने' भन्दै यस्तो दिए जवाफ

दीपक मनाङे कस्तो ‘सेटिङ’ मिलाएर छुटे जेलबाट?  यस्तो छ थुनिँदा र छुट्दाको प्राविधिक विषय 

पक्राउ परेपछि दीपक मनाङेले भने, 'मलाई वकिलले डुबाए, अदालत जानुपर्ने, यता (हिरासत)मा पो आउनुपर्‍यो'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell