PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

दुई वर्षपछि लर्ड्समा खेल्न जाँदै नेपाली क्रिकेट टोली



गोविन्दराज नेपाल

दुई वर्षपछि लर्ड्समा खेल्न जाँदै नेपाली क्रिकेट टोली

काठमाडौं : नेपाली क्रिकेट टिमले आज भन्दा ठ्याक्कै दुई वर्ष अगाडी क्रिकेटकको मक्का मानिने बेलायतको लर्ड्समा एमसीसी विरुद्ध खेल्दै डेब्यु गरेको थियो।

दुई वर्षपछि नेपाल पुन: लर्ड्समा खेल्न आज लण्डन प्रस्थान गरेको छ। नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक वान डे इन्टरनेशनल स्ट्याटस पाएपछि नेपालको यो पहिलो विदेश टुर हो। नेपालले दुई साता भन्दा लामो युरोप टुरअन्तर्गत लर्ड्समा ट्राइ सिरिज खेल्नेछ भने त्यसपछि नेदरल्याण्ड्ससँग पहिलो ओडिआई सिरिज खेल्नेछ।

मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) पहलमा त्यतिबेला नेपालले पहिलो पटक लर्ड्समा खेल्ने मौका पाएको थियो। पारस खड्काको कप्तानीमा रहेको नेपालले ग्लेन फिलिप्सको कप्तानीमा रहेको एमसीसीलाई ४१ रनले पराजित गरेको थियो।

ह्वाइट जर्सीमा खेलेको उक्त खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाउँदा पारस खड्काले ३० तथा शरद भेषावकरले २७ रन बनाएका थिए। यस्तै बलिङमा सागर पुन र बसन्त रेग्मीले ३-३ तथा सोमपाल कामीले २ विकेट लिएका थिए।

२०१६ जुलाई १९ मा उक्त खेल भएको थियो। दुई वर्षपछि २०१८ जुलाई १९ मै नेपाली टोली लण्डनको लागि प्रस्थान गरिसकेको छ। यस पटक नेपालले टी-२० अन्तर्राष्ट्रिय मान्यतासहित दुई खेल खेल्नेछ। जुलाई २९ मा हुने एक दिने ट्राइ सिरिजमा नेपाल, एमसीसी र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेलले टी-२० अन्तर्राष्ट्रिय मान्यता पाउने घोषणा भइसकेको छ। एमसीसीको कप्तानी श्रीलंकन पूर्व कप्तान माहेला जयवर्दनेले गर्दैछन्।

दुई वर्षअघि युके टुरमा गएका १५ मध्ये ९ खेलाडी अहिलेको टिममा पनि छन्। त्यतिबेला नेपाली टिमसँगै युके गएका तर एमसीसीसँग खेल्न नपाएका सुबास खकुरेल पनि पुनरागमन गर्दै यस पटक टिममा परेका छन्। खकुरेल १५ सदस्यी टोलीमा रहेपनि लर्ड्समा खेल्नबाट भने बन्चित रहेका थिए। यस्तै दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अनिल कुमार शाह, रोहित कुमार पौडेल, ललित भण्डारी, ललित राजवंशी पहिलो पटक लर्ड्समा खेल्न जाँदैछन्। यी ६ खेलाडीले नेदरल्याण्ड्ससँग खेल्ने पाए टी-२० अन्तर्राष्ट्रियमा डेब्यु हुनेछ। 

दुई वर्षअघि लर्ड्समा एमसीसी विरुद्ध ब्याटिङ गर्दै कप्तान पारस खड्का

दुई वर्षअघि टिममा रहेका विनोद भण्डारी यस पटक वैकल्पिक खेलाडीका रुपमा रहेका छन् भने सागर पुन, अनिल कुमार मण्डल, राजु रिजाल, राजेश पुलामी मगर र विक्रम सोब भने अहिले टिममा छैनन्। यी खेलाडी क्लोज क्याम्पमा समेत परेका थिएनन्।

नेपाली टिमका युवा स्टार सन्दीप लामिछानेले तेस्रो पटक लर्ड्समा खेल्ने तयारीमा छन्। दुई वरषअघि लर्ड्समा डेब्यु गर्दै ६ ओभरमा ४५ रन खर्चेर १ विकेट लिएका सन्दीपले लर्ड्समै आफ्नो टी-२० अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरिसकेका छन्। उनले गत मे ३१ मा भएको आइसीसी विश्व ११ र वेष्ट इन्डिजबीचको च्यारिटी खेलमा विश्व ११ को तर्फबाट खेलेका थिए। उक्त खेलमा सन्दीपले १ ओभर मात्र बलिङ गर्ने अवसर पाए। सन्दीपले १२ रन खर्चिएका थिए भने कुनै विकेट लिन सकेनन्। दशौँ नम्बरमा ब्याटिङ समेत गरेका सन्दीपले ५ बल खेल्दै नटआउट ५ रन बनाए।

उक्त खेलको लाइभ कमेन्ट्री गरिरहेकाहरुले सन्दीपको लागि यो उत्कृष्ट अवसर भएको बताएका थिए। यस्तै खेलअघि पनि सन्दीप र अफगानिस्तानका स्टार रासिद खानलाई सँगै राखेर कमेन्टेटरले कुराकानी गरेका थिए।

लर्ड्समा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्नुअघि सन्दीपले इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका थिए। दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीपले ३ खेलमा ५ विकेट लिएका थिए। आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेर नेपाललाई विश्वमा चिनाउन सफल सन्दीप लर्ड्समा गएर आधिकारिक टी-२० इन्टरनेशनल क्रिकेट खेल्ने पनि पहिलो नेपाली खेलाडी बनेका छन्।
 

लर्डसमा चल्यो नेपाली बलरको जादू, एमसिसी ४१ रनले पराजित

लर्डसमा नेपालको विजयी प्रदर्शन : भुल्न नसकिने ८ तथ्य

लर्डसमा पहिलो चौका ज्ञानेन्द्रको, पहिलो छक्का पारसको

लर्ड्समा खेल्न पाउनु ठूलो प्ल्याटफर्म हो : सन्दीप

टी-२० इन्टरनेशनल क्रिकेट खेल्ने सन्दीप १८औँ नेपाली खेलाडी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell