PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भेष बदलेका प्रचण्ड, छोइनसक्नु 'स्टन्ट'बाज मन्त्री: बालुवाटारको चाबी खोसे पनि पीर चाहिँ सत्ताको सोइलो कसरी जोगाउने?



नेत्र तामाङ

भेष बदलेका प्रचण्ड, छोइनसक्नु 'स्टन्ट'बाज मन्त्री: बालुवाटारको चाबी खोसे पनि पीर चाहिँ सत्ताको सोइलो कसरी जोगाउने?

काठमाडौं: प्रधानमन्त्री पक्का भएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै बालकोटको बर्दालीबाट हात हल्लाए। हात हल्लाईको अर्थ थियो -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मुखमा आएको सत्ता हल्लिनु।

नभन्दै प्रचण्ड तुरुन्तै प्रधानमन्त्रीमा नियुक्त भए।

भोलिपल्टै प्रधानमन्त्रीका रुपमा शपथ लिए। प्रचण्ड बालुवाटार छिरेको एक महिना पूरा भएको छ।

देशको ४४ औं प्रधानमन्त्रीका रुपमा बालुवाटार प्रवेश गर्दा यसपटक यहाँको चाबी उनकी छोरी गंगा दाहालले बुझिन्। यसरी चाबी पहिले पहिले कसले कसरी बुझ्थे, यसरी सार्वजनिक रुपमै बाहिर सुनिएको देखिएको थिएन।

यसरी नै तेस्रोपटक प्रधानमन्त्री सम्हाल्दा प्रचण्डले विभिन्न रेकर्ड तोडिरहेका छन्। आफूलाई कट्टर कम्युनिस्ट देखाउन हरबखत प्रयास गर्ने प्रचण्डले यसपटक ज्योतिषलाई साइत हेराएरमात्र खुमलटारबाट बालुवाटार सरे।

बदलियो भेष

सत्ता केन्द्रित राजनीतिमा छिरेपछि प्रचण्डले छोइछिटो गर्ने पोशाक हो, दौरासुरुवाल। सामान्ती पोशाकको संज्ञा दिएर माओवादीले दौरा सुरुवाललाई बाहेक नै गरेको थियो। तर अहिले प्रचण्ड दौरा रोज्न बाध्य भए। आफ्नो वाध्यताको फेहरिस्त प्रचण्डले संसदमै सुनाइसकेका छन्।

शपथको समयमा उनले दौरा सुरुवाल लगाउने कुराले प्राथमिकता पायो मिडियामा। नयाँ जोगीले धेर खरानी घस्छ भनेझैं दौरा सुरुवालको ब्रान्ड एम्बासडरभन्दा कम छैनन् उनका पछिल्ला अभिव्यक्ति।

विश्वासको मत को दिन प्रचण्डले दौरा सुरुवालको बयान यति गरे कि, यसबाट पुष्टि हुन्छ उनको ब्रान्ड एम्बासडर पारा। दुई पटक प्रधानमन्त्री हुँदा दौरा सुरुवाल नलगाएका प्रचण्ड आफू दौरा सुरुवालको विरोधी नभएको प्रष्टीकरण दिँदै अवसर नजुर्दा ढिला भएको दाबी गर्न भ्याए।

‘यसपटक प्रधानमन्त्री हुँदा दौरा सुरुवाल लगाएपछि धेरै चर्चा भयो। मलाई कयौं विदेशीले पनि किन नलागएको भनेर सोध्ने गर्थे। देशभित्र पनि सोधेका थिए। तर म दौरा सुरुवाल कोट विरोधी थिइनँ। लगाउने अवसर नै पाइएन। राष्ट्रपतिले पनि दौरा सुरुवालमा हेर्न मन छ भन्नुभयो। केपी ओलीजी, रवि लामिछाने सबैले लगाउने कुरा गर्नुभयो,’ विश्वासको मत लिने दिन प्रचण्डले भने, ‘मैले उपयुक्त समयमा लगाउँछु भनेर भने। समाचार बन्यो। कमेन्ट हेरें। कति नेगेटिभ आउँछ, कति पोजेटिभ आउँछ। नेगेटिभ एउटै आएन। जनभावना अनुरुप नै मैले लगाएको हुँ।‘

हुन त चुनावी प्रचारमा गोरखा पुग्दा नै पहिरनकै कारण चर्चामा छाएका थिए प्रचण्ड। विभिन्न मिडियामा उनी कैलाश ब्रान्डको कालो ज्याकेटमा देखिएका थिए। सर्वहारा जनताको नेताले महंगो ज्याकेट लगाएको भन्दै उनको आलोचना भएको थियो।

त्यसयता प्रचण्ड सुटबाहेक, गुरुङ घलेक र तामाङ पहिरनमा देखिए। तमु ल्होसारमा प्रचण्ड टुँडिखेलमा गुरुङ घलेकमा देखिएका थिए। त्यतिबेला प्रचण्डले ल्होसार मनाउन खर्च दोब्बर बनाइदिने वाचा गरेका थिए। त्यसैगरी तामाङ समुदायको सोनाम ल्होछारमा प्रचण्ड तामाङ गोइलोमा देखिए। जहाँ उनले तामाङको एक जना छोरा र एक जना छोरी मन्त्री बनाउने वचन दिए।

निर्देशन र चेतावनीबाहेक छैन प्रगति

प्रचण्डले प्रधानमन्त्री सम्हालेको महिना दिनमा के के भयो? अहिले प्रश्न उठ्छ।

बालकोट पुगेर केपी ओलीलाई भेटे।

बालुवाटार आइपुगेका ओलीलाई भेटे।

विश्वासको मत माग्न देउवा निवास धुम्बाराही पुगे।

विश्वासको मत लिए।

मन्त्रिपरिषद् विस्तार गरे।

चार चार जना उपप्रधानमन्त्री देशले पायो।

सचिवलाई बोलाए निर्देशन दिए।

यो बाहेक के गरे त?

निर्देशन र चेतावनीको आलोचना भएपछि अहिले प्रचण्ड केही सेलाएका छन्।  

प्रचण्ड सरकारमा अहिले थरीथरी दल छन्। तिनका मुद्दाहरु रंगविरंगी हुने नै भए। कोही गणतन्त्र विरोधी त कोही राजतन्त्रवादी। जसले गर्दा प्रचण्डले चेतावनीसम्म दिनुपर्‍यो।

'स्टन्ट' रुचाउने मन्त्रीहरुको लर्को, छैन कुनै काम

यो सरकारको आयु कति हो? अचेल यस्तै प्रश्न सोधिन्छ। जवाफ त कसलाई थाहा होला। तैपनि अहिलेका मन्त्रीहरुको 'स्टन्ट' हेर्ने हो भने यो सरकारले केही न केही त गर्छ नै। यो मन्त्रीमण्डलमा २३ जना मन्त्री छन्। ती मन्त्रीका २३ थरी स्टन्ट हेर्नलायक छन्। कोही मन्त्री आफूले सेतो कपडा लाएकोले कालो हातले नछुन भन्छन्। कोही कुनै कार्यक्रममा पुग्दो समय बिताएर अन्तिममा मलाई उपरखुट्टी लगाएर बस्ने समय छैन भन्न भ्याउँछन्।

स्टन्ट रुचाउने पर्यटनमन्त्री सुदन किरातीले माघ ९ गते नेपाल वायुसेवा निगमको कार्यालय निरीक्षणका क्रममा भ्रष्टाचार नियन्त्रण सन्दर्भमा भने, ‘म सेतो लुगा लगाएको मान्छे हुँ, मलाई कालो हातले छुने प्रयास नगर्नुहोला, म सेतै बनेर फर्किने हो।’

किराती कति सेतै निस्कने हुन् कि कालो भएर? त्यो हेर्न बाँकी नै छ। तर बुवालाई सम्झेर पटकपटक आँसु झार्ने उनको स्टन्ट हेर्न लायक नै छ।

राप्रपा  अध्यक्ष राजेन्द्र लिङ्देन कांग्रेससँग लामो बार्गेनिङ गरेपछि उपप्रधानसहित ऊर्जा मन्त्रालय हत्याउन सफल भए प्रचण्ड सरकारमा। लगत्तै उनले माघ ६ गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै आफूलाई पलेटी कसेर बस्ने समय नभएको दाबी गरे। ‘कुनै पनि सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर, उपरखुट्टी लाएर बस्ने छुट र समय मलाई छैन,’ कार्यक्रममा आफूले दिनुपर्ने समय दिएका लिङ्देनले भने।

'बहर' मन्त्रीहरुलाई कसरी सम्हाल्लान् प्रचण्डले?

खेतबारीमा बहर दाउँदा हलीले निकै सास्ती झेल्नुपर्छ। छेउकुना नबुझेका बहर गोरु कहिले सोइला भाँचेर कान्लोतिर हाम्फाल्न पुग्छन् त कहिले जुवा नै भाँचेर भाग्छन्। कुनै बहर मेलो छाडेर राटोपाटो गर्दै कुद्छन्। यस्तै गर्दा कहिलेकाहीँ हली नै कान्लातिर पछारिन पुग्छन् भने कहिले घाँटी च्यापिएर बहरको प्राणै जान्छ। बहर नार्न कुसल हलीलाई नि धौधौ हुन्छ।

प्रचण्डको मन्त्रिपरिषद् झन्डै यस्तैयस्तै देखिन्छ। यस्तै भइरहने हो भने स्टन्ट रुचाउने रंगीबिरंगी मन्त्रीहरुलाई निर्देशनदेखि चेतावनी दिँदैमा प्रचण्डको तेस्रो कार्यकाल बित्न बेर छैन।

अझ राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु त विवादित नबनेका कोही छैनन्। गृहमन्त्री रवि लामिछानेदेखि स्वास्थ्यराज्यमन्त्री डा तोसिमा कार्कीसम्म। लामिछाने शुक्रबार सर्वोच्चको फैसलासँग पदमुक्त भइसकेका छन्।

३२ दिनको अवधिमा रविले कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिने भन्दै स्टन्ट शुरु गरे। अहिले पन्तलाई न्याय दिने कुरा कता पुग्यो? थाहपत्तो नै छैन। क्रसर विवाद, सत्तारुढ दलका फरार सांसद लक्ष्मी महतो कोइरी पक्राउ गर्न नसक्नुको विवाद, निर्मला कूर्मीको न्यायका लागि माइतीघरमा अनशन बसेकी रुवि खान पक्राउको विवादबाट उनी मुक्त भएनन्। पदमुक्त भए पनि पासपोर्ट प्रकरण कसरी अघि बढ्छ अझै प्रतीक्षाकै विषय छ।

श्रममन्त्री डोलप्रसाद अर्याल त्यसैगरी विवादमा तानिएका छन्। म्यानपावर व्यवसायी अर्यालले शुरुमा त चोखिन खोजे। सृष्टि अभोरसिज प्रालिका सञ्चालक समितिका सदस्यसमेत रहेका अर्याल उक्त प्रालिको इन्टरनेसनल मार्केटिङ डाइरेक्टर भएको पुष्टिपछि उनको तर्क आउन थाल्यो - शिक्षक शिक्षामन्त्री हुनुहुँदैन, चिकित्सक स्वास्थ्यमन्त्री हुन पाउँदैन भनेजस्तो कुरा भयो मेरो सवालमा।

यता शिक्षामन्त्री शिशिर खनालको त एकीकृत समाजवादीको विद्यार्थी संगठनले पुत्ला जलाउन भ्यायो शुक्रबार। १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेसँगै उनी विवादमा तानिएका हुन्। यसैगरी 'सानो रिबन' काटेर विवादमा तानिएकी स्वास्थ्य राज्यमन्त्री डा तोसिमा पनि आलोचनाको सिकार बनेकी छिन्। स्वास्थ्यमन्त्री पदम गिरीले माथिल्लो र तोसिमाले तल्लो रिवन काटेर उद्घाटन गरेको फोटो चर्चामा आएको केही दिनमै अस्पतालको संवेदनशील क्षेत्र मानिने आईसीयूभित्र क्यामेरा र युट्युबर लिएर गएको भन्दै सामाजिक सञ्जालमा उनीमाथि आलोचनाका शब्द ओइरिन थालेका छन्।

मंगलबार प्रचण्डले संघीयताविरुद्ध नबोल्न निर्देशन दिँदै बाहिरिँदा संसदको गेटैमा आत्मदाह गरेका प्रेम आचार्य भेट्न जाँदा तोसिमाले खप्की खानुपरेको हो।

विधिको शासनमाथि प्रश्नैप्रश्न

प्रचण्डले सत्ता सम्हालेपछि शोककै दिनमा कूर्सी हत्याउने खेलहरु भए। माघ १ गते पोखरामा यती एअरलाइन्सको विमान दुर्घटनामा परी ७२ जनाको मृत्यु भयो। सरकारले भोलिपल्ट शोक विदा दियो।

तर विदाकै दिन सत्तारुढ दलहरु मन्त्रालय बाँडफाँडमा जुटे। प्रदेशहरुमा सभामुख, उपसभामुख चयनका कार्यक्रम भए। प्रेमप्रसाद आचार्यले कठोर प्रश्न सोधेर उनकै अगाडि आत्मदाह गरे। उनको प्रश्नले अहिले देशमा केही गर्छु भन्ने युवाहरुको मन पोलेको छ। मथिङ्गल हल्लाएको छ। तर विधिको शासन गर्छु भनेर देश दुनियाँलाई देखाउँदै शपथ खाएका प्रधानमन्त्रीदेखि मन्त्रीहरुलाई आफ्नै टन्टा छ। राष्ट्रपतिको निर्वाचनका लागि नेताहरुको दौडधुप सुरु भइसकेको छ। आचार्यले उठाएका सवाल उठाउने प्रतिनिधि सभा होलिडेमा छ। कुनै सांसदले व्यवस्थापिका संसद डाक्न सकेका छैनन्। ठूला दलका शीर्ष नेताले प्रेमको मुद्दामा मुख खोलेका छैनन्। भेष बदलेका प्रचण्डले पनि मौनता साँधेकै छन्। भर्खरै सत्तामा छिरेका मन्त्रीहरुलाई मेलो लगाउनु त प्रचण्डलाई चिन्ता छ नै। भेष बदले पनि विधिको शासन कायम गराउन प्रचण्डलाई धौधौ नै हुने देखिन्छ।

चेतावनी र निर्देशन दिँदादिँदै नमानिदए?

स्टन्टबाज मन्त्रीहरुले सत्ताको सोइला र जुवा भाँच्ला भन्ने डरको चाङ छँदै छ। यस्तै मन्त्रीलाई मेलो लगाउन नपाउँदै प्रचण्डको कार्यकाल सकिने त हैन?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell