डिसेम्बर २। युएईको 'नेसनल डे'।
कुनै बेला पिउने पानीसमेत सहजै नपाउने ठाउँको विकास तीव्र गतिमा कसरी भयो? दुबई डुल्दै गर्दा प्रश्न घुमिरहेको छ।
आजै नेसनल डे।
हरेक घरमा झन्डा फहराइएको थियो। हरेक पसलमा साना ठूला झन्डा देखिन्थ्यो।
राष्ट्रियतामा कति एकतावद्ध। सबैभन्दा महत्त्वपूर्ण कुरा लाग्यो -एकता।
सात देशको एकतापछि विकासको 'रोडम्याप'
कुनैबेला सात देश रहेको युएई सन् १९७१ मा एक भएको रहेछ। सात देश मिलेर ४७ वर्ष अगाडि भएको एकतापछि नै यहाँ विकासले फड्को मारेको रहेछ। झन्डै आधा शताब्दीपछि दुबई विश्वका धनी शहरहरुलाई टक्कर दिने दौडमा छ।
नेपाल सम्झेँ :भर्खर संघीय संरचनामा गएको छ देश। संघीयताबाट पनि विकास नहुने हैन- तर, विवादको घेरामा छ संघीय सरकार। अधिकार दिएन भनेर मुख्यमन्त्रीहरू गुनासो गरिरहेका छन्। यता केन्द्रीय सरकारको काम पनि अन्धाधुन्ध छ।
जुनसुकै शासन भए पनि जनतालाई चाहिने समृद्धि नै रहेछ। विदेशीलाई आकर्षित गर्नु नै रहेछ। पर्यटक तान्ने कोसिसमा लाग्ने रहेछन् शक्तिशाली र सम्पन्न देश पनि।
चीनमा कम्युनिस्ट शासन छ। उसलाई पनि ३०औँ तल्ले भवन बनाउनुपर्ने रहेछ। तीव्र गतिमा कुद्ने रेल चाहिने रहेछ। संसारले यही हेर्न आओस् भन्ने चाहना राख्ने रहेछ। दुबईमा अमिरको शासन छ। उनीहरूलाई पनि यही शैलीको विकास चाहिएको छ र त यसरी विकास भइरहेको छ। पर्यटक तान्न एक्स्पोको तयारी गरिरहेको छ। विश्वको मन तान्ने रमणीय ठाउँहरू बनाउँदैछन्। यता अमेरिका बेलायतजस्ता लोकतान्त्रिक देशले पनि यही गरिरहेको छ। पर्यटक तान्न अनेक काम गर्न व्यस्त छन् विकसित देश पनि।
दुबईका शासक शेख जायद बिन सुल्तान अल नह्यान रहेछन् एकताका नेता। उनलाई राजनेताका रूपमा मानिने रहेछ यहाँ। उनको निधनपछि अहिले उनका छोरा खलिफा दुबईका शासक एवं युएईका अध्यक्ष छन्।
यहाँको विकासको आधार तेललाई मानिने रहेछ। 'तेल छ नि त, यही हो यहाँको विकासको आधार,' दुबईतिर लामो समय बसेका नेपालीको जवाफ पनि यही रहेछ। तर, तेलमात्र हैन सिस्टम, कानुन र शून्य भ्रष्टाचार नीतिले नै यहाँको विकास भएको रहेछ। अर्को कुरा विदेशी लगानी। सुरक्षाकै कारण यहाँ वैदेशिक लगानी ओइरिएको छ र त श्रम बजार बनेको छ विश्वकै लागि। वैदेशिक रोजगारका लागि विश्वभरका श्रमिकको रोजाई बनेको छ।
तेललाई समृद्धिको प्रतीक मानिए पनि १९८० पछि नराम्ररी घाटामा गएको रहेछ यो उद्योग। त्यसपछि पर्यटक नै आम्दानीको मुख्य माध्यम मान्दै इमिरेट्स एअरलायन्स स्थापना भएको रहेछ। अर्को समृद्धिको आधार बनिदियो : ट्याक्स फ्री। यसले विदेशी लगानीकर्ता थप आकर्षित भइदियो।
म नेपालमै छँदा एउटा समाचार आयो -विनोद चौधरीले नयाँ होटेल ताज जेएलटी सञ्चालनमा ल्याए दुबईमा। उनले यसअघि पनि यहाँ लगानी गरेका रहेछन्। अप्रत्यक्ष रूपमा यहाँ नेपालकै ठूला नेताहरूको पनि लगानी रहेको सुन्दै आएको छु। कुनै दिन यो कुरा पनि खुल्दै जाला। तर, यति हो त्यो भ्रष्टाचार र अकुत सम्पत्तिबाटै नै होला खुलेका। स्रोत नखुलेका कारण खुल्ला रूपमा भएन लगानी। यसरी नै देशलाई घाटा लाग्ने। तर, दुबईलाई यसरी नै फाइदा भइरहेको छ।
नेक्स्ट सिटी ओआरजीमा डेनिएल ब्रुकको किताबलाई उद्धृत गर्दै लेखिएको छ, 'दुबई यस्तो शहर हो जहाँ सबैथोक र सबैखालका मान्छे पाइन्छन्। विलासिता, मजुदर, अर्किटेक्ट, विभिन्न लवज र विभिन्न आकंक्षा पनि। कतैबाट सरेर यहाँ आइपुगेका हुन्।
यो मरुभूमिको देशमा कसरी उत्पात विकास भयो- उनले यस किताबमा चर्चा गरेका छन्। सन् १९८० मा बेलायतबाट जहाजका एक्पर्टहरु ल्याएर इमिरेट्स एअरलायन्सको सुरुवात गरे। सुरुमा साउदी इरानीहरु यहाँ रात्रिकालीन जीवन बिताउन आउँथे। पछि रसियनहरु आउन थाले।
देशलाई समृद्धिमा लैजान १९९० पछि लन्डन, फ्रांकफर्ट र सिंगापुरमा इमिरेट्सको उडान हुन थाल्यो।
१९९५ बाट यहाँ २० हजार बेलायतका ब्रिटनस्हरु बस्न आए। त्यसपछि भने यहाँ कन्सल्टेन्ट आर्किटेक्ट र बैंकरहरु बढ्न थाले। २००२ अघि यहाँ सबै भाडामामात्र बस्न पाउँथे। त्यसपछि भने यहाँ जो सुकै विदेशीले घर किन्न सक्ने भए।
व्यवस्थापन एक विकासको प्रमुख आधार देखेँ। इन्टरनेट सिटी, मिडिया सिटी, स्पोर्ट्स सिटी, एजुकेसन सिटी सबै मिलाएर व्यवस्थापन गरेका छन्। व्यावसायिक क्षेत्रमा कम्पाउन्ड देखिन्न। हाम्रोमा कम्पाउन्डले नै सडकको अधिकांश भाग खाइदिन्छ।
प्रकृतिले हरेक ठाउँमा केही न केही दिएकै हुन्छ। हामीलाई हिमाल दिएको छ। त्यही हिमालबाट करौडौं कमाइन्छ। तर ती रकम कता जान्छ। जनतालाई थाह हुँदैन। उनीहरू तेलको पैसाबाट सडक बनाउँछन्। जनतालाई सुविधा दिन्छन्। जनताको पीरमर्का बुझ्छन्। हाम्रो देशको सम्पत्ति नेतादेखि कर्मचारी हुँदै देशबाट अकुत बनेर बाहिरिन्छ। अनि कसरी हुन्छ विकास?
भ्रष्टाचार र अनियमितताको सूचक सिंहदरबारलाई हेरे पुग्छ। कुनैबेला राणा शासकहरूले बनाएको संरचनाबाटै राज्य सञ्चालन हुन्छ। राजाले बनाएको शीतलनिवासमै राष्ट्रप्रमुखको बास छ।
ती समयभन्दा पछिल्लो समय पर्यटनले धेरै आर्जन गरेको छ। तर, नोटिसेबल कुनै पनि काम सरकारले गर्न सकेको छैन। पानी, पुल, बत्ती, सडक, विद्यालय बने भनेर नेताहरूले भन्लान्। हो विकास भएको छ, तर ती बनेका पूर्वाधारमा कतै न कतै 'डोनेटेड बाई फलना' देश भनेर कोरिएको हेरेपछि थाहा भइहाल्छ। कुनै न कुनै ठाउँबाट मागेर बनाइएका हुन् ती। यस्तो भएपछि सरकारले गरेको विकास के हो हामीले नखोज्दा हुन्छ।
युएईमा सबैभन्दा चर्चित ठाउँ दुबई नै रहेछ। यो एउटा राज्य भयो। त्यसपछि त्यहाँको राजधानी आबुधाबी। यहाँका सात राज्य -दुबई, आबुधाबी, सारजाह, अजमान, रसअलखेम, फुजैरह र उमअल क्वाइन। जनसंख्या दुबईमा धेरै रहेछ भने क्षेत्र भने अजमान फराकिलो रहेछ। सबैभन्दा बढी विकास दुबईमै।
जाँतो र खटिया, डम्फु र खैचडी
दुबईको विकास देखेपछि मलाई पुरानो दुबई हेर्ने हुटहुटी चल्यो। दिउँसोको खानपछि निस्के -अल फहिदीतिर। त्यहाँबाट हिँड्दै पुगे दुबई म्युजियम।
अल फहिदी फोर्ट देखेँ। उ बेला सबैभन्दा अग्लो टावर। १७८७ मा बनेको यो भवन दुबईकै सबैभन्दा पुरानो भवन मानिँदो रहेछ। तीभन्दा सय वर्ष अगाडि त हाम्रो कृष्ण मन्दिर बनेको थियो। न्यातपोल मन्दिर बनेको थियो। अहिले पुरानो दुबईमा भएकोले हाम्रा पुराना संस्कृति पनि सम्झना आइरहेको छ।
उतिबेला यस क्षेत्र वरपरको सुरक्षाका लागि तयार पारिएको अल फहिदी फोर्ट यस भवन हतियार र कैदीहरू राख्ने ठाउँ रहेछ।
जब सात प्रदेश एक भयो। त्यही साल अर्थात् १९७१ बाट यो संग्रहालयका रूपमा खुल्ला गरेका रहेछन् दुबईका शासकले।
आज राष्ट्रिय दिवस भएकोले हुनुपर्छ। यहाँ भीड थियो। चिनियाँ र भारतीयहरु धेरै देखिए।
फहिदी फोर्ट अगाडि थियो एउटा ठिक्कको काठको जहाज।
त्यसैलाई देब्रे पार्दै पुगेँ म्युजियमको इन्ट्री गेट।
३ दिराम। टिकट शुल्क।
दुबई म्युजियम पस्नसाथ लाग्यो - तराईको कुनै गाउँ आइपुगेँ। ओल्ड किचेन। बाँसको चोयाले बनेको चित्रले बेरेको थियो- ओल्ड किचेन। दाउराको थुप्रो। अनि पुराना कराई। नजिकै तराईकै शैलीको खटिया।
बाहिर काठको पानी ट्यांकी। पुराना शैलीको डुंगा। इनार पुरानै शैलीका। जुन अहिले तराईका ग्रामीण भेगमा यथावत् देखिन्छन्। सैन्य सामाग्रीमा तोप बाहिर नै राखिएको छ। भित्र सेनाले प्रयोग गर्ने हतियारदेखि गोली बारुदसम्म।
देब्रेतिरको पहिलो भागमा साङ्गीतिक बाजागाजा छन्। ती डम्फु र खैचडीजस्तै, टुङ्नाजस्तै र सारंगीजस्तै देखिन्थे। झन्डै हाम्रै लोकबाजासँग मिल्नेजस्तै देखिने।
त्यहीँबाट बाहिर निस्कनसाथ तरबार बनाइरहेका दुई जना देखिन्छ- अ ब्ल्याकस्मिथ विथ हिज एसिस्टेन्ट मेकिङ अ सोर्ड। पुरानो सभ्यता यहाँ पनि मिलेकै छ।
त्यहीँबाट 'एक्जिक्ट' एरो देखाइएको छ तलतिर। कति सानो म्युजियम। म्युजियमको नाममा 'लुट्न'का लागि बनाइएको जस्तो। हुन त ३ दिराम त लिएको छ।
बाहिर देखिने अल फहिदी फोर्ट र डुंगा नै प्रमुख आकर्षक होला भन्ठानेँ। त्यसपछि ओर्लिएँ बिस्तारै तल।
एक्जिट एरोले डोर्यायो अन्डरग्राउन्डतिर।
त्यो भर्याङको वरपर समुद्रमा पाइने चराहरु जीवित नै उडेझै गरी झुन्डाइएको रहेछ। तल्लो तला पुगेपछि समुद्र पुगेझैँ लाग्यो। पानीको आवाज। समुद्री जहाजमा ठाकठुक गरेजस्तै आवाज कानसम्म आइपुग्यो। जहाज पनि देखियो। मानिसहरू जहाजमा भारी लोड गरिरहेको देखिन्थे।
मधुरो प्रकाशले साथ दिइरहेको छ यी दृश्यलाई।
यो खासमा १९७० अघिको दुबई रहेछ। त्यति बेला त्यहाँको जनजीवन कस्तो थियो त?
उत्तर यही थियो।
भारी बोकेर उठ्न लागेको गधा।
चिया पसल - चिया पिइरहेका मानिस।
काम गरिररहेको जीवन्त दृश्य। काठको काम गरिरहेको। तिनमा काठ काटिरहेको भिडिओ आवाजसहित। भाँडा बनाइरहेको आवाजसहितको भिडिओ। माटाका भाडा। ती कसरी बनाउँथे भन्ने अडिओ भिडिओ सामाग्री।
पुराना सुन पसल। पुराना टेलर सप। खाद्यान्न पसल। ५० वर्षअघिको पढाई शैली -लौरो लिएर पढाइरहेका छन्।
गीत गाइरहेका विद्यार्थीहरू। सबै जीवन्त लाग्ने गरी आवाजसहित राखिएका छन्।
सुकुल, गुन्द्री। उँट। यहाँ पाइने जनवारहरु। सबै यहाँको म्युजियममा अटेका छन्। ती जीवित त हैनन्, तर जीवित जस्तै देखिने।
मानिसको सभ्यता जता पनि झन्डैझन्डै मेल खाने किसिमको। अनि पुराना चिहान -मृत्यु त सबको अन्तिम सत्य नै हो। जति विकास र समृद्धिको कुरा गरे पनि अन्तिम कुरा यही हो जस्तो पनि लाग्यो।
उतिबेला मरुभूमिमा कसरी बाँच्थे? यी कुरा उल्लेख छन्।
पानीको जीवन। मरुभूमिको जीवन। जहाज बनाइरहेको। आगो ताप्दै गीत गाइरहेको।
जाँतो, माटाका भाँडा सबै हाम्रै जनजीवनसँग मेल खाएको देखेँ।
अघि नै सकियो होला भनेर आस मारेको म्युजियममा झन्डै एक घण्टा बिताएँ। ४ हजार स्क्वायर मिटरको म्युजियम रहेछ यो।
विकासको रफ्तारमा रहेको दुबईले ५० वर्षअघि कस्तो थियो त भन्ने तिर्खा मेटायो। म्युजियमको व्यवस्थापन पनि औधी राम्रो लाग्यो। अनि पुरानो दुबई हेरेपछि लाग्यो यहाँ विकासको सुरुवात धेरै पछि भएको रहेछ। जब विकास सुरु भयो - तब तीव्र गतिमा एकदमै व्यवस्थित पाराले। म्युजियम बाहिर निस्कँदै गर्दा सन् १६०० तिरै बन्न थालेको पाटन दरबार स्क्वायर सम्झेँ। दरबार स्क्वायरको व्यवस्थापनसँग हाम्रो सरकारको विकासको व्यवस्थापन दाँजे। यो फोर्ट १७८७ मा बनेको। पाटन दरबार स्क्वायर १६०० तिरै बनेको। अब तपाईँहरू पनि दाँज्नुस् : सम्पन्नता पहिले कहाँ थियो? हाम्रो देशले किन आँगल्न सकेन समृद्धि र विकासलाई?
बाहिर निस्कँदा अरबीहरू सेता पहिरनमा आफ्ना मौलिक गीतमा आनन्दले नाचिरहेका थिए -लाठी र बन्दुक घुमाउँदै।
सम्बन्धित समाचार