PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

एउटै 'केस'मा दोस्रो पटक भाटभटेनीका साहु मीनबहादुर गुरुङको फाइल 'खुल्यो' कसरी?



सविन ढकाल

एउटै 'केस'मा दोस्रो पटक भाटभटेनीका साहु मीनबहादुर गुरुङको फाइल 'खुल्यो' कसरी?

काठमाडौं : आज बिहानै नेपाल प्रहरीको एक्सन नेपालको निजी क्षेत्रलाई अत्याउने गरी आयो। देशको सबैभन्दा ठूलो डिपार्टमेन्टल स्टोर भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पुन: पक्राउ परे। बालुवाटारको बहुचर्चित प्रकरण 'ललिता निवास'ले  गुरुङलाई हिरासत पुर्‍याएको हो। आखिर धरौटीमा रिहा भएका गुरुङलाई एउटै केसमा जोडेर कसरी प्रहरीले समात्न सक्छ? धेरैले प्रश्न गरेका छन्।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले आज नक्सालबाट गुरुङलाई पक्राउ गरेको हो। गुरुङ भाटभटेनीका सञ्चालक हुन् जसको पछिल्लो आउटलेट जनकपुरमा सुरु भएको छ। भाटभटेनी नेपालको सबैभन्दा ठूलो चेन भएको सुपरमार्केट हो।

मुद्दाको श्रृङ्खला जारी

२०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ललिता निवासको १ सय १३ रोपनी जग्गा हिनामिना भएको भन्दै मुद्दा दायर भएको थियो। त्यतिखेर अख्तियारले माघ २२ गते १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीसमेत यस मुद्दामा तानिएका थिए। पूर्व सचिवहरु छवि पन्त, दिनेशहरि अधिकारी र दीप बस्‍नेतको नाम पनि यो सूचीमा  थियो। सो सूचीमा व्यवसाय क्षेत्रसँग जोडिएका अन्य नामहरु पनि थिए। उनीहरुले सधैं बालुवाटारको जग्गा आफूहरुले नगद दिएको किनेको दाबी गर्दै आएका थिए। 

२०७७ सालमा अख्तियारको मुद्दामा गुरुङलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यतिखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। ललिता निवास प्रकरणमा ७० जना भन्दा धेरैसँग धरौटी माग गरिएको थियो। एक जना शोभाकान्त ढकाल भने पूर्पक्षको लागि करागारमा छन्। अन्य केही भने साधारण धरौटीमा रिहा भएका थिए।

फिर्ता भएको फाइल खुलेपछि...

धरौटीमा रिहा भएकामध्ये हाइ प्रोफाइल हुन् मीनबहादुर गुरुङ। नेपालको आधुनिक रिटेल मार्केटका सबैभन्दा सफल व्यक्तिका रुपमा गुरुङको पहिचान स्थापित छ। शक्तिकेन्द्र र राजनीतिक पहुँचमा पनि उनी बलिया छन्। प्रत्यक्ष र परोक्ष रुपमा पनि उनको नाम नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकम दाहालसँग जोडिँदै आएको छ। व्यवसायिक साम्राज्य बिस्तारमा गुरुङले प्रचण्डसँगको सम्बन्धलाई नकार्दै आएका छन्। यतिखेर प्रचण्ड प्रधानमन्त्री छन्, गृह मन्त्रालयको चावी पनि उनकै दलसँग छ। त्यस्तो अवस्थामा मीनबहादुर गुरुङ समातिएका हुन्। यसले संशय गर्ने ठाउँ पनि छाडेको छ। त्यसै आधारमा प्रश्न उठेको हो - कसरी भयो उनको गिरफ्तारी?  

मीनबहादुर जोडिएको केसमाथि त्यतिखेर सीआईबीले नै अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो। उक्त अनुसन्धान रिपोर्ट चित्त नबुझेपछि सरकारी वकिल कार्यालयले फाइल प्रहरीलाई नै फिर्ता गरेको थियो। तत्कालीन सरकारी वकिल कार्यालय काठमाडौंका सह न्यायाधीवक्ता गंगाप्रसाद पौडेलले फाइल फिर्ता पठाएका थिए। 

'त्यतिखेर किर्तेमा पनि केहीको पक्राउ पूर्जी जारी भएको थियो तर अनुसन्धान नपुगेकोले फिर्ता पठाएका थियौं,' पौडेलले पहिलोपोस्टसँग त्यतिखेरको सन्दर्भ सुनाए।

खास त्यही फाइल अहिले खुलेको हो जसले गुरुङको हिरासत यात्रा तय गरायो। त्यही फाइलका आधारमा आजबाट प्रहरीले धरपकड सुरु गरेको हो। र, त्यसको पहिलो टार्गेटमा परेका हुन् - गुरुङ।

भाटभटेनीको पहिलो स्टोर भन्दा ठीक पूर्वपट्टि छ गुरुङको निवास। उनी आज त्यहीँबाट समातिएका हुन्। ललिता निवास प्रकरणमा सरकारी कागजपत्र किर्ते गरेको आरोप प्रहरीले लगाएको छ उनीमाथि। केन्द्रीय अनुसन्धान व्यूरो प्रमुख एआईजी किरण बज्राचार्यले किर्ते अभियोगमा उनी पक्राउ परेको पुष्टि गरिन्।

'ललिता निवासमा जोडिएको घटना नै हो उनको। अहिले हामीले त्यही प्रकरणसँग जोडिएको "लिखित किर्ते"मा पक्राउ गरेका हौं,' एआईजी बज्राचार्यले भनिन्।

व्यूरोले लिखित कसुरमा तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका प्रमुख तथा सह सचिव सहित केही कर्मचारीलाई पनि पक्राउ गरिएको छ। उनीहरुले ललिता निवास प्रकरणमा कागजपत्र किर्ते गर्न सहयोग गरेको प्रहरीको दाबी छ। उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। डिल्ली बजार मालपोत कार्यालयमा कार्यरत रहँदा गरेको किर्ते कामकै कारण उनीहरुलाई पक्राउ गरिएको हो। यसरी समातिनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी छन्।

किर्ते प्रकरणमा प्रहरीले अरुलाई पनि निगरानीमा राखेर खोजी गरिरहेको छ। यस प्रकरणमा सीआईबीले लामो समय लगाएर अनुसन्धान गरेको थियो। सरकारी वकिल कार्यालयले त्यतिखेर फाइल बुझ्न अस्वीकार पनि गरेको थियो। त्यतिखेर सीआईबीले २०० जनाभन्दा बढीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। जसमा रामकुमार सुवेदी र उनकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। बाँकी  प्रहरीको फरार सूचीमा थिए। मीनबहादुरलाई भने मुख्य योजनाकार बनाइएको थियो।

त्यही फाइल फेरी प्रहरीले खोलेको छ। अनुसन्धान प्रकृया प्रहरीले अब कसरी अगाडि लैजान्छ, पहिलेको केस फिर्ता भएजस्तै यसपाला प्रहरीले लैजाने केस कति बलियो हुन्छ, यसैले निर्धारण गर्नेछ मीनबहादुर गुरुङ र उनले खडा गरेको व्यवसायिक विरासतको भविष्य।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell