PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

राजनीतिक भाग्य अजमाउन काठमाडौं ५ मा प्रदीपको उडान, ईश्वरसँगको ‘ब्याटल’मा कस्तो होला अवतरण?



नेत्र तामाङ

राजनीतिक भाग्य अजमाउन काठमाडौं ५ मा प्रदीपको उडान, ईश्वरसँगको ‘ब्याटल’मा कस्तो होला अवतरण?

काठमाडौं : मुलुक संघीयतामा प्रवेश गरेसँगै भएको पहिलो निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल प्रदेशसभामा भिडेका थिए। तर, ५ मतको कमीले गण्डकी प्रदेशमा छिर्न पाएनन् उनी। पुनः मतगणना गर्न सर्वोच्चमा मुद्दा हाले पनि उनको पक्षमा सुनुवाई भएन

त्यसपछि पार्टीको केन्द्रीय राजनीतिमा अपग्रेड गर्न लागे उनी। प्रदेशमा उनलाई रोकेका माओवादीका आशा कोइरालाको नाम अचेल कमै सुनिन्छ। तर, प्रदीपको नाम केन्द्रीय राजनीतिमा दिनानुदिन उदाउँदो छ।

भाग्य उदय पनि कसरी भयो भने पार्टीमा आफूले अघि बढाएका नेता गगन थापाले पत्याउन छाडेपछि कृष्णप्रसाद सिटौला उत्तराधिकारीको खोजीमा लागे। १३औँ महाधिवेशनमा सिटौलालाई गगन, प्रदीप, भीमसेनदास प्रधान, उमाकान्त चौधरी, शिव हुमागाईंलगायतको साथ थियो। १४औँ महाधिवेशनको संघारमा सिटौला संकटमा पर्दै गए।

तेस्रो धारको नेतृत्व सम्हालिरहेका सिटौला आफ्नो शक्ति कमजोर हुँदै गएपछि प्रदीपलाई काखी च्यापे। अनि आफैँ ब्याक सिटमा बसेर देउवा टिमबाट १४औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बनाइदिए पौडेललाई।

यद्यपि, देउवा गुटबाट महाधिवेशनमा होमिएका उनको पोजिसन चौथो बन्यो। कांग्रेसमा धेरै मत ल्याउने दुई जनामात्र महामन्त्री निर्वाचित हुने व्यवस्था विधानमा छ। महाधिवेशनबाट आउट भएपनि उनलाई देउवाले मनोनित गरेर केन्द्रीय समितिमा भित्र्याए।

आफ्नो हारपछि उनले मतदातालाई धन्यवाद दिन लैनचौर ब्याङ्क्वेटमा आयोजित सभामा भनेका थिए, ‘हामीले धेरै प्रश्न उठायौँ। देशको सन्दर्भमा शासकहरुमाथि प्रश्न उठायौँ। पार्टीको जिम्मेवार नेताहरु माथि। म पनि उत्तर दिने ठाउँमा जान चाहन्थेँ। निरन्तर प्रश्न उठाउँदै गर्दा उत्तर दिने ठाउँमा गएर ति प्रश्नहरुको चित्तबुझ्दो हिसाबमा उत्तर दिन चाहन्थेँ तर त्यो ठाउँमा पुग्न सकेनौँ।

महाधिवेशनमा मत नपुग्दा उनले इच्छाएको पदमा अनुमोदन हुन पाएनन्। तैपनि उनले आफूलाई काममा कज्याउन कार्यकर्तालाई आग्रह गरे।
पुस २, २०७८ मा उनले मतदातालाई भनेका थिए, ‘मलाई कज्याउनुस्। खटाउनुस्। तपाईलाई सहयोग गर्न चाहन्छु। सुखदुःखमा तपाईसँगै काम गर्न चाहन्छु।’

‘होम ग्राउन्ड’ छाडेर ‘अवे ग्राउन्ड’मा भिड्दै

नेता पौडेल गृहजिल्ला तनहुँ-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न इच्छुक थिए। तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेल र शंकर भण्डारीको चेपुवामा परे उनी। दुई नेताको मारमुङ्रीमा उनले होम ग्राउन्ड छाड्नुपर्‍यो।

काठमाडौं-५ मा कांग्रेसबाट विश्वप्रकाश शर्मादेखि नैनसिंह महरसम्मको नाम आयो। तर, महाधिवेशनमा देउवालाई दरो साथ दिएका कृष्णका सारथि प्रदीपको ब्याटल ग्राउन्ड बन्यो काठमाडौं-५।

‘तनहुँ २ बाट लड्ने चाहना थियो प्रदीपजीको। तर, रामचन्द्र पौडेल र शंकर भण्डारीको व्यवस्थापनले उहाँले होम ग्राउन्ड छाड्नुपर्‍यो’, तनहुँ कांग्रेसका एक नेताले भने। यसो त तनहुँमा प्रदीप कमजोर भएकाले पनि उनले अडान गर्न नसकेको बताइन्छ।

कसरी पर्‍यो काठमाडौं ५?

टिकट हात पार्नसाथ पत्रकारसँगको भेटमा प्रदीप पौडेल उत्साहित देखिएका थिए। ‘अन्तिम अवस्थामा यहाँको टिकट हात लाग्यो। भिडन्त पनि चर्कै पर्ने देखिन्छ,’ पौडेलले भनेका थिए।

काठमाडौं ५ डा स्वर्णिम वाग्लेदेखि नैनसिंह महरले ताकेको क्षेत्र हो। तर, टिकट पाए पौडेलले। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र सिट बाँडफाँट कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको ‘इन्ट्रेस्ट’ मिल्दा प्रदीपको पोल्टामा टिकट परेको कांग्रेसका अर्का नेताको भनाइ रह्यो।

‘यो ग्राउन्डमा देउवा, रामचन्द्र र सिटौला तीनै जनाले पौडेललाई नै पठाउने देखियो। तीनै जनाको इन्ट्रेस्ट मिल्दा प्रदीपले टिकट हात पारे,’ ती नेताले भने।

काठमाडौं ५ मा कस्तो छ अवस्था?

यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडाहरू २, ३, ४ र ५ तथा टोखा नगरपालिकाका वडाहरू २, ३, ४, ५, ६ र ७ पर्छन्। त्यस्तै, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६ र ७ पनि यस क्षेत्रअन्तर्गत पर्छन्। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, राष्ट्र बैंकलगायतका धेरै महत्वपूर्ण केन्द्रहरु छन् क्षेत्र नम्बर ५ मा।

अघिल्लो निर्वाचनमा कांग्रेस नेता डा प्रकाशशरण महतले यस क्षेत्रमा भाग्य अजमाउन खोजेका थिए। तर, ईश्वर पोखरेल २३ हजार २९ मत प्राप्त गरी विजयी भए। महतको मत १३ हजार १६९ मात्र थियो।

यसअघि २०६४ र २०७० सालका दुवै संविधानसभाको निर्वाचनमा कांग्रेस नेता नरहरि आचार्यसँग पराजित भएका थिए पोखरेल। पौडेल यसपटक टिकट पाउनसाथ आचार्यलाई भेट्न पुगे।

भेटका क्रममा यही क्षेत्रबाट सांसद बनेका आचार्यले यसपटक मतदाताले पौडेललाई मत दिने विश्वास आफूमा रहेको बताएका थिए। यस क्षेत्रका नागरिक विवेकशील रहेको उल्लेख गर्दै आचार्यले पौडेललाई ढाडस दिए।

‘काठमाडौं क्षेत्र नम्बर ५ का आम नागरिक विवेकशील, निस्ठावान र सचेत छन्। परिवर्तनको पक्षमा, सत्यको पक्षमा, विवेकपूर्ण न्यायको पक्षमा समर्पित यस क्षेत्रका बासिन्दा कार्यभारको नेतृत्व तिमीलाई सुम्पनेछन् भन्ने कुरामा विश्वस्त छु,’ भेटका क्रममा आचार्यले भनेका थिए।

स्थानीय तहको मत

गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा एमालेका ईश्वरमात्र हैन दुवै प्रदेशमा एमालेकै उम्मेदवार निर्वाचित भएका थिए। क्षेत्र ५ मा पर्ने वडाहरुको वडाध्यक्षको चुनावी परिणाम हेर्दा एमाले बलियो देखिन्छ। एमालेले ११ वटा वडा जितेको छ। कांग्रेसले तीनवटा र स्वतन्त्रले दुईवटा वडा जितेका छन्।

वडाध्यक्षमा एमालेको १९ हजार ७ सय ३ मत देखिन्छ भने कांग्रेसको १४ हजार ८ सय ५३। राप्रपाको २ हजार ८ सय २२ रहेको यस वडामा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) कमजोर देखिन्छ। माओवादी केन्द्रले स्थानीय निर्वाचनमा १ हजार ८ सय २७ पाउँदा एकीकृत समाजवादीले १ हजार १ सय ६१ मत पाएको थियो।

कस्तो छ प्रदीपको चुनावी क्रेज?

टिकट हात लाग्नसाथ प्रदीप ब्याटलको तयारीमा लागिसकेका छन्। काठमाडौं महानगरका मेयर बालेन साहसँग अँगालो मार्नेदेखि माओवादी केन्द्रका नेता दीनानाथ शर्माको भेटसम्म प्रदीप ‘रस’मा देखिए। विवकेशीलका निवर्तमान प्रवक्ता हरिश भट्टले पनि प्रदीपका लागि मत मागिसकेका छन्। भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता पौडेलका लागि मत मागेका हुन्।

‘लोकतन्त्र भर्सेज लुटतन्त्र। ईश्वर पोखरेल पछिल्लो ५ वर्षमा भ्रष्टाचार र लुटतन्त्रको प्रतीक हो। ७४ सालको चुनावमा उज्वल दाइ उठ्दा मैले क्षेत्र नं. ५ मा चुनावी अभियान गर्दा पोखरेलका कुकृत्य नजिकबाट देखेको थिएँ। पछि कम्युनिस्ट सरकारमा सबैले देखे,’ भट्टले लेखेका छन्, ‘यसपटक लुटतन्त्रका प्रतीक पोखरेललाई हराउने हो भने प्रदीप पौडेललाई सबै लोकतन्त्र पक्षधर उम्मेदवारले सघाउन जरुरी छ।’

भट्टको साथले विवेकशील साझाकी उम्मेदवार रञ्जु दर्शनाको मत प्रदीपको पक्षमा आउने देखिन्छ। स्वतन्त्र उम्मेदवारहरुको मत आफ्नै पक्षमा बटुल्ने अभियानमा लागिसकेका छन् प्रदीप। बिहानै घरदैलोमा निस्केर साँझ अबेरसम्मै खटिरहेका छन्।

चुनावी मुद्दा बीसीडी मोडल!

आफ्नो क्षेत्रमा ‘बीसीडी’ मोडल लागू गराउन कस्सिएका पौडेलले कांग्रेस केन्द्रीय सदस्य डा गोविन्दराज पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा अरबिन्द कुमार मिश्र, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य र गेजा शर्मा वाग्लेसँग भेट तथा छलफल गरेका छन्।

पौडेलले बी अर्थात ब्रेन ड्रेनका समस्या समाधान, सी अर्थात भ्रष्टाचार नियन्त्रण र डी अर्थात डेभलपमेन्टको कुरालाई मुख्य एजेन्डा बनाएका छन्। यस क्षेत्रलाई धार्मिक हब बनाउने उद्घोष पनि गरेका छन् उनले।

‘डाँडागाउँदेखि हाँडीगाउँसम्मको क्षेत्रलाई धार्मिक केन्द्रको रुपमा, सूचना प्रविधि केन्द्रका रुपमा, प्रशासनिक केन्द्रका रुपमा र स्वास्थ्य उपचारको केन्द्रका रुपमा विकसित गर्नेछु,’ पौडेलले चुनावी कार्यक्रममा भनेका छन्।

काठमाडौंको क्षेत्र नम्बर ५ राजधानीको पनि राजधानी भएको उल्लेख गर्दै पौडेलले देश बनाउने नीतिको नेतृत्व गर्ने नेता यही क्षेत्रबाट आउनुपर्ने दाबी गरेका छन्।

‘यसले नेपालको नीति निर्माणमा ठूलो योगदान गर्न सक्छ। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, राष्ट्र बैंकलगायतका धेरै महत्वपूर्ण केन्द्रहरु छन् क्षेत्र नम्बर ५ मा’, पौडेलले भने, ‘त्यसैले ५ बाटै देश बन्ने नीति बन्नुपर्छ। देश बनाउने नीतिको नेतृत्व गर्ने नेता ५ बाटै आउनु पर्छ।’

पौडेलले संसारको प्रदुषित शहरका रुपमा परिचित काठमाडौंलाई सफा गरेर स्वच्छ, सफा, हराभरा र सुन्दर सहरका रुपमा परिणत गर्नका निम्ति आफूले विशेष योजनाहरु ल्याउने वचनसमेत दिए। उनले यो क्षेत्र नेपाली समूदायको सभ्यताको प्रतीक भएकोसमेत बताए। भने, ‘यहाँको नेवार समुदाय सभ्यताको प्रतीक हो। हिन्दु सभ्यता, नेवार संस्कृतिको सभ्यतालाई हामीले संरक्षण गर्ने, समृद्ध बनाउने गरी अगाडि बढ्ने छौँ।’

गगनको साथ कस्तो रहला?

प्रदीप पौडेल काठमाडौंले चाहेका युवा नेता हुन्। उहाँको नतिजा राम्रो हुने देख्छु - कांग्रेस नेताहरुको साझा भनाइ नै हो यो। तर, पौडेललाई यस क्षेत्रबाट अनुमोदन हुन गगनको साथ चाहिने कांग्रेसजनकै मत छ।

सिटौलाको साथ छाडेका गगन सबैभन्दा बढी मत ल्याएर महामन्त्रीमा निर्वाचित भए। यही तुषका कारण कतै दुई युवा नेताबीच ‘टसल’ हुने हो कि भन्ने आशंका पनि गरिएको छ।

यद्यपि, पछिल्लो समय गगनसमेत देउवाको निकट हुन थालेकोले यस्तो घात नहुने बताइन्छ। यदि युवाको मत र यस क्षेत्रका सम्पूर्ण कांग्रेसको साथ रहे प्रदीपको ल्यान्डिङ बेटर हुने यही क्षेत्रका कांग्रेसीहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell