PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओली शैलीमाथि हमला : कोही 'ओभरटेक' गर्दै, कोही लागे 'हाइज्याक' गर्न



नेत्र तामाङ

ओली शैलीमाथि हमला : कोही 'ओभरटेक' गर्दै, कोही लागे 'हाइज्याक' गर्न
फाइल फोटो

चार वर्षअघि मंसिर १०, २०७५।

काठमाडौंका पोलपोलमा केपी शर्मा ओलीको तस्बिर सजाइएको दृश्य कसले बिर्से होलान्!

एउटा नयाँ युगको सुरुवात - लेखेर सामाजिक सुरक्षाको प्रचारमा ओलीले आफ्नै फोटोलाई फोकस गरे पोस्टरमा।

त्यतिबेला ओली प्रधानमन्त्री थिए - माओवादी भित्र्याएपछि बनेको ने क पाका अध्यक्ष थिए। त्यसैले उनको चमकधमक बेग्लै थियो। चर्चामा होस् र विरोधमा - सभाहरुमा ओलीकै हाइहाइ हुन्थ्यो।

उनको भाषणमा - परर ताली बज्ने।

उनको उखान र ठट्टामा - गलल हाँस्ने।

केपी बा जिन्दावाद - भन्दै उनको पक्षमा नाराबाजी गर्ने।
हुँदाहुँदा - केपी बा आइ लभ यु सम्मै उत्रने।

मिडियामा ओली नै छाउँथे। सामाजिक सञ्जालमा ओलीकै हाइहाइ थियो। उनको अधिनायकवादी शैलीको आलोचना गर्नेहरुमाथि सामाजिक सञ्जालमा सामूहिक हमला हुन्थ्यो।

भारतीय नाकाबन्दीविरुद्ध स्ट्यान्ड लिएर राजनीतिक उचाई लिएका ओलीले लिपुलेकसम्म आफ्नो उडान भरिरह्यो। तर देश चलाउने क्रममा उनले पस्केका उखान टुक्का र ठट्टाले उनी विस्तारै हलुका हुँदै गए।

काँधमा सिलिन्डर बोक्नुपर्ने युगको अन्त्य, पानी जहाजको टिकट, केरुङ र रक्सौलबाट रेल ल्याउने कुरा, तुइन विस्थापित गर्ने कुरा। अनेक विषयमा चर्चामा छाए ओली। यही विषय पुरा गर्न नसक्दा ओलीमाथि आलोचनाको वर्षा भयो। यति आलोचनामात्र भए त ठीकै थियो - ओलीकालमा अनेकन काण्ड पनि भए जसका कारण थप छाए ओली।

३३ किलो सुनकाण्ड, वाइडबडी विमान काण्ड, सांसद अपहरण काण्ड, जन्मदिनमा नेपाल केक काटेको काण्ड, यती/ओम्नी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्डले ओलीलाई थप चर्चित बनायो। ओली यस्ता अनेकौ काण्डको आलोचना हुँदा पनि गलेनन्।

बरु आफ्ना कार्यकर्तालाई अरिङ्गाल बनेर आक्रामणमा उत्रन आदेश दिए। सत्ता र शक्तिको आडमा ओली यसरी यसरी उम्लिए कि जसले गर्दा उनलाई साथ दिन गएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेकै त्यति बेलाका वरिष्ठ नेता माधव नेपाल -हामी यहाँ छौं भन्दै सडकमा ओर्लन बाध्य भए।

घरभित्रैका नेताकार्यकर्ता विरोधमा उत्रे पनि ओलीको ओज घटेको थिएन। उनी पक्षधर नेताकार्यकर्ताको दरो साथ रह्यो नै। जसको बलमा ओलीले प्रतिनिधि सभा दुईदुई पटक विघटन गर्न भ्याए। तर सर्वोच्च अदालतको परमादेशले ओली सत्ताच्युत बने र बालुवाटार छाडेर लागे बालकोट।

सामाजिक सञ्जालमा अरिङ्गल बनेकाहरु विस्तारै हराउन थाले। ओली क्रेज सातसुत्त हट्यो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने। ओली शैलीको व्यापक विरोध भएर होला -त्यतिबेला त्यस्तो शैली पछ्याउन कोहीकसैले आँट गरेनन्। बरु चुनावमा पुन ओली शैली उदायो। गाउँगाउँमा ओली, शहर शहरमा ओली गीतले ओलीले आफ्नो शैलीलाई पुन ब्यँतिने कोशिशमा लागे। यद्यपि गठबन्धनको चर्को मारमा परिसकेको थियो एमाले र भीम रावल र घनश्याम भुसालहरुलाई टिकट नदिएका कारण उनको शैली विस्तारै धमिलो हुने क्रममा थियो।

अब ओभरटेक गर्नेहरु बढ्दै

समय सधैं एउटै रहँदैन। कतिपय कुरा विस्तारै बिर्सँदै पनि जान्छ। राजनीति मेलो पनि त्यस्तै हुने रहेछ। पछिल्लो निर्वाचनबाट केही नेताले ओली शैली 'ओभरटेक' गर्न थालेका छन्।

यसरी ओली शैली ओभरटेक गर्ने नेताहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र अर्का सांसद ज्ञानेन्द्र शाही हुन्। यी नेताहरुले ओली शैली पछ्याउँदै निर्वाचन आफ्नो पक्षमा पार्न सफल भए।

चुनावअघि यी नेताहरुले कहाँ के के बोलेका थिए भन्ने कुरा धेरैलाई थाह नै छ। चुनाव जितेर सत्तामा गएपछि पनि ओली शैलीको व्यापक प्रयोग भयो। चर्चामा नआए निद्रै नपर्ने र खानै नपच्ने हुने डर यी नेताहरुलाई हुन्छ क्यार! चर्चाकै बीच रास्वपाका अध्यक्ष लामिछानेको सांसद पद गुम्यो। सांसद पद गुमे पनि गृहमन्त्री बन्न उनी हरदम लागिपरे। तर उनको प्रयास बालुवामा पानी हाले झैं भयो।

अनि आक्रोशित बनेका रविले आफू अभिमन्यु नभएको उल्लेख गर्दै मौनता तोड्ने घुर्की देखाए माघ १९ गते। अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

लगत्तै रास्वपाको केन्द्रीय समिति बस्यो। केन्द्रीय समितिले गृहमन्त्रीका लागि फेरि दुई दिन पर्खने निधो गर्‍यो। तर प्रधामन्त्री प्रचण्डबाट ग्रिन सिग्नल नआएपछि रविले माघ २२ गते बसुन्धराको पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरे।

झन्डै साढे १ घण्टामा रवि अधिकांश मूलधारका मिडियामाथि खनिए। उनको पत्रकार सम्मेलन यसै त बहुप्रतीक्षित थियो। अझ मिडियामाथिको आक्रोशले उनी एकाएक हिरो बने सामाजिक सञ्जालमा।

रविको पत्रकार सम्मेलनको शैली ओली मञ्चमा उत्रिँदाभन्दा फरक थिएन। परर ताली, गलल हाँसो, जिन्दावादको नारा प्रस्टै सुनिन्थ्यो। सामाजिक सञ्जालमा ओलीबाट अरिङ्गल बन्न निर्देशन पाएका कार्यकर्ता झैं रास्वपाका कार्यकर्ताको सामु टिकिनसक्नु पारियो।

उक्त दिन संसद पनि थियो। संसदमा एमाले अध्यक्ष ओलीले पनि धेरैको ध्यान तान्ने खालकै सम्बोधन गरेका थिए। आफै प्रधानमन्त्री भएझैं प्रस्तुत भएका ओलीको सम्बोधनको खासै चर्चै भएन।

बरु झन्डै एकहप्तासम्म रास्वपा अध्यक्ष लामिछानेकै चर्चा भयो। सामाजिक सञ्जालदेखि गाउँसहरमा।

यसले देखाउँछ ओली शैलीको ओभरटेक लामिछानेले गरिसके।

अब हाइज्याकको प्रयास

ओली शैलीको अब 'हाइज्याकिङ' शुरु भएको छ। हाइज्याक गर्न उत्रेका अरु कोही नभएर उनै ओलीले आफ्नै पार्टीमा भित्र्याएर केन्द्रीय सदस्य बनाएका दुर्गा प्रसाई हुन्। मार्सी चामलको भात खुवाएर प्रचण्डसँग एकता गराइदिएका गुण तिरेका थिए सायद ओलीले।

उनै प्रसाईले फागुन १ गते पूर्वराजालाई साथ राखेर गणतन्त्र मास्ने अभियान शुरु गरे। राजतन्त्रको अभियान थालेपछि एमाले अध्यक्ष ओलीको आलोचना शुरु भयो। तर ओली प्रसाईलाई एमालेबाट निकाल्न डराइरहेका छन्।

आइतबार विराटनगरमा पत्रकारले प्रसाईंबारे सोधेको प्रश्नमा ओलीको जवाफ थियो, ‘तपाईंहरूलाई कारबाही खुब चासो छ। एकातिर भीम रावल कराउँदै हिँड्नुहुन्छ। अर्कोतिर केन्द्रीय सदस्य के गर्दै हिँड्छन्, पानीको लेभल आफैं मिल्दै जान्छ।’

तर प्रसाईंले भने ओलीलाई भैरहवा पुगेर ओलीलाई कटाक्ष गर्न भ्याइसके - मैले हिजै भने हजुरबा तपाईको केन्द्रीय सदस्य तपाई नै राख्नुस्। तपाईका कार्यकर्तालाई झोला बोकाउनुस्। कार्यकर्ताको मनमा हैन जनताको मनमा बस्न चाहन्छु म।

उनले ओलीको राष्ट्रियता खोक्रो भएको दाबी गर्न पनि भ्याए आइतवार नै। 'केपी ओली मेरो हजुरबुवा हो। मलाई उहाँको माया लाग्छ। उहाँले राष्ट्रियताको कुरा गर्नुहुन्छ। खाली त्यही लिपुलेक र चुच्चे नक्साको कुरा गर्नुहुन्छ। उहाँको राष्ट्रियता भनेको त्यति हो,' ओलीमाथि खनिए प्रसाई।

अझ उनले ओलीको रेल ल्याउने कुरा र ओलीको गृहनगरमा बनेको टावरमाथि हमला गर्न भ्याए। 'मान्छे नबसेको देशमा रेल ल्याउने। युवा जति बाहिर, रेल नेपालमा। अनि के गरे भने विकास गरे रे,' प्रसाईंले व्यङ्ग्य गरे, 'मान्छे छैन सहरदेखि १७ किलोमिटर माथि लगेर टावर बनाइदिएको छ। को चढ्ने भन्दा मान्छे चढ्छ। धान फल्छ टावरमाथि भन्छ? टावरमाथि मान्छे चढ्छ। हामीले बुर्ज खालिफा चढेका छौं।'

प्रसाईले यसो भन्दै गर्दा भिडले परर ताली बजाएका थिए भने ओलीकै मञ्चको शैलीमा गलल हाँसो फैलिएको थियो दर्शकदीर्घामा।

लघुवित्त र सहकारीको संस्थागत ऋण नतिर्न अवैधानिक रुपमा उक्साउने प्रसाई अब ४७ सालमा फर्कनुपर्छ भन्दै थिए। उनको उक्साहटमा इमोसनल ब्ल्याक्मेलिङ पनि मिसिएको थियो। ' 

अब ४७ सालमा फर्कनुपर्छ। एउटा चोक हुन्छ। चोक भनेको ४७ साल हो। जहाँ बाटो बिर्स्यो। हामी त्यही फर्कनुपर्छ र अर्को बाटो शुरु गर्नुपर्छ,' उनी भनदैथिए, 'यदि बाँच्नुछ भने। नत्रभने पेट्रोल लिएर डोरी लिएर तयार हुनुस्। हैन भने सीमित सामन्तले तपाईहरुको घरजग्गा जमिन लाँदैछन्।'

अहिले चोकबजारमा दुर्गा प्रसाईको चर्चा हुन्छ। तारा बरालहरुको चर्चा हुन्छ। सन्दिप लामिछाने, पल शाहहरुको चर्चा हुन्छ। तर आफैले शुरु गरेको शैलीमा ओली भने फ्लप हुँदै गएका देखिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell