PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रचण्ड सरकारलाई एकीकृत समाजवादीको मौन समर्थन!



प्रकाश भण्डारी

प्रचण्ड सरकारलाई एकीकृत समाजवादीको मौन समर्थन!
फोटो : प्रचण्डको सचिवालय

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले वामपन्थी एकताका लागि यसअघि नै बनाएको कार्यदललाई निरन्तरता दिने भएको छ। महासचिव वेदुराम भुसालको नेतृत्वमा रहेको ४ सदस्यीय कार्यदललाई निरन्तरता दिने बिहीवारको सचिवालयको बैठकले निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा भने एकीकृत समाजवादीको सचिवालय बैठकबाट निर्णय भएन। स्थायी कमिटी र पोलिटब्युरो बैठकले सरकारलाई समर्थन गर्ने/नगर्नेबारे निर्णय गर्ने अधिकार सचिवालयलाई प्रत्यायोजन गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। बुधवार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रचण्डले विश्वासको मत दिन आग्रह गरेका थिए। 

मौन समर्थन!

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने कि प्रतिपक्षमा बस्ने भन्नेबारेमा एकीकृत समाजवादी प्रष्ट छैन्। समर्थन गर्ने पक्षमा र गर्न नहुने भन्ने दुई धारणा एकीकृत समाजवादीमा छ। त्यसैले एकीकृत समाजवादीले तत्काल कुनै निर्णय नगरेको हो। जसलाई एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता खतिवडाले मौन समर्थन भएको बताए।

भने,'आजसम्म मौन छौं। विरोधमा नबोलेसम्म र प्रधानमन्त्रीले विश्वासको मत नलिएसम्म मौन समर्थन नै भयो। पछि के गर्ने? पछि नै निर्णय गर्ने भन्ने भयो।'

अध्यक्ष नेपालले सार्वजनिक रुपमा 'प्रचण्डको अनुहार हेरेर' समर्थन गर्न नसकिने भएकाले नीति तथा कार्यक्रम हेर्नुपर्ने बताइरहेका छन्। सम्मानित नेता झलनाथ खनालले स्थायी कमिटीको बैठकमा पेश गरेको दस्तावेजमा प्रचण्ड सरकार वामपन्थी नभएको उल्लेख थियो। प्रचण्ड नेतृत्वको सरकारलाई खनालले 'खिचडी' भनेका छन्। नेपाल पक्षीय नेताहरु भने प्रचण्ड सरकारलाई समर्थन गर्नुपर्ने पक्षमा छन्।


पढनुस् : रवि लामिछानेको पार्टीलाई झलनाथले भने : बुर्जुवा शक्ति, रहस्यमय तरिकाले उदायो, गृह मन्त्रालय खान थालिसक्यो

पार्टी एकताका लागि एमालेबाट प्रस्ताव नै आएको छैन : एकीकृत समाजवादी, सरकारमा सहभागी हुन भने धेरैको जोड


अलमल के मा ?

एकीकृत समाजवादीले प्रचण्डसँग ठोस प्रस्ताव मागिरहेको छ। आफ्नो पार्टीलाई सरकारले गर्ने व्यवहारका आधारमा पनि अघि बढने एकीकृत समाजवादीका अर्का उपमहासचिव गंगालाल तुलाधरले बताएका थिए। एकीकृत समाजवादीले भनिरहेको ठोस प्रस्ताव शक्ति बाँडफाँटको विषय भएको एकीकृत समाजवादी निकट स्रोतहरु बताउँछन्। अर्थात, एकीकृत समाजवादीले मन्त्री/उपसभामुख जस्ता पदहरुमा आफ्नो पार्टीले पाए सरकारलाई समर्थन गर्न सक्नेगरी गृहकार्य गरिरहेको छ। तर, पार्टीभित्र एउटै धारणा नबनेपछि नेपाल अप्ठेरोमा छन्। 

एकीकृत समाजवादीको आफ्नै शक्ति कति?

एकीकृत समाजवादी प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १० सिट जितेर पनि समानुपातिकमा ३ प्रतिशतको थ्रेस होल्ड पार गर्न नसकेको पार्टी हो। नेकपा (एमाले)बाट विभाजन भएर बनेको एकीकृत समाजवादीमा पछिल्लो समय एमालेसँगै एकता गर्नुपर्ने आवाजहरु पनि उठिरहेका छन्। तर, एमालेका नेताहरुबाट त्यसका लागि औपचारिक प्रस्ताव एकीकृत समाजवादीलाई आइसकेको छैन।

कांग्रेस नेतृत्वको गठबन्धनको महत्वपूर्ण अंगका रुपमा रहेको एकीकृत समाजवादी अहिलेको गठबन्धनमा सामेल भए एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, जनता समाजवादी पार्टी, नेपाल (जसपा) भन्दा कम शक्ति भएको पार्टी हो।  एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२ सांसद छन् प्रतिनिधि सभामा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell