PahiloPost

Feb 7, 2025 | २५ माघ २०८१

के फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो आज पनि संसद भवनमा छिरेका छन्?



पहिलोपोस्ट

के फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो आज पनि संसद भवनमा छिरेका छन्?

काठमाडौं : फरार रहेका नेकपा एमाले सांसद लक्ष्मी महतो कुइरी प्रहरीको खोजी सूचीमा छन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो कुइरीलाई पक्राउ गर्ने निर्देशन दिएको एक साता बढी भइसकेको छ। तर महतो अझै पक्राउ परेका छैनन्।

उनी पक्राउ पर्न नसक्नुले नेपाल प्रहरीको क्षमतामा मात्र होइन गृहमन्त्री लामिछानेको आदेशमा पनि संदेह देखाएको छ। गृहमन्त्री लामिछानेको पक्राउ आदेश औपचारिकताको लवज मात्र हो भनेर टिकाटिप्णी भइरहेको छ।

कानुनी हिसाबले महतो कुनै आदेश बेगर नै पक्राउ पर्नुपर्ने हो। तर, फारर सूचीमा रहेका सांसद महतोले पुस २६ गते प्रतिनिधिसभामा खुलेयाम प्रधानमन्त्रीको लागि पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत लिँदा मतदान गरेका थिए। प्रधानमन्त्री दाहालको पक्षमा मतदान गरेका सांसद महतोलाई राजनीतिक दलको संरक्षण भएको देखिन्छ। तर, सरकारमा जानु र गएपछि कुनै पनि अपराधिक व्यक्तिलाई दल र राजनीतिज्ञले संरक्षण गर्न नहुने चर्को अभिव्यक्ति दिएका गृहमन्त्री लामिछाने पनि चुकेको देखिन्छ।

एकै सदनमा मत खसाल्दासमेत उनले यसबारेमा हेक्का पाएनन्। त्यसको केही समयमा चर्को विरोध भएपछि गृहमन्त्री लामिछानेले आफूले महतोलाई नचिनेको भन्दै पन्छिएका थिए।

पुस २७ गते रवि लामिछानेले प्रतिक्रिया दिए- 'मैले देखिनँ। पछि थाहपछि मैले फोन गरेर पक्रन निर्देशन दिएको छु,' लामिछानेले त्यतिबेला भनेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चियापानमा सहभागी भएका लामिछानेले विश्वासको मतदानका क्रममा आफूले महतो नदेखेको बताएका थिए।

पढ्नुस : फरार सांसद महतोबारे गृहमन्त्री लामिछाने : संसदमा मैले देखिनँ, थाहा पाउनसाथ पक्राउ गर्न निर्देशन दिएको छु

तर, गृहमन्त्रीले निर्देशन दिएको एक साता हुँदा पनि महतो पक्राउ परेका छैनन्। आखिर किन? महतो प्रहरीको सुचनाभन्दा बाहिर छन्? वा राजतीनिक आडले प्रहरीले पक्राउ गर्न सकेको छैन।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकबहादुर राई भने सांसद महतोको खोजी भइरहेको बताउँछन्।

'हामीले सम्बन्धित निकायमा खोजी गर्न पत्रचार गरेका छौं। तर अहिलेसम्म सम्पर्कमा आएका छैनन,' डिआइजी राईले भने।

महतो नेपाल प्रहरीका असई थमन विकको हत्याका मुख्य योजनाकारका रुपमा अदालतले पुर्पक्षका लागि राख्न आदेश भएका सांसद हुन्। महोत्तरी १ बाट निर्वाचित महतोको कमान्ड मधेश आन्दोलनमा विकको हत्या भएको प्रहरीको दाबी छ। सोही दाबीअनुसार मुद्दा जिल्ला अदालतमा विचाराधीन छ।

महतोलाई जिल्ला अदालतले धरौटीमा रिहा गरे पनि उच्च अदालत जनकपुरले भने पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ। थुनामा रहनुपर्ने भए पनि महतोले निर्वाचनमा भाग लिएर विजयी भएका थिए।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उनै कोइरी सभामुखको निर्वाचनमा भाग लिन पाउनेनपाउनेबारे बिहीवारको संसदमा प्रश्न उठाएका छन्। प्रतिनिधि सभाको बैठकमा सभामुखको निर्वाचन प्रक्रिया सुरु हुनसाथ कांग्रेस सांसद खतिवडाले हत्या अभियोगमा फरार रहेका सांसदको मतदान प्रक्रियामा सहभागी हुन नपाउने कि पाउने निर्क्यौल गरेरमात्र सदन सञ्चालन अघि बढाउन माग गरेका हुन्।

पढ्नुस : हत्या अभियोग लागेका एमाले सांसद पक्राउबारे गृहमन्त्री रवि लामिछाने : विधि र पद्धतिभन्दा बाहिर जाँदिनँ

'अहिले सभामुखको निर्वाचन हुँदैछ। सभामुखको निर्वाचन हुने बेला यस संसदमा हत्याको अभियोग लागेका संसद यहीभित्र हुनुहुन्छ भन्ने छ सुन्नमा आएको छ,' खतिवडाले भने, सभामुख महोदय म गृहमन्त्रीज्युलाई अनुरोध गर्न चाहन्छु हामी चिन्दिनँ उहाँलाई। यदि हुनुहुन्छ भने उहाँलाई मतदान प्रक्रियामा सहभागी हुन पाउने र नपाउने निर्णय गरेरमात्र सभा सञ्चाल बढाउन हुन अनुरोध गर्दछु।'

गृहमन्त्री रवि लामिछानेले खतिवडाको प्रश्नबारे संसदमा जवाफ त दिए तर सांसद महतोको बारेमा विधि र पद्धति देखाउँदै कसैको दबावमा पक्राउ गरिहाल्ने पक्षमा गृह मन्त्रालय नरहेको भनाई  रोस्टमबाट व्यक्त गरे। 

'फरार रहनुभएको सांसद हुनुहुन्छ भन्ने प्रश्न आयो,' गृहमन्त्री लामिछानेले भने, 'विधि र पद्धतिभन्दा बाहिर जाँदैन। एउटा प्रकिया छ। यसमा कसैले दबाव र प्रभाव दिनुहुन्न भन्नेमा म विश्वस्त छु।' 

उनले प्रष्ट रुपमा महतोबारे कुनै जानकारी भने दिएनन्।

टेलिभिजन कार्यक्रमहरुमा सीधा प्रश्न सोधेर अरुलाई र्‍याखर्‍याखती पार्ने पूर्व संचारकर्मी लामिछाने गृहमन्त्री भएपछि कुटनीतिक जवाफ दिन थालेको देखिन्छ। आजको संसदमा उनको अभिव्यक्तिबाट पनि यो प्रष्ट हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell