PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कार्की निवासको त्यो 'हत्या' पछिको 'सुसाइड' : बाबु हुन् जानकी, पत्याउन् कसरी?



सविन ढकाल

कार्की निवासको त्यो 'हत्या' पछिको 'सुसाइड' : बाबु हुन् जानकी, पत्याउन् कसरी?

'राम्रो घर छ। पछि राम्रो ठाउँमा जागिर लगाइदिन्छ। पठाइदेउ।'

पट्टु (अश्विन चौधरी)को सुझावलाई जानकीले नकार्न सकेनन्। सकुन् पनि कसरी? घरको अवस्था ज्यादै दयनीय।

भर्खरै किशोरावस्थामा प्रवेश गरेका विजयको बसाई दाङको लमही नगरपालिका २ रनियापुरबाट एक्कासी उपत्यकामा सर्‍यो। झुप्रो घरबाट बास एकाएक आलिसान बङ्गलातिर।

दुई साना भाइ, आमा र बुबाबाट टाढिएर आएको सात वर्षपछि एउटा ठूलो अपराधसँगै पटाक्षेप भयो, विजयको जिन्दगी।

तिनै २२ वर्षीय विजय चौधरीका बाबु हुन्, जानकी।

घटना भएको राति ८ बजे जानकीले खबर पाए - छोरोले आत्महत्या गर्‍यो। 'वार (मोबाइल फोन)बाट खबर आयो। सुन्दा त सहनै सकिन,' जानकीको बोलीमा छोरो गुमाउँदाको पीडा गुञ्जिरहेको थियो।

कुन बाबु छोराको मृत्युको खबरका लागि तयार हुन सक्छ? जानकी चौधरी आफूमात्र सम्हालिएर हुने थिएन, विरामी श्रीमतीलाई पनि सम्हाल्नुपर्ने हालतमा थिए। त्यसैले श्रीमतीलाई त थाह दिन चाहेनन्। एकाएक उनको अनुहारमा आएको परिवर्तनले पीडा पोखिरहेको थियो। तर, त्यो पीडा केका कारण थियो लुकाए।

'ऊ एकदमै विरामी छे। बितेको सुन्दा धेरै पीडा हुन्छ। सुनाएको छैन,' उनले भने।

विजयको मृत्यसँगै केही प्रश्नहरु अनुत्तरित रहे। नसुल्झेको सबैभन्दा ठूलो प्रश्न 'किन त?' नै हो।

गएको सोमवार मुना कार्कीको हत्या अभियोग लाग्दा विजयको प्राण गइसकेको थियो। पूर्व सचिव अर्जुन कार्कीको बङ्गलाभित्र घटेको कल्पनासमेत गर्न नसकिने घटनाले उब्जाएका प्रश्नहरुको सायदै पूर्ण रुपमा जवाफ मिल्नेछ।

+++

सोमबार बिहान साढे ११ बजेतिर पूर्व सचिव कार्कीकी श्रीमती मुना अचेत अवस्थामा भेटिइन्। त्यही घरको लबीमा विजयको शव पासो लगाएको डोरी छिनेर लडेको अवस्थामा भेटियो।

पूर्व सचिव कार्की पशुपतिनाथबाट फर्किएर घर पस्दा जुन दृष्य देखे त्यो कसैको पनि कल्पना बाहिरको थियो। उनले छिमेकी गुहारे र प्रहरीलाई डाके। मुनालाई नजिकैको स्टार हस्पिटल पुर्‍याइयो। त्यही उनी मृत घोषित भइन्।

प्रहरीले घरमा रहेको सिसिटिभी फुटेजबाट निष्कर्ष निकाल्यो - काम गर्न बसेका विजय चौधरीले मुनामाथि आक्रमण गरे अनि आफैँलाई झुण्ड्याए।

राति छोरोले आत्महत्या गरेको खबर पाए पनि निरीह थिए जानकी। उनलाई रातभर निन्द्रा परेन। कतिखेर छोराको अनुहार हेरौं भएको थियो। मंगलवार बिहानै गाडी चढेर काठमाडौंका लागि हानिए।

यहाँ आइपुग्दासम्म उनको छोराले आत्महत्या गरेको मात्र होइन, अरु कसैको हत्या गरेको पनि चाल पाइसकेका थिए। तर, पत्याउन सकिरहेका थिएनन्।

'अझै विश्वाससमेत लागेको छैन,' जानकीले भने, 'साथीभाइ कसैसँग झगडा समेत गरेको सुनेको र देखेको छैन।' त्यसैले उनी असमञ्जस्यमा देखिन्छन्। कलेटी परेको ओठ कमाउँदै भने, 'यकिन नै गर्न सकेको छैन।'

+++

पाँच महिना अघिमात्रै हो विरामी परेर आएकी आमाको विजयले नै उपचार गराएको। पाठेघरको शल्यक्रिया भएको थियो उनको, काठमाडौं मेडिकल कलेजमा। त्यतिखेर श्रीमतीको उपचारका लागि आएका जानकीलाई पूर्व सचिव कार्कीले ५० हजार रुपैयाँसमेत दिएका थिए। कार्की परिवारप्रति अनुग्रहित थियो जानकीको परिवार पनि। परेको समयमा सहयोग पाउँदा दङ्ग थिए।

कार्की परिवारकहाँ काम गर्न आएदेखि ३ पटकमात्र गाउँ फर्के विजय। पछिल्लो पटक भने गएको तिहारमा गाउँ पुगेका थिए। घर नगए पनि बेलाबेलामा घर खर्च चाहिँ पठाइरहन्थे। गएको माघे संक्रान्तिमा जानकीलाई २० हजार रुपैयाँ पठाएका रहेछन्।

जानकीसँग विजयको सात दिनअघि फोनमा कुरा भएको थियो, जुन उनका लागि अन्तिम संवाद थियो। विजयबाट कहिल्यै गुनासो सुनेका थिएनन् उनले। त्यस दिन त उल्टै घरबाट तेल र दाल मगाएका रहेछन्।

 

'उसले गाउँबाट पाँच किलो भुटेको तोरीको तेल र मुसुरोको दाल पठाइदिनु भनेको थियो,' त्यो अन्तिम संवाद अझै जानकीको कानमा बजिरहन्छ।

मुना कार्कीले नै विजयलाई तोरीको तेल र मुसुरोको दाल मगाउन भनेकी रहिछिन्। तेल र दालको जोहो हुँदा नहुँदै जानकीले छोरोको मृत्युको खबर पाए।

'अहिलेसम्म काम गर्ने घरमा त्यस्तो नराम्रो सुनेको थिइन्। मैले पटक पटक काम गर्न ग्राहो छ? भनेर सोध्दा केही छैन भन्थ्यो,' उनले भने, 'खै के भयो? विश्वासै गर्न सकेको छैन। यतिमात्र हो, उसले मान्छे मार्न सक्दैन।'

+++

कक्षा ६ पछि विजयको पढाइमा पूर्णविराम लाग्यो। गाउँघरमा डुल्दैफिर्दै हिँड्न थाले। जानकीलाई छोरो बिग्रेला भन्ने पिरलो। त्यही बेला नै हो पट्टुले खबर पुर्‍याएको। पट्टु पहिले कार्कीकै घरमा काम गर्थे। तिनैले राम्रो काम गरे भविष्य पनि राम्रो हुने सुनाएका थिए। पट्टु नेपाल विद्युत प्राधिकरणमा जागिरे। कार्कीले नै लगाइदिएका।

'काम गर्दा पैसा यतिउति केही भनेको थिएन। पछि राम्रो काम गर्‍यो भने राम्रो ठाउँमा जागिर लगाइदिनसक्ने मान्छे भनेकाले पठाएको,' सात वर्षअघिको सन्दर्भ सुनाउँदै जानकीले भने।

जानकीलाई छोराको कमाई भन्दा पनि उसको भविष्यले कार्कीको घरसम्म डोर्‍याएको रहेछ। पट्टुपनि पूर्वसचिव कार्कीकै घरमा काम गर्न बसेका युवक रहेछन्। घरमा काम गर्दागर्दै नेपाल विद्युत प्राधिकरणमा जागिर पाएकाले विजयलाई पनि त्यस्तै अवसर मिल्ने सुनाएपछि जानकीले नाइ भन्न सकेनन्।

आजैमात्र जानकीले घटनाको छानविनका लागि ज्यान सम्बन्धित मुद्दामा उजुरी दिएका छन्। यस्तै उजुरी हिजै अर्जुन कार्कीले पनि दिएका थिए।

सिसिटिभी फुटेजलाई आधार बनाउँदै प्रहरीले भनेको छ - विजयले नै हत्या गरेको हो।

आज जानकीले पनि त्यही फुटेज हेरे। 'खै के भन्ने? एउटा अध्याँरो कोठा जस्तो देखियो। उसले गरेको हो होइन केही भन्न सकिन,' भिडियो हेरे पनि जानकी निश्चिन्त छैनन् - छोरा नै हत्यारा हो भन्नेमा। बाबुको मन न हो - सजिलै पत्याओस् कसरी?

यो पनि

पूर्व सचिव कार्कीकी पत्नीको हत्या योजनाबद्ध, 'हत्यामा कामदारकै हात'   

पूर्व सचिव कार्कीकी श्रीमती र कामदारको मृत्यु प्रकरण, ९ फोटोमा हेर्नुस् घटनास्थल

अपडेट : घटना स्थलमा भाँचिएको प्लास्टिकको पिर्का,सिसी क्यामराको भिडियो फुटेज हेर्दै प्रहरी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell