PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कपनमा निराको हत्यापछि निर्धक्क विनोद जसको भारत छिर्ने थियो तयारी



सविन ढकाल

कपनमा निराको हत्यापछि निर्धक्क विनोद जसको भारत छिर्ने थियो तयारी

काठमाडौं: सिक्री कै लागि हत्या भयो होला त? आइतबार निरा आचार्य पाण्डेको हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गर्दै गर्दा पीडित परिवारका सदस्यले दोहोर्‍याएर सोधेको प्रश्न यही थियो।

निरुले लगाएको सुनको सिक्री ९८ लालको मात्रै। अर्थात् आजको दरभाउमा एक लाख रुपैयाँ हाराहारी। प्रहरीको प्रारम्भिक अनुसन्धानले त्यही सुनको सिक्रीका लागि हत्या भएको देखाएको छ।

घटना भएको १० दिनपछि प्रहरीले हत्या अभियोगमा झापा मेचीनगर घर भएका ३६ वर्षीय विनोद विश्वकर्मालाई पक्राउ गर्‍यो। वैशाख ७ गते विनोदले कपनको सरस्वती नगरमा रहेको ‘निरु किचेन’मा पुगेर बागलुङ बडीगार्ड नगरपालिका घर भएकी ३५ वर्षीया निराको चक्कु प्रहार गरी हत्या गरेका प्रहरीको दावी छ।

अभियुक्तले हत्या गरेको स्वीकार गरिसकेको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख एआईजी किरण बज्राचार्य बताइन्। हत्या गरेको प्रमाण पुग्ने केही बस्तुसमेत बरामद गरेको प्रहरीको दाबी छ। घटनामा अहिलेसम्म विनोदको मात्र संलग्नता खुलेको छ। पीडितका आफन्त भने एक जनाको मात्र संलग्नता हत्या भएकोमा विश्वस्त छैनन्। पीडित परिवारले हत्यारा सार्वजनिक नगरेसम्म निराको दाहसंस्कार नगर्ने भन्दै शव बुझेका छैनन्।

आइतबार पत्रकार सम्मेलनपछि पीडित परिवारका केही सदस्यले एआईजी बज्राचार्यलाई भेटेर घटनाको बारेमा जानकारी लिए। जसमा उनीहरूको प्रश्न थियो - विनोद मात्र घटनामा संलग्न हुन्? 
उनीहरू प्रहरीले सार्वजनिक गरेका व्यक्ति हत्यारा हुन सक्नेमा आश्वस्त भए पनि त्यस पछाडिको कारणमा अझै संशयमै छन्। अरु कसैले परिचालन गरेको व्यक्ति त होइन अभियुक्त? 

उनीहरूले यसरी शङ्का गर्नुको कारण निराको पारिवारिक सम्बन्धसँग जोडिएको छ। उनका श्रीमान् सहित परिवारसँग राम्रो सम्बन्ध नरहेको देखिएको छ। श्रीमानसँग पटकपटक भएका झगडाका विषयलाई माइती पक्षले शङ्काका रुपमा लिएका छन्। 

तर, प्रहरीको अनुसन्धानमा अन्य पाटो खुलिसकेको छैन। त्यसो त हत्या र पारिवारिक झमेला फरक विषय हुन्। त्यसैले फरक शिराबाट अनुसन्धानमा प्रहरी जुटेको छ। माइती पक्षले सिक्री लुट्नेले त्यसरी वीभत्स हत्या किन गर्छ? भन्ने प्रश्न उठाइरहेका छन्। शरीरमा त्यति धेरै पटक चक्कुले हान्दा किन भुईँ र भित्तामा रगत कम देखियो? उनीहरुको अर्को प्रश्न। निराको शरीरमा चक्कुले कम्तिमा २० पटक प्रहार गरिएको देखिएको छ।
एआईजी बज्राचार्यले अहिले अनुसन्धान प्रारम्भिक अवस्थामा रहेको र अभियुक्तले स्वीकार गरेको बताउँछिन्। अन्य परिदृश्यले पनि घटना विनोदले नै गराएको पुष्टि भएको उनको दावी छ। त्यसबाहेक अन्य पाटोमा अनुसन्धान हुने माइती पक्षलाई उनले ब्रिफ गरिसकेकी छिन्। यता प्रहरीले भने घटनाको समयमा सीसी क्यामराका दृश्य र अभियुक्तले लगाएको पोशाकका आधारमा विनोद नै दोषी भएको दावी गरिरहेको छ।
लोकन्थलीबाट कपनमा पुगेर हत्या !
प्रहरीले सार्वजनिक गरेका व्यक्ति विनोद भने पेशाले बाउन्सर हुन्। उनी झापा र काठमाडौंको नाइट क्लबमा बाउन्सरका रुपमा काम गर्दै आएको खुल्छ। केही समय यता भने उनी जागिरविहीन थिए। झापाको बेबी लाउन्ज र काठमाडौंको भाइब्रेन्ट क्लबमा उनले काम गरेको देखिएको छ। झापाको क्यासिनोमा समेत बाउन्सर समेत रेकर्ड प्रहरीले फेला पारेको छ। त्यहाँ उनी आफैँ जुवाको लतमा फसेको प्रहरीको दावी छ।

'जुवा खेल्न थालेपछि केही रकम डुबाएको देखिन्छ,' एआईजी बज्राचार्यले भनिन्।

करिब ३ लाख रुपैयाँ डुबाएपछि उनको आफ्नै परिवारसँग सम्बन्ध बिग्रिएको थियो। झापामा उनकी श्रीमती र सन्तान छन्। लामो समयदेखि उनी घर नगएको देखिन्छ। पैसाको अभाव भएपछि उनले चलाउँदै आएको मोबाइल समेत बेचेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

वैशाख ७ गते उनी लोकन्थली साथीको कोठाबाट करिब ११ बजेतिर बस चढेर चाबहिल पुगेको देखिन्छ। त्यसपछि उनी कपनको सरस्वती नगर पुगे। उनका गतिविधिले कपनसँग परिचित देखिन्छ। त्यही क्रममा उनी निराको पसल अगाडि पुगेको देखिन्छ।

'निरा पसल बाहिर बसेको देखेपछि सामान किन्न भन्दै भित्र छिरेको देखिन्छ,' एआईजी बज्राचार्यले भनिन्।

दिउँसो २ बजेतिर उनी पसलमा छिरे ग्राहक बनेर। त्यतिखेर पसलमा निरामात्र थिइन्। केही क्षणपछि अरु केही मानिस पनि भित्र छिरे। प्रहरीमा दिएको बयान अनुसार त्यसपछि अभियुक्त पैसा निकाल्न भन्दै पसलबाट बाहिर निस्किएको देखिन्छ। दिउँसो २ बजेर ४४ मिनेटमा पुनः उनी त्यही पसलमा फर्किए। त्यसपछि निराको हत्या भयो। 
'निराले प्रतिकार गरेको देखिन्छ। हातमा समेत टोकेका छन्,' एआईजी बज्राचार्यले भनिन्।

हत्या गरेपछि पसलको काउन्टरमा रहेको १२/१३ सय रुपैयाँ र सुनको सिक्री लिएर अभियुक्त निस्किएको प्रहरीको दावी छ। ३ बजेर २ मिनेटमा पसलबाट निस्किएका उनी गोपीकृष्ण हलबाट ट्याम्पो चढेर गएको अनुसन्धानमा खुलेको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दिनेशराज आचार्यले बताए। दिउँसो २ बजेर ४४ मिनेटमा स्थानीय माया ज्ञवालीले पसलभित्र निरा गम्भीर अवस्थामा देखिन्। त्यसपछि उनलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याइयो। त्यहीँ उनको मृत्यु भइसकेको घोषणा भयो।

यता अभियुक्त भने ३ बजेर १५ मिनेटमा चाबहिल चोक पुगेर ट्याम्पो झरिसकेका थिए। त्यहाँबाट उनी मोटरसाइकलमा जडीबुटी पुगेको देखिएको छ। त्यसपछि पुन: मोटरसाइकल चढेर गाउँले भाइको कोठामा पुगेको अनुसन्धानमा खुलेको छ। 

कपनमा निराको हत्या गरेर लुटेको सुन भने १२ गते मात्र उनले बेचेका थिए। तारकेश्वर नगरपालिकामा रहेको पाथिभारा सुनचाँदी पसलमा सुन धरौटी राखेर उनले ५५ हजार रुपैयाँ लिएका थिए। तिनै व्यवसायीबाट जफत गरेको सुनको सिक्री आफन्तले निराकै भएको पुष्टि गरेका छन्। प्रहरीका लागि बरामद भएको सुनको सिक्री, विनोद र हत्याको कनेक्सन गर्ने प्रमाण बनेको छ।

सुन बिक्रीबाट आएको रकमले १० हजार रुपैयाँमा मोबाइल र कपडा किनेको उनले बयानमा भनेका छन्। उनी यति निर्धक्क देखिएका थिए कि मासु किनेर साथीको घरमा पुगे। र, भोलिपल्ट सिन्धुलीको बाटो हुँदै झापा गए। झापा पुगे पनि आफ्नो घर भने अभियुक्त गएनन्। बिर्तामोडमा बसे। त्यहाँबाट उनी भारततिर लाग्ने तयारीमा थिए। 
'उसले भारतमा काम खोजिसकेको अवस्था छ। तर, हाम्रो टोली उसलाई पक्राउ गर्न सफल भयो,' एआईजी बज्राचार्यले भनिन्।

प्रहरीले आइतबार अभियुक्तले हत्या गर्दा लगाएको लुगा बरामद गरेको छ। लुगामा रगतको दाग समेत भएको प्रहरीको दाबी छ। घटनामा प्रयोग भएको चक्कु भने बरामद भएको छैन। घटनापछि चक्कु झोलामा हालेर लगेको र बाटोमा फ्याँकेको बयान अभियुक्तले दिएका छन्। चक्कु निराको पसलको भएको उनले बयान दिएका छन्।

अहिलेसम्म प्रहरीले घटनामा अरुको संलग्नता भएको प्रमाण भने भेटेको छैन। अहिलेसम्मको प्रहरी अनुसन्धानले घटना योजनावद्ध नभएको पनि देखिएको छ। तर थप अनुसन्धान नभइ यसैलाई निचोड मान्न भने सकिँदैन।

कपन निरु हत्या प्रकरण : एकजना बाउन्सर समातिए, प्रहरीले सोध्दा भने,'सुनको लागि हत्या गरें'

के सुनका गहना नै हो त निरुको हत्याको कारण? प्रहरीले खोतल्दै पुष्टि हुने आधार

निरुको हत्यापछि ओम हस्पिटलबाट टेम्पो चढेर जडीबुटी, ६ दिन लोकन्थली बसेर सीधै झापा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell