PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोनाको पाण्डामिक भन्दा इन्फोडेमिकको कहर



विधुर ढकाल

कोरोनाको पाण्डामिक भन्दा इन्फोडेमिकको कहर

काठमाडौं : चीनमा कोभिड-१९ को ग्राफ बढ्दै जाँदा दक्षिण कोरियामा पनि कोभिड-१९ ग्राफ उचालिँदै गएको थियो। यो ग्राफ युरोप अमेरिकामा आकाशिँदै गर्दा दक्षिण कोरियामा भने तल झर्दै गएको छ। दक्षिण कोरियाले कोभिड-१९ को नियन्त्रणका लागि आफ्ना सबै संयन्त्रहरुलाई सक्रिय तुल्यायो।

सोमवारमात्र दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले आफ्ना नागरिकहरुलाई 'इन्फोडेमिक' (सूचना महामारी)बाट जोगिन आग्रह गरेका छन्। गलत सूचनाले कोभिड-१९ नियन्त्रणमा कठिनाइ हुने भन्दै त्यसतर्फ ध्यान नदिन स्वास्थ्य अधिकारीहरुले अनुरोध गरेको त्यहाँको समाचार एजेन्सी योन्हापले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले पनि कोभिड-१९ को महामारी भन्दा पनि सूचना महामारी खतरनाक भएको भन्दै त्यस्ता सूचना तथा फेक न्यूज अथवा अपवाहहरु कोभिड-१९ भन्दा बढी फैलिइरहेको बताएको थियो।

संयुक्त राष्ट्र संघका महासचिवले पनि कोभिड-१९ नियन्त्रणमा सूचना महामारी चुनौतीपूर्ण रहेको भन्दै चेतावनी दिएका थिए।

सामाजिक सञ्जालहरुमा कोभिड-१९ को विषयमा फैलिने गलत सूचनाले कोभिड-१९ को भन्दा पनि ठूलो महामारी फैलाउँदै गएको छ। त्यसैले नै दक्षिण कोरियाका स्थानीय अधिकारीहरुले क्वारेन्टाइनमा पनि असर गरेको र यसले देशलाई नै चुनौतीमा पुर्‍याएको बताएका थिए।

इन्फोडेमिकका कारण सर्वसाधारणमा कोभिड-१९ को संक्रमण अवस्थाका बारेमा अलमल फैलाएको छ। कहाँबाट सही र आधिकारिक सूचना प्राप्त गर्ने भन्ने जानकारी नहुँदा 'इन्फोडेमिक' बढिरहेको र यसले त्रास फैलाइरहेको छ।

दक्षिण कोरियामा एक स्थानीय चर्चमा कोभिड-१९ को संक्रमण देखिएको थियो। उनीहरुले त्यहाँ नुन पानी छर्किएका थिए। त्यस्तै मन्डलीहरुको मुखमा नुन पानी राखे कोभिड-१९ बाट बच्न सक्ने विश्वास त्यहाँ फैलिएको थियो।

यसले कोभिड-१९ नियन्त्रण भन्दा पनि अनुयायीहरुमा कोभिड-१९ को संक्रमण फैलियो।

केही दिन अगाडि पूर्वी शोलको नामियाङजुमा एक महिला र उनका दुई सन्तान अस्पतालमा भर्ना भए। ती महिलाले कोभिड-१९ विरुद्ध घरमा मिथानोल पानी छर्किएकी थिइन्। यसैले उनलाई अस्पतालको बेडमा पुर्‍यायो।

नेपालमा हालसम्म दुई जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको आधिकारिक तथ्यांकले भन्छ - नेपालमा ५७२ को नमुना परीक्षण भयो। जसमध्ये ५७० जनामा नेगेटिभ र दुई जनामा पोजेटिभ देखिएको छ। एक जना त उपचार पछि फर्किसकेका छन्। अर्का एक जनामा संक्रमणको पुष्टि सोमवारमात्रै भयो। फ्रान्सबाट कतार हुँदै साता अगाडि नेपाल फर्किएकी १९ वर्षीया किशोरी अहिले आइसोलेसनमा छन्।

तर, सामाजिक सञ्जालहरुमा कोभिड-१९ सम्बन्धी सही र तथ्यपूर्ण सूचना भन्दा पनि भ्रामक सामाग्रीहरु फैलिइरहेका छन्। 'इन्फोडेमिक' कोभिड-१९ भन्दा तीब्र रुपमा बढिरहेको छ।

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ बाट कसरी बच्ने भनेर उपायहरु सुझाएको छ। यस्ता उपाय सामाजिक सञ्जालमा शेयर हुँदैनन्। यी उपायलाई 'लैलाको सन्देश'हरु भाइरल भइरहेका हुन्छन्। हात धुनुस् भन्ने सूचना भन्दा बढी तीन टुक्रा कागती हालेर पानी खाए कोभिड-१९ लाग्दैन भन्ने सन्देश भाइरल भइरहेका छन्।

यो पनि:

लैलाको नाममा आएको म्यासेजको फ्याक्ट चेक : कोरोना निदानको भ्रमपूर्ण सन्देश यसरी फैलिँदै छ सामाजिक सञ्जालमा

सामाजिक सञ्जाल हुँदै केही अनलाइनहरुले जीवनभर कमाएको सम्पत्ति श्रीमतीले लिएर अर्कैसँग भागेपछि विछिप्त भइ मरेकालाई कोरोना लागेर मर्‍यो भनेर समाचार बनाए। सामाजिक सञ्जालमा भाइरल भए।

यो पनि :

फ्याक्ट चेक : कोरोनाले मृत्यु भनी हल्ला गरिएका नेपाली २०१७ मै कोरियाबाट फर्किएका, मृत्युको कारण यस्तो

आइतवारमात्र मुलधारकै मिडियाहरुले सर्वसाधारण झुक्याए। वीरगंजमा एक व्यवसायीमा कोभिड-१९ को पोजेटिभ टेस्ट भएको भन्दै समाचार आए। त्यो पनि सरकारी आधिकारी व्यक्तिकै हवाला दिएर। पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीले नै यस्तो समाचार फैलाए। मुलधारका अनलाइन टेलिभिजन हुँदै सामाजिक सञ्जालमा भाइरल भयो। तर, उनमा कोभिड-१९ को नेगेटिभ टेस्ट भएको केही घण्टामा नै रिपोर्ट सार्वजनिक भयो।

यो पनि:

रुंगटाको अस्पतालको रिपोर्ट सार्वजनिक, प्रस्ट लेखिएको छ 2019-nCoV नेगेटिभ

त्यस्तै केही समय अगाडि एउटा अडियो सामाजिक सञ्जालका म्यासेज बक्स र विभिन्न समूहमा भाइरल भए। 'नर्भिक अस्पतालमा ९ जना चेक गर्दा ६ जनामा कोरोना भाइरस देखिएको...' सामाजिक सञ्जालमा आफ्नो रिच बढाउनका लागि गरिएको यस्ता सामाग्रीले त्रासलाई थप बढावा दिए। भलै यसरी फेक सूचना फैलाउने युवकलाई प्रहरीले पक्राउ गरिसकेको छ।

अफवाहको अभियोगमा पक्राउ परेका युवकले भने : पेजमा 'रिच' बढाउन अडियो बनाएँ

त्यस्तै, केही दिनदेखि अर्को एउटा सूचना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, 'राती सेनाको हेलिकोप्टरले कोभिड-१९ विरुद्ध स्प्रे छर्ने।' यस्तै सूचना चीनमा पनि भाइरल भएको थियो।

नेपाली सेनाले यसलाई गलत भएको र स्प्रे गर्ने कुनै कार्यक्रम नरहेको बताइसकेको छ।

केही दिनदेखि सामाजिक सञ्जालमा एउटा टेलिभिजन समाचारको 'स्क्रिन सट' भाइरल भइरहेको छ, 'कोभिड-१९ नियन्त्रणका लागि रुसी राष्ट्रपति पुटिनले पाँच सय बढी सिंह शहरमा छाडे।'

सामाजिक सञ्जालमा भाइरल हुँदैगर्दा सर्वसाधारण अन्तर्राष्ट्रिय मिडियामा पहुँच नभएकाहरुले सेयर गरे नै।

'मिडिया लिटरेसी' नभएकाहरुले शेयर गर्नु र यसबाट भ्रमित हुनु स्वभाविक होला तर, मिडियालाई नै नियमन गर्ने निकायका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले नै यसलाई फेसवुकमा शेयर गरे।

प्रेस काउन्सिलले दुई दिन अगाडि मात्र एउटा सूचना जारी गरेको थियो-

'नोवेल कोरोना भाइरस -COVID-19_ का कारण विश्वमा ठूलो मानवीय क्षति भइरहेको, लाखौँमा यसको सङ्क्रमण देखिएको र अरबौँ मानिस सन्त्रासमा रहेको विषय आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तासहित सम्पूर्ण जनसमुदायलाई अवगत नै छ। यस्तो जटिल अवस्थामा नेपाल सरकारले निकै गम्भीर र संवेदनशील बनेर अत्यावश्यकबाहेकका सेवा केही दिन रोक्ने घोषणा गरेको छ। यति गम्भीर अवस्थामा पनि केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हल्ला, अनुमानका आधारमा लापरबाहीपूर्वक तथ्यहीन सूचना सम्प्रेषण हुने गरेको पाइएको छ। संयमित हुनुपर्ने गम्भीर समयमा समाजका कतिपय जिम्मेवारी व्यक्तिले आममानिसलाई नै आतङ्कित र तरङ्गित बनाउने गरी केही मिडियामार्फत् अफवाह फैलाइरहेको देखिन्छ। प्रेस काउन्सिल नेपाल गलत सूचना, समाचार सम्प्रेषण नगर्न यस्ता मिडियालाई निर्देशन दिन चाहन्छ। साथै, प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को ५ को दफा १४ को ‘पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा कोही, कसैका बारेमा पनि सम्प्रेषण गर्नुहुँदैन’ भन्ने प्रावधानको ख्याल गरी सूचना, समाचार सम्प्रेषण प्रवाह गर्न आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गर्दछ। काउन्सिलले कुनै पत्रकार, मिडिया र गलत सूचना, समाचार सम्प्रेषण गर्नेका विरुद्ध अनलाइनमार्फत उजुरी सुन्ने गर्दै आएको छ। अतः कहीँ कतैबाट अफवाह फैलाउने सामग्री सम्प्रेषण भएको पाइएमा उजुरी गरेर सहयोग गरिदिनुहुन काउन्सिल आम नागरिकलाई अनुरोध गर्दछ।'

यसरी फेक न्यूज र इन्फोडेमिक नियन्त्रण गर्ने निकायका आधिकारिक व्यक्तिले नै 'फेक न्यूज' शेयर गरे। सामाजिक सञ्जालमा यसको विरोध पनि भयो। उनले यो पोस्टलाई उनले डिलिट गरिसकेका छन्।

अहिले मानिसहरुले धेरै समय स्मार्टफोन, ट्यावलेट, कम्प्युटरमा विताइरहेका छन्। पछिल्ला समाचारका शीर्षकहरुले 'स्टक प्राइस'मा समेत असर पुर्‍याएको मार्केट डाटा प्रोभाइडर रेफिनिटीको अध्ययनले देखाएको छ। अहिलेका सूचनाहरु नै महामारी रोगको रुपमा आएका छन्।

यस्तै सूचनाका कारण युरोप र अमेरिकामा एसियाली मुलका नागरिकहरुमाथि 'सिनोफोविक' आक्रमणहरु हुँदै आएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै कोभिड-१९ लाई 'चाइना भाइरस' भनेर विश्व स्वास्थ्य संगठनको निर्देशनसमेत उल्लंघन गरेका छन्।

यो पनि:

एसियाली मुलका नागरिकमाथि पश्चिमा मुलुकमा किन फैलिँदै छ 'सिनोफोविक' आक्रमण?फेव्रुअरी १५ मा विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रोस अधानोमले म्युनिखमा सुरक्षा सम्मेलनमा बोल्दै थिए, त्यतिवेलासम्म चीनमा ६६ हाजार कोभिड-१९को संक्रमण भइसकेको थियो बाँकी विश्वमा जम्मा ५०५। उनले भनेका थिए, 'हामी अहिले इपिडेमिकसँग मात्र लडिरहेका छैनौँ। हामी इन्फोडेमिक सँग पनि लडिरहेका छौँ। फेक न्यूज भाइरस भन्दा पनि तिब्र रुपमा सहजै फैलिइरहेको छ। यो खतरापूर्ण छ।यदी हामीले यसलाई परास्त गरेनौँ भने हाम्रो बाट अध्यारो छ। जसले विभाजन र सद्भाव खलबलाउने छ।'

'भ्याक्सिनको विकास नभएको अवस्थामा भाइरलाई फैलिनबाट रोक्ने एक उपाय भनेको सामाजिक दुरी कायम राख्नु हो। यसको मतलव सकभर मानिसहरुको भेला रोक्नु हो। राजनीतिशास्त्री एसचा मोउन्चकले भनेका छन्, 'सबैभन्दा ठूलो हामीले हाम्रो व्यवहारमा सुधार गर्नुपर्छ।'

दुरी बढाउनु १९१८ को स्पेनिस फ्लु इपिडेमिक नियन्त्रणका लागि काम गर्थ्यो।

'अहिले यो अनलाइनको युग हो। सामाजिक सञ्जालका तपाईँका एकाउन्टमा आउने सन्देशहरुलाई नाइ भन्नुहोस्, तपाईँले आराम महसुस गर्नुहुने छ,' उनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell