PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नक्कली शरणार्थी प्रकरणले जेलिएका ओली, कति नजिक छ कनेक्सन?



प्रकाश भण्डारी

नक्कली शरणार्थी प्रकरणले जेलिएका ओली, कति नजिक छ कनेक्सन?

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैशाख २१ गतेदेखि जोड्दारसँग बोलिरहेको एउटै विषय हो -नक्कली भुटानी शरणार्थी प्रकरण। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बारम्बार भेटेपछि ओलीमाथि प्रश्न नै उठ्यो, कतै शरणार्थी प्रकरणमा जोडिएकालाई बचाउन ओ‌लीले दबाब दिइरहेका त छैनन्। ओलीले प्रस्टीकरण नै दिए वैशाख २५ मा - प्रधानमन्त्रीले दबाब दिएको छैन भन्नुपर्छ नि। उहाँको इन्टरप्रिटेशन मैले दबाब दिएँ भन्ने भयो।

वैशाख अन्तिम सातादेखि जेठ दोस्रो सातासम्मका हरेक सम्बोधनमा ओलीले शरणार्थी प्रकरणमा एमालेको बचाउ गरे। एमालेका नेता फसाउन खोजेको आरोप ओलीको छ। एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी वैशाख ३१ सम्म फरार रहे। त्यतिबेला पनि ओली चर्को बचाउमै रहे। फरार रायमाझीसँग पनि संवाद भइरहेको संकेत ओलीले आफ्ना भाषणमा दिइरहेकै थिए त्यतिबेला पनि।

हुन त ‌ओलीले एमालेको केन्द्रीय कमिटीको वैशाख २८ को बैठकमै जेठ ४ को प्रतिनिधि सभाको बैठकमा थप रहस्य खोल्ने घोषणा नै गरे। तर, ओली ४ गते त संसद्मा अनुपस्थित रहे नै ७ गतेको बैठकमा समेत नयाँ कुनै रहस्य खोलेनन्। बरु उनले अहिले सार्वजनिक भएकै विषयबारे थप प्रस्टीकरण दिएका थिए संसद् बैठकमा।

‘उहाँहरू १६औँ राउन्डको वार्ता गर्न चाहनुहुन्थ्यो। त्यसपछि हवानामा भुटानका परराष्ट्र मन्त्रीसँग मैले कुरा गरेँ। त्यसमा पनि कुरा गरेँ, अझ प्रस्ट ढंगले फिर्ता नलिने भन्ने कुरा थाहा पाइसकेपछि। सन् २००६ को सेप्टेम्बर बैठकमा संयुक्त राष्ट्र सङ्घको फोरममा मैले कुरा उठाएँ,’ ओलीले भनेका थिए।

ओलीले सत्ता गठबन्धनका नेताहरूलाई बचाउन र प्रतिपक्षलाई बचाउने गरी प्रहरीले अनुसन्धान गरिरहेको आरोप पनि लगाइरहेका छन्।

तर ओलीले बारम्बार जति धेरै प्रस्टीकरण दिइरहेका छन् आरोपितहरूको बयानले उनीसँगको कनेक्सन पनि त्यति बलियो देखाइरहेको छ। ओलीका स्वकीय सचिव राजेश बज्राचार्य समेत नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि ओलीमाथि थप प्रश्न उठेको हो।

बज्राचार्यले फेसबुकमार्फत आरोपबारे खण्डन गरेका छन्। ‘चिनजान नै नभएको व्यक्तिले मसँग सरोकार नै नभएको र मलाई थाहै नभएको विषयमा किन मेरो नाम पोले र किन पोल्न लगाइयो, त्यसको कारण पनि मैले बुझ्न सकेको छैन। नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा मलाई थाहा भएको विषय पनि होइन र मैले बुझेको विषय पनि होइन,’ नक्कली शरणार्थी प्रकरणबारे बज्राचार्यले भनेका छन्।

ओली निकट मानिने नेता अजय क्रान्ति शाक्यको नाम पनि अनुसन्धानका क्रममा आरोपितहरूले लिएपछि ओली कनेक्सन झन् बलियो देखिएको हो।

नक्कली शरणार्थी प्रकरण ओलीको नजिक कति पुग्न थालेको छ भने तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट माओवादी केन्द्र र एमाले अलग भएका बेलामा ओलीसँग निकट भएका नेता र उनीहरूका परिवार नै यस प्रकरणमा मुछिएका छन्। ओलीको सरकारमा उपप्रधानमन्त्री रहेका रायमाझी र उनका छोरा मात्रै होइन ओलीकै क्याबिनेटमा गृहमन्त्री रहेका रामबहादुर थापा बादल पनि नक्कली भुटानी शरणार्थी प्रकरणबाट अलग छैनन्। थापाका छोरा प्रतीक पनि उक्त प्रकरणमा तानिएका छन् भने पत्नी नैनकलाको नाम पनि अनुसन्धानका क्रममा आरोपितले लिएका छन्। बादल गृहमन्त्री रहेका बेलामा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई त यस प्रकरणमा सुरुमै पक्राउ परेका आरोपित हुन्।

ओलीको टिम र नजिकका नेताहरू धमाधम नक्कली शरणार्थी प्रकरणमा तानिँदा एमालेका केही नेताहरूले भने अनुसन्धानमाथि नै प्रश्न उठाएर बचाउ गरिरहेका छन्। एमालेका महासचिव शङ्कर पोखरेलले प्रहरी अनुसन्धान निष्पक्ष नभएको आरोप लगाएका छन्। ‘काँक्राचोरले काक्रा आफूले खाएर बियाँ सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान। सत्ता स्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ,’ पोखरेलले फेसबुकमा भनेका छन्।

एमालेका नेताहरूले बचाऊ गर्दा ओलीमाथि नक्कली शरणार्थी प्रकरणबारे प्रश्न उठिरहेको छ। विश्लेषक विनोद सिजापतिले पूर्वप्रधानमन्त्री ओली र शेरबहादुर देउवाले नै अनुसन्धानमा नसघाएर ढाकछोपमा लागेको आरोप लगाएका छन्। ‘दुई पूर्वप्रधानमन्त्री किन "चोरको खुट्टा काट" शैली अपनाउँदै "दल" तथा नेताको बचाउमा लागिपरेका हुन? दुवैको नैतिक कर्तव्य अनुसन्धान प्रक्रियालाई सहयोग गर्नु हो। अवरोध, अड्चन अथवा प्रभाव पार्ने कार्य मतियारी ठहरिन्छ,’ सिजापतिले ट्वीटमा भनेका छन्।

बुधवारको संसद् बैठकमा सांसदहरूले पनि अनुसन्धान क्रममा नाम आएका सबैमाथि अनुसन्धान हुनुपर्ने माग गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबैमाथि अनुसन्धान हुनुपर्ने बताएका छन्।

‘सलाम गर्ने मान्छे होस् वा सलाम लिने मान्छे। जसको नाम आएको त्यसको फेयर अनुसन्धान होस्। सरकारको परीक्षा छ। सरकारको परीक्षा सकेपछि न्यायालयको परीक्षा सुरु हुन्छ। घरको मान्छे होस् वा बार्दलीको चाहे नेता होस् या नाता,’ थापाले भने।

रास्वपाका सभापति रवि लामिछानेले पनि उक्त प्रकरणमा जोडिएका सबैमाथि अनुसन्धान हुनुपर्ने बताए।

‘जस जसको नाम आएको छ त्यसलाई छानबिनसम्म गर्न नहुने। किन डराएको प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो कहाँ गएर चेक गर्ने?,’ लामिछानेले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell