PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दुबई क्रिकबाट भ्रमको संग्रहालयभित्र पुग्दा {दुबई डायरी ६}



नेत्र तामाङ

दुबई क्रिकबाट भ्रमको संग्रहालयभित्र पुग्दा {दुबई डायरी ६}

डिसेम्बर ३। हिजो दुबई म्युजियम हेरेपछि यस्तै हेरिटेज क्षेत्र हेर्ने रहर पलायो। त्यसपछि म लागे अल सिफतिर।

अल सिफ हेरिटेज साइट होटल रहेछ। त्यही रहेछ दुबई क्रिक पनि। क्रिक भनेको कुलो अथवा नहर लाग्ने रहेछ। तर, यो त नदीजस्तै देखिन्थ्यो। त्यहाँबाट साना पानी जहाज चढेर मानिसहरु जाँदै थिए। कोही फर्कँदै थिए। ती पानी जहाजलाई फेरि भनिने रहेछ। सबैभन्दा साना फेरिमा २४ जना अट्ने रहेछन् एकपटकमा।

आफू एक्लै थिएँ। त्यो जहाज कता जाने हो ठेगान थिएन। त्यसैले खोलाजस्तै देखिने नदीको दाहिनेतिर किनारै किनार हिँडे।

किनारबाट अलिभित्र पसेपछि देखेँ - अल सिन हेरिटेज साइट होटल। सबै एकतल्ले होटल। अरबी संस्कृति झल्कने यी होटलहरु एकदमै साधारण देखिने। माटो र काठले बनेका जस्ता। चिटिक्क र सफा।

म यी होटललाई पछ्याउँदै म्युजियम अफ इलुजनमा जानु छ। तर, पुराना होटल लहरै उभिएका भेटिए। ती एकतले होटल परैसम्म फैलिएको रहेछ। पछि बुझ्दा थाहा पाएँ यस्ता घर त २०० वटा रहेछन्। अल सिफका यी होटल फोर स्टार रहेछन् हिल्टन ग्रुपले चलाएको।

होटल छिचोल्दै जाँदा त्यहाँका पुराना शैलीका पसलहरु पनि देखिए। नेपालको असनभित्र पसेजस्तो लाग्ने ती ठाउँका पसलमा अरबी संस्कृतिका सामान थिए।

त्यसको केहीबेरमा पुगेँ म्युजियम अफ इलुजन। त्यहाँ मलाई पर्खिरहेका थिए, सरोज। पूरा नाम त सोधेको थिइन। नाम दिल दाइबाट पाएको।

इलुजन बाहिर पुग्ने बित्तिकै कल गरेँ सरोजलाई। बाहिर फुत्त निस्किए उनी र स्वागत गरे म्युजियममा। हाम्रो परिचय भयो- उनी रहेछन् सरोज रानाभाट। घर पोखरा। दुई वर्ष पुगेछ यहाँ आइपुगेको।

सुपरभाइजर रहेछन् सरोज।

भित्र घुम्न लाग्ने रहेछ ८० दिराम, झन्डै २५ सय रुपैयाँ। बालबालिकाका लागि ६० मात्र।

त्यसपछि म सरोजसँगै पसेँ म्युजियम अफ इलुजनमा। अर्थात् भ्रमको संग्रहालयमा।

दिग्भ्रमित पार्ने दुनियाँ। भित्तामा ठूला र साना देखिने साइजका आकृति छन्। तर, ती सबैका एकै साइज। नापे पछिमात्र थाहा पाइयो।

एकै कोठा जहाँ एकै उचाइ भएका मानिस पनि एक जना होचो र अर्कोतिर उभिँदा अग्लो देखिने। हरेक वस्तुमा 'वाउ!' 'कस्तो अचम्म!' भन्न लायक।

भ्रमहरुलाई सँगालेर बनाएको संग्रहालय। लाइटबाट एनिमेसन। विभिन्न खेलहरु पनि रहेछन् यहाँ।

म्युजियममा बालबालिकादेखि युवायुवती बढी देखिन्थे। नक्षत्रजस्तै देखिने ठाउँको यात्रादेखि उभिएर फोटो खिच्दा पनि टाउको टेकेर फोटो खिचेजस्तै देखिने।

खासमा यहाँ फोटो खिच्नदेखि विमर्श गर्न दुई वा दुईभन्दा बढी साथी भएरमात्र भित्र गएमा धेरै राम्रो हुने रहेछ। जस्तो एकै कोठामा एकजना सानो र अर्को ठूलो देखिन पनि अर्को साथी चाहियो।

मार्क्सका फोटोदेखि एउटै अनुहारमा विभिन्न अनुहार देखिने पोट्रेटहरु रहेछन् यहाँ।

कसरी बनेका हुन् यी भ्रामक खाले ठाउँहरु?

'प्राय अप्टिकल इलुजनमा बेस छ। म्याथ र साइन्समा बेस,' सरोजले प्रस्ट्याए। सन् २०१८ मा यहाँ स्थापना भएको रहेछ यस्तो म्युजियम। यसको हेड अफिस क्रोएसिया। यसको विश्वमा २१ वटा चेन भएको रानाभाटले बताए।

कहाँका मानिसहरु बढी आउँछन् होला?

'अरबीदेखि विदेशीसम्म आइपुग्छन्,' सरोजले सुनाइहाले। सप्ताहन्त लाग्दा दिनमा त ४० हजार दिरामसम्म टिकट र खेल बिक्रीबाट कमाई हुने रहेछ।

झन्डै एक घन्टाको भ्रम यात्रापछि निस्किएँ। त्यतै घुम्दै गर्दा भीम भाइको फोन आयो। आज ड्युटी चाँडै सकिएछ। उनी पनि दुबई क्रिकतिरै आउने भए।

राति दुबई क्रिकमा भेट भयो। उनले मलाई फेरी चढाएर गोल्ड सोकतिर लैजाने भए।

दुबईको प्रसिद्ध सुन पसल भएको ठाउँ जहाँ घुम्न साथीहरुले यसअघि नै सुझाएका थिए। एक दिराम तिरेपछि फेरीले एकैछिनमा पुर्‍यायो गोल्ड सोक जाने ठाउँ। फेरीमा आउने र जाने क्रम जारी देखिन्थ्यो। तिनमा यात्रु भरिभराउ थिए।

एक एक मिलेर यहाँ पानीमाथि पनि थुप्रै पैसा आम्दानी हुने देखियो। हामी जलस्रोतको धनी देश। बाग्मती सफा भएको भए कुपन्डोलबाट थापाथली आउँदा होस या पशुपति मन्दिरबाट वनकाली वारपार गर्दा पनि यसरी फेरी चढेर जाने प्रबन्ध भए कस्तो हुन्थ्यो होला। पाँच रुपैयाँ वा दश रुपैयाँ लिएमा को नचढ्ला? -यस्तै सोचें त्यहाँको फेरिमा।

 पानीमाथि साना साना जहाज उज्यालिएका देखिन्थे। ती रिजर्भ रहेछन्। त्यहीँ पार्टी चलिरहेको सुनेँ। रिजर्भ यस्ता जहाजमा बिहेदेखि विभिन्न पार्टीको आयोजना हुनेरहेछ।

सुन पसल डुल्दाडुल्दै पुगियो, गिनिज वर्ल्ड रेकर्ड कायम गरेको ६३ केजीको औंठी सजाएर राखिएको पसलमा। सुन, हीरा, मोतीका पसल लहरै देखिए। तेलपछि सुनमा पनि समृद्ध रहेछ दुबई।

त्यहाँबाट हामी फेरि चढेर राति अबेरमात्र फर्कियौ।

सम्बन्धित समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell