PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

बालकृष्ण खाणको निलम्बनबारे कांग्रेस केन्द्रीय समितिमा छैन एजेन्डा!



पहिलोपोस्ट

बालकृष्ण खाणको निलम्बनबारे कांग्रेस केन्द्रीय समितिमा छैन एजेन्डा!
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसको विधानमा रहेको परिच्छेद - ७ को दफा २१ को उपदफा १२ मा केन्द्रीय कार्यसमितको बैठकबारे भनिएको छ - केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एक पटक बस्नेछ।

कांग्रेसको पछिल्लो केन्द्रीय समिति २०७९ भदौमा बसेको थियो। त्यसयता कांग्रेस केन्द्रीय समिति विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको थियो। पछिल्लोपटक पुसमा बोलाइएको बैठक सरकार निर्माण प्रक्रियाका कारण स्थगित भयो। वैशाखमा बस्ने तयारी रहेको केन्द्रीय समिति बैठक बिथोल्यो केन्द्रीय सदस्य बालकृष्ण खाण पक्राउ परेपछि।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण वैशाख २७ गते पक्राउ परे। त्यसपछि भने बैठक झनै अनिश्चित बन्यो। खाण पक्राउ परेको केही दिनमै बैठक बस्ने चर्चा चलेको थियो। यद्यपि उनलाई कारबाहीको माग उठ्ने डरले त्यतिबेला केन्द्रीय समिति बोलाइएन। खाणको मुद्दा किनारा लागेपछि मात्रै बैठक बोलाउने तयारीमा कांग्रेस लाग्यो।

देउवा नै उदासीन

पूर्व गृहमन्त्रीसमेत रहेका खाण पार्टी सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य हुन्। पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीका आकांक्षी रहेका उनलाई त्यतिबेला देउवाले थुम्थुमाएपछि आकांक्षा त्यागेका थिए। त्यसैले खाण निर्दोष रहेको देउवाले दाबी गर्दै आएका छन्। पुर्पक्षका लागि थुनामा जानुअघि खाण पक्षका नेता देउवा निवासमा डेलिगेसन गएका थिए। उनीहरुको माग थियो – खाणलाई तत्काल हिरासतबाट छुटाउनु। सोही भेटमा देउवाले ती नेताहरुसँग भनेका थिए - बालकृष्ण पैसामा बिक्ने मान्छे हैन। मैले चिनेको मान्छे हो। उहाँको प्रमाण फेला पारेको छैन। कतै चुक्या हो कि भन्ने थियो। तर अहिलेसम्म प्रमाण भेटिएको छैन।

जेठमै पत्रकार सम्मेलन गरेर अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले खाणले आफैंले निर्दोष प्रमाणित गर्छु भनिरहेकाले निलम्बन नगरेको बताएका थिए। ‘निर्दोष रहेको उहाँले भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको हो,’ जेठ २ मा अर्थमन्त्री महतले भनेका थिए।

देउवाको बोली सुनेपछि खाण निकट नेता ढुक्क भएर फर्कन्थे। जेठमा देउवाले यस्तो भने पनि असार १ मा खाणलाई थुन्ने आदेश आयो।

खाण थुनामा छन्। कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। कांग्रेस बैठकका लागि देउवासहित दुई महामन्त्री एजेन्डा तयमा व्यस्त छन्। सोमबार साँझ पनि देउवा निवासमा पदाधिकारीको बैठक बसेर एजेन्डाबारे छलफल गरेका थिए।

मंगलबार पनि दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा देउवा निवासमा एजेन्डा तयका लागि छलफल गर्न पुगेका छन्।

थुप्रै एजेन्डा भए पनि यसपटक केन्द्रीय समितिमा दुई मुख्य एजेन्डाबारे छलफल हुने तय भएको छ। ती एजेन्डा हुन् - नीति अधिवशेन र पार्टीलाई सुदृढीकरण गर्ने विषय।

कांग्रेसको १४औं महाधिवेशन २०७८ मंसिर २४ मा सुरु भएको थियो। मंसिर २९ मा शेरबहादुर देउवा दोस्रोपटक सभापतिमा निर्वाचित भए। उक्त महाधिवेशनमा नीतिबारे कुनै छलफल हुन नसकेपछि ६ महिनाभित्र नीति अधिवेशन गर्ने सहमति गरेको थियो। तर महाधिवेशन भएको दुई वर्ष पूरा हुन लाग्दा बल्ल नीति अधिवेशनको बहस चलेको हो। यद्यपि कतिपय केन्द्रीय सदस्यले नीति अधिवेशन वाहियात विषय भएको तर्क गरेका छन्। देउवा नेतृत्व असफल भइसकेको अवस्थामा उनको नेतृत्वमा हुने नीति अधिवेशनको कुनै औचित्य नहुने ती नेताहरुको दाबी छ।

'हामीलाई नीतिभन्दा पनि रणनीति चाहिएको हो। नीति प्रष्ट छ। जहाँसम्म लाग्छ नीति अधिवेशन भनेको अहिलेकै नेतृत्वलाई फेरि स्थापित गर्न हो। शेरबहादुर दाइकै नेतृत्वमा पार्टी छ। 'हाम्रै नीति, हाम्रै नेतृत्व' भनेर जाने कुरा हुन्छ। जुन जनताले अस्वीकार गरिसकेको कुरा हो। नीति महाधिवेशन भनेको टालटुल गरेर यही नेतृत्वलाई ''भ्यालिडेट'' गर्नु हो,' केन्द्रीय सदस्य प्राडा गोविन्द पोखरेलले नीति अधिवेशनबारे भनेका छन्।

कोषाध्यक्ष छान्ने विषय के होला?

पार्टीको विधानको परिच्छेद – ७ को केन्द्रीय कार्यसमिति सम्बन्धी दफा २१ को उपदफा ४ मा कोषाध्यक्ष चयनबारे भनिएको छ - केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष, एक।

तर अहिलेसम्म कांग्रेसले कोषाध्यक्ष छानेको छैन। यसैगरी कांग्रेसले केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन। यतिमात्र हैन पार्टीका विभाग पनि गठन भएका छैनन्। यी विषय एजेन्डामा नरहेको बताइएको छ।

खाणलाई होला कारबाही?

बुधबारको केन्द्रीय समितिमा खाणलाई कारबाहीबारे छलफल होला? धेरैको प्रश्न यही रहेको छ। शरणार्थी प्रकरणमै पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गरिसकेको छ। तर खाणलाई भने कांग्रेसले कारबाहीको कुनै संकेत देखाएका छैनन्।

केन्द्रीय सदस्य खाणलाई कारबाही गर्ने विषयमा बैठकमा कुनै एजेन्डा नरहेको एक पदाधिकारीले भने। 'खाणलाई कारबाहीबारे कुनै तयारी छैन। कसैले उठाउन सक्ला तर यो विषय नेतृत्वले सुन्ने देखिँदैन,' ती पदाधिकारीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell