PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हेटौंडा भेलाबाट देउवालाई राहत, पौडेलसँग बिच्किए सिटौला र प्रकाशमान, किन कमजोर पौडेल पक्ष?



नेत्र तामाङ

हेटौंडा भेलाबाट देउवालाई राहत, पौडेलसँग बिच्किए सिटौला र प्रकाशमान, किन कमजोर पौडेल पक्ष?

हेटौंडा : जिल्ला - जिल्लाका सभापतिको 'फिडब्याक' लिन आयोजना गरिएको भनिए पनि नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलाको मुख्य उद्देश्य पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गर्नु थियो।

पौडेल पक्षधरका सभापतिहरुको बाहुल्य रहेको हुनाले उनीहरुले हेटौंडामा देउवालाई र्‍याख‍र्‍याख्ती पार्ने योजना बनाएका थिए। ७५ जिल्ला सभापतिमध्ये ३२ सभापतिमात्र देउवा पक्षका थिए। यसैले पनि पौडेल पक्ष ढुक्का थियो, जिल्ला सभापतिहरुले देउवाको जमेर आलोचना गर्नेछन्।

उदघाटनमै कमजोर पौडेल पक्ष

सभापतिहरुको भेलाको उदघाटन असार ५ गते ढिला गरी भयो। अघिल्लो दिन केन्द्रीय समिति हेटौंडामै राखिएकाले बिहानै उदघाटन हुने तयारी थियो। तर दिउँसोमात्र उदघाटन कार्यक्रम भयो। उदघाटन कार्यक्रममा आमन्त्रित सदस्य विजयकुमार गच्छदारले मञ्चमा स्थान पाउँदा पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौला मञ्चमा आएनन्। पूर्व महामन्त्री प्रकाशमान सिंहलाई भने कर गरेरै मञ्चमा बोलाईयो। शुरुमा सिंह पनि मञ्चमा जान मन गरिरहेका थिएनन्।

गच्छदारले सम्बोधन गर्न पाउँदा पौडेल पक्षलाई सहयोग गर्दै आएको भनिएको सिंह र सिटौलाले सम्बोधन गर्न पाएनन्। उदघाटनमा मकवानपुरका जिल्ला सभापति इन्द्र बानियाँले आयोजकको तर्फबाट सम्बोधन गरे। त्यसपछि महामन्त्री शशांक कोइराला, गच्छदार, उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवाले सम्बोधन गरे।

आफूहरुले ठाउँ नपाएपछि सिटौला र सिंहले पौडेलसँग असन्तुष्टि पोखेको चर्चा समापनसम्म चलिरह्यो। दुबै नेता कार्यक्रमस्थलबाट फर्केकाले पनि यो पुष्टि भइसकेको थियो।

उदघाटन सत्र छोटो बनाउने र सोही दिन बन्दसत्र सुरु गर्ने तयारी गरेपछि केन्द्रीय समितिले नै बनाएको सेड्युल पौडेल पक्षले मानेका थिए। उदघाटन सत्र छोटो नै बनाइयो। तर ५ गते बन्दसत्र सुरु गरिएन। यसले गर्दा पौडेलसँग सिटौलाले प्रश्न नै गरेका थिए, 'तपाई बोल्न पाए हुने रहेछ, हैन!'

बन्दसत्रमा देउवा र पौडेलको आलोचना


जिल्ला सभापतिहरुको बन्दसत्र ६ र ७ गरी दुई दिन चल्यो। दुई पक्षमा बाँडिएका जिल्ला सभापतिहरुले सभापति देउवा र वरिष्ठ नेता पौडेलको चर्को आलोचना गरे। नेतृत्व कमजोर भएको, टिकट बाँड्दा ध्यान नदिएको, आइजी काण्ड र महाभियोगमा कांग्रेसले गल्ती गरेको विषयमा देउवामाथि घोचपेच भयो। 

यता पौडेललाई भने हार स्विकार्न नसकेको र गुट बनाउन सक्रिया भएको भन्दै आलोचना गरियो। 

दुबै नेताले समापन समारोहमा आफ्नो गल्ती स्विकारे। देउवाले आफुले टिकट बाँड्दा धेरैको दबाव थेग्न नसकेको बताए। 'जो पनि आएर चुनाव जित्छुजित्छु भन्छ। मैले त जित्छ नै होला भनेर दिएँ। अहिले आएर थाह भयो। दबाव झेल्न नसक्नु मेरो कमजोरी भयो,' देउवाले भने।

यता प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाभियोग भने सही नै भएको प्रतिक्रिया दिए देउवाले। कीर्ते काम गर्नेलाई कानुनले नछाड्ने भएकोले र त्यस्तोलाई सदर गर्ने अदालतको प्रमुखलाई कारबाही गर्नै पर्ने भएकोले महाभियोग लगाएको देउवाको धारणा थियो।

पौडेलले भने आफूले हार स्विकारिसकेको र कुनै गुट नरहेको प्रतिक्रिया दिए। पार्टी बलियो बनाउन आफू निस्वार्थ रुपमा लाग्ने उदघोष हेटौंडाबाट उनले गरे।

समापन समारोहमा केन्द्रीय सदस्य महालक्ष्मी अर्याल(डिना), प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाण, सहमहामन्त्री डा प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, कोषाध्यक्ष सीतादेवी यादव, वरिष्ठ नेता पौडेल र सभापति देउवाले सम्बोधन गरे।

२१ बुँदेमा नेतृत्वलाई छैन विरोध, सरकारको कडा आलोचना


पार्टी सभापतिलाई हस्तान्तरण गर्दा १९ बुँदा रहेको हेटौंडा घोषणापत्र पछि २१ बुँदे बनाइयो। उक्त घोषणापत्रमा पार्टी नेतृत्वलाई आलोचना गरिएको छैन। ७५ जिल्लाका सभापतिमध्ये ६६ जनाले देउवाको आलोचना गरिए पनि २१ बुँदेमा ती समेटिएनन्।

बरु घोषणापत्र सरकार प्रति आक्रमक देखियो। सरकार सर्वसत्तवाद र अधिनायकवादतिर उन्मुख रहेको भन्दै २१ मध्ये ९ वटा बुँदा सरकारको विरोधमै खर्चेको छ।

भेलाको औचित्यमाथि प्रश्न

विधानमै नरहेको सभापतिहरुको भेला दुईदुई वर्षमा गर्नुपर्ने प्रस्ताव हेटौंडा घोषणापत्रमा उल्लेख छ। यो चौथो राष्ट्रिय भेला हो। जिल्ला सभापतिहरु र केन्द्रीय समितिबीचको छलफल बढाउने यस भेलाको औचित्यमाथि पनि प्रश्न उठ्न थालेको छ। एजेन्डाबिना र जिल्ला तहका नेताहरुसँग छलफलै नगरी जिल्ला सभापतिहरुले मनोमानी ढंगले आफ्नो धारणा भेलामा प्रस्तुत गरेको कतिपयको आरोप रहँदै आएको छ।

सम्बन्धित समाचार

कुनै पनि हालतमा कांग्रेसलाई नम्बर एक बनाउनुपर्छ, जाली काम गर्नेलाई महाभियोग : देउवा

पौडेलले दिए एकताको सन्देश : मेरो कुनै गुट छैन, पार्टी बलियो बनाउन निस्वार्थरुपमा लाग्छु

कांग्रेसलाई 'नम्बर वान' बनाउन कम्युनिस्टबाट दुई वटा काम सिक्नैपर्छ : प्रकाशशरण महत

कांग्रेस सभापति भेलामा घोषणापत्र पेसः सरकार लम्पसारवाद र सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप

कांग्रेस जिल्ला सभापतिहरुको 'फिडब्याक'को दस्तावेज 'हेटौंडा घोषणापत्र' आउँदै, प्रस्तावका रुपमा मात्र लगिने

'कांग्रेस हारको आरोपप्रत्यारोप खेल हारेपछि गोलकिपर र स्ट्राइकरले एकले अर्कालाई आलोचना गरेजस्तो'

गुट मिलाउन कांग्रेस पदाधिकारीले गरे जिल्ला सभापतिलाई गुहार, के होला भेलामा?

चर्को गर्मीमा कांग्रेस जिल्ला सभापतिहरुको भेला, महामन्त्री र कोषाध्यक्ष अनुपस्थित, हेर्नुस् फोटोमा

देउवाको गुनासो : साथीहरुले कतिपय कुरा अतिरञ्जित तरिकाले उठाए

रामचन्द्र पौडेलको जवाफ : हातमा हात मात्र मिलाएर एकता हुँदैन

हारको जिम्मेवार हामी आफैं, अब पार्टीलाई वैचारिक रुपमा बलियो बनाउनुपर्छ : निधि

कांग्रेस बलियो बनाउन म पार्टी नै लिएर आएको छु, तपाईँहरु किन मिल्नुहुन्न? : विजय गच्छदार

उत्तर कोरिया र अमेरिका त मिलिसके, कांग्रेसमा किन यस्तो तिक्तता? : महामन्त्री शशांक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell