PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

कांग्रेस जिल्ला सभापतिमाथि भएको आक्रमणबारे बुझ्न देउवा भोलि बाँके जाँदै



पहिलोपोस्ट

कांग्रेस जिल्ला सभापतिमाथि भएको आक्रमणबारे बुझ्न देउवा भोलि बाँके जाँदै

काठमाडौं : नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालामाथि भएको आक्रमणबारे बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि बाँके पुग्दैछन्।

यस घटनाबारे आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले उक्त जानकारी दिएका हुन्।

कांग्रेसको दोस्रो चरणको जागरण अभियानका क्रममा हिजो बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र 'ख'को खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरस्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम चलिरहँदा नेकपाका कार्यकर्ताले आक्रमण गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ। आक्रमणमा परी बाँके कांग्रेस सभापति कोइरालाको हात फ्याक्चर भएको थियो।

गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनामा नेकपा कार्यकर्ताको संलग्नता नरहेको बताएका छन्।

यद्यपि कांग्रेसले गृहमन्त्री थापालाई भोलि यस घटनाको विरोध गर्दै ज्ञापनपत्र बुझाउने भएको छ।

'बाँके घटना लगायत शान्ति सुरक्षाको खस्किएको स्थिति र सरकार संरक्षित गुण्डागर्दीकाविरूद्ध सम्बन्धित निकायहरूमा ज्ञापन पत्र दिने कार्यक्रम तय भएको छ' प्रवक्ता शर्माले भने, 'काठमाडौँ उपत्यकाका हकमा काठमाडौँ, ललितपुर र भक्तपुरका नेपाली कांग्रेस जिल्ला सभापतिहरूको अगुवाइमा गृहमन्त्री मार्फत नेपाल सरकारलाई बुझाइने छ।'

घटनाको विरोधमा बाँकेमा आज दिउँसो प्रदर्शन गरिएको छ। नेपालगञ्जको वीपी चोकदेखि जिल्ला पार्टी कार्यालय खजुरा रोडसम्म प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ।

त्यसैगरी कांग्रेसले भोलि ३ बजे माइततीघर मण्डलामा धर्नासमेत दिने जनाएको छ।

यो पनि पढ्नुहोस् :

बाँके घटनामा गृहमन्त्रीको जवाफ, नेकपाका कार्यकर्ताले कांग्रेसको सभा बिथोलेको हैन

कांग्रेस बाँकेका सभापति कुट्ने तीन समातिए, तीन फरार

नेकपाको आक्रमणमा परी कांग्रेस जिल्ला सभापति कोइराला घाइते, 'साउथ इन्डियन फिल्म शैलीमा आक्रमण गरे'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell