PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पानीभित्र डुबेपछि सम्झिए दुबईको सीप : आफूमात्र होइन, बचाए श्रीमतीलाई पनि



पहिलोपोस्ट

पानीभित्र डुबेपछि सम्झिए दुबईको सीप : आफूमात्र होइन, बचाए श्रीमतीलाई पनि

  • नेत्र तामाङ/प्रवीन रानाभाट -

धुलिखेल अस्पतालको ८ नम्बर कोठा। 8A शैय्याको छेवैमा उनी घाइते स्याहार्दै रहेछन्। घाइते चाहिँ सबिता थापा। उनकी श्रीमती। उनको दाहिने हातको पाखुरामा स्टिल जोडिएको थियो। 'ठीक हुँदै छु,' सानो स्वरमा बोल्दै थिइन् सबिता।

उनको स्याहारमा जुटेका व्यक्ति हुन् लोकबहादुर थापा। घर सिन्धुपल्चोक सानोपाखर। लोकबहादुर पनि घाइते नै। निधारमा दर्फरिएको घाउको डोब प्रष्ट देखिइरहेको थियो। कुराकानीको अनुमति मागेपछि सबितालाई केहीबेर आफन्तको जिम्मा लगाउँदै हामीलाई अस्पतालको छततिर डोर्‍याए उनले।

+++

गएको आइतबार सुनकोशीमा भएको बस दुर्घटनामा परेर घाइते भएकालाई भेट्न दुर्घटनाको दुई दिनपछि हामी काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल पुग्यौं। मंगलबार दिउँसो अस्पतालमा पुग्दा धेरै जसो उपचार गरी फर्किँदै रहेछन्।

गम्भीर रुपमा घाइते भएकाहरु अर्थोपेडिक्स वार्डमा रहेको जानकारी पाएपछि हामी त्यही वार्डको ८ नम्बरमा हामीले भेट्यौं लोकबहादुर।

'

म पनि भर्खरै इमर्जेन्सीबाट डिस्चार्ज भएर आएको,' थापाले टिसर्ट केही माथि उचाल्दै भने। उनको पेटमा झनै दर्फरिएको घाउ रहेछ। सुक्दै गरेको घाउ देखाएपछि खुशी देखिए लोकबहादुर। अनि भने, 'संयोगले बाँचेँ।'

त्यो दिन...

तिहार मनाएर काठमाडौं आउने तयारीमा १२ किलोमा बस पर्खिरहेका थिए लोकबहादुर र सविता। दोलखाको मागादेउरालीबाट छुटेको बा २ ख ७२४५ नम्बरको बस उनीहरु कुरिरहेकै ठाउँमा पुगेर रोकियो। यात्रु भरिभराउ थिए। उभिएरै भए पनि जान पर्ने देखिएपछि दुवैजना बस चढे। 'हामी १२ किलोबाट चढेको, मानिस टानाटन थिए। सिट पाएनौं। उभिएरै आएँ,' थापाले भने।

केही समयमै बस खाडीचौर पुग्यो - खाना खानका लागि रोकियो। सबैले खाइसकेपछि बस फेरि अघि बढ्यो। बस अघि बढेको पाँच मिनेटमै ठूलो आवाज सुने लोकबहादुरले। भने, 'खाना खाएर हिँडेको पाँच मिनेट जति भएको थियो। धडङ्ग आवाज आयो। बस बजारियो। अनि एकछिन त केही थाहै भएन।'

यसरी जोगियो ज्यान

बसले बल्ड्याङ खाएपछि केही थाह नपाएका उनले पानीमा परेपछि भने होसमा आए।

'नदीमा डुबेपछि मुखमा पानी पसेछ। अलिअलि पानी खाएँ पनि। त्यसपछि होस खुलेछ,' थापाले भने।

बस गुल्टे पनि उभिँदा समाएको डन्डी भने समाउन छाडेका रहेनछन् उनले। त्यसैले उनको ज्यान पानीमा डुबे पनि होश खुलेपछि भने टाउको भने पानी माथि नै परेको रहेछ।

'बस अलिकतिमात्र डुब्न बाँकी रहेछ। म त्यतै माथि परेछु। होसमा आएपछि हेरेको आँखा तिरमिर भयो। मैले जहाँ समाएको थिएँ त्यहाँ समाउन चाहिँ छाडेको रहेनछु,' त्यो क्षणलाई लोकबहादुरले सम्झिए।

कसरी निस्किए त उनी?

+++

धुलिखेल अस्पतालको छतमा हामीसँग कुराकानी गरिरहेका उनले केही पुराना स्मृतिमा पुगे। ती क्षण जसले उनलाई बाँच्न सघायो।

पानीमा डुबिरहँदा दुबईमा सिकेको सीप सम्झिए उनले। पहिले आफैलाई सम्हाले। अनि बाहिरिन खोजे बसको झ्याल।

'भेटिनँ। सिट नै आएर छोपिएको रहेछ। मैले खुट्टाले प्रेस गरेँ। अनि सिट पनि गयो र झ्याल पनि खुल्यो,' उनले भने, 'मेरो टाउको माथि निस्क्यो।'

माथि निस्कन खोज्दा दुईवटा खुट्टा भने तल पानीमा डुबेकाले समाइरहेको चाल पाए उनले। बलियोसँग पक्रेकाले आफू माथि आउन सकेनन्।

'तल मेरो खुट्ट दुई चारजनाले समाते। माथि आउनै सकिनँ। त्यसपछि त म आत्तिएँ,' उनले भने।

संयोग नै हो, त्यहीबेला डुंगा आइपुग्यो उनीनजिकै। लोकबहादुरमा बाँच्ने आशा बढ्यो। 'त्यसपछि मेरो खुट्टा समात्ने बच्चा पनि निकालेँ। तल हात दिनेहरु धेरै थिए,' उनले भने, 'मेरो ध्यान श्रीमतीतिर गयो। भित्र पसौं पस्न सकिनँ। राफ्टिङको सहयता मागेँ,' उनले भने।

उत्तानो परी नदीमा डुबेको बसभित्र उनले आफ्नी श्रीमतीलाई भेट्टाउन धौधौ परेको थियो। बल्लबल्ल उनको सल ठम्याए।

'र्‍याफ्टिङमा मान्छेहरु तानिन थालेपछि म आफ्नी श्रीमती खोज्न थाले। ढोकाको छेवैमा श्रीमतीको सल देखेँ। उनी अड्केको भन्दै कराइन्। ढोकामा लक रहेनछ। लक भएको भए धेरै गाह्रो हुने थियो,' उनले सुनाए

श्रीमतीलाई पनि बचाउन पाएकोमा खुशीको सीमा रहेन लोकबहादुरलाई। 'श्रीमतीलाई केही नभएको देखेर मलाई बढी इनर्जी आयो। मलाई एकदमै खुशी लाग्यो,' उनले भने, 'उनलाई निकालेपछि म किनारामा गएँ।'

श्रीमतीलाई बगरमा ल्याएपछि उनी आफैँ जुटे उद्दारमा। दुई जनालाई निकाल्न पनि भ्याए।

बगरमा रहेकी उनकी श्रीमतीको रगत बगेको देखेपछि आत्तिए। अनि आफैँले बोकेर सडकसम्म पुर्‍याए। त्यसपछि आफैँ बेहोस। 'मलाई गाडीमा हालेर धुलिखेल अस्पतलामा ल्याएछन्,' उनले भने।

अस्पतालमा श्रीमती कुन शैय्यामा थिइन् थाहै पाएनन् लोकबहादुरले। दोस्रो दिन उनी ठीक भए। तर, मंगलबारमात्र उनको डिस्चार्ज भयो। त्यसपछि उनी सबिताको हेरचाह गर्न अर्थोपेडिक्स वार्डमा उक्ले इमर्जेन्सीबाट।

'उनको दहिने हातको हड्डी फुटेको रहेछ। कति दिन लाग्ने हो केही थाहा छैन,' लोकबहादुरले सुनाए।

+++

दुबईको सिप, नेपालमा लाग्यो काम

१५ वर्ष दुबईमा बसेका लोकबहादुर स्वदेशमै केही गर्ने योजनाका साथ केही महिना अघिमात्र नेपाल आइपुगेका रहेछन्।

बस दुर्घटनामा उनले दुबईमा सिकेको सीप सम्झे। र, काम पनि लाग्यो।

'दुबईमा सिपमा काम गर्न जाँदा हामीलाई तालिम दिन्छ- स्विमिङ र फायरको। हेलिकप्टरजस्तो बनाएर समुन्द्रमा डुबाउँछन्। सेफ्टी सबै लगेर,' उनले भने, 'कसरी बच्ने भनेर। त्यहाँ पानीमा डुब्दा सिसा फोरेर बाहिर निस्कनुपर्छ भनेर सिकाएको हुन्छ। उद्दारको मान्छे अक्सिजनको साथमा जान्छ। तर, हामीलाई दिँदैन। त्यही नै मैले सिसा फोरेर निस्कन सिकेको थिएँ।'

सुनकोशीमा बस खस्दा र्‍याफ्टिङ नभएको भए उनकै ज्यान समेत नजोगिने थियो भन्छन् उनी। 'र्‍याफ्टिङ नभएको भए मलाई नै गाह्रो हुन्थ्यो नि। मानिस धेरै मर्थे। पानीको फोर्स त बलियो हुँदोरहेछ नि। समुद्रमा कहाँ त्यस्तो फोर्स हुन्थ्यो र? त्यही फोर्सले गर्दा मैले बच्चाहरु समाएर तान्नै सकिनँ। र्‍याफ्टिङले धेरै हेल्प गर्‍यो,' उनले भने।

शुरुमा आफ्नो साथमा अरु निस्के पनि तिनको भने याद नभएको सुनाए उनले। लोकबहादुरलाई याद तिनैको रहेछ जसले उनको खुट्टा समाइरहेका थिए।

भने, 'पहिले हामी नै निस्केको हो। तर, को को थियो भन्ने चाहिँ याद भएन। मलाई खुट्टामा समाउने बच्चामात्र सम्झेँ।'

यो पनि

सुकुटे बस दुर्घटना: यी दर्दनाक दृश्य जसलाई सुनकोशीको पानीले पनि मेटाउन सक्नेछैन

सुनकोशी दुर्घटनामा बसभित्र फसेकालाई बचाउन गाउँलेले चलाए बन्चरो र गल, सोनाम भन्छन् : सबैको साथले भयो उद्धार

श्याम, जसको हात राम्रोसँग नचल्दा पनि बस पल्टेको देख्‍नासाथ हेलिए भेलमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell