PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

के तनहुँको चुनावलाई लिएर कांग्रेस अत्तालिएको हो?



नेत्र तामाङ

के तनहुँको चुनावलाई लिएर कांग्रेस अत्तालिएको हो?

काठमाडौं : चुनावी रन्कोले यतिबेला तनहुँ १ तातेको छ। नेपाली कांग्रेस परित्याग गरेर स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेपछि कांग्रेस यस क्षेत्रमा थप आक्रामक बनेको हो।

अर्थशास्त्रीका रुपमा नाम कमाएका स्वर्णिम स्थानीय निर्वाचन र मध्यावधि निर्वाचनमा कांग्रेसको घोषणापत्रको ‘आर्किटेक्ट’का रुपमा प्रचार गरिएको थियो। जसलाई कांग्रेसले ब्रान्डिङ गर्‍यो, उही व्यक्ति चुनावमा टिकट नपाउनासाथ पार्टी फेर्न पुगे।

दुईमध्ये स्थानीय तहमा कांग्रेस महामन्त्री गगन थापा र प्रतिनिधिसभा निर्वाचनमा महामन्त्री विश्वप्रकाश शर्माको संयोजनमा घोषणापत्र तयार हुँदासम्म स्वर्णिम कांग्रेसी नै थिए। दुवै महामन्त्रीकै निकट मानिने स्वर्णिमले एकाएक रुखको छहरी छाडेपछि थापा र शर्माले पनि स्वर्णिमविरुद्ध ‘फाइरिङ’ खोलिसकेका छन्।

उम्मेदवारी दर्ताकै दिन चैत २० गते दमौली पुगेर गगनले स्वर्णिमलाई ‘भगुवा’को संज्ञा दिए। स्वर्णिमलाई टुरिस्ट भन्दै गगनले पार्टीमा लात हानेको आरोप समेत लगाए - ‘नेपाली कांग्रेसलाई लात हानेर गएर, बाहिरबाट कांग्रेस खराब भनेर ढुंगा हानेर झ्याल फुटाएर कांग्रेस बदलिन्छ? कांग्रेस बदल्न त्यही भित्र बसेर संघर्ष गर्नुपर्छ। यो संघर्ष हामीले पनि गर्ने हो।’

त्यसैदिन चितवन पुगेर अर्का महामन्त्री शर्मा स्वर्णिमविरुद्ध खनिएका थिए। देउवाले नै ठाउँ दिएर स्वर्णिमको पहिचान बनेको दाबी शर्माले गरेका थिए

‘मित्रहरुले भर्खरै कांग्रेस छाडेकोलाई उम्मेदवार बनाउनुभएको छ रे गोविन्द भट्टराईको क्षेत्रमा’, शर्माले भने, ‘कविता सुनाउने क्षमता छ रे भनेर कांग्रेसले मञ्च दियो। कांग्रेसले उहाँ गीत गाउन सक्नुहुन्छ भन्दै गर्दा गीत गाउनका लागि पनि मञ्च पनि दियो। अनि नाच्न पनि आउँछ भनिरहँदा बिस्तारै पालो आउँछ भनियो। उहाँले कांग्रेसमाथि नै प्रश्न गरेर जानुभयो। कति सुसंस्कृत ढंगले राजनीति गर्नुभयो उहाँले?’

तनहुँमा कांग्रेस नेताको लर्को

कांग्रेसले यहाँ नेपाल विद्यार्थी संघलाई नेतृत्व गरिसकेका नेता गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ। गोविन्द यहाँ कांग्रेसका मात्र उम्मेदवार हैनन्- गठबन्धनकै उम्मेदवार हुन्।

तनहुँ १ मा उम्मेदवार मनोनयन दर्ताअघि कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा महामन्त्री गगन थापालगायतका नेता। फाइल फोटो : नेविसंघ जनज्योति क्याम्पस/फेसबुक


यहाँबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनिसकेका छन्। कांग्रेसले यहाँ आफ्नो अस्तित्व जोगाउन पार्टीबाट निकालिसकेका गोविन्दराज जोशीको कारबाही समेत फुकुवा गरेको छ।

कांग्रेसले तनहुँ २ का सांसद शंकर भण्डारीलाई चुनावी कमान्डरका रुपमा खटाएको छ। काठमाडौंमा मन्त्रिपरिषद् विस्तार भइरहेको बेला मन्त्रीको दाबेदार रहेका उनी अहिले चुनावी मोर्चामा खटिइरहेका छन्।

उनीमात्र हैनन्, यहाँ संस्थापन इतरका नेता डा शेखर कोइराला पनि घरदैलोमा पुगिसके। सोमवार शेखर तनुहँको ब्यासदेखि खैरहनीमा मत माग्न पुगेका थिए।

कोइरालाले त्यहाँ पार्टीको मनमुटाव बिर्सेर आफ्नो उम्मेदवारलाई जिताउन निर्देशन दिए। कोइरालासँगै कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम र गण्डकी प्रदेश सभापति सुरेन्द्र पाण्डे पनि तनहुँमा छन्।

यसअघि कांग्रेस उपसभापति धनराज गुरुङ पनि यहाँ पुगिसकेका छन्। बैशाख ५ गते दुई महामन्त्री दमौली बजारमा १ बजे पुग्दैछन्। त्यहाँ दुवैले सम्बोधन गर्नेछन्। यसैगरी माओवादीले कांग्रेस उम्मेदवारलाई मत मागिदिन महासचिव देव गुरुङलाई यहाँ खटाएको छ।

प्रतिष्ठाको लडाइँमा कांग्रेस

बैशाख १० गते ३ स्थानमा उपचुनाव हुँदैछ। कांग्रेसले चितवन र तनहुँ गरी २ सिटमा प्रतिस्पर्धा गर्दैछ। जसमध्ये तनहुँ १ कांग्रेसका लागि प्रतिष्ठाको विषय बनेको छ। किनकि यो उसले साविक जित हासिल गरेको ठाउँ हो।

त्यसैले कांग्रेसले यहाँ आन्तरिक र बाह्य तयारीलाई तीव्र पारेको छ। बाहिरी रुपमा नेताको आमसभा र सम्बोधनका कार्यक्रमहरु राखिएको छ भने आन्तरिक रुपमा मतको आँकलन सर्वेक्षणमार्फत समेत जारी राखेको छ।

उपनिर्वाचनको तयारीका क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य शङ्कर भण्डारी तनहुँको दमौलीमा कार्यकर्तासँग छलफल गर्दै । फाइल फोटो :कृष्ण न्यौपाने/रासस


यस क्षेत्रमा कांग्रेसले गरेको सर्वेक्षण अनुसार गोविन्दलाई निर्वाचन जित्न हम्मेहम्मे देखिन्छ। त्यसैले पनि कांग्रेसको केन्द्रीय आकर्षणमा रहेका महामन्त्रीद्वयलाई निर्वाचन क्षेत्रमा खटाइएको हो।

पार्टीले कारबाही फुकुवा गरे पनि गोविन्दराज जोशीले कांग्रेसलाई सहयोग गर्ने संकेत गरेका छैनन्। पार्टीको केन्द्रीय समितिमा आफूसहित आफ्ना छोरा दीपकराज जोशीलाई स्थापित गर्नुपर्ने जोशीको ‘बार्गेनिङ’ थियो।

कांग्रेस केन्द्रीय समितिले उनको माग पूरा नहुने देखेपछि जोशी स्वर्णिमतिर खुलेका छन्। यद्यपि, जोशीको यस कदमले कांग्रेसलाई खासै घाटा नपर्ने कांग्रेस केन्द्रको बुझाइ छ।

तनहुँ हारे कांग्रेसमा पहिरो जान्छ!

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको बुझाइमा तनहुँ १ कांग्रेसका लागि ‘डु अर डाई’को क्षेत्र बनेको छ। रास्वपाका उम्मेदवार स्वर्णिमले चुनाव जिते कांग्रेसमा पहिरो जाने उनको दाबी छ।

‘कांग्रेसको उम्मेदवार दुई ठाउँमा हो। चितवनमा कांग्रेसलाई मुस्किल पर्ने देखिन्छ। केही गरी तनहुँ पनि गुम्यो भने कांग्रेसमा पहिरो जान्छ,’ आचार्यले भने।

सत्ता गठबन्धनले यस क्षेत्रलाई प्रतिष्ठाको विषय बनाएको उनको भनाइ रह्यो। त्यसैले पनि कांग्रेस दिलोज्यान दिएर लागेको आचार्यको बुझाइ छ।

‘कांग्रेसको भविष्यका लागि, शेरबहादुरको भविष्यको लागि र गठबन्धनको भविष्यका लागि पनि गठबन्धनले तनहुँमा प्रतिष्ठाको विषय बनाएको छ’, उनले भने, ‘कांग्रेस अहिले दिलोज्यान दिएर लागेको छ। सम्पूर्ण शक्ति त्यहाँ खन्याएको छ।’

उपनिर्वाचनका लागि कांग्रेसबाट तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराई ऑबुखैरेनी गाउँपालिका-४ भाँगेमा घरदैलोका क्रममा। फाइल फोटो : कृष्ण न्यौपाने/रासस


कांग्रेस तनहुँमा यसरी खटिनुमा अचम्म भने मान्नु नपर्ने उनको तर्क छ।

‘पुरानो पार्टीले आफ्नो वर्चश्व कायम राख्‍न यसो गर्छन्। कांग्रेसको क्यान्डिडेट त्यति खराब पनि छैनन्। त्यसैले यो खटाइ नराम्रो होइन। यसरी खटिनुको कारण त्यहाँ तीव्र प्रतिस्पर्धा छ भन्ने देखियो’, उनले थपे, ‘एउटा सशक्त पब्लिक इमेजको उम्मेदवार छ, ग्लोबल इमेज भएको। अर्को कांग्रेसको विद्यार्थी राजनीतिबाट अघि बढेको व्यक्तिको उम्मेदवारी छ।’

कांग्रेसको पछिल्लो रिपोर्टमा स्वर्णिमलाई युवा वर्गले रुचाएको देखिन्छ। त्यसैगरी शहरी क्षेत्रका मतदाताको आकर्षण पनि स्वर्णिममा देखिन्छ।

कांग्रेसको रिपोर्ट अनुसार गाउँका मतदाता भने गोविन्दसँग भिजेका छन्। समाजसेवामा धेरै अघिदेखि खटिएका गोविन्दलाई पानी खुवाउने नेताका रुपमा बुझेका छन् स्थानीयले।

टिकट दिँदा पनि अन्याय नभएकोले उनले जित्नै पर्ने कांग्रेस केन्द्रको ठम्याइ छ। यद्यपि, कांग्रेसको जितहार भन्दा यो गठबन्धनकै जितहारको विषय हुने आचार्यको भनाइ छ।

‘यसलाई गोविन्द भट्टराईको जितहार भन्दा पनि गठबन्धनको जितहारका रुपमा लिइएको छ। गठबन्धनको भविष्य निर्धारण हुन्छ भन्ने छ यसबाट। तनहुँको रिजल्टले अंक गणितमा खासै असर गर्दैन। ८८ बाट ८९ होला तर त्यसको म्यासेज र त्यसले ल्याउने पराकम्पन चाहिँ ठूलो हुनेछ’, आचार्यले भने, ‘चितवन र तनहुँ हारे भने कांग्रेसमा ठूलो भुईँचालो जान्छ ८ रेक्टरकै। त्यसै भएर कांग्रेस हिजोबाट त्यहाँ अलि बढी नै लागेको देखियो।’

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शङ्कर भण्डारी तनहुँको व्यास नगरपालिकाको एक कार्यक्रम उदघाटन गर्दै। फाइल फोटो : सानेबहादुर नेपाली/रासस


गुटहरुमा विभाजित रहेका तनहुँ कांग्रेस आफ्नो दलको उम्मेदवार जिताउन एक ठाउँमा उभिएको अर्का राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेको दावी छ।

‘संविधान र लोकतन्त्रको रक्षार्थ कांग्रेस पार्टीलाई नै जिताउनु अहिलेको आवश्यकता हो। कांग्रेस पार्टीलाई नै सुधार गरेर रुपान्तरण गरेर जनताको चाहनाअनुसार कांग्रेसलाई नै रुपान्तरण गरेर रुपान्तरित शक्तिको रुपमा स्थापित गर्न सकिन्छ। त्यसैले अहिले कांग्रेसलाई जनताले समर्थन गर्नु स्वभाविक हो,’ विश्लेषक वाग्लेले भने।

कांग्रेस छाडेसँगै स्वर्णिमको छवि गौण भएको समेत उनको दाबी छ।

‘कुनै पनि व्यक्ति पार्टीलाई अपरिहार्य हुँदैन। त्यसकारणले पार्टीको मूल्य मान्यता र सिद्धान्तलाई नै तिलान्जली दिएपछि कुनै पनि व्यक्तिको व्यक्तित्व छवि र बौद्धिकता गौण हुन्छ’, स्वर्णिमतिर संकेत गर्दै वाग्लेले भने।

उनले कांग्रेसमा युवा र बौद्धिकका लागि अझै ठाउँ रहेको समेत दाबी गरे। भने, ‘अरु पार्टीमा भन्दा बौद्धिक व्यावसायिक र युवाहरुलाई कांग्रेसमा नै स्पेस छ। त्यसकारणलाई कांग्रेसलाई नै रुपान्तरण गरेर वैचारिक, सैद्धान्तिक र सांगठानिक रुपान्तरण गर्नु नै अहिलेको श्रेष्ठ विकल्प हो।’

एकातिर स्वर्णिमको क्रेज छ भने अर्कातिर तनहुँले यसअघि जिताएका रामचन्द्र पौडेल राष्ट्रपति भइसकेका छन्। पौडेललाई मत दिने मतदाताको रोजाईमा कांग्रेस नै पर्ने कतिपय स्थानीयको तर्क छ। किनकि यस क्षेत्रमा कुनै विवाद वा काण्डका कारण निर्वाचन हुँदैछैन।

राष्ट्रपति बनाउने क्षेत्रका जनताले कांग्रेसलाई समर्थन गर्ने दाबी जिल्ला स्तरका नेताको रहँदै आएको छ। त्यति हुँदाहुँदै पनि कांग्रेसले यहाँको चुनावलाई ‘अवसरवादी विरुद्धको’ अभियान भन्दै प्रचार गर्नु र केन्द्रीय नेताको बाक्लो सक्रियताले कांग्रेस अत्तालिएको चाहिँ प्रष्ट संकेत गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell