PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राष्ट्रपतिको सम्पदा यात्रा, भनिन् : पुनर्निर्माणमा पुरानै शैली कायम होस्



पहिलोपोस्ट

राष्ट्रपतिको सम्पदा यात्रा, भनिन् : पुनर्निर्माणमा पुरानै शैली कायम होस्

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंमा २०७२ सालको भूकम्पले क्षति पुगेका सम्पदा पुनर्निर्माणको अवस्था निरीक्षण गर्न आज बिहानै शितल निवासबाट निस्किइन्। उनको पहिलो रोजाई बन्यो रानीपोखरी।

२०७२ साल माघ २ गते राष्ट्रपति भण्डारीले तहसनहस भएको रानीपोखरी पुनर्निर्माणको शिलन्यास गरेर देशैभरी पुनर्निर्माणको महाअभियान सुरु गरेकी थिइन्। तर, दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि त्यसको चार वर्ष बितिसक्दा पनि रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न हुन सकेको छैन। आफैले शिलन्यास गरी पुनर्निर्माण शुरु गरेको रानीपोखरी नबन्दा शितल निवासले समय समयमा पुनर्निर्माणको प्रगति विवरणबारे चासो राख्दै चाहिँ आएको थियो।

आज भने भण्डारी आफै रानीपोखरी पुगेर पुनर्निर्माणको अवस्थाबारे जानकारी लिएकी हुन्।

भण्डारीले बन्दै गरेको रानीपोखरीमा बनाइएको अस्थायी साँघु पार गर्दै पोखरी र बाल गोपालेश्वर मन्दिर पुनर्निर्माणबारे जानकारी लिइन्।

भण्डारीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाले प्रमुख विद्यासुन्दर शाक्यकलगायतले रानीपोखरी निर्माणबारे पछिल्लो अपडेट दिएका थिए।

निरीक्षणका क्रममा भण्डारीले रानीपोखरी निर्माणमा भएको ढिलाईका बारेमा जानकारी मागेकी थिइन्। त्यसपछि रानीपोखरी पुनर्निर्माणका बारेमा प्रगति भइरहेको ब्रिफिङ गरिएको थियो। प्राधिकरणले आगामी वैशाख १२ गते भित्रै नै रानीपोखरी पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोबारे प्राधिकरणले जानकारी गराएको थियो।

राष्ट्रपति भण्डारीले आगामी वैसाखसम्म पुनर्निर्माको काम सक्ने लक्ष्य पूरा गर्न प्राधिकरण र सरोकारवाला निकायहरुलाई निर्देशन समेत दिइन्। भण्डारीले रानीपोखरी निर्माणका क्रममा परम्परागत शैली नै प्रयोग भएको भन्दै रानीपोखरी पहिलाकै स्वरुपमा बन्ने आशा व्यक्ति गरिन्।

'उहाँले रानीपोखरीमा भइरहेको कामको प्रशंसा गर्नुभएको छ। साथै पुरानो शैलीलाई कायम राखेर निर्धारित समयमा नै पुनर्निर्माण सकाउन निर्देशन दिनुभएको छ,' राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिका सदस्य चन्द्रबहादुर श्रेष्ठले बताए।

शिलन्यास गरेको ४ वर्षको बीचमा रानीपोखरी निर्माण गर्ने स्वामित्व हेरफेरदेखि पोखरीमा डोजर चलाउने र मन्दिरको विषयलाई लिएर धेरै विवाद भए। हाल रानीपोखरीमा पानी अड्याउन पोखरीमा माअप्पा बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ भने पोखरीको चारैतिर पर्खाल बनाउने काम पनि सकिनै लागेको छ। यस्तै रानीपोखरीको मध्य भागमा रहको बालगोपालेश्वर मन्दिर र पुलको काम पनि भइरहेको छ।

२०७२ सालमा भूकम्प जाँदा मन्दिर गुम्बज शैलीको थियो। तर, त्यो राणाकालमा रानीपोखरीको परिवर्तित स्वरुप थियो। पर्सियाका राजकुमार वाल्डेमरले नेपाल भ्रमण गर्दा बनाएको रानीपोखरीको चित्रले फेला परेपछि रानीपोखरी राणाकालीन शैलीमा नभएर चित्रमा देखिएको झै ग्रन्थकुट (शिखर) शैलीमा बन्ने भयो। त्यसैले पनि मन्दिर बन्न अझै केही समय लाग्ने भएको हो।

+++

रानीपोखरी निरीक्षणपछि राष्ट्रपति भण्डारी दरबार हाइस्कूल पुगिन्। चीन सरकारको सहयोगमा निर्माण भएको स्कूल निरीक्षण गर्ने क्रममा चिनियाँ राजदूत हउ यान्छीले भण्डारीलाई पुनर्निर्माणबारे जानकारी दिएकी थिइन्।

अत्याधुनिक प्रविधि प्रयोग गरेर निओ क्लासिकल शैलीमा निर्माण भएको दरबार हाइस्कूलको पुनर्निर्माण सकिएको छ। भण्डारीले नवनिर्मित भवन र कक्षाहरुको निरीक्षण गरिन्। नयाँ प्रविधिको प्रयोग गर्दै पुरानै शैलीमा दरबार हाइस्कूल बनाउन सहयोग गरेकोमा राष्ट्रपतिले चीन सरकारलाई धन्यवाद दिइन्।

त्यहाँ छिट्टै नै कक्षाहरु संचालन हुने जानकारी राष्ट्रपतिलाई गराइएको थियो। दरबार हाइस्कुल निर्माण सम्पन्न भई सरकारलाई हस्तान्तरणको चरणमा छ।

दरबार हाइस्कूलका बारेमा जानकारी लिएपछि राष्ट्रपति भण्डारी धरहरा पुगिन्। भूकम्पमा भत्किएको धरहरालाई यथावत् राखेर नयाँ त्यसभन्दा केही मिटर अगाडि निर्माण भइरहेको धरहराको हाल छैठौं तल्लाको ढलानको काम भइरहेको छ।

'धरहराको काम देखेर उहाँ निकै खुशी हुनु भएको छ। उहाँले समयमा नै धरहरा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो,' श्रेष्ठले भने।

राष्ट्रपति भण्डारीले धरहरा निर्माणका क्रममा भइरहेको प्रविधिका साथै त्यस आसपास बन्ने पार्क लगायतका संरचनाकाबारेमा जानकारी लिएकी थिइन्।

अब बन्ने धरहरा गजुर सहित २२ तल्ला अग्लो र बहुप्रयोजनको हुनेछ। बाहिरबाट ११ तल्लाको देखिएपछि लिफ्ट सहितको नयाँ धरहरा २२ तल्लाको हुनेछ। पहिला साढे ४ रोपनीमा फैलिएको धरहरा अब ४२ रोपनीमा फैलिँदैछ। त्यसका लागि त्यहाँ रहेको टक्सार र हुलाकको कार्यालय हटाउने काम अन्तिम चरणमा छ।

धरहरा क्षेत्रमा वाटर फाउन्टेन पार्क सहित ४०० वटा चार पांग्रे गाडी र हजार वटा दुई पांग्रे गाडीलाई पार्क गर्न मिल्ने गरी पार्किङ स्थल बनाइँदैछ। यससँगै त्यहाँ म्युजियमका साथै नेपालमा उत्पादन हुने सामानहरुको पसलहरु रहने छ। माथि जानलाई दुईवटा लिफ्ट रहनेछन् भने पहिला झै सिँढीको व्यवस्था पनि हुनेछ। अहिले बन्ने धरहरामा भने तल्लैपिच्छे आराम गर्ने व्यवस्था मिलाइने प्राधिकरणले जनाएको छ।

त्यसपछि राष्ट्रपति भण्डारी पुगिन् वसन्तपुर दरबार क्षेत्र।

दरबार क्षेत्रमा भण्डारीलाई काष्ठमण्डप पुनर्निर्माणका बारेमा पहिलो जानकारी लिइन्। काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेशकाजी श्रेष्ठले काष्ठमण्डप पुनर्निर्माणको पछिल्लो अवस्थाबारेमा जानकारी दिएका थिए।

राष्ट्रपति भण्डारीले मौलिक शैलीमा नै काष्ठमण्डप पुनर्निर्माणको काम भइरहेको भन्दै सकेसम्म पुरानै शैलीलाई निरन्तरता दिन निर्देशन दिएको पुनर्निर्माण समितिका सचिव गौतम डंगोलले जानकारी दिए। हाल काष्ठमण्डपको तल्लो तल्लाको काम सम्पन्न भइ माथिल्लो तल्लामा झ्याल राख्ने काम भइरहेको छ।

दरबार क्षेत्र पुगेकी राष्ट्रपति भण्डारीले वसन्तपुरमा निर्माण भइरहेका अन्य सम्पदाहरुको पनि निरीक्षण गरिन्।

नगर प्रमुख शाक्यले गद्दी बैठकमा राष्ट्रपति भण्डारीलाई हालसम्म भएको पुनर्निर्माणका बारेमा जानकारी गराएका थिए। 

फोटो : राजेन्द्र बज्राचार्य

'समग्रमा राष्ट्रपतिज्यूले सम्पदा पुनर्निर्माणको गति बढिरहेको भन्दै सन्तोष व्यक्ति गर्नुभएको छ। उहाँले सम्पदा पुनर्निर्माणका क्रममा पुरानै शैली नबिगार्न जोड दिनुभयो। पुरानै प्रविधिहरुको प्रयोग गरे पुनर्निर्माणलाई दिगो बनाउन उहाँले निर्देशन दिनुभयो। हाम्रो लक्ष्य पनि समयमा नै पुनर्निर्माणको काम सकाउने नै हो,' प्राधिकरण सदस्य श्रेष्ठले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell