PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

न्हूदँया भिंतुना : कहिलेसम्म लगाउन पर्ने हो ‘नेपाल संवत राष्ट्रिय संवत’ को नारा?



सहयोग रञ्जित

न्हूदँया भिंतुना : कहिलेसम्म लगाउन पर्ने हो ‘नेपाल संवत राष्ट्रिय संवत’ को नारा?

तिहारको चौथौ दिन बिहानै धिमे र भुस्या बज्न सुरु हुन्छ। बालाजु (ल्हुति) को गणेशस्थानमा न्हूदँया भिंतुना ‘नयाँ वर्षको शुभकामना’ लेखिएको रातो रंगको लामो कपडा लिनेहरूको घुइँचो लाग्छ। मनमैजुबाट नेवारी भेषभूषामा बाजा बजाउँदै आउँछन् युवा युवती। अनि बालाजुमा सुरु हुन्छ नारा लगाउन -

‘नेपाल संवत् राष्ट्रिय संवत्’

‘भाषा म्वासा जाति म्वाइ’

 ‘भिंतुना दु भिंतुना - न्हूदँया भिंतुना’

र्‍यालीले बालाजु क्षेत्रको परिक्रमा गर्छ। त्यसबिच यी नाराहरू बाटैभरी सुन्न सकिन्छ। हरेक वर्ष यही क्रम दोहोरिन्छ। नारा लाग्दै गर्छ- ‘नेपाल संवत् राष्ट्रिय संवत्’।

कतै भिंतुना र्‍याली त कतै बाइक र्‍याली। कतै सुकुन्दा र्‍याली त कतै के अरु नै। बालाजुसँगै देशभरका नेवार बस्तीमा हरेक वर्ष नारा लाग्दै गयो। तर, नेपाल संवतले कहिल्यै राष्ट्रिय संवतको मान्यता पाएन।

नेपाल संवतलाई राष्ट्रिय मान्यता दिन हरेक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार बस्तीमा यसरी नारा लगाउँदै हिँड्नुको अर्थ थियो – अधिकार प्राप्ति र इतिहासको मान। तर, कालान्तरमा यो दिन 'नयाँ वर्षको उत्सव'मा मात्रै सीमित हुँदै गएको छ।

नेपाल संवतलाई नेवारहरूको संवतको रुपमा राज्य सत्ताले स्थापति गर्ने प्रयास गर्‍यो। राज्य सत्तामा पुगेका नेवार समुदायका व्यक्तिले यसखाले भ्रम चिर्न सकेनन्। नारा लगाउनेले भने आश्वासनमात्रै पाए। जुन अहिलेसम्म जारी छ।

जातीय 'ट्याग'

शंखधर साख्वाले गरिव किसानहरूको ऋण मोचन गरेपछि नेपाल संवत् सुरु भएको कथन छ। नेपालमण्डलमा यही संवत् प्रचलनमा थियो। पृथ्वीनारायण शाहको राज्य विस्तारसँगै कालान्तरमा नेपालमण्डलको अस्तित्व लोप हुँदै गयो। नेपाल संवत् पनि विस्तारै प्रचलनबाट हट्दै गयो। विक्रम संवतले प्रभाव जमाउँदै गयो।

पढ्नुस : सन्ततिले शंखधरको अर्को पार्क खोज्न नपरोस्

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकूलपति डा त्रिरत्न मानन्धरका अनुसार लिच्छवीकालका राजा राघवदेवको शासनबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक रुपमा चलेको थियो। लिच्छवीकाल अघि शक संवत् प्रचलनमा थियो। नेपाल देशको नामबाट राखिएकाले नेपाल संवत् नेपालकै मौलिक संवत् भएको मानन्धरको तर्क छ।

राज्यस्तरमा प्रचलनबाट हटे पनि जनतामाझ भने यस संवतको प्रभाव कायमै रह्यो। देशमा प्रजातन्त्र आएपछि भने नेपाल संवतलाई पनि राष्ट्रिय मान्यता पाउनुपर्ने माग बढ्यो। तर सरकारले यसखाले मागको वेवास्ता गर्‍यो र फलस्वरुप नेपाल संवतको पहिलो दिन 'भिंतुना आन्दोलन'का रुपमा र्‍यालीहरू भए। जुन अहिलेसम्म जारी छ।

तर, राज्यले नेपाल संवतलाई हेर्ने ‘जातीय फ्रेम’ युक्त ‘दोषी चश्मा’ पनि अहिलेसम्मै यथावत् छ।

नेपाल संवतलाई व्यवहारिक रुपमा कार्यान्वयनमा प्रयोगमा ल्याउन रोक्नुको एउटैमात्रै कारण हो उक्त संवतलाई दिइएको जातीय ट्याग। त्यही ट्यागमा टेकेर विक्रम संवतलाई विस्थापित गर्न खोजेको आरोपसमेत नेवार समुदायमाथि लगाइएको छ। जसकारण 'नेपाल संवत नेवारहरूको मात्रै हो भनेर' स्थापित गर्न सक्रिय भएकाहरू सफल भएका छन्। महेशराज पन्तजस्ता विद्वानहरूले ‘नेपाल संवतलाई राष्ट्रिय मान्यताको अनौचित्य’ नामको पुस्तक नै निकालेका छन्। कमल प्रकाश मल्लले पन्तको प्रतिवाद गरेका थिए। मल्लले रिलिभेन्स अफ नेपाल संवत (नेपाल संवतको औचित्य) नामको पुस्तक लेखेर पन्तलाई जवाफ दिएका थिए। उनीहरू बिच यस विषयमा धेरै लामो समय बौद्धिक बहस चल्यो। अहिले न त्यस्तो बहस कत्तै सुन्न र पढ्दै नै पाइन्छ।

विक्रम संवत् देशभर चलिआएको छ। त्यसैले एक्कासी नेपाल संवत कार्यान्वयनमा ल्याउन कठिन हुनसक्छ। किन भने यस संवतको प्रयोग गर्नेहरू कम नै छन्। तर, यसो भन्दैमा व्यवहारिक रुपमा कार्यान्वयन गर्न अहसज हुने दाबी भने हाँस्यास्पद छ।

नेवार समुदायले नेपाल संवत् कार्यान्वयनको माग गर्दैगर्दा विक्रम संवतको विरोध गरेका होइनन्। एउटा राष्ट्रले धेरै संवतलाई राष्ट्रिय मान्यता दिने प्रचलन नै छ। इस्वी संवत् बढी प्रयोग हुने भारत, चीन लगायतका राष्ट्रमा त्यहाँका स्थानीय संवतले राष्ट्रिय मान्यता पाएका छन्। सरकार र राष्ट्र प्रमुखको लेटर प्याडममा ती संवत उल्लेख छन्। हाल नेवार समुदायले पनि विक्रम संवतसँगै नेपाल संवतको पनि यस्तैखाले कार्यान्वयनको माग गरेका हुन्। विक्रम संवतलाई हटाएर नेपाल संवतलाई नै राख्‍ने उनीहरुको माग होइन।

देशभर अरु धेरै संवत् छन् भन्ने राय पनि छन् जुन स्वभाविक पनि हो। तर, नेपाल संवत कुनै राजा, विद्वान वा भगवानको नाममा स्थापना भएको चाहिँ होइन। यो सामान्य जनताको छोराले गरेको उपकारको उपजमा संचालित संवत हो त्यो पनि नेपालकै नाममा।

नेवार सम्बन्धी ज्ञाताहरूले बारम्बार भन्ने गरेका छन्- नेवार कुनै जात होइन। सांस्कृतिक वा धार्मिक पहिचान बोकेको समुदाय होइन। यो त ऐतिहासिक, भाषिक तथा सांस्कृतिक पहिचान बोकेको राष्ट्र हो।

हामीले नेवारको कुरा गर्दा बौद्ध नेवार र हिन्दु नेवारको मात्रै कुरा गर्छौं। तर, नेपाल र बाहिर नेवा: मुस्मा (मुसलमान) र क्रिश्चियन नेवार पनि छन्। नेवा: मुस्मा अहिले पनि उपत्यकामा छन्। मल्लकालसम्म उपत्यकामा क्रिश्चियन नेवारहरूको पनि राम्रै संख्या थियो। पृथ्वीनारायण शाहको राज्य विस्तारपछि उनीहरू लखेटिए। अहिले पनि उपत्यकामा थौरै संख्यामा क्रिश्चियन नेवार छन्।

नेपाल भाषा केन्द्रीय विभागका प्रमुख एवम् नेवा: संस्कृतिका अध्येता रास जोशी नेवार कुनै जाति विशेष नभई भाषाले एकीकृत गरेको समुदाय भएको बताउँछन्। काठमाडौं आएपछि भाषाले एक भएका विभिन्न समुदाय नेवारका रूपमा चिनिएको उनको धारणा छ।

पहिला काठमाडौंलाई नै नेपाल भनेर चिनिन्थ्यो। पृथ्वीनारायण शाहले तत्कालीन नेपाल (काठमाडौं) विजय गरेपछि नेपाल एकीकरणको जग बसेको केही अध्यताको राय छ। मध्यकालसम्म यो राष्ट्रको भाषा ‘नेपाल भाषा’ थियो। यहाँ प्रयोग हुने संवत् नेपाल संवत् थियो। यस उपत्यकामा बस्नेहरूले आफूलाई ‘नेपा:मी’ भन्छन्। त्यसैले यो संवत् नेवारहरूको मात्रै होइन नेपालीहरूकै संवत् भएको बुझ्न गाह्रो छैन।

तिथि मिति विवाद

नेपाल संवत् कार्यान्वयन नहुँदा तिथि मितिमा भने विवाद हुँदै आएको छ। नेवार समुदायले कौलागा औंसीको दिनमा लक्ष्मी पूजा गर्दै त्यसको भोलिपल्ट कछलाथ्व प्रतिपदाका दिन 'न्हू दँ' नेपाल सम्वतको पहिलो दिनका रुपमा मनाउँदै आएका छन्। बिहान नेपाल सम्वतको स्वागत गर्दै साँझ 'म्हपूजा' गर्ने परम्परा छ। त्यसको भोलिपल्ट कछलाथ्व द्वितिया अर्थात् नेपाल संवतको दोस्रो दिनमात्रै भाइटीका मनाउँदै पर्सिपल्ट लक्ष्मीको फूल बिसर्जन गर्दै प्रसाद ग्रहण गर्ने गरिन्छ।

तर, केही वर्षदेखि पंचाङ्ग निर्णायक समितिले भने नेपाल संवत र म्हपूजा छुट्टा छुट्टै दिनमा मनाउन भनेर पात्रो निकाल्यो। जसको नेवार समुदायले प्रतिवाद गर्दै आएका छन्। यस वर्ष पनि जारी विवाद कायमै रह्यो।

'औंसीका दिन कारोबार सबै मिलाएर लक्ष्मीको पूजा गर्ने गरिन्छ। औंसीको भोलिपल्ट सूर्योदयसँगै नयाँ नेपाल संवत सुरु हुन्छ,' बौद्ध धर्मका विद्वान यज्ञमानपति बज्राचार्यले यसखाले विवादबारे भने, 'सूर्य उदयसँगै नेपाल संवत फेरिने हाम्रो परम्परालाई उनीहरूलाई भाइटीकाको दिन लगे र म्हपूजा अगाडि ल्याइदिए। यो त जुत्तामाथि मोजा लगाएको जस्तै भयो।'

नेवारहरूले घडी र पलाका आधारमा शुभ साइत निकालेर तय हुने तिथिलाई स्वीकार गर्दैनन्। कुनै पनि पर्व र जात्रामा पनि यो पद्धती लागू हुन्न। सूर्योदयसँगै आउने तिथिका आधारमा पर्व र जात्रा संचालन हुँदै आएकोमा पञ्चाङ्ग समितिले बेलाबेलामा यस्तो फरक व्याख्या गर्दै आएको छ। समितिमा बसेकाहरूले संस्कृति र संस्कार नबुझेकाले केही वर्षको अन्तरालमा यस्तो समस्या बल्झिरहन्छ।

केही वर्षअघि यही विवादका क्रममा भएको एक छलफल कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी (स्वर्गीय)ले प्रश्न गरेका थिए, 'कृष्ण अष्टमी, रामनवमी अरु तिथिमा पर्दैन, किन? त्यसमा केही तलमाथि भए व्यवहारिक हुने रे! अनि नेवारहरूकै व्यवहारमा धक्का लाग्ने गरी समितिले यस्तो काम गरिरहेको छ।'

तिथिका बारेमा विवाद आउँदा काठमाडौंका नेवारहरू जनबहालमा गएर तिथिका बारेमा सोध्ने गर्छन्। जनबहालका गुरुजुले तिथि किटान गरिदिन्छन्। त्यही तिथिलाई नेवारहरूले आधिकारिक तिथि मानेर आफ्नो परम्परा संचालन गर्दै आएका छन्। भक्तपुर र ललितपुरको पनि यसबारेमा आफ्नै थिति छ।

त्यसैले पञ्चाङ्ग निर्णयक समितिकोमात्र आलोचना गरेर अब केही हुँदैन। यस वर्ष भक्तपुरले कात्तिक ७ गते ने लक्ष्मी पूजा गर्‍यो। त्यही दिन काठमाडौं र भक्तपुरका केही नेवार समुदायले पनि लक्ष्मी पूजा गरे। अधिकांशले भने कात्तिक ८ गते लक्ष्मी पूजा गरे। यस्तै, भक्तपुरमा कात्तिक ८ गते नै नेपाल संवत सुरु भएको भन्दै र्‍याली निकालियो र केहीले म्ह: पूजा पनि गरे। अहिले नेवार समुदायलाई प्रतिनिधित्व गर्ने धेरै संघसंस्थाहरू छन्। ती संघसंस्थाले एकरुपताका लागि पहल गर्नुका साटो मनमौजी शैलीमा कार्यक्रम गरिरहेका छन्।

नेपाल संवतको विविधता यस्तै कमजोर पक्षका कारण छाँयामा पर्दै गएको छ। राष्ट्रिय संवतका रुपमा मान्यता दिलाउन पद्मरत्न तुलाधर (स्वर्गीय)को अगुवाइमा भएको आन्दोलनलाई नेवारहरूको व्यवहारिक पर्व र परम्परा जोगाउने आन्दोलनका रुपमा रुपान्तरण गर्दै नलैजाने हो भने कतै पनि पुग्ने देखिँदैन।

आश्वासन कै भर

जबजब तिहार नजिकिन्छ। भिंतुना र्‍यालीको तयारी हुन्छ। वसन्तपुरमा राष्ट्रियस्तरमा न्हूदँ समारोह आयोजना हुन्छन्। राष्ट्र प्रमुख, सरकार प्रमुखदेखि नेता र प्रशासकहरूले नेपाल संवत् मौलिक संवत् भएको भन्दै यसको तारिफ गर्छन्। वर्षको एक दिन शंखधरलाई सम्झछन् पनि।

तर, ती सबै आश्वासनको कार्यान्वयन – ‘सम्झने पानी छर्कने’ भने झै हुँदै आएको छ।

२०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरे। त्यसलाई नेपाल संवतको व्यवहारिक कार्याव्यनको पहिलो खुड्किलोका रुपमा व्याख्या गरियो। तर, हरेक वर्ष नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा लागू गर्न नारा लाग्न नपर्ने स्थिति बनेन। त्यसैगरि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाल संवतलाई आफ्नो लेटर प्याडमा राख्न र देशभर चलाउन निर्देशन दिने आश्वासन दिएका थिए। त्यो पनि लागू भएन। पुष्पकमल दाहाल प्रचण्डले २०६५ सालमा नेपाल संवतले राष्ट्रिय संवतको मान्यता पाउने घोषणा गरे। उनीपछि प्रधानमन्त्री बनेका बाबुराम भट्टराईले खुल्लामञ्चमा नेपालभाषामा नै भाषण गर्दै नेवारहरूको मन लोभ्याउन खोजे। उनीहरू झै सबै प्रधानमन्त्रीले दिए त आश्वासन मात्रै।  

गणतन्त्र घोषणापछि पनि आश्वासनको क्रम रोकिएन। सबैले 'हुन्छ'मात्रै भने। केही गरेनन्। गरुन कसरी? संविधानमा नेपाल संवत उल्लेख गर्ने प्रस्ताव संविधानसभाबाट अस्वीकृत गर्नेहरूले यसलाई कार्यान्वयन गर्ने अपेक्षा कसरी हुनसक्छ?

अहिले पनि नेपाल संवतलाई व्यवहारिक कार्यान्वयनको माग हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतललाई आफ्नो लेटर प्याडमा प्रयोग गर्नु ठूलो कुरा नभएको बताएका छन्। उनले यो माग सम्बोधनका लागि छलफलमा आउन सरोकारवालालाई आग्रह गरेका छन्। यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् नेपालीहरूको मौलिक राष्ट्रिय संवत् भएको बताएकी छिन्। तर, त्यो उनीहरुका आश्वासन कहिले कार्यान्वयन हुन्छ त? आउने दिनले देखाउनेछ नै।

त्यसबेलासम्म नारा त लाग्ने नै छ - ‘नेपाल संवत् राष्ट्रिय संवत्, न्हूदँया भिंतुना!’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell