PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

उपल्लो डोल्पाका दुई गुम्बामा हतियारधारी समूहद्वारा लुटपाट : त्रासमा स्थानीय, लुटेरा खोज्दै प्रहरी



सहयोग रञ्जित

उपल्लो डोल्पाका दुई गुम्बामा हतियारधारी समूहद्वारा लुटपाट : त्रासमा स्थानीय, लुटेरा खोज्दै प्रहरी
उपल्लो डोल्पामा लुटपाट भएको गुम्बा।

काठमाडौं : उपल्लो डोल्पाका कलाकृति विशिष्ट खालका छन्। शताब्दी पुरानो सभ्यता झल्काउने अधिकांश सम्पदाहरु अहिले त्यहाँका गुम्बाहरुमा देखिँदैनन्। विदेशी सङ्ग्रहालयमा त्यहाँका बहुमूल्य पुरातात्विक सम्पदा प्रदर्शनीमा राखिएका छन्। पुरातात्विक सम्पदामाथि पटकपटक लुटेरा समूहको नजर पर्ने गरेको छ। पछिल्लो पटक यही महिनामा त्यहाँका दुईवटा गुम्बामा चोरी भएको छ।

असार ८ र ९ गते लगातार हतियारधारी समूह प्रवेश गरेर गुम्बामा लुटपाट गरेको स्थानीयले बताएका छन्।

असार ८ गते राति डोल्पाको शे फोक्सुण्डो गाउँपालिका वडा नम्बर ४ मा रहेको नाम्दो देचेन लापराङ गुम्बामा हतियारधारी लुटेरा समूह प्रवेश गरि लुटपाट र कुटपिट गरेको स्थानीयले बताए। यस्तै, असार ९ गते पनि शे फोक्सुण्डोकै चाखाङ गम्बाबाट पनि पुरातात्विक महत्वका विभिन्न सम्पदा चोरी भयो। र, गुम्बामा रहेका लामाहरुमाथि कुटपिट भयो।

लुटपाटको घटनाबारे जानकारी आएपछि डोल्पा जिल्ला प्रशासन कार्यालले सो क्षेत्रमा प्रहरी टोली पठाएको छ। घटना भएको ठाउँ निकै टाढा रहेकोले लुटपाटबारे विस्तृत विवरण आउन नसकेको डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले बताए। स्थानीयले भने करोडौंको धनमाल र पुरातात्विक वस्तुको चोरी भएको बताएका छन्। उनीहरुले नागरिकको सुरक्षा र पुरातात्विक सम्पदाको सुरक्षामा प्रशासनले ध्यान दिनुपर्ने बताइरहेका छन्।

लुटपाटको सूचना आएपछि सदरमुकामबाट प्रहरी टोली घटनास्थल पठाइएको छ। इनस्पेक्टरको कमान्डमा अनुसन्धान भइहेको डोल्पाका प्रहरी प्रमुख शिव बुढाथोकीले जानकारी दिए। उनले लुटेरा समूहको खोजी भइरहेको समेत बताए।

यता, शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले घटनाबारे पुष्टि गर्दै अहिले सीमामा कडाइ गरेर लुटेराहरुको खोजी भइरहेको जानकारी दिए। उनले पछिल्लो समय लुटपाटका घटना घटे पनि यही असारमा फेरि पुरानै शैलीमा लुटपाटका घटना भएको बताए।

'पहिला पनि यस्ता केही घटना हुन्थे। ५-६ वर्ष भयो यहाँ यस्तो घटना नभएको तर असार ८ र ९ गते दुईवटा गुम्बामा हतियार सहितका १५-१६ जना आएर लुटपाट गरेका छन्। उनीहरुको खोजी भइरहेको छ। हामीले प्रशासनसँग समन्वय गरेका छौं,' उनले भने।

स्थानीयका अनुसार लुटेरा समूहले गुम्बामा रहेका लामा र कामदारहरुलाई कुटपिट गरेका छन्। यार्सागुम्बा टिप्न जाने सिजन हुँदा गाउँमा कम मान्छे रहेको मौका छोपेर लुटेरा समूहले लुटपाट मचाएको स्थानीयले बताए। सो घटनापश्चात स्थानीय त्रासमा रहेका छन्।

यो घटनाबारे प्रतिनिधिसभामा डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढाले सरकारसँग प्रश्न पनि उठाएका छन्। बुढाले दुईवटा गुम्बामा हतियारधारी समूह प्रवेश गरेर लुटपाट गरेको भन्दै नागरिक र पुरातात्विक वस्तुको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने माग गरेका छन्।

डोल्पामा बसेर त्यहाँका पुरातात्विक महत्वका वस्तुबारे अध्ययन गरिरहेकी एमिलिन स्थिमले भने पछिल्लो समय ती क्षेत्रमा लुटपाटका घटना बढेको बताइन्। युनिभर्सिटी अफ ग्लासगोमा आर्ट क्राइम र क्रिमिनोलोजीका लेक्चरर डा. एमिलिन दुई हप्ता अघि डोल्पामा थिइन्। अहिले त्यहाँबाट फर्किएकी उनी यो घटनाका कारण चिन्तिति छिन्।

डोल्पाबाट चोरिएका मूर्तिबारे बालकथा लेखेकी उनले भनिन्, 'विगत १० वर्षदेखि हिमालय क्षेत्रका सांस्कृतिक वस्तुको विदेशी मागका कारण डोल्पामा चोरी र हिंसाका घटना बढेका छन्। डोल्पाको सांस्कृतिक सम्पदा एकदमै अचम्मको छ। तर वर्षौंदेखि लुटपाट भइरहेकाले डोल्पाका पुरातन गुम्बाहरूमा धेरै वस्तु पाइँदैन। विदेशका संग्राहलयहरुमा ती वस्तु छन्।'

उनले पुरातात्विक वस्तुको संरक्षणका लागि सरकारले पहलकदमी लिनुपर्ने बताइन्।

'यस क्षेत्रमा कानून कार्यान्वयनको पहल बढाउन र बाँकी रहेका सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न सरकारले अब पहल गर्नु जरुरी छ। डोल्पा दुर्गम क्षेत्र हो तर काठमाडौं उपत्यका जत्तिकै सहयोग र संरक्षणको हकदार छ। बजारले अप्रमाणित, लुटिएका सांस्कृतिक वस्तुहरू खरीद गर्न बन्द गर्नुपर्छ,' उनले भनिन्।

सम्बन्धित समाचार : नेपालबाट गायब एउटै मूर्तिको 'मिलियन डलर' माथि कारोबार : सुहाउँछ कहाँ मन्दिरमा कि म्युजियममा?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell