PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

भ्रष्टाचारका ४ चर्चित काण्ड जुन २०७६ मा सुल्झेनन्



प्रकाश भण्डारी

भ्रष्टाचारका ४ चर्चित काण्ड जुन २०७६ मा सुल्झेनन्

काठमाडौं : राजनीतिक दलका नेता, अझ विशेषगरी सत्तारुढ दलका नेता २०७६ सालमा विभिन्न काण्डहरुमा मुछिए। तिनै काण्डले कतिको पद गुम्यो त कति जेल नै पुगे। २०७६ मा सरकारसँग जोडिएका केहि चर्चित काण्ड यस्ता छन् :

१. बालुवाटार जग्गा प्रकरण

२०७६ सालमा बालुवाटारको ललिता निवास जग्गा प्रकरण चर्चामा रह्यो। वर्षौ अघिदेखि सरकारी जग्गा हडप्ने क्रम जारी रहे पनि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको नाम यसमा मुछिएपछि यस प्रकरण झन् चर्चित बन्यो। उनीसँगै पूर्व उपप्रधान तथा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार पनि जोडिए ललिता निवास जग्गा प्रकरणमा। पौडेलका छोरा नवीन पौडेलले जग्गा फिर्ता दिने बताएपछि उनीविरुद्ध मुद्दा दर्ता भएन भने गच्छदार विरुद्ध मुद्दा दर्ता भयो। यही विषयमा नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रह भयो भन्दै संसद अवरुद्ध गरेको थियो। २२ माघमा गच्छदारसहित १ सय ७५ जना विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। यो प्रकरण पनि २०७६ मा निरुपण भएन।

२. गोकुल बास्कोटा घुस प्रकरण

२०७६ को चर्चित टेप काण्ड हो, संचार मन्त्री गोकुल बास्कोटा प्रकरण। सेक्युरिटी प्रेस खरीदमा ७० करोड कमिसन बार्गेनिङ गरेको अडियो फागुन ८ गते सार्वजनिक भएपछि उनी राजीनामा दिन बाध्य भए। सरकारका प्रवक्ता समेत रहेका बास्कोटा सरकारको बचाउ गर्ने मध्येमा अग्रपंक्तिमा रहेका मन्त्री थिए। उनले राजीनामा अघि कुनै पनि औपचारिक प्रतिक्रिया दिएनन्। तर, रेकर्ड गरिएको अडियोमा गोकुलको आवाज नभएको दाबी गरेका थिए प्रधानमन्त्री ओलीले। प्रधानमन्त्री निकट मानिने बास्कोटा भ्रष्टचार काण्डमा मुछिएपछि केपी ओली नेतृत्वको सरकार थप आलोचित भयो। तर, यस विषयमाथि छानविन भएको छैन। फुर्सदमा रहेका बास्कोट अहिले प्रधानमन्त्री ओलीको बचाउ र प्रचण्डको आलोचनामा सोसल मिडियामा सक्रिय छन्।

३. नेपाल ट्रष्टको जग्गा भाडा प्रकरण

२०७६ मा चर्चित काण्ड मध्यको अर्को एक काण्ड हो नेपाल ट्रष्टको जग्गा प्रकरण। २०७६ पुसमा नेपाल ट्रष्टको जग्गा विनाप्रतिस्पर्धा निकै कम दरमा यति होल्डिङ कम्पनीलाई दिने निर्णय गरेको भन्दै सरकारको आलोचना भएको थियो। गोकर्ण रिसोर्टको जग्गा लिज सम्झौता ६ वर्ष बाँकी हुँदै फेरि २५ वर्ष समय थप गरिएको भन्दै सरकारको निर्णय विवादमा परेको थियो। विपक्षी दलको पनि नाम जोडिन थालेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन १८ गतेको संसद् बैठकमा आफ्नो संलग्नता नरहेको प्रष्टिकरण दिएका थिए।

नेपाल ट्रष्टको जग्गा भाडा प्रकरणले संचार माध्यमदेखि सामाजिक सन्जालमा पनि सरकारको आलोचना र छानविको माग बढे पनि यो प्रकरण पनि टुंगिन सकेन।

४. स्वास्थ सामाग्री खरीदमा घोटाला

अहिले संसार नै कोरोनाको महामारीसँग जुधिरहेको छ। नेपाल पनि कोरोनाको महामारीसँग जुध्न लकडाउनमा छ। यतिखेरै औषधि खरीद काण्ड चर्चित बन्यो। चीनबाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि ल्याइएको स्वास्थ्य सामाग्रीमा अनियमितता भएको भन्दै स्वास्थ मन्त्री भानुभक्त ढकाल र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलमाथि नैतिकताको प्रश्न उठ्यो । तर, मन्त्रीहरुले भने यसमा कुनै अनियमितता भएको दावी गरिरहे। प्रधानमन्त्री केपी ओलीले पनि पछिल्लोपटक गरेको राष्ट्रका नामा गरेको सम्बोधनमा पनि बचाउ गरेका थिए। उनले सरकारलाई असफल बनाउन चाहनेले सरकारको आलोचना गरेको तर्क गरेका थिए। तर यति समूह झै उदाएको ओम्नी समूहसँगको सम्झौता रद्द गरियो। रद्द गरिए पनि अनियमिततामाथि उठेका प्रश्नबारे केही सुनुवाई भएको छैन।

यद्दपि, सन् २०१९ मा नेपालले अधिक भ्रष्टाचार हुने देशको सूचीमा भने केही सुधार गरेको थियो। ट्रान्सपरेन्सी इन्टरनेशनलले तयार पारेको प्रतिवेदन अनुसार नेपालले सन् २०१८ को भन्दा सन् २०१९ मा आफ्नो स्थान सुधार गरेको हो। १ सय २४ स्थानबाट सुधार हुँदै नेपाल ११३ औं स्थानमा पुगेको हो। तर, नेपालले औशत अंक पनि भेटाउन सकेन।

बालुवाटार जग्गा, नेपाल ट्रष्टको जग्गा भाडामा भएको अनियमितता लगायतका प्रकरणमा व्यापक भ्रष्टचार भएको भन्ने गुनासोका माझ भ्रष्टचारमा कमी कसरी आयो त?

यसको जवाफमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले पहिलोपोष्टसँग सरकारले सुधार गरेर सूचकांकमा सुधार नआएको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell