PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

जसलाई देशले अनागरिक बनाइरहेको छ : अनि कति निर्दयी हुनसक्छ सत्ता?



प्रकाश भण्डारी

जसलाई देशले अनागरिक बनाइरहेको छ : अनि कति निर्दयी हुनसक्छ सत्ता?

काठमाडौं : हातमा लगेज र शरीरमा सुटबुट छैन। बरु उनीहरुसँग पिठ्युमा दुईकाने झोला, सल बेरेर बनाइएका झिटीगुण्टा छन्। त्यही भएर उनीहरु हवाइजहाज चढेर आएका होइनन्।

अझ् भनौं युरोप अमेरिकाबाट घरतर्फको विन्दास यात्रा पूरा पनि गरिरहेका छैनन्।

भारतका गल्ली गल्लीमा मजदुरी गरेर लालाबाला पाल्ने चाहना बोकेकाहरुको चित्कार छ - आफ्नो जनता फिर्ता ले। आफ्नै देश फर्किने आशामा लगातार यात्रामा छन्। तर उनीहरुलाई नै थाहा छैन गन्तव्यमा कहिले पुगिन्छ?

महाकाली नदी किनारमा बिलखबन्दमा छन् उनीहरु।

भिडियो १ 

महाकाली नदीको किनारमा लहरै केही मान्छेहरु हिँडिरहेका देखिन्छन्। फुर्तिलो छ हिँडाइ त्यहीँबाट भेउ पाउन सकिन्छ उनीहरु युवा उमेरका छन्। केही बगरका ठूला ठूला ढुङ्गामा बसेका छन्। सायद् उनीहरु नेपाल प्रवेश गर्ने पुल बन्द भएपछि महाकालीको बेग कम हुने ठाउँ खोजिरहेका छन्, सुरक्षाकर्मीले नभेट्ने ठाउँको खोजीमा छन्।

वारी नेपाल आउने इच्छा मूर्त हुन सकिरहेको छैन् तै पनि यात्रा जारी छ।

भिडियो २

महाकालीमा पौडिँदै छन्, एक जना। पारी भारततर्फ भएकाहरु चिच्याए पनि उनीहरुको स्वर सानो सुनिन्छ। के भनेको बुझिन्न।

त्यही भिडियोमा एक जना बगरको ढुङ्गामा बसेर पानी पिएपछि मुस्कुराएको कारुणीक दृश्य पनि छ। उनी नेपालतिर छन् या भारततिर थाहा पाउन सकिन्न। पौडिएर नदी तरेकालाई प्रहरीले हातमा समातेर डोर्‍याइरहेको छ।

उनको शरीरमा कट्टुबाहेक छैन। उनलाई लुगा लगाएरमात्र हिँडाउनेसम्मको विवेक प्रयोग गरेको देखिन्न, प्रहरीले। बाँकी भारततर्फको नेपाल जोड्न पुलको प्रवेश द्वारमा नारा लगाइरहेका छन्- 'आफ्नो जनता फिर्ता ले'।

 

भिडियो ३

भिडियोमा बाल्टिनबाट प्लेटमा दाल हालेको देखिन्छ। लाइट बलिरहेको छ, साँझको खाना खाइरहेका छन्। मास्क पनि भिरेकै छन्। दुरी कायम गरेरै बसेको दखिन्छ। मास्क लाएर एक जना बिलौना गरिरहेका छन्,

'हामी मजदुरहरु इण्डियाको विभिन्न ठाँउमा काम गरेर फर्कने क्रममा घाटमा आवतजावत बन्द गरेर परिसानी दिएको छ नेपाल सरकारले। भारतीय प्रहरीले हामीलाई खाने बस्ने व्यबस्था गरेको छ। औषधिको व्यवस्था पनि गरेको छ। हामीलाई घर झाने ब्यवस्था मिलावस नेपाल सरकारले नत्र हामीलाई धेरै परिसानी हुने जस्तो देखेको छु मैले'

+++

आफ्नै देश आउन दशगजामा भोगेको पीडा बुझ्न काफी छन् यी भिडियो। कोरोनाको महामारी फैलन थालेपछि भारतमा मजदुरी गर्ने नेपाली घर फर्कँन थाले। नेपाल र भारत दुवैतिर लकडाउन भएपछि सीमामा अलपत्र परे। उनीहरुको एउटै माग छ, आफ्नो देश छिर्न पाउनुपर्‍यो। क्वारेन्टाइन बस्न तयार छौं।

तर, सरकार तयार छैन उनीहरुलाई घर फर्काउन।

सरकारको एउटै अडान छ, 'महामारीको बेला उनीहरु नेपाल आउनु हुँदैन। जहाँ छन्, त्यहीँ मानवीय सहायत पुर्‍याउन पहल गर्छौं।

मंगलवार परराष्ट्र मन्त्रीलाई सोधियो- सीमामा अलपत्र परेका नेपालीलाई मानवीय नाताले तत्कालै उद्दार गर्नुपर्ने होइन र?

उनको यसमा सोझो उत्तर छ- 'क्वारेन्टाइनमा बस्ने प्रतिवद्धता र स्थानीय सरकारले पर्याप्त क्वारेन्टाइन बनाएपछिमात्रै ल्याउछौं।'

मन्त्री ज्ञवालीको यही जवाफले भन्छ सरकारले तत्कालै नेपाल भारतको सीमामा अलपत्र परेकाको उद्धार गर्दैन। बरु नेपाल सरकार भारतलाई नै याचना गर्ने पक्षमा छ -'हाम्रा नारिकप्रति मानवीयता देखाइदिनुस्।'

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको धारणा पनि मन्त्री ज्ञवालीको भन्दा फरक छैन। भनेका छन्,' ‘भावनात्मक हिसाबले त उहाँहरुलाई फर्कन दिनुपर्छ भन्ने कुरा स्वभाविक नै हो, तर यो भावना भन्दा परको विषय हो। विपदमा जो जहाँ छौँ, त्यहीँ बसौँ।’

पोखरेल प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणपछि सक्रिय छन्। उनी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोक पनि हुन्। मन्त्रिमण्डलमा चल्तापुर्जाका मन्त्री हुन् पोखरेल र ज्ञवाली। उनीहरुका परस्पर विरोधी अभिव्यक्ति आइरहेछ। प्रधानमन्त्री आफैँ विरामी छन् उनलाई यसमा जोड्नुको औचित्य छैन।

सरकारले अडान दोहोर्‍याइरहदा भारतबाट नेपाल फर्कँनेहरुले अनेक जोखिम मोल्न थालेका छन्। स्वदेश फर्कने क्रममा भारत उत्तराखण्डको मदकोट क्षेत्रमा मजदुरी गर्न गएका एक नेपालीको गए मंगलबार राति मृत्यु भयो। परिवारको दाबी अनुसार लकडाउनका कारण घर फर्किन लागेका ठगुन्नाको मदकोट झोलुङ्गे पुलमा मृत्यु भएको हो।

+++

यति संवेदनशील विषयमा दुई मन्त्रीका अभिव्यक्तिपछि प्रश्न उठ्छ -

विपदमा नागरिकको अभिभावक त राज्य हुन्छ कि हुँदैन?

आफ्नै देशका नागरिक सीमानामा आएर देश छिर्न अनुनयविनय गर्छ भने आउन दिने कि नदिने? मानवीय संवेदन देखाउने कि नदेखाउने?

अझ गम्भीर प्रश्न- राज्यले नै कसैलाइ बिनाकसुर अनागरिक बनाउन पाउँछ?

समाजिक सन्जालमा यो हालत सार्वजनिक भएपछि दुईथरी धारणा व्यक्त भइरहेका छन्।

पहिलो, यो विषम परिस्थिति हो र नाका बन्द भएपछि उनीहरुलाई नेपाल प्रवेश दिनु हुँदैन। उनीहरु नेपालमा आए भने क्वारेन्टाइन बस्न मान्दैन्न। र, कोरोना फैलिन्छ। महामारीको रुप लिन्छ। सरकारी लाइन पनि यही हो।

दोश्रो, सीमामा अलपत्र परेका नेपाली हुन्। उनीहरुलाई सरकारले नेपाल आउन दिनुपर्छ। बरु क्वारेन्टाइन बस्ने ब्यवस्था पनि गर्नुपर्छ। अलपत्र परेका नेपालीको माग सम्बोधन गर्ने गरी ब्यक्त भइरहको धारणा हो जुन पूरा गर्न सरकारले मानिरहेको छैन।

+++

दोस्रो धारणा निकट रहेर पूर्व प्रधान न्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालका पूर्व उपकुलपति केदार भक्त माथेमा लगायतले प्रेस विज्ञप्ति नै निकालेका छन्।

उनीहरुले अलपत्र नेपालीलाई उद्दार नगरेको विषयलाई देश निकालासँग जोडेर भनेका छन्, 'नेपालीलाई ‘देश निकाला’ गर्ने संवैधानिक र नैतिक हक कसैसँग छैन।'

सरकारसँग उनीहरुको अपील छ - तत्काल उद्दार गर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजालकोले ट्विट गर्दै लखेका छन्- 'यस्ता समाचारले साह्रै विचलित बनाउँछ। उता फर्काएर एकै ठाउँमा राखे जस्तै आफ्ना नागरिकलाई १४ दिन एक ठाउँमा राख्ने क्षमता पनि हाम्रा सरकारहरूसँग नभएकै हो त?'

उनले आफ्नै पार्टी नेतृत्वको सरकारको क्षमतामाथि प्रश्न गरेका छन्।

रिजाललाई रिट्विट गर्दै मधुरमण आचार्यले लेखेका छन्,

'सीमानाबाट उतै फर्काएर नेपालीहरूलाई भारतको व्यवस्थापनमा राखिएको त्यो पनि नेपाल सरकारकै अनुरोध अनुसार भनेर प्रदीप ज्ञवालीज्यूले भनेको सुनेँ! सहमत हुन सकिएन मा. मन्त्रीज्यू! विपदमा परेका नागरिकप्रति पहिलो जिम्मेवारी आफ्नै सरकारको हुन्छ। क्षमता नहुँदा गुहार माग्ने बेग्लै कुरा हो।

उनले पनि उद्दार गर्न नसक्नलाई सरकारको क्षमतासँग तुलना गरेका छन्।

सरकारका मन्त्रीहरुले नेपाल भारत सीमानमा अलपत्र परेका नेपालीलाई नेपाल ल्याउँदा कोरोना फैलने र राख्नका लागि क्वारेन्टाइन नभएको बताइरहँदा आफ्नै नागरिकलाई विभेद गरेको आरोप लागेको छ।

लकडाउनकै बेला अमेरिका र युरोपेली मुलुकले आफ्ना नागरिकलाई स्वदेश लगिरहेका छन्। यसअघि नेपालले चीनबाट नेपालीहरुलाई स्वदेश ल्याइएको थियो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई अरु देशले आफ्ना नागरिक विमान चार्टर गरेर लिएको सन्दर्भ सम्झाउँदै महाकाली पारी फसेका नागरिकको उद्दार गर्न विज्ञप्ति निकालेर आग्रह गरेका छन्।

+++

नेपालसँग सीमा जोडिएको भारतको धारचुलामा फसेका नेपाली मुलत: मजदुरी गर्न भारत गएका हुन्। नेपालमा रोजगारी नपाइएपछि परिवार छोडेर भारत गएकाहरुले अरु देशमा जाने नेपालीको जस्तो राम्रो कमाइ गर्दैनन्।

अझ भनौं भारतमा चौकिदारी गरेर गुजारा टाल्नेहरु फँसेका हुन्, महाकाली किनारमा।

त्यसो त सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफू पनि भारतमा १६ वर्ष चौकिदारी गरेर आएका सुनाउने गर्छन्। उनले मुख्यमन्त्री निर्वाचित भएको दिन भारतमा चौकिदारी गर्न जाने नेपालीको समस्या समाधान गर्ने अभिव्यक्ति दिएका थिए। तर, अहिले उनी पनि महाकाली किनाराका अलपत्र नेपालीका विषयमा भने मुकदर्शक बनिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell