PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

काठमाडौं कम्युनिस्टमय हुँदा कांग्रेसलाई पीर : के सरकार चिनियाँ पथमा हो?



नेत्र तामाङ

काठमाडौं कम्युनिस्टमय हुँदा कांग्रेसलाई पीर : के सरकार चिनियाँ पथमा हो?

काठमाडौं : सोमवार काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली कांग्रेस प्रशिक्षण विभागका निर्देशक पुरुषोत्तम दाहाल कांग्रेस नेता कार्यकर्तालाई भन्दै थिए, 'चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका सबै मेयरलाई चीन लगेर धमाधम चिनियाँ मोडलको कम्युनिज्मबारे प्रशिक्षण दिइसक्यो।'

नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको नेकपा सरकारका काण्डैकाण्ड किताब विमोचन गर्दै दाहालले यसबारे कांग्रेस सचेत हुनुपर्ने धारणा राखिरहँदा प्रशिक्षण चीनमामात्र होइन, नेपालमै जारी थियो - सत्तारुढ दलको उच्चतम तहका नेतासहित। 

ने क पाका नेता कार्यकर्ता गरी १० हजार जनालाई मार्क्सवाद पढाउन लागेको र ने क पाका अध्यक्ष पुष्पकमल दाहालले भने झैं 'ड्यामका ड्याम निर्णय गर्ने' शक्ति आर्जन गर्न ने क पा लागि परिसकेको पत्रकार तथा विश्लेषक पुरुषोत्तम दाहालको चेतावनी थियो। कम्युनिस्ट शासनसत्तालाई उनले यसको मानकका रुपमा अर्थ्याइरहेका थिए। 

कांग्रेसका अर्का नेता एनपी साउदले सत्तारुढ दल ने क पा झन्डै चिनियाँ कम्युनिस्ट पार्टीको भगिनी संस्थाजस्तै भएको 'गम्भीर' आरोप लगाउन पनि भ्याए। राजनीतिमा यस्ता आरोप र प्रत्यारोप जारी नै रहन्छ। तर, उनको आरोपको प्रतिविम्ब भने राजधानीमा जारी कार्यक्रमहरुमा देखिँदै थियो।

 

चिनियाँ प्रशिक्षण काठमाडौंमै

औपचारिक कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुले नेकपाको विरोध गरेको केही घन्टापछि राजधानीको पाँचतारे होटलमा चिनियाँ मोडलको कम्युनिस्ट शासन शैलीको प्रशिक्षण सुरु भयो। प्रशिक्षणका लागि चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थावो नै सहभागी थिए।

ने क पाका केन्द्रीय पदाधिकारीसहित अधिकांश केन्द्रीय नेता र कार्यकर्ता सहभागी कार्यक्रमको नाम थियो- ‘सि जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल'

छलफलमा ने क पाका ४०० नेता कार्यकर्ता र चिनियाँ कम्युनिस्ट पार्टीका ३० भन्दा बढी नेता सहभागी रहेको बताइएको छ।

मंगलवारसम्म चल्ने प्रशिक्षण कार्यक्रमको उदघाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाषणको मुल खण्ड चिनियाँ कम्युनिस्ट पार्टी र सि जिनपिङको औधी प्रशंसामै खर्च गरे।

कम्युनिस्ट पार्टीले देश विकासको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई चिनियाँ कम्युनिस्ट पार्टीले झूटो साबित गरिदिएको उनको दाबी थियो। भने, 'कम्युनिस्ट पार्टीले क्रान्तिको नेतृत्व गर्न सक्छन् तर विकासको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई चिनियाँ कम्युनिस्ट पार्टीले झूटो साबित गरेको छ।'

चिनियाँ कम्युनिस्ट पार्टी मार्क्सवादको रक्षामा अब्बल देखिएको उल्लेख गर्दै यस विकासको श्रेय सि जिनपिङलाई नै जाने ओलीको भनाई थियो।

'विकास गरेर विश्वलाई नै चकित तुल्याएको छ। चिनियाँ मोडल दिगो हुने पक्का देखिन्छ। यसको श्रेय सि जिनपिङलाई नै जान्छ,' प्रधानमन्त्रीले प्रशिक्षणको उदघाटनमा भने।

नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि चिनियाँ कम्युनिस्ट नेताको प्रशंसा गर्न कुनै कन्जुस्याइँ गरेनन्। उनले चिनियाँ कम्युनिस्ट पार्टीका ९ करोड सदस्यले अनुशासनको पालना गरेर नै सफलताको त्यो उचाइ हासिल गर्न सफल भएको बताए।

अध्यक्ष प्रचण्डले नेपाल एक चीन नीतिमा अडिग रहेको तर सार्वभौमसत्तामाथि कुनै पनि हस्तक्षेप नसहने बताए।

प्रशिक्षण कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै स्कुल विभागका प्रमुख ईश्वर पोखरेलले नेपाल समाजवाद उन्मुख आर्थिक विकासको बाटोमा रहेको बताए। उनले नेपालका कम्युनिस्ट पार्टीहरु जुट्दै फुट्दै अहिले फेरि जुटेको उल्लेख गर्दै नेपालमा कम्युनिस्ट पार्टीले गरेको प्रगतिको फेहरिस्त नै पेश गरेका थिए।

 

चिनियाँ विकासको मोडलबारे डकुमेन्ट्री र सि जिनपिङको किताब

उद्घाटन कार्यक्रम सोमवार दिउँसो ४:४५ का लागि तोकिएको थियो। तर, प्रधानमन्त्री लगायत अतिथि ढिला हुने देखिएकाले होला, कार्यक्रमस्थलमा चीनको विकासबारे बनाइएका डकुमेन्ट्री प्रदर्शन गरिएको थियो। पटकपटक दोहोर्‍याएर देखाइएको डकुमेन्ट्रीको आशय थियो - कम्युनिस्ट पार्टीको पहलमा भएका विकास र गरीबी निवारणमा चिनियाँ कम्युनिस्ट पार्टी कति मेहनत र दृढतापूर्वक लागेको छ भन्ने कुरा।

कम्युनिस्ट पार्टीको नेतृत्वमा विकास सम्भव छ भन्ने विषयलाई प्रस्ट्याउने डकुमेन्ट्री नेपाली भाषामै देखाइएको थियो भने डकुमेन्ट्रीले देखाउन खोजेको यही सन्देशलाई पछि प्रधानमन्त्री ओलीले पनि आफ्नो मन्तव्यमार्फत प्रष्ट्याए।

प्रशिक्षणमा चिनियाँ राष्ट्रपति सि जिनपिङको 'द गभर्मेन्स अफ चाइना भोलुम २' पुस्तकको अंग्रेजी संस्करण सित्तैंमा बाँडिएको थियो। उक्त पुस्तकको मूल्य ११.३६ अमेरिकी डलर छ। पुस्तकमा सि विचारधारा र चीन विकासमा उनको भावी योजनाबारे चर्चा गरिएको उल्लेख छ।

प्रशिक्षण कार्यक्रममा सि जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा राखे सोङ थावोले। उनले राष्ट्रपति समेत रहेका चिनियाँ कम्युनिस्ट पार्टी प्रमुख सि जिनपिङले पार्टी सुदृढ पार्न र शुद्धीकरण गर्न कडा नीति अवलम्बन गरेको उल्लेख गरे। चिनियाँ कम्युनिस्ट पार्टी र ने क पा बीचको सम्बन्धका आधार रहेका चार दृष्टिकोण पेश गर्दै थावले भने, 'अब हामी पहिलेभन्दा कडा नीति लिएर पार्टी बनाउँदैछ। हामीले पार्टीमा आत्मक्रान्ति गर्दैछौं।'

थावले नेकपा पनि यो नीति लागू गर्ने तयारीतिर लागिसकेको उल्लेख गरे।

जनतालाई सेवा दिनु नै कम्युनिस्ट पार्टीको सर्वोच्च सिद्धान्त भएको उल्लेख गर्दै थावले तथ्यमा सत्य खोज्नु मार्क्सवादको मूल कुरा भएको बताए।

 

चीनतिर ढल्किएकै हो ने क पाको सरकार?

प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको लावालस्कर सि विचारधारा कार्यक्रममा देखिएको थियो। कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड र स्कुल विभागका प्रमुख एवं उपप्रधान तथा रक्षामन्त्री पोखरेलले पटकपटक नेपाल एक चीन नीतिमा अडिग रहेको बताइरहे। प्रधानमन्त्री ओलीले नेपालको भूमि र आकाश चीनविरुद्ध प्रयोग हुन नदिने वचनवद्धता दोहोर्‍याए।

कम्युनिस्ट पार्टी स्थापनाको झन्डै १०० वर्ष, चीन स्थापनाको ७० औं वर्षको उपलक्ष्यमा यो कार्यक्रम हुँदैगर्दा र कांग्रेस नेताहरुको टिप्पणी सुन्दा सरकार चीनतिर ढल्किएको अनुभूति हुनु सामान्य नै हो। आज पनि दुई देशका पार्टीबीच थप छलफल भयो भने अन्त्यमा ने क पा विदेश विभागका प्रमुख वरिष्ठ नेता माधव नेपाल र सोङबीच दुईपक्षीय सहमतिमा हस्ताक्षर पनि।

औपचारिक सम्झौतापत्रमा सहमति गर्न होटल मेरियटमा कार्यक्रम आयोजना गरिएको थियो। सोङले नेकपालाई काठमाडौंमै आएर सिकाउने र दुई स्कुललाई सहयोग गर्ने वचनसमेत सोमबारै दिइसकेका छन्। प्रधानमन्त्री ओलीले मार्क्सवादलाई नेपाली परिवेशअनुसार प्रयोग गरिरहेको बताए पनि सोङको भनाईले नेपाल सरकार कम्युनिस्ट शासनलाई अझ बलियो बनाएर लैजाने बाटोमा लागेको प्रष्ट हुन्छ।

भदौ २२ मा चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी पाकिस्तानको इस्लमावादबाट काठमाडौं आइपुगेपछि झस्केको कांग्रेसले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलाई समेत गम्भीर चासोका साथ हेरिरहेको देखिएको छ। सि जिनपिङको भ्रमण नेपाललाई चिनियाँ मोडलको कम्युनिस्टतिर ढल्काउने अस्त्रको रुपमा प्रयोग हुनसक्ने आशंका कांग्रेसले गरिरहेको छ।

परराष्ट्र मन्त्रालयले सिको भ्रमण असोजको अन्तिम सातातिर हुने भने पनि सोमबारको कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख थावले भने चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमणबारे केही छनक दिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell