PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

चुनाव कि प्रतिष्ठाको लडाइँ? कांग्रेस, एमाले, रास्वपा र जसपा भिड्दा हर्ष न विस्मातमा माओवादी - समाजवादी



प्रकाश भण्डारी

चुनाव कि प्रतिष्ठाको लडाइँ? कांग्रेस, एमाले, रास्वपा र जसपा भिड्दा हर्ष न विस्मातमा माओवादी - समाजवादी

काठमाडौं: तीन सिटका लागि भएको उपनिर्वाचनका घटनाले राष्ट्रिय राजनीति नै तरंगित भयो।  नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जित्नैपर्ने दबाबमा देखिए। तीनै दलले वैशाख १० को चुनावलाई प्रतिष्ठाको विषयमात्रै बनाएनन् अराजनीतिक होडबाजीमै उत्रिए। रातारात दल त्यागेर उम्मेदवार हुनेदेखि आरोप प्रत्यारोपको घटनाले राजनीति थप धुमिल हुन पुग्यो। सत्ता गठबन्धनलाई साख जोगाउनैपर्ने चुनौती पनि छ। कांग्रेस-एमालेलाई धक्का दिन भन्दै चुनावमा उत्रिएको रास्वपाका लागि उपनिर्वाचन प्रतिष्ठाको विषय बन्ने नै भयो।

कांग्रेसका उम्मेदवारलाई सत्ता गठबन्धनको साथ भए पनि ढुक्क भने छैनन्। त्यसैले गठबन्धनका नेताहरुले नै चितवन-२, तनहुँ-१ र बारा-२ मा पुगेर सम्बोधन गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको चुनावमा जित्नेलाई मन्त्री बनाउने भन्दै प्रलोभन देखाए आचारसंहिताको उल्लंघन गरेर।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने बारा बाहेकका चुनावी क्षेत्रमा सम्बोधन गरेनन्। उनले आफ्नो स्वास्थ्यमा जटिलता आएको भन्दै वैशाख ३ गते नै चुनावी कार्यक्रममा सहभागी नहुने प्रष्टीकरण दिएका थिए। ‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु। तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो। तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन,’ ओलीले भनेका थिए। वैशाख ७ गते ओली बारा पुगे पनि अरु निर्वाचन क्षेत्रमा भने गएनन्। 

स्वर्णिमले तताएको माहोल

मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमै टिकटको आकांक्षी थिए अर्थविद् डा. स्वर्णिम वाग्ले। उनले त्यसपटक कांग्रेसबाट टिकट पाउने चर्चा पनि चल्यो, तर टिकट उनले उप निर्वाचनमा पनि पाएनन् कांग्रेसबाट। तनहुँ -१ बाट वाग्लेले आकांक्षा देखाए पनि गोविन्द भट्टराईले टिकट पाए।

कांग्रेसको चैत १६ को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाएपछि वाग्लेले त्यही दिन पार्टी परित्याग गरेको घोषणा गरे। कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजुमाथि प्रहार गर्दै उनले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई पत्र लेखेका थिए। ‘प्रिय दाइ, हजुरहरूको अपार सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो,’ स्वर्णिमले पत्रमा भनेका थिए। टिकट नपाएकै कारण पार्टी त्यागेर रास्वपामा लागेको भन्दै उनलाई अवसरवादीको आरोप लागेको छ।

स्वर्णिमबारे निर्वाचनका बेला गगन-विश्वप्रकाशले नै आलोचना गरे भने स्वर्णिम पनि सवालजवाफमै उत्रिए। गगनले वाग्लेलाई टुरिष्ट उम्मेदवारको आरोप लगाए चैत २० मा।  ‘घुम्दै घुम्दै आएको टुरिस्ट उम्मेदवारलाई तपाईंहरुले भन्न सक्नुपर्छ। हामी पनि लडिरहेका छौं। पार्टीभित्र संघर्ष हुन्छ भनेर। त्यो संकल्पमा साथ दिने कोही छ भने त्यो गोविन्द भट्टराई हो,’ गगनको वाग्ले लक्षित टिप्पणी थियो।

स्वर्णिमको पार्टी परित्यागले कांग्रेसमा जति धेरै चर्चा परिचर्चा भयो त्यति नै रास्वपलाई भने राहत भयो। विभिन्न विवादमा पर्दै थिलथिलो भइसकेको रास्वपाका लागि चर्चित अर्थशास्त्री वाग्ले उम्मेदवार पाएपछि भने नेता कार्यकर्ताले राहतको महसुस गरेका थिए। वाग्लेको व्यक्तित्वलाई देखाएर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने दाउमा रास्वपा छ।

हर्ष न विस्मातमा माओवादी-समाजवादी

चुनावमा जे जति कांग्रेस-एमाले र रास्वपाका नेता कार्यकर्ता भिडिरहेका छन् त्यतिकै आनन्दमा छन् माओवादी र नेकपा (एकीकृत समाजवादी) का नेता कार्यकर्ता। हुन त कांग्रेसका उम्मेदवार सत्ता गठबन्धनका साझा उम्मेदवार भए पनि एकीकृत समाजवादी र माओवादी चुनावी ‘ब्याटल’को फ्रन्टलाइनमा देखिएनन्। कांग्रेस र जनता समाजवादी पार्टी, नेपाल गठबन्धनबाट चुनावी मैदानमा उत्रिँदा माओवादी र समाजवादीका नेता कार्यकर्ता भने अडियन्सको बेन्चमा थन्किएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धनका चुनावी अभियानमा सम्बोधनका लागि देश दौडाहमा देखिए पनि नेता- कार्यकर्तामा उत्साह छैन। प्रचण्डले पनि कांग्रेस र जसपाका उम्मेदवारका लागि चुनावी सभाको सम्बोधन गरेका थिए।

सांसद हुन नपाएकाकै चर्चा

संयोग नै मान्नुपर्छ सांसद हुन नसकेका तथा सांसद पद जोगाउन नसकेकाहरुको भिडन्त बन्न पुग्यो यसपटकको उपनिर्वाचन। पुरानै नेताको बोलवाला हुँदा ‘नो नट अगेन’ अभियान नै चलेको थियो प्रतिनिधि सभाको निर्वाचनका बेलामा। तर यसपटक भने बारा-२ बाट जनता समाजवादी पार्टी, नेपाल (जसपा)का उम्मेदवार रहेका अध्यक्ष उपेन्द्र यादवबाहेक चितवन -२ र तनहुँ-१ सांसद हुनै नपाएका तथा पद जोगाउन नसेकाकाहरुको ‘ब्याटल’ छ।

सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग मंसिर ४ को प्रतिनिधि सभाको निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव पराजित भएका थिए। यादव जसरी पनि सांसद हुने दाउमा छन् अहिले। उनले आफू सांसद हुन रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति नै बनाए। यादवसँगै भिडन्तमा छन् काठमाडौं-१ बाट पराजित भएका प्रहरीका पूर्व डिआइजी रमेश खरेल। उनी पनि आफ्नो प्रतिष्ठालाई जोगाउनैपर्ने दबाबमा छन्। सांसद हुने जुक्ति खोजिरहेका खरेल पनि यसपटक भिडन्तमा उत्रिएका हुन्। प्रहरी कमाण्डर हुँदा कमाएको नामलाई भोटमा कन्भर्ट गर्न खोजिरहेका खरेल।

कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको तनहुँ-१ मा पनि यसअघि सांसद हुन नपाएकाहरुकै भिडन्त छ। रास्वपाका वाग्लेले त सांसदका लागि पार्टी नै त्यागे भने कांग्रेसका भट्टराई पनि पहिलो पटक प्रतिस्पर्धामा छन्। एमालेबाट उक्त क्षेत्रमा उम्मेदवार रहेका प्रहरीकै पूर्व महानिरीक्षक सर्वेन्द्र  खनाल पनि सांसद हुन् काठमाडौं-६ मा उम्मेदवार बनेका थिए, मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा। तर त्यतिबेला उनको सांसद हुने सपना अधुरै रह्यो। अहिले पनि एमालेले उनलाई तनहुँ-१ बाट उम्मेदवार बनाएको छ।

चितवन -२ पनि बारा र तनहुँ भन्दा खासै फरक छैन। मंसिर ४ को निर्वाचनमा जितेका रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादमा परेपछि सर्वोच्च अदालतको फैसलाले उनको सांसद पद गयो। नागरिकता पुन: प्राप्त गरेर चुनावमा लामिछाने पनि होमिएका छन्। पहिलोपटक सांसद र गृहमन्त्री भएर संसदमा इन्ट्री मारेका लामिछानेलाई पनि 'गर या मर'को स्थिति छ। किनभने उनले यसअघि नै आफ्ना विरोधीलाई चुनावी मैदानमा आउन चेतावनी नै दिएका थिए। लामिछानेसँगको भिडन्तमा छन्- सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता जितनारायण श्रेष्ठ। उनी पनि पहिलो पटक प्रतिनिधि सभाको उपनिर्वाचनमा भिड्दै छन्। एमालेले रविसँगको प्रतिस्पर्धामा रामप्रसाद न्यौपानेलेलाई उभ्याएको छ।

बारामा उपेन्द्र र  सिकेको लडाइँले तनाव

मधेशको राजनीतिको मियो हुन यसपटकको चुनावी मैदानमै घम्साघम्सी छ - मंसिरमा भएको निर्वाचनबाट उदाएको जनमत र मधेश आन्दोलनबाट छाएको जसपा। जसपाका अध्यक्ष यादव चुनाव जसरी पनि जितेर संसद् छिर्ने दाउमा लाग्दा रोक्ने कसिलो रणनीति बनाउन जनमत महिनौंदेखि मधेशमा खटिरहेको छ। जनमतका अध्यक्ष डा. सिके राउत यादवलाई संसदमै छिर्नै नदिने र मधेशको राजनीतिमा आफूलाई केन्द्रमा राख्ने दाउमा छन्।

जनमतले शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएको छ। माओवादी पृष्ठभूमिका कुसवाहलाई हराउन यादवलाई सत्ता गठबन्धनकै साथ छ। यादव र राउतको पार्टीबीचको लडाइँले चुनावी प्रचार र मतादनकै बेला पनि स्थिति केहीबेर तनावपूर्ण बन्न पुगेको थियो। राउतले चुनावमा जसपाले धाँधली गरेका आरोप लगाएका छन्। 'बिहानैदेखि बचरौताको बेलदारी बुथ कब्जा भएको अवस्था छ। जसपाका कार्यकर्ताले काटदिन्छु भनेर धम्की दिएको छ। देवतालमा पनि त्यस्तै भएको छ। हामीलाई प्रचार गर्न छिर्न दिइएको थिएन,’ राउतको आरोप थियो।

यादव पनि राउतको पार्टीसँग यसपटक बदला लिने रणनीतिमा छन्। जनमत प्रचण्ड नेतृत्वको सरकारमा पुस १० गतेदेखि नै सहभागी भएको थियो। जनमतका अब्दुल खानले पुस ११ मै मन्त्रीको शपथ लिए पनि एमाले- माओवादी गठबन्धन रहुन्जेल जसपा सत्तामा गएन। तर प्रचण्डले यादवलाई साथ दिन थालेपछि लगातार असन्तुष्ट बनेका थिए राउत। पछिल्लो पटकको मन्त्रिपरिषद् बिस्तारका बेलामा जनमत सत्ताबाटै आउट भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell